आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको ५५ प्रतिशत माटो कृषि गर्न नमिल्ने अवस्थामा

बिहीबार, १७ चैत २०७८, १९ : ३१
बिहीबार, १७ चैत २०७८

भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा पुगिसकेको छ । माटोमा तिब्र रुपमा रसायनिक मल र विषादीको प्रयोग गरेकाले महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो ।

महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा  ५५ प्रतिशत माटोमा अम्लियपन देखिएको प्रयोगशाला हेटौडाका प्रमुख डा जनार्दन खड्काले जानकारी दिए । माटोमा प्राङ्गारिक पदार्थको मात्र जम्मा ४० प्रतिशत रहेको ले माटोको सहि उपचार बिना उत्पादन लिन नसकिने डा.खड्काको भनाइ छ ।

मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्नु पर्ने र त्यस पछि प्राङ्गारिक मलको  प्रयोग गरेर खेती गर्नु पर्ने खड्काको भनाइ छ । कम्पोष्ट मल, प्रागारिक मल या घरको गोठेमलको प्रयोग बिना माटोको उपचार सम्भव नहुने भएकाले राम्रोसँग पकाइएको वा प्रसोधन गरिएको गार्इवस्तुको मलको प्रयोग गरेर माटोमा सुधार ल्याउन उनले आग्रह गरे । माटोको सुधार गर्न प्रागारिक र कम्पोष्टमलको प्रयोगमा किसानलाई अग्रसर बनाउन महानगर कृषि शाखालाई सुझाव दिएको खड्काले बताए ।  

माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको महानगरका कृषि तथा पशुपन्छी प्रवर्धन शाखाका प्रमुख तेजेन्द्र पौडेलले बताए । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम तिब्र भएको बताउँदै उनले सबै किसानलाई माटो परिक्षण गरी प्रगांरिक मलको प्रयोग बढाउन आग्रह गरे । माटोमा अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे अन्न तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ  र माटोलाई उपचार गर्नु  पर्ने हुन्छ ।

माटो परिक्षण पश्चात सिफारिस गरिएका मात्रामा कृषि चुन माटोमा प्रयोग गर्नु पर्ने विज्ञहरु बताउँछन् । कृषि चुन बाली उत्पादन गरेर खाली भएको जमिनमा प्रयोग गरेर त्यसलाई जोतेर पानी लगाउनु  पर्ने कृषि शाखा प्रमुख तेजेन्द्र पौडेल बताउँछन् ।  

चुन छरेर जोतेपछि पानी लगाउँन सकियो भने १५ दिनमा जमिन खेती गर्न तयार हुने उनले बताए । कृषि चुना छर्ना साथ खेति गरेमा बालि नउम्रने, बालि उम्रेको भए डढ्ने समस्या रहने बताइन्छ । सिचाइ नहुने जमिनमा भने कृषि चुन छरेपछि जमिन जोतेर १ महिना सम्म खेती गर्न नहुने कृषि विज्ञ डा खड्काले बताए । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । त्यसैले माटो सुधारका लागीनै विशेष ध्यान दिनु आवस्यक रहेको डा खड्का बताउँछन् ।

कार्यक्रममा  बागमती प्रदेश कृषि तथा पशुपन्छी बिकास राज्यमन्त्री ईन्द्र माया गुरुङले अब रासायनिक मल बिउको प्रयोग घटाएर अर्गानिक उत्पादनमा जोड गर्नु पर्ने बताईन् । माटो सुधारका लागी पशुपन्छिको मलको प्रयोगलाई बढाउन उनले आग्रह गरिन् । माटोको उर्भरा शंक्ति बढाउने तर्फ ध्यान पुर्याउन उनको आग्रह छ ।

महानगर प्रमुख रेनु दाहालले महानगरमा अब अर्गानिक उत्पादन र उपभोगमा जोड दिएकाले सबै किसानलाई माटो सुधार गरी अर्गानिक खाद्यवस्तु उत्पादन र उपभोग गर्न आग्रह गरिन । अर्गानिक उत्पादनका लागी महानगरले आवस्यक सहयोग र समन्वय गर्ने र बल बिउ कृषि चुना मा  कसरी किसानलाई सहयोग गर्न सकिन्छ त्यसका लागी कृषि शाखाले आवस्यक प्रवन्ध गर्ने उनको भनाई छ ।

सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले अब अर्गानिक उत्पादन गर्न जोड दिइन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले विषादी युक्त उत्पादनले क्यान्सर रोग बढाएकाले त्यसबाट बच्न बेलैमा ध्यान दिनु पर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप