शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘धनगढीले मलाई बनायो, म धनगढी बनाउन चाहन्छु’

कार्यकर्ता पाल्नु छैन, कुलमान जस्तै चमत्कार गर्छु : गोपाल हमाल
सोमबार, २१ चैत २०७८, १३ : ३४
सोमबार, २१ चैत २०७८

कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी रौनक बढेको छ । सुदूरपश्चिम प्रदेशका एक मात्र उपमहानगरपालिकामा राजनीतिक दलभन्दा पनि स्वतन्त्र उम्मेदवारका कारण चुनावी माहौल तातोको छ ।

व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरी चुनावी अभियान थालिसकेका छन् । ०७४ को निर्वाचनमा काँग्रेसका नृप वडसँग २ हजार ७ सय ९७ मतको झिनो अन्तरले पराजित उनी यसपटक आक्रमक चुनावी अभियानमा छन् । ०७४ मा वडले १४ हजार ३ सय २४ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए । हमाल यसपटक एमालेको सद्भाव प्राप्त गरेर काँग्रेसबाट मेयर खोस्ने रणनीतिमा छन् ।

उता काँग्रेस पनि चुनाव जित्नेमा ढुक्क जस्तै छ । ०७४ मा तेस्रो मत प्राप्त गरेको माओवादीसँग चुनावी तालमेल हुने अवस्थामा धनगढीमा प्रतिस्पर्धा नै नहुने काँग्रेसको बुझाइ छ । काँग्रेस हमालको पक्षमा ०७४ को जस्तो माहौल नभएको दाबी गर्छ ।

तर हमाल भने काँग्रेसले काम गर्न नसकेकाले जनताले आफूलाई रोज्ने बताइरहेका छन् । चुनाव जित्ने परिस्थिति देखेर नै पुन प्रतिस्पर्धामा उत्रिएको हमालले रातोपाटीलाई बताए । प्रस्तुत छ स्वतन्त्र उम्मेदवार हमालसँग गरिएको कुराकानीको सम्पादित अंश :

धनगढी उपमहानगरपालिकाको मेयरमा यसपटक पनि स्वतन्त्र उम्मेदवारी घोषण गर्नुभएको छ । तयारी कसरी अगाडि बढाइराख्नु भएको छ ? यसपटक जित्नेमा कति विश्वस्त हुनुहुन्छ ?

चुनाव जित्नकै लागि उम्मेदवारी घोषणा गरेको हुँ । ०७४ को निर्वाचनमा म व्यवसायी क्षेत्रबाट एक्कासि चुनाव लड्दा सफल हुन सकिनँ । धनगढी उपमहानगरपालिकामा उर्मा गाउँपालिका, फूलबारी गाउँपालिका र बेलादेविपुर गाउँपालिका मिलाएर उपमहानगरपालिका बनेको अवस्था थियो । म व्यक्तिगत रूपमा चुनाव लडेकाले ती क्षेत्रमा प्रभाव रहन सकेन । मेरो व्यक्तित्व पहिचान भएको ठाउँबाट मैले मत पाएँ । तर ती क्षेत्रमा मेरो नामै नसुनेका मान्छे पनि थिए । पार्टीलाई सबैले चिन्छ । सबै ठाउँमा पार्टीको संगठन पनि हुन्छ । त्यो ठाउँमा उहाँ (वर्तमान मेयर नृप वड) लाई सजिलो भयो । नगढी उपमहानगरपालिकामा पछि समेटिएको क्षेत्रबाट मैले मत पाइनँ । अनि मैले चुनाव हारेँ ।

त्यसैगरी जेठ ६ गते दिउँसो चार बजे मात्र चुनाव चिन्न पाएँ । ११ गते प्रचार प्रसार बन्द भयो । मेरो चुनाव चिन्हबारे प्रचार नहुँदा पनि मैले ०७४ मा चुनाव हारेको हुँ भन्ने महसुस भएको छ । यो चार वर्षमा मैले त्यो क्षेत्रमा घुमेको छु । मेरो पनि सम्पर्क बढेको छ । त्यसैले यसपटक पहिले जस्तो हुँदैन भन्नेमा म विश्वस्त छु ।

धनगढी उपमहानगरपालिकामा यसपटक तपाईंको प्रतिस्पर्धा कोसँग हुने अनुमान गर्नु भएको छ ?

 ०७४ को निर्वाचन परिणाम हेर्दाको धनगढी उपमहानगरपालिकामा मेरो प्रतिस्पर्धा काँग्रेससँगै हुने अनुमान गरेको छु ।

तपाईंले ०७९ को स्थानीय तह निर्वाचन काँग्रेसको सत्ता, शक्ति र रणनीतिसँग भिड्नुपर्ने छ । काँग्रेस उम्मेदवारसँगको हुने प्रतिस्पर्धा कति चुनौतीपूर्ण छ ?

काँग्रेससँगको लडाइ चुनौती पूर्ण हुने अहिले नै देखिरहेको छ । चुनौतीका बाबजुद पनि यसपटक म चुनाव जित्छु ।

धनगढी उपमहानगरपालिकाको वर्तमान मेयरको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

म कसैको बारेमा टिप्पणी गर्दिनँ । यसको जवाफ जनताले चुनावमार्फत दिनुहुन्छ ।

चुनावी घोषणापत्र कति पुरा भए केही समीक्षा गर्नुभएको छ ?

हिजो कर्मचारीले चलाएको नगरपालिका र अहिलेको जनप्रतिनिधिले चलाएको उपमहानगरपालिकाको प्रणाली उस्तै छ । अहिलेको स्थानीय सरकार अधिकार सम्पन्न हो । जसलाई व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकाको अधिकार छ । तर काम कारबाही हिजो कर्मचारीले चलाउँदा जस्तो किसिमले काम भयो ।

काँग्रेस नेतृत्वको धनगढी उपमहानगरपालिकाले वर्तमान व्यवस्था अनुसार काम गर्न सकेन भन्ने तपाईंको निष्कर्ष हो ?

कुनै परिवर्तन देखिएन । साधन स्रोत, कर प्रणाली, न्याय प्रणाली, शिक्षा, स्वास्थ्य, कृषि सबै कुरा स्थानीय तहमै छ । तर कार्यशैली र प्रशासनको काम पुरानै ढङ्गको छ । परिवर्तन केही देखिएन । स्थानीय तहलाई दिएको अधिकार अनुसारको सेवा जनताले पाउन सकेनन् ।

 भौतिक विकासको दृष्टिकोणले कसरी हेर्नुभएको छ ?

प्राथमिकता नतोकिएर गरेको विकासको केही अर्थ हुँदैन । तोक सेवाबाट कर्मचारी भर्ना हुने र पहुँचको आधारमा आफ्ना मान्छेलाई काम दिने परिपाटी चलिरहेको छ । यसले दिगो विकास हुँदैन । अहिले भएको क्रियाकलाप पार्टीलाई बलियो बनाउन र कार्यकर्ता पाल्न पर्फेक्ट छ । तर जनतालाई बलियो बनाउन र नगरवासीलाई समृद्ध बनाउन पर्फेक्ट छैन ।

मेयर हारेपछि करिब चार वर्ष विवेकशील साझालाई बलियो बनाउन लाग्नुभयो । निर्वाचनको मुखमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बन्नुएको छ । विवेकशील साझाबाट पार लाग्दन भनेर स्वतन्त्र उम्मेदवार बन्नुभएको हो ?

०७४ को निर्वाचनमा पनि म लामो समय राजनीति गर्दिनँ । एक पटक धनगढी उपमहानगरपालिकामा स्वयंसेवक भएर काम गर्छु भनेर उद्घोष गरेर आएको हुँ । तर हारपछि मैले एउटा भेला बोलाएको थिएँ । त्यो भेलामा मलाई सहयोग गर्ने सबै सहभागी हुनहुन्थ्यो । उहाँहरूले चुनाव चिन्ह नभएको कारण हामी हार्‍यौँ भन्ने सबैको निष्कर्ष रह्यो । मैले चुनाव चिन्ह मकैको बोट लिएँ । मकैको बोटजस्तो तोरीको बोट पनि थियो । उम्मेदवार नभएको तोरीको बोटमा पनि मत गएको थियो । अर्को मकैको कोसा पनि थियो । त्यसमा पनि मत गएको थियो । सुरुमा हामीले ६ भोट दललाई एक भोट विकासलाई भनेर प्रचार गरौँ । चुनाव चिन्हको अलमलका कारण चुनाव हारियो भन्ने मेरा शुभचिन्तक साथीहरूको भनाइ रह्यो । उहाँहरूले एउटा साना दलकै भए पनि चुनाव चिन्ह भयो भने चुनाव जित्न सजिलो हुन्छ भन्ने भएपछि विवेकशील साझामा समावेश भएँ ।

तर ७ सात महिनाअघि देखि मैले मत सर्वेक्षण गरेको थिएँ । त्यसमा तीन वटा प्रश्न गरेको थिएँ :

एउटा प्रश्न – म चुनाव लडौँ कि नलडौँ ?

दोस्रो प्रश्न – चुनाव लड्दा विवेकशील साझाबाट लडौँ कि कुनै अन्य दलबाट लडौँ कि स्वतन्त्र लडौँ ? मलाई त्यो बेला विभिन्न दलबाट अफर आएको थियो । मलाई अफर गर्ने दलको नाम लिएर पनि सोधेको थिएँ ।

तर सबै जनाले तिमी पछिसम्म राजनीति गर्ने हो भनेर दलमा लाग । बलियो दलले अफर गरेको छ भने बलियो दलमै लाग । तर एक पटक मात्र राजनीति गर्ने हो भने दलसलका पछाडि नलाग, स्वतन्त्र लड भन्ने सुझाव आयो ।

अनि मैले अन्तिम स्वतन्त्र उम्मेदवार हुँदा सहयोग गर्नु हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको थिएँ । ७५ प्रतिशत मान्छेले स्वतन्त्र रूपमा लड्नुहोस् भन्नुभयो । २५ प्रतिशत मान्छेले तिमीले जहाँ लडेपछि हामी सहयोग गर्छौँ भने । मैले जनताका लागि काम गर्नुपर्ने, जनताले मत दिएर मैले जित्नुपर्ने हुँदा जनमतका विरुद्ध जानु हुँदैन भनेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ । मैले जनमतको पक्षमा जाने मनसायका साथ विवेकशील साझा छोडेको हुँ ।

०७४ को निर्वाचनमा चुनाव चिन्ह नपाउँदा हारेको निष्कर्ष निकाल्नुभएको छ । स्वतन्त्रले रूपमा उठ्दा यस पटक पनि चुनाव चिन्ह पाउनुहुन्न । अनि चुनाव कसरी जित्नु हुन्छ ?

हिजोको दिनमा चुनाव चिन्ह प्रचार प्रसारको हामीलाई आइडिया थिएन । अब हामीले चुनाव चिन्हको प्रचार प्रसार पनि थाहा पाइसक्यौँ । अर्को कुरा अहिले प्रत्येक वडामा हाम्रो प्रचार प्रसार समिति छ । अहिले स्वतन्त्र रूपमा उठ्दा पनि प्रचार प्रसारका लागि संरचना बनाएका छौँ ।

तपाईंले मेयरमा मात्र लड्नुहुन्छ कि वडामा पनि स्वतन्त्र उम्मेदवार खडा गर्नुहुन्छ ?

त्यस्तो केही सोच बनाएको छैन । अहिलेसम्म हाम्रो तर्फबाट चार जनाले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । कुनै वडामा कुनै दलसँग तालमेल भयो भने तालमेल गर्ने  र तालमेल नहुने अवस्थामा आफै उठाउने रणनीति छ । कहीँ तालमेलबाट उम्मेदवार हुन्छ भने कहीँ हामी एक्लै उम्मेदवार खडा गर्छौँ ।

तपाईंसँग पार्टी संगठन छैन । व्यक्तिका रूपमा जनतासँग यो पाँच वर्ष कसरी जोडिनुभयो ? कि चुनावमा लागि मात्र स्वतन्त्र समूह खडा गर्नु भएको हो ?

यो पाँच वर्षमा म गाउँ गाउँ पुगेको छु । मैले जनताको भावना बुझेको छु ।

निर्दलीय उम्मेदवारले चुनाव जित्दा धनगढी उपमहानगरपालिका कसरी चल्न सक्छ भनेर प्रश्न उठाउने गरिन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार एउटै दलको नहुँदा विकास गर्न गाह्रो हुने जनप्रतिनिधिको बुझाइ रहेको पाइन्छ । अनि तपाईं स्वतन्त्र रूपमा मेयर बनेर कसरी काम गर्न सक्नुहोला र ?

हिजोका दिनमा काँग्रेसले पनि बहुमत ल्याएको थियो । एमालेले पनि ल्याएकै थियो । के विकास भयो ? अर्थतन्त्र कहाँ गयो ? जनताले के राहत पाए ? यो बेकारको कुरा हो । बहुमत हुँदा मात्र सबै कुरा हुन्न भन्ने होइन ।

मेयर नृप वडले लामो समय केन्द्रमा एमाले र प्रदेशमा माओवादीको सरकार हुँदा काम गर्न गाह्रो भएको बताइराख्नुभएको छ । स्वतन्त्र रूपमा मेयर जित्दा वडादेखि केन्द्र सरकार पक्षमा नहुने अवस्था बन्छ । कसरी काम गर्न सक्नुहोला र ?

धनगढीको फोहोर फाल्नका लागि केन्द्रीय सरकारको बजेट चाहिन्छ ? खोला नाला अतिक्रमण राख्नका लागि केन्द्र सरकारको बजेट चाहिने हो ? सडकका खाल्डा पुर्न धनगढी उपमहानगरपालिकासँग बजेट छैन ? एउटा डस्टबिन किन्ने पनि पैसा हुँदैन ? मलाई लाग्छ हुन्छ । सबै कुरा केन्द्र सरकारले गर्छ भन्नु मानसिकताको उपज बाहेक केही होइन ।

केन्द्र र प्रदेश सरकारले काम गर्न दिएन भन्नु असक्षमता लुकाउने बहाना मात्र हो । त्यसैले पाँच वर्ष मलाई मेयर बनाइदिनु न । म काम गरेर देखाउँछु । मलाई परीक्षामा बस्नै नदिएर पहिल्यै त फेल भइस् भनी दिने ? मैले जिम्मेवारी सम्हालेको ठाउँमा काम गरेर देखाएको छु । कुलमान घिसिङले विधुत् प्राधिकरणमा चमत्कार गरेजस्तै मैले धनगढीमा विकास गर्न चाहन्छु । गर्छु पनि । सफल काम गर्नका लागि संसारमा लोभ र डर त्याग्नुपर्छ ।

अन्तिममा तपाईंको चुनावी एजेन्डा के हो ? वर्तमान मेयरको भन्दा राम्रो काम गर्ने के छ योजना ?

 मैले के गर्छु भन्ने एजेन्डा लिएर जान्छु । अहिलेका मेयरले गरेका बदमासी पनि जनताका लिएर जान्छु ।

तपाईं मेयर जित्नु भयो भने धनगढी उपमहानगरपालिकामा अहिलेको भन्दा के कुरा नयाँ हुन्छ ?

यो कुरा मेरो घोषणापत्रमा भन्छु । म मेयर हुँदा भ्रष्टाचार हुँदैन । मलाई कार्यकर्ता पाल्नु छैन । मलाई पार्टी बनाउनु पनि छैन । मलाई धनगढी बनाउनु छ । म सम्पूर्ण साधन स्रोत र आफ्नो बुद्धि त्यहाँ लगाउँछु । मैले भनेको छु । म तलब पनि लिन्नँ । भत्ता पनि लिन्नँ ।

त्यति मात्र होइन । म काठमाडौँ जानुपर्दा लाग्ने प्लेनको टिक र बस्ने खाने कुराको पनि एक रुपैयाँ लिन्नँ । त्यसैले धनगढीले मलाई बनाएको हो म धनगढी बनाउन चाहन्छु । स्वयंसेवी भएर धनगढीवासीको काम गर्ने मेरो उद्देश्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप