शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिलालाई नेता बन्ने तालिम दिनुपर्छ : मन्त्री रेग्मी

सोमबार, २१ चैत २०७८, १८ : ०९
सोमबार, २१ चैत २०७८

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढाउन गाँउ–गाँउमा महिलाहरुलाई नेता बन्ने तालिम दिनुपर्ने बताएकी छन् । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता बढाउन उनीहरुलाई राजनीतिप्रति आकर्षण गर्न आवश्यक रहेको उनले बताइन् । ‘हरेक दिन महिलामाथि हत्या, हिंसा र बलात्कार भैरहेको छ, त्यसको न्युनिकरणको लागि महिला साक्षर, आत्मनिर्भर र नेतृत्व तहमा हुन आवश्यक छ’ उनले भनिन् । 

तल्लो तहदेखि नै महिलालाई साक्षर बनाउँदै राजनीतिमा समेत सहभागिता बढाउन तालिमहरु प्रदान गरिरहेको उनले बताइन् । पहिले महिलालाई घरमुली बनाउनुपर्छ, दोस्रो समाजको नेता बनाउने र त्यसपछि पार्टीको नेता बनाउनुपर्ने मन्त्रीको जोड थियो । सोमबार रातोपाटीसँगको कुराकानीका क्रममा उनले नेतृत्व तहमा महिला पुगेपछि हिंसा अन्त्यको लागि उनीहरु आफैं लड्न सक्ने र नीति निर्माण गर्नसक्ने  बताइन् । 

‘महिला माथिको हिंसा हरेक दिन बढेको छ । घरभित्रै महिला सुरक्षित हुन सकेका छैनन्, हिंसाको जरो घरभित्रै रहेको छ । आफ्नै परिवारबाट भएको धेरै हिंसाका घटना बाहिर आएको हुँदैन । नाबालिका स्कुल तथा विद्यालयमा समेत सुरक्षित हुन नसकेको अवस्था छ’ उनले भनिन् । यस्तो जटिल समस्या न्युनीकरणका लागि  ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत घर–घरमै गएर पीडित र पीडक दुवैलाई सचेतना गर्ने गरेको मन्त्री रेग्मीले बताइन् । 

यस्ता कार्यक्रममार्फत आगामी वर्षमा महिला हिंसा कम गर्ने प्रयासमा मन्त्रालयले काम गरिरहेको उनले बताइन् । राजनीतिमा महिलाको सहभागिता ४१ प्रतिशत बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताउँदै उनले जनसंख्याको हिसाबले नेतृत्वमा पुरुषको तुलनामा महिलाको संख्या बढी हुनुपर्नेमा जोड दिइन् । 

आफूले महिलाको मुद्दामा राम्रो काम गरिरहेको समेत मन्त्री रेग्मीले बताइन् । तर नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष महिला हिंसा बढिरहेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप