शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा गठबन्धन भर्सेस एमाले, यस्तो छ अंकगणित

मङ्गलबार, २२ चैत २०७८, २० : ००
मङ्गलबार, २२ चैत २०७८

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा व्यस्त हुन थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् ।

१३ स्थानीय तह रहेको यस जिल्लामा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ५ नगरपालिका र २ गाउँपालिकामा जित हासिल गरेको थियो । यस्तै, नेपाली काँग्रेसले एक नगरपालिका र ३ गाउँपालिका र नेकपा माओवादी केन्द्रले २ गाउँपालिकामा जित हासिल गरेको थियो ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा जिल्लाका सबै पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल हुने हो भने अधिकांशमा गठबन्धनका उम्मेदवार विजयी हुने सङ्केत देखिन्छ । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा नेपाल छन् । तर, सबै पार्टीको उपस्थिति पालिकाहरूमा समान भने छैन ।

२०७४ को मत परिणामा यस्तो थियो ?

१. धुलिखेल नगरपालिकाः

यस नगरपालिकामा नेकपा एमालेका उम्मेदवार अशोक ब्याञ्जु श्रेष्ठ नगरप्रमुख र विमला कुमारी चौलागाई (शर्मा) उपप्रमुख पदमा निर्वाचित भएका थिए ।  मेयरमा एमालेका उम्मेदवार ब्याञ्जुले ७ हजार ९८१ मत ल्याएका थिए ।  दोस्रो भएका काँग्रेसका उम्मेदवार रमेश प्रसाद हुमागाईले ५ हजार ४०८ र नेकपा माओवादी केन्द्रकी सरस्वती लामाले १ हजार ६२१ मत ल्याए ।

१२ वटा वडा भएको यस नगरपालिकामा एमालेले ८ वडा जितेको थियो । यस्तै काँग्रेसले ३ र राप्रपाका उम्मेदवारले एक वडा जितेका थिए ।

२. बनेपा नगरपालिकाः

यो नगरपालिकामा एमालेका उम्मेदवार लक्ष्मी नरसिं वादे श्रेष्ठ ११ हजार ४ सय ९ मत ल्याउदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामराज कार्कीले ९ हजार ६४९ र माओवादी केन्द्रका भोलाप्रसाद अर्यालले १ हजार ३७० मत ल्याएका थिए । १४ वटा वडा भएको यस नगरपालिकामा एमालेले नौ वडा जितेको थियो भने ५ वडामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

३. पनौती नगरपालिका   

यस नगरपालिकामा एमालेका भिम न्यौपानेले १२ हजार २५७ मत ल्याएर जित हासिल गरेका थिए । काँग्रेसका विदुर बन्जराले ९ हजार १९० र माओवादी केन्द्रका १ हजार २३९ मत ल्याए ।  १२ वटा वडा रहेको यस नगरपालिकामा एमाले र काँग्रेसले ६÷६ वडा जितेका थिए ।

४. नमोबुद्ध नगरपालिकाः

यो नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार टंक प्रसाद शर्माले ५ हजार ३४६ मत ल्याउँदै जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका कुनसाङ लामाले ४ हजार ९६१ र माओवादी केन्द्रका रत्न बहादुर लामाले ३ हजार ८६७ मत ल्याए । ११ वटा वडा रहेको यस नगरपालिकामा एमालेले ६, माओवादी केन्द्रले ३ र काँग्रेसले २ वडामा जित हासिल गरेका थिए ।

५. पाँचखाल नगरपालिकाः

यस नगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार महेश खरेलले ७ हजार ३ सय ५६ मत ल्याएर विजयी भएका थिए । दोस्रो भएका एमालेका उम्मेदवार रुद्र बानियाँले ६ हजार ८ सय र माओवादी केन्द्रका आइतेसिं तामाङले ३ हजार २७९ मत हासिल गरेका थिए । १३ वटा वडा रहेको यो नगरपालिकामा ६ वडामा काँग्रेस, ५ वडामा एमाले र २ वडामा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

६. मण्डनदेउपुर नगरपालिका

यस नगरपालिकामा एमालेका उम्मेदवार टोक बहादुर वाइवा (हाल नेकपा एकीकृत समाजवादीमा आबद्ध) ले ७ हजार ६४६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार अच्युत प्रसाद पौडेलले ६ हजार ३१९ मत र माओवादी केन्द्रकी रिता (गौतम) ढकालले २ हजार २५९ मत ल्याएका थिए । ढकाल हाल एमाले प्रवेश गरिसकेकी छन् । यो नगरपालिकामा १२ वडा रहेको छ जसमा एमालेले ८ वडा  जितेको थियो । यस्तै, काँग्रेस ४ वटा वडामा विजयी भएको थियो । एमालेबाट निर्वाचित केही वडा अध्यक्ष र सदस्य हाल नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् । त्यसैले यो नगरपालिकामा एमालेलाई चुनौती देखिएको छ ।

७. भूम्लु गाउँपालिकाः

यो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गुमानध्वज कुँवरले ३ हजार ५४८ मत ल्याएर विजयी भएका थिए । यस्तै, काँग्रेसका तस्बिर लामाले २ हजार ९४९ र माओवादी केन्द्रका नकुल प्रसाद पराजुलीले २ हजार २९२ मत ल्याएका थिए । १० वडा रहेको यस गाउँपालिकामा एमालेले ५, काँग्रेसले ३, माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ वडामा जित हासिल गरेका थिए ।

८. बेथानचोक गाउँपालिका

नेपाली काँग्रेसका उम्मेदवार प्रेम बहादुर तिमल्सिनाले ३ हजार ८६८ मत ल्याउँदै गाउँपालिका प्रमुख पदमा जित हासिल गरेका थिए । एमालेका प्रेम कुमार तामाङले २ हजार ७४१ र माओवादी केन्द्रका मदनसिं तामाङले १ हजार ७४९ मत ल्याएका थिए । ६ वडा रहेको यस पालिकाको सबै वडा अध्यक्षमा काँग्रेसले जितेको थियो ।

९. चौरी देउराली गाउँपालिकाः

दिननाथ गौतम माओवादी केन्द्रका उम्मेदवारले ३ हजार ९२४ मत ल्याउँदै विजयी भएको यस पालिकामा काँग्रेसका विक्रमराज गौतमले ३ हजार ४ र एमालेका लेखराज गौतमले २ हजार ७४१ मत ल्याएका थिए । ९ वडा रहेको यस पालिकामा माओवादी केन्द्रले ७, एमाले र काँग्रेसले १÷१ वडा जितेका छन् ।

१०. तेमाल गाउँपालिकाः

यस गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार सलामसिं तामाङले ३ हजार ९४९ मत ल्याएर जित हासिल गरेका थिए । एमालेका प्रदीप कुमार लामाले ३ हजार ३५९ मत र माओवादी केन्द्रका गंगा बहादुर तामाङले ३ हजार २२६ मत ल्याएका थिए । ९ वटा रहको यस पालिकामा काँग्रेसले ५, माओवादी केन्द्रले २, एमाले र फोरमले १÷१ वडामा जितेका थिए ।

११. रोशी गाउँपालिकाः

यस पालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार दलबहादुर लामा ४ हजार ३७२ मत ल्याउँदै विजयी भए । एमालेका बज्रध्वज लामाले २ हजार ९५७ मत र माओवादी केन्द्रका मिम बहादुर वाइवाले २ हजार २१९ मत ल्याएका थिए । १२ वडा रहेको यस पालिकामा काँग्रेसले ५, माओवादी केन्द्रले २, राप्रपाले २, स्वतन्त्र, फोरम र एमालेले १÷१ वडा जितेका थिए ।

१२. महाभारत गाउँपालिका:

नेकपा माओवादी केन्द्रका उम्मेदवार कान्छा लाल जिम्वा २ हजार ३ सय ४२ मत ल्याउँदै पालिका प्रमुख पदमा निर्वाचित भएका थिए । यस्तै, काँग्रेसले २ हजार २३६ मत र एमालेले १ हजार २५० मत ल्याएका थिए । ८ वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्रले ४, काँग्रेसले ३ र एमालेले १ वडा जितेको थियो ।

१३. खानीखोला गाउँपालिकाः

एमालेका उम्मेदवार कृष्ण बहादुर खुलाल २ हजार २३ मत ल्याउँदै पालिका अध्यक्षमा विजयी भएका थिए । यहाँ माओवादी केन्द्रका इन्द्र बहादुर थिङले १ हजार ६४४ र काँग्रेसका गोपाल बहादुर दर्लामीले १ हजार ६३७ मत ल्याएका थिए । ७ वडा रहेको यस गाउँपालिकामा एमालेले ४, माओवादी केन्द्रले २ र काँग्रेसले १ वडामा जितेको थियो ।

सत्तारुढ गठबन्धन भर्सेस एमाले

काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा नेपालबीच चुनावी गठबन्धन भएमा यो जिल्लाका अधिकांश पालिकामा एमालेलाई जित हासिल गर्न निकै चुनौती हुने देखिन्छ । २०७४ सालको मतलाई आधार मान्दा सत्तारुढ गठबन्धनको तुलनामा नेकपा एमाले कमजोर देखिन्छ । यसमा एकीकृत समाजवादीको मत कति छ भन्ने यकिन छैन । यद्यपि, एमालेबाटै फुटेर बनेको यो पार्टीले जति मत ल्याउँछ, त्यो विगतमा एमालेले पाएको मतबाटै काटिने भएकाले एमालेलाई चुनौती थप बढ्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप