शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा नेकपा एकीकृत समाजवादीले मेयर माग्दा गठबन्धनलाई सकस

गठबन्धनमा एकमत नभए पनि एमालेलाई निल पार्ने दाबी
सोमबार, २८ चैत २०७८, ०६ : ३५
सोमबार, २८ चैत २०७८

६ वटा पालिका भएको ललितपुर जिल्लामा स्थानीय तह निर्वाचनको रस्साकस्सीमा दलहरू जुटेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुख प्रतिपक्षी दल एमाले र ५ दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि सत्तारुढ गठबन्धनसँग कसरी चुनावी तालमेल हुने भन्नेबारे कुनै मार्गचित्र भने छैन ।

जिल्लामा सत्तारुढ गठबन्धनका स्थानीय नेताहरूबीच तीन पटक छलफल भए पनि कसरी उम्मेदवारी भागबण्डा गर्ने, कुन ठाउँमा कसले छोड्ने, कहाँ कसलाई सघाउने भन्ने बारेमा कुरा मिल्न बाँकी रहेको काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताहरूले रातोपाटीलाई बताए ।

ललितपुरका पालिकामा यसअघि आफूले जितेको क्षेत्र छोड्न काँग्रेस र माओवादी केन्द्र तयार छैनन् भने एमालेले जितेको पालिकाको प्रमुख र उपप्रमुख पद भने आपसमा बाँडीचुडी गर्ने पक्षमा छन् । नेकपा एकीकृत समाजवादीलाई भने केही वडा दिने उनीहरूको तयारी छ ।

तर नेकपा एकीकृत समाजवादीले भने अघिल्लो चुनावमा एमालेले जहाँजहाँ जितेको छ, ती सिट आफ्नो भागमा छोड्नुपर्ने माग गरेको छ । नेकपा एकीकृत समाजवादीले अघिल्लो चुनावमा एमालेले जितेको महालक्ष्मी नगरपालिकाको मेयर पदमा दाबी गरेको छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा ललितपुरका ६ स्थानीय तह मध्ये ३ वटा काँग्रेसले, २ वटा एमालेले र एउटा माओवादी केन्द्रले जितेको थियो । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती नगरपालिका काँग्रेसले जितेको थियो । यस्तै महालक्ष्मी नगरपालिका र महाङ्काल गाउँपालिकामा एमालेले जितेको थियो । माओवादी केन्द्रले कोन्ज्योसोम गाउँपालिकामा विजयी भएको थियो ।  

एमालेको जितेको क्षेत्रमा भागबण्डा गर्छौँ : काँग्रेस

ललितपुरमा स्थानीय तह चुनावमा कसरी अगाडि बढ्ने भन्नेबारे अहिलेसम्म गठबन्धन दलबीचका कुनै निर्णय नभएको काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले बताए ।  

उनले भने, ‘पार्टीको नीति अनुसार अहिले हामी गठबन्धन दलसँग छलफलको प्रक्रियामा छौँ तर अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।’

पार्टीले दिएको निर्देशन अनुसार आफ्नो पार्टीले उम्मेदवार छान्ने काम गरिसकेको उनले बताए । ‘भित्री रूपमा उम्मेदवार छान्ने काम भइसक्यो तर उनीहरूको नाम बाहिर प्रकाशन गरिएको छैन,’ उनले भने ।

ललितपुरका ६ वटै पालिकामा उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुगेको उनले बताए । वडाध्यक्ष र सदस्यहरूको नाम आइसकेको तथा प्रमुख र उपप्रमुखमा दाबेदारको नाम आउने क्रम जारी रहेको श्रेष्ठको भनाइ छ ।

काँग्रेसले २० दिनअघिदेखि घर–घर जाऔँ नेपाली काँग्रेसलाई जिताऔँ भन्ने अभियान सुरु गरेको थियो । त्यो अभियान अन्तर्गत घरघर जाने कार्यक्रम अझै चलिरहेको उनले बताए । पार्टीको तल्लो तहसम्म टोल कमिटी गठन गरिसकेको श्रेष्ठको भनाइ छ ।

अघिल्लो चुनावमा काँग्रेसले जितेको स्थानमा काँग्रेस नै र माओवादीले जितेका स्थानमा माओवादी केन्द्रबाटै उम्मेदवारी दिइने उल्लेख गर्दै उनले एमालेले जितेका सिटमा मात्र गठबन्धन घटकबीच भागबण्डा हुने बताए । तर कसरी सहमति जुटाउने भन्नेबारे अझै टुङ्गोमा पुग्ने उपाय नभेटिएको उनको भनाइ छ ।

‘गठबन्धनको विकल्प छैन, गठबन्धन गरेर जाने नै हो,’ उनले भने, ‘त्यसको मोडालिटी के हो भन्नेमा हामी छलफलमै छौँ । तर अहिलेसम्म केही टुङ्गो लागेको छैन ।’

एमालेलाई निल पार्छौँ : माओवादी केन्द्र

ललितपुरमा माओवादी केन्द्रले पनि आफ्नो चुनावी गतिविधि तीव्र पारेको छ । पार्टीको तल्लो कमिटीको कार्यालय खोल्ने, पार्टीका बैठक बस्ने, उम्मेदवार टुङ्गो लगाउने लगायतका काम भइरहेको माओवादी केन्द्र ललितपुरका इन्चार्ज दिनेश महर्जनले रातोपाटीलाई बताए । तर, अहिलेसम्म उम्मेदवार छनौटको काम भई नसकेको उनको भनाइ छ ।

वडादेखि पालिकासम्म गठबन्धनको संयन्त्र बनाउने कुरा भए पनि अहिलेसम्म बनिनसकेको उनले बताए । माओवादीले जितेको ठाउँमा के गर्ने, काँग्रेसले जितेको ठाउँमा के गर्ने भन्ने बारेमा वडा वडामा संयन्त्र बनाएर निर्णय गरिने उनले बताए ।

नेकपा एकीकृत समाजवादीले महालक्ष्मी नगरपालिका मेयरको दाबी गरेको भन्दै उनले सो दललाई आफ्नो जनाधार हेर्न सुझावसमेत दिए । उनले भने, ‘आफ्नो दाबी गर्न त पाइयो तर ५ सय मत बोकेर कहाँ कहाँ दाबी गर्ने ? ललितपुरमा काँग्रेस र हाम्रो समान हुन्छ, तर नेकपा एकीकृत समाजवादीलाई के गर्ने भन्ने टुङ्गो छैन ।’

एउटै पार्टीभित्र पनि कुरा नमिल्ने बताउँदै उनले ललितपुरमा गठबन्धन दलबीच कुरा नमिल्नु सामान्य कुरा भएको प्रस्ट पारे ।

यही चैत २८ गतेसम्म उम्मेदवार तय गर्ने भने पनि स्थानीय तह चुनावका बारेमा अदालतमा परेको मुद्दाको फैसला आउन सक्ने सम्भावना भएकोले चैत ३० गतेसम्मका लागि पर्खने र वैशाख १ गतेदेखि उम्मेदवार छनौटको काम सुरु गर्ने उनको भनाइ छ ।  

महर्जनले गठबन्धन दल एकातिर र एमाले अर्कोतिर हुँदा एमाले मेयर, उपमेयरदेखि वडा तहसम्म नील हुने दाबी गरे । माओवादी केन्द्रले कुन कुन स्थानीय तहमा दाबी गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको उनले बताए ।

९० बाट सय पुग्न १० को महत्त्व ठूलो छ : नेकपा एकीकृत समाजवादी

एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले ललितपुरमा संगठन निर्माण तथा चुनाव परिचालनको काम सँग–सँगै गरिरहेको छ । जिल्ला अध्यक्ष अमृतनाथ तिमिल्सिनाले पार्टीका सबै कमिटीलाई चैत २९ गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न भनेको रातोपाटीलाई बताए ।

उनले भने, ‘स्थानीय स्तरबाट वडा तहको उम्मेदवार टुङ्गो लगाउने, पालिका प्रमुख तथा उपप्रमुखको नाम प्रदेश कमिटीमा पठाउने तयारी छ । गठबन्धन दलबीच वार्ता पनि भइरहेको छ । उम्मेदवार उठाउन गठबन्धन दलबीच पनि छलफल हुनुपर्ने भएकाले पर्खिरहेका छौँ ।’

नेकपा एकीकृत समाजवादी नयाँ पार्टी भएकाले कतिपय ठाउँमा पार्टी निर्माण र निर्वाचन परिचालन सँगसँगै भइरहेको छ । पार्टी निर्वाचन भइसकेको ठाउँमा निर्वाचन परिचालन कमिटी, गोष्ठी, प्रशिक्षण सञ्चालनको काम भइरहेको तथा जिल्लामा स्थानीय स्तरको आधारमा घोषणा पत्र निर्माणका लागि समिति बनाएको उनले जानकारी दिए ।

जिल्ला अध्यक्ष तिमिल्सिनाले उद्यम गरेर अगाडि बढेकाहरूदेखि भाषिक, जातीय, लैङ्गिक रूपमा पछि परेकाहरू सबैको भावनालाई समेटेर स्थानीय प्रतिबद्धता पत्र बनाउन समिति गठन गरेको बताए ।  उम्मेदवार छनौट नभएकाले देखिनेगरी काम नभए पनि भित्री ढंगले काम भइरहेको उनको भनाइ छ ।

उनले ललितपुरमा यसअघि एमालेले जितेका क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन दलको तर्फबाट उम्मेदवारमा दाबी गरेको बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘महालक्ष्मी नगरपालिकामा  अवस्था राम्रो छ । हिजो नेकपा एमालेको तर्फबाट जुन जुन पदहरू जितेको थियो, त्यो ठाउँमा हाम्रो दाबी हो ।’

उनले अहिले नेकपा एकीकृत समाजवादीसँग रहेको भोट माओवादी वा काँग्रेस वा एमालेका लागि निर्णायक रहेको दाबी गरे ।

उनले भने, ‘अहिले हामीसँग जति भोट छ, त्यो भोट एमालेतिर जाने हो भने काँग्रेस वा माओवादीले जित्ने आधार छैन । कहिलेकाहीँ एक सय पुग्न नब्बेमा १० थप्नुपर्छ । कहिलेकाहीँ ६० मा ४० थप्नुपर्ने पनि हुन्छ । कहिले ९० भएको बेला १० को पनि ठूलो महत्त्व हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले एमालेले जितेको ठाउँ काँग्रेस र माओवादी केन्द्रले छोड्नुपर्ने तथा माओवादी र काँग्रेसले जितेको ठाउँमा उनीहरूलाई सघाउन आफ्नो पार्टी तयार रहेको बताए ।

राष्ट्रिय राजनीतिको आवश्यकता र गठबन्धनका दलहरूको एक आपसको सम्मानको भावनाको विषयलाई पहिलो केन्द्रमा राखेर गठबन्धन गर्नुपर्छ भन्ने आफूहरूको भनाइ रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप