विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

‘नेपालगञ्जमा एमालेले मेयर छाड्दैन’

यहाँ गठबन्धन हुँदैन, भोट किनबेच हुन्छ : एमाले नेता पशुपति दयाल मिश्रा
आइतबार, २० चैत्र २०७८, १५ : ०४
आइतबार, २० चैत्र २०७८

। नेपालगञ्ज उपमहानगरपालिकाको दक्षिण–पूर्वमा पशुपति दयाल मिश्राको भव्य फनपार्क छ । गत मङ्सिर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही फनपार्कभित्र माइतीघर मण्डलाको जत्रै राष्ट्रिय झण्डा फहराए । सोही दिन ओलीले मिश्रासहित ४६ सय जनालाई नेकपा एमालेमा प्रवेश गराए । मिश्रा अब एमालेबाट नेपालगञ्जको मेयरका दाबेदार हुन् ।

ओलीका हातबाट टीको लगाउनुपूर्व मिश्रा हृदयेश त्रिपाठीको पार्टीमा थिए । ०७४ सालमा त्रिपाठीले जस्तै सूर्य चिन्ह लिएर मिश्राले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लडेका थिए । तर, उनी जसपाका मोहम्मद इस्तियाक राईसँग पराजित भए ।

त्यसबेला जसपाका राईले २१ हजार ५७५ मत ल्याएका थिए । मिश्राले एमालेको समेत भोट जोडेर १५ हजार ९५१ मत पाए । काँग्रेससँग गठबन्धन गरेका राप्रपा नेता ओम प्रकाश आजाद ११ हजार ६२२ सहित तेस्रो स्थानमा रहे ।

अन्ततः ०७४ सालमा एमालेबाटै चुनाव लडेर संघमा हारेका मिश्रालाई ओलीले ‘मेरो प्लानेट’मै पुगेर एमालेमा भित्र्याएका छन् । लगत्तै महाधिवेशनबाट मिश्रा एमालेको केन्द्रीय सदस्यसमेत बनेका छन् । 

एमालेको केन्द्रीय सदस्य बनेका मिश्रा विगतमा नेपाली काँग्रेसबाट गाविस अध्यक्ष बनेका व्यक्ति हुन् । ०५४ सालमा उनी बाँकेको जिविस सभापति बने । यसक्रममा उनले काँग्रेस परित्याग गरे । जिविस सभापति बन्दाको जोड–घटाऊ सुनाउँदै उनी रातोपाटीसँग भन्छन् ‘काँग्रेस एमाले र राप्रपा एकतिर थिए, नेकपा माले र राप्रपा चन्दको समर्थनमा म स्वतन्त्र खेमाबाट थोरै मतले जिविस सभापति भएँ । ह्विप तोडेर मलाई भोट दिए ।’

काँग्रेस छाडेर जिविस सभापति बनेका उनले त्यसपछि स्वतन्त्र विचार मोर्चा गठन गरे । लगत्तै उनको मोर्चा राप्रपामा विलय भयो । गणतन्त्र आएपछि उनी राप्रपा छाडेर तमलोपामा प्रवेश गरे । तमलोपा राजपा बनेपछि मिश्रा हृदयेश त्रिपाठीसँगै स्वतन्त्र बने । र, अहिले हृदयेशलाई पनि छाडेर एमाले बन्न पुगेका छन् ।

मिश्राको नेपालगञ्जमा रहेको ‘मेरो प्लानेट’ भित्र खाने बस्ने सुविधा पनि छ । एमाले नेता शंकर पोखरेल, योगेश भट्टराईहरू अचेल नेपालगञ्ज जाँदा यहीँ बास बस्ने गरेका छन् । र, यही प्लानेटमा पुगेर ओलीले मिश्रालाई मेयरको टिकट दिने बाचासहित एमालेमा प्रवेश गराएका हुन् ।

करिब ९ विघा क्षेत्रफलभित्र साढे ३ बिघामा बनेको पोखरीसहितको पार्कबारे जानकारी दिँदै मिश्रा भन्छन्, ‘राजधानी बुटवलमा गएपछि नेपालगञ्जका उद्योगी व्यवसायीहरूमा निराशा छायो । बाहिरको मान्छे तान्न केही न केही गर्नुपर्छ भनेर यो थालनी गरेको हो । यो ४० करोड जति खर्चमा बनेको हो । उता, गाउँमा मेरो प्लाइउड फ्याक्ट्री पनि सञ्चालनमा छ ।’

यसैसाता एमाले अध्यक्ष केपी ओली र नेपालगञ्जका मेयरसमेत रहेका राप्रपा नेता धवलसमशेर जबराबीच भेटवार्ता भएको छ । सो भेटमा एमाले र राप्रपाबीच चुनावी तालमेलबारे कुराकानी भएको चर्चा छ । तर, नेपालगञ्जका एमाले नेता मिश्रा भने यहाँ राप्रपाको कुनै औकातै नभएको बताउँछन् ।

मिश्राले रातोपाटीसँग भने, ‘यहाँ राप्रपाको औकातै छैन । एमालेले कुनै हालतमा मेयर त छोड्दै छोड्दैन । कुन हिसाबले धवल समशेरलाई दिने ? धवल शमशेर त मेयरमा लड्दै लड्दैनन् । उनले त म मेयरको निर्वाचन लड्दिनँ, केन्द्रमा लड्छु भनेर घोषणै गरिसके । उहाँबाहेक राप्रपाको मान्छे नै छैन ।   

प्रस्तुत छ, एमाले नेता मिश्रासँग रातोपाटीले नेपालगञ्जको राजनीतिक सन्दर्भमा गरेको कुराकानी–

तपाईंले हृदयेश त्रिपाठीसँग कति समय सहकार्य गर्नुभयो ?

सहकार्य त उहाँसँग धेरै पहिलेदेखि हो । ०६४/०६५ मा हामीले तमलोपामा सँगै काम गरेको हो । त्यसयता उहाँसँग निरन्तर सहकार्य भइराखेको हो । उहाँ मन्त्री पनि हुनुभयो । त्यसबेला नेपालगञ्जको विकास उहाँको प्राथमिकतैमा थियो । जस्तो एडीबीको प्रोजेक्ट पनि उहाँको टाइममा आयो । यो जमुनाहदेखि कोहलपुरसम्मको बाटोको प्रोजेक्ट विवादका कारण फिर्ता हुन लागेको थियो, उहाँले मन्त्रिपरिषद्‍बाट निर्णय गरेर २१ मिटरको एरिया कायम गराउनुभयो । अहिले यो नेपालगञ्जको सडक जसरी फराकिलो र विकसित देखिइराखेको छ, यो एडीबीको प्रोजेक्ट पनि उहाँकै टाइममा आएको हो । यही प्रोजेक्टले गर्दाखेरि नेपालगञ्जको राम्रो विकास भएको छ । त्यसपछि उहाँ स्वास्थ्यमन्त्री हुँदा पनि राम्रै काम भयो । उहाँसँग हामीले निर्वाचन पनि सँगसँगै लड्यौँ ।

तर, अहिले तपाईं किन त्रिपाठीलाई छाडेर एमालेतिर जानुभएको त ?

अहिले उहाँले राजनीतिक दल नयाँ बनाउने कुरा गर्नुभयो । हामी पहिल्यै सूर्य चिन्हबाट उम्मेदवार भइसकेको हुनाले हामी एमालेतिर गयौँ । राष्ट्रिय स्तरको पार्टी भयो भने भोलि नेशनल लेभलको सरकार हुँदा काम गर्न सजिलो हुन्छ । काम त हामीले यहाँको विकासका लागि गर्ने हो ।

त्यसकारण यही सोचेर हामी मङ्सिर १ गते यही प्लानेटमा केपी ओलीको आतिथ्यमा ४६ सय जना एमालेमा प्रवेश गरेका हौँ । र, म एमालेको महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्य पनि छु ।  अहिले बाँकेमा एमालेको संगठन विस्तार र गढ नै भइराखेको छ । अहिले निरन्तर सय–पचास जना एक–दुई दिनमा एमालेमा प्रवेश भइराखेका छन् । अहिले एमालेमा आकर्षण एकदम राम्रो बढेको छ ।

तपाईं एमालेमा प्रवेश गर्दा हृदयेश त्रिपाठीले चित्त दुखाउनुभएन ?

उहाँले अर्को पार्टी खोल्नुभएको छ । यहाँ त उहाँको खासै संगठन छैन, नवलपरासीतिर अलिअलि होला । पूर्वतिर पनि उहाँको के छ, मलाई त्यति थाहा छैन । तर, यसमा चित्त दुखाइको कुरा भएन, उहाँसित सरसल्लाह नै गरेर जहाँ जाँदा सुरक्षित भइन्छ र विकास गर्न सकिन्छ, त्यहीँ गएर काम गर्ने भन्ने भयो ।

०७४ मा तपाईंले जस्तै सूर्यचिन्हबाटै चुनाव लड्नुभएका त्रिपाठी पनि एमालेमै प्रवेश गर्नुहुन्छ कि ?

एमालेमा आउनुहुन्छ होला जस्तो लाग्दैन । मलाई लाग्छ, एमालेसँग सहकार्य हुन सक्छ । मलाई के लाग्छ भने एमालेसित सहकार्य गरेर उहाँ निर्वाचनमा जानुहुन्छ । उहाँ अहिले पनि एमालेसितै नजिक हो । सूर्यचिन्हबाट लडेको हुनाले उहाँ एमालेकै सांसद हुनुहुन्छ । एमालेले उहाँलाई कारबाही पनि गरेको छैन ।

तपाईं यसको क्यालकुलेसन हेर्नुहुन्छ भने एमालेले जनसंख्या बढी भएका ६ वटा वडा जितेको छ । राप्रपाले तीनवटा वडा जितेको छ । माओवादीले चारवटा र काँग्रेसले आठवटा वडा जितेको छ । आठ वटा वडा जित्ने पार्टी मेयरमा हारेको छ, तीनवटा वडा जित्ने पार्टीले मेयरमा जितेको छ । भनेपछि यो स्थानीय चुनावमा यहाँ व्यक्तिलाई हेरेर भोट दिने प्रचलन छ ।

तपाईं अब नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको दाबेदार हो ?

पार्टीले जे जिम्मेवारी दिन्छ, हामीले त्यो ढंगले काम गर्ने हो । नेपालगञ्जलाई गौरब गर्न लायक बनाउने हाम्रो दृष्टिकोण हो । यो धेरै पुरानो शहर हो । तर, पुरानो भएर पनि जति अवसर पाउनुपर्ने हो, त्यो अवसर नेपालगञ्जले पाउन सकेन । जुन हिसाबले विकास हुनुपर्ने हो, नेपालगञ्जमा अहिले पनि त्यो हुन सकेको छैन । विभिन्न सेक्टरमा काम गर्न बाँकी छ ।

यहाँ त्यस्तो नेतृत्व आउनुपर्छ, जसले नेपालगञ्जको विकास गर्न सकोस् । किनकि यो भौगोलिक रुपले अत्यन्त महत्त्वपूर्ण ठाउँ हो । यो २४ जिल्लाको सेन्टरमा पर्छ । यो भारतको पनि गेट वे हो । त्यसकारण नेपालगञ्जको सम्भावना धेरै छ । यहाँ निजी क्षेत्रको विकास त भइराखेको छ, तर सरकारी लगानीको हिसाबले धेरै पछाडि परिराखेको छ । यसलाई व्यवस्थित गरेर कसरी लग्ने भन्ने हाम्रो सोच हो । अब पार्टीले जिम्मेवारी दियो भने मैले नेतृत्व गर्ने कुरा छ ।

०७४ सालको चुनावमा नेपालगञ्जको मेयरमा राप्रपाका धवलसमशेर जबराले १२ हजार ५१५ मत ल्याएर जित्नुभएको थियो । दोस्रोमा काँग्रेसले ८ हजार ७३० भोट ल्याएको थियो । तेस्रोमा माओवादीका दामोदर शर्माले ७ हजार १९८ मत ल्याउनुभएको थियो, जो दुईहप्ता अघि क्यान्सरले बित्नुभयो । एमालेका समसुद्दिन सिद्दिकीले चौथो स्थानमा ६ हजार ९६५ भोट मात्र पाउनुभएको थियो । यो डाटा हेर्दाखेरि चौथो स्थानमा भएको एमालेले मेयर जित्ला र ?

तपाईं यसको क्यालकुलेसन हेर्नुहुन्छ भने एमालेले जनसंख्या बढी भएका ६ वटा वडा जितेको छ । राप्रपाले तीनवटा वडा जितेको छ । माओवादीले चारवटा र काँग्रेसले आठवटा वडा जितेको छ । आठ वटा वडा जित्ने पार्टी मेयरमा हारेको छ, तीनवटा वडा जित्ने पार्टीले मेयरमा जितेको छ । भनेपछि यो स्थानीय चुनावमा यहाँ व्यक्तिलाई हेरेर भोट दिने प्रचलन छ । व्यक्ति हेरेर धवलसमशेरले मेयरमा जितेको हो, संगठन त राप्रपाको अहिले पनि कमजोर छ । संगठन उहाँको छैन । संगठन हेर्दा त एमाले वा काँग्रेसले जित्नुपर्ने हो । देशमा गणतन्त्र आइसक्यो, राजतन्त्र गइसक्यो, त्यसको पहिलो निर्वाचन हुँदा राप्रपाले जित्छ भनेपछि यहाँ व्यक्तिको प्रभावले धेरै असर पर्छ । विगतको निर्वाचनमा हामी यो देखिराखेका छौँ ।

नेपालगञ्जमा गठबन्धनको अनुभव बहुत तीतो छ ।

काँग्रेसका उम्मेदवार त्यत्रो ठूलो डाक्टर सुरेश कनौडिया हार्नुभो । उहाँकै उपमेयर उमा थापाले जित्नुभो । भनेपछि यहाँ पार्टीको प्रभाव भन्दा पनि कत्तिको प्रभावशाली व्यक्ति छ, त्यसमा भर पर्छ । व्यक्तित्व कस्तो छ, जनताले उसलाई कुन हिसाबले हेरिराखेको छ भन्ने कुरा मुख्य हुन्छ । ०७४ सालमा यति भोट पायो, उति भोट पायो भन्ने विश्लेषणले हुँदैन ।

पहिलेको एमाले र अहिलेको एमाले फरक छ । पहिले उत्तरतिर मात्रै एमाले थियो । जहाँ पहाडी बेल्ट छ, त्यहाँ एमाले थियो । अहिले त हामी मङ्सिर १ गते लगभग ४६ सयजना प्रवेश भयौँ । अहिले प्रत्येक वडामा एमाले मजबुत भइसक्यो । अहिले र पहिलेको परिस्थिति धेरै परिवर्तन भइसकेको छ । जुन वडामा एमालेको २०–२५ भोट थिएन, त्यहाँ हामी जित्ने परिस्थितिमा छौँ । मतदाताको संख्या पनि अहिले बढेर ८२ हजार भइसक्यो । पहिले भन्दा २०–२२ हजार भोट थपिएको छ ।

तर, नेपालगञ्जमा काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन भयो भने एमालेको स्थिति के होला ?

नेपालगञ्जमा गठबन्धनको अनुभव बहुत तीतो छ । यो पनि म तपाईंलाई सुनाइदिन्छु । जस्तो– योभन्दा पहिले संसद्को चुनावमा राप्रपा र काँग्रेसको गठबन्धन थियो । प्रदेश र संघ दुईटैमा उनीहरूको गठबन्धन थियो । अनि एमालेको माओवादीसित गठबन्धन थियो । यी दुईवटै गठबन्धनहरू प्रतिस्पर्धामा आउनुपर्ने, तर स्थानीय निर्वाचनमा ५ हजार भोट पाएको, कुनै गठबन्धनमा नरहेको संसदीय समाजवादी फोरमका इस्तियाक राईले हामीभन्दा पाँच हजार बढी भोटले जिते । सबभन्दा ठूला भनेका राप्रपा र काँग्रेस १३ हजारमा सीमित भए । हामी एमाले र माओवादी १६ हजारमा सीमित भयौँ ।

भनेपछि, गठबन्धनले यहाँ रिजल्ट राम्रो दिँदैन । गठबन्धन जसको भयो, सम्झनोस् कि त्यसको हार्ने दिन पक्का हुन्छ । नेपालगञ्जमा गठबन्धनले जित्दै जित्दैन । किनभने यहाँ अर्को पार्टीलाई भोट दिन चाहँदैनन् । र, तरल भोट जुन छ, त्यो बिकिहाल्छ । तर, भोट किन्यो, लियो, जित्यो । त्यसैले गठबन्धन भएर धेरै फरक पर्छ भन्ने लाग्दैन । गठबन्धन हुनेवित्तिकै झन् कमजोर भइहाल्छ ।

नेकपा एमाले र राप्रपाका बीचमा गठबन्धन होला कि नहोला ?

अरुले गठबन्धन गरे भने त यो हुन पनि सक्छ । मान्छेहरूले उम्मेदवारलाई कति रुचाइराखेका छन्, यो कुराले पनि असर गर्छ । यो कुरा उम्मेदवारमाथि निर्भर गर्छ ।

तपाईंले भन्नुभयो कि नेपालगञ्जका मतदाताले व्यक्ति हेर्छन्, तर गठबन्धन हेर्दैनन् । हाम्रो प्रश्नचाहिँ के हो भने सत्तापक्षीय दलहरूको गठबन्धन बन्यो भने राप्रपा र एमालेको गठबन्धन हुन्छ कि हुँदैन ?

राप्रपा व्यक्तिवादी छ । राप्रपाको गठबन्धन भयो भने त्यो व्यक्तिवादी गठबन्धन हो । व्यक्तिवादी गठबन्धनले काम गर्न सक्छ । किनभने राम्रो व्यक्ति खोजेका कारण धवल समेशरलाई भोट गयो । हामी त गठबन्धनको पक्षमा खासै छैनौँ, एक्लै लड्छौँ भन्ने पक्षमा छौँ । तर, ओलीजीले माथि गठबन्धन गर्दिनुभो भने यहाँ अरुको गठबन्धन भन्दा हाम्रो गठबन्धन अलि बलियो हुन्छ । त्यसकारण अरु दलले गठबन्धन गरे र राप्रपा, लोसपा लगायतले एमालेसँग गठबन्धन गरे भने हामीलाई बढी भोट आउन सक्छ । तर, उहाँहरूलाई गठबन्धन गरेर फाइदा होलाजस्तो लाग्दैन ।

एकचोटि कल्पना गरौँ– राप्रपा, लोसपा र एमालेबीच गठबन्धन हुने नै भयो भने यो स्थानीय तहका लागि मात्रै गर्नु उपयुक्त हुन्छ या आगामी प्रदेशसभा र संघको चुनावसम्म ? प्रदेश र संघमा कसरी टिकट बाँड्ने भन्ने एकैचोटि मिलाउनुपर्छ होला हैन ?

त्यो हुँदैन । अहिले गठबन्धन भयो भने स्थानीय चुनावका लागि मात्रै हुन्छ । दोस्रो चरणको फेरि पछि हुन्छ । त्यो टाइममा को उम्मेदवार होला, अहिले टुंगो हुँदैन । स्थानीय तहमा गठबन्धन भयो भने सीमित ठाउँमा हुन्छ । यो उपमहानगरपालिका त्यसमा नपर्न पनि सक्छ ।

केन्द्रले निर्णय गरेर राप्रपालाई उपमेयर दिन्छ, दिँदैन त्यो म भन्न सक्दिनँ । समस्या त के छ भने हाम्रा सबै उम्मेदवार तयार भइसकेका छन् । वडामा तयार छन् । त्यसैले छोड्दाखेरि हामीलाई गाह्रो पनि छ ।

महानगरसम्म ठूला दलहरूको गठबन्धन माथिबाटै होला । सरकार बचाउनका लागि केही त देखाउनै पर्यो । महानगरबाट निस्कियो भने केही नगरपालिकाहरूमा गठबन्धन होला । त्यो पनि काँग्रेसले चाहिराखेको छैन । माओवादी, जसपा र एकीकृत समाजवादीको मात्रै प्रेसर हो । किनभने, उहाँहरू धेरै कमजोर पोजिसनमा हुनुहुन्छ । आफ्नो कमजोरी ढाकछोप गर्न र हामी एक छौँ भन्ने देखाउनका लागि मात्रै हो ।

नेपालगञ्जमा राप्रपालाई मेयर दिएर एमालेले उपमेयर लिनेगरी गठबन्धन हुन सक्छ ?

केन्द्रले मिलाउँछ भने त मैले केही भन्न सक्दिनँ । तर, यहाँ राप्रपाको औकातै छैन । एमालेले कुनै हालतमा मेयर त छोड्दै छोड्दैन । कुन हिसाबले धवल समशेरलाई दिने ? धवल शमशेर त मेयरमा लड्दै लड्दैनन् । उनले त म मेयरको निर्वाचन लड्दिनँ, केन्द्रमा लड्छु भनेर घोषणै गरिसके । उहाँबाहेक राप्रपाको मान्छे नै छैन । उसलाई उम्मेदवारै खोज्न पनि गाह्रो छ ।

केन्द्रले निर्णय गरेर राप्रपालाई उपमेयर दिन्छ, दिँदैन त्यो म भन्न सक्दिनँ । समस्या त के छ भने हाम्रा सबै उम्मेदवार तयार भइसकेका छन् । वडामा तयार छन् । त्यसैले छोड्दाखेरि हामीलाई गाह्रो पनि छ । कुनै वडा छाडिदियो भने हाम्रो मान्छेले मान्नुपर्यो नि । संगठनले जित्ने तयारी गरेको वडा राप्रपालाई छाडिदियो भने त फेरि निराशा छाइहाल्छ । त्यसकारण राम्रो के हुन्छ भने सबै पार्टीले आफ्नो–आफ्नो ठाउँमा लडौँ । गठबन्धनबाट जितेर त मेयर चलाउन पनि गाह्रो ।

तपाईंले भन्नुभयो कि नेपालगञ्जको दक्षिणतर्फ एमालेको संगठन बढेको छ । एमालेमा खास गरी कुन पार्टीका मान्छेहरू प्रवेश गरेका छन् ?

सबै पार्टीका आएका छन् । खास गरेर मुस्लिम र मधेसी समुदाय एमालेमा आएका छन् । एमालेमा पहाडे बाहेक मुस्लिम र मधेसी समुदायको न्यून संख्या थियो ।

विगतमा केपी ओलीको छवि ‘मधेस विरोधी’का रुपमा थियो । अहिले त्यसमा कसरी परिवर्तन आयो ?

उहाँले तीन वर्षमा जुन काम गर्नुभयो, त्यसले उहाँलाई स्थापित गर्यो । अर्को के छ भने नागरिकता विधेयक उहाँकै टाइममा आयो । अन्य कुराहरू पनि उहाँले गर्दिनु भो । यिनै कारणले परिस्थितिमा फेरबदल भयो । मधेसी दलहरूमा आएको टुटफुट, जातीय राजनीतिले पनि यस्तो परिस्थिति आयो । उनीहरूले यादववाद, मुस्लिमवाद आदि हिसाबले  जातीय हिसाबले मात्रै राजनीति गर्न लागे । र, दुई नम्बर प्रदेशमा मात्रै सीमित गरे ।

यस्तो तरल परिस्थितिमा यहाँका जनता कता जाने, कता जाने भैरहेको थियो । नीति कार्यक्रम हेर्दाखेरि बरु ओलीजी नै ठीक भन्न्े भयो । पहिले त ओलीजीको त पूरै विरोध हो नि यहाँ । मधेसमा सबैभन्दा विरोधी त ओलीजीलाई बनाएको थियो । तर, परिस्थिति चेञ्ज भइगयो । कहिलेकाहिँ कसैसित धेरै दुश्मनी भइगयो भने त्यो सितको दोस्ती एकदमै प्रगाढ हुन्छ । अहिले त्यही भयो । यहाँ ओलीका एकदम कट्टर विरोधी थिए, अहिले कट्टर समर्थक भए ।

पहिले पनि बाँकेमा एमालेले ५० प्रतिशत त जितेको हो नि । एमालेले चार वटा पालिका जित्यो, बाँकी चार वटामा अरु दलले जितेका हुन् । एमालेले त एक्लै चारवटा जितेको हो । अहिले आठवटै पालिका जित्ने परिस्थिति बनेको छ । हारेका पालिकाहरूबाट हजारौँ संख्यामा पार्टीमा प्रवेश गरिरहेका छन् । पालिका जित्यौँ भने त हामीले संघ र प्रदेशको चुनाव मज्जाले जित्न सक्छौँ ।

पार्टी भएपछि त मेयरको दाबेदारी जसले पनि गर्न पायो । काँग्रेस वा माओवादीसँग गठबन्धन भयो भने उहाँले टिकट नपाउने सम्भावना हुन्छ । काँग्रेसले आफूलाई लिन्छ कि कमरुदिनलाई छोड्दिन्छ ?

तपाईं यसो भन्दै हुनुहुन्छ तर एमाले पार्टी फुटेको अवस्था छ । यहीँ नेपालगञ्जको मेयरका ०७४ सालका एमाले उम्मेदवार समसुद्दिन सिद्दिकी समेत माधव नेपालको पार्टीमा जानुभएको छ । यो चुनावमा फुटको असर पर्दैन ?

केही पनि असर पर्दैन । उहाँको राम्रो भएको भए त त्यो टाइममा धवल समशेरले जित्नुभयो । धवल समशेरले जितेको पनि त्यही एमालेकै भोटले हो । सिद्दिकीसँग असन्तुष्ट भएर मान्छेले राप्रपालाई भोट दिएका हुन् । उहाँ राम्रो उम्मेद्वार भएको भए त त्यही टाइममा जितिहाल्नुहुन्थ्यो । अहिले पनि माधव नेपालको पार्टीबाट उहाँकै उम्मेदवारीको कुरा भइराखेको छ । मलाई लाग्छ केही सीमित व्यक्तिहरू मात्रै एमाले छाडेर गएका छन् ।  कुनै वडामा संगठन छैन, केही छैन अनि कसरी असर पर्छ ? उहाँतिर गएको भन्दा त धेरै आइसके एमालेमा ।

स्थानीय तहमा एमाले बलियो हुँदाहुँदै पनि ०७४ को संघीय चुनावमा जसपाका इस्तियाक राईले जादु नै चलाएर जित्नुभएछ । अहिले जसपाबाट इस्तियाककै नातेदार कमरुदिन राई मेयरमा उठ्दै हुनुहुन्छ भन्ने सुनियो । उहाँले पनि जादु चलाइदिनुहुन्छ कि ?

पार्टी भएपछि त मेयरको दाबेदारी जसले पनि गर्न पायो । काँग्रेस वा माओवादीसँग गठबन्धन भयो भने उहाँले टिकट नपाउने सम्भावना हुन्छ । काँग्रेसले आफूलाई लिन्छ कि कमरुदिनलाई छोड्दिन्छ ? संघमा जितेको जसपाले मेयर कमरुद्दिनलाई दिनुपर्छ भनेर दाबा गर्नुपर्ने हो । कमरुद्दिनको ताकत छ भने मेयरको टिकट लिएर देखाउन् । झन् राम्रो भइहाल्छ । त्यसपछि त जादु चलिगो नि ! उहाँको जादु चल्छ कि हाम्रो जादु चल्छ, हेर्दै जानुहोला ।

तपाईं पनि त एमालेमा अस्ति मंसिर १ गते भर्खरै प्रवेश गर्नुभएको हो । पुराना एमाले नेताहरूले नवप्रवेशीलाई टिकट दिएकोमा रिसाएर भोट नदिने खतरा पनि त होला नि ?

त्यस्तो सम्भावना छैन । पार्टी एक ढिक्का छ । मलाई सबैले स्वागत गरेका छन् । पहिले त हामी हृदयेश त्रिपाठीजीसँग हुँदा एमालेसँग गठबन्धनको हिसाबले स्वतन्त्र रुपमा लडेका हौँ । स्वतन्त्र हुँदाखेरि त्यसको असर अलिकता थियो । अहिले हामी पार्टी प्रवेश गरिसकेपछि र केन्द्रीय कमिटीको सदस्य भइसकेपछि माहौल अर्कै छ ।

जसरी भए पनि बाँके जिल्लालाई एमालेको किल्ला बनाउनुपर्छ भनेर वडा वडामा, टोल टोलमा साथीहरू सक्रिय छन् । र, जसले टिकट पाउँछ, त्यसका पछाडि इमान्दारीपूर्वक लाग्नुपर्छ भन्ने दृष्टिकोण बनेको हुनाले समस्या आउँछ जस्तो लाग्दैन । जो उम्मेदवार भए पनि हामी एक ढिक्का भएर लाग्छौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप