बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरवासी भन्छन्ः भोट बेच्ने र किन्ने दुवै गद्दार हुन्

'राष्ट्रलाई आमाको रूपमा मान्ने युवा नेताको खाँचो छ'
मङ्गलबार, २९ चैत २०७८, ०६ : ००
मङ्गलबार, २९ चैत २०७८

देशमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । दलहरू उम्मेदवार चयन गर्न र निर्वाचनमा कसरी जित हासिल गर्न सकिन्छ, त्यसको तयारीमा जुटेका छन् । उता केही व्यक्ति स्वतन्त्र उम्मेदवारीको तयारीमा पनि छन् । तर, निर्वाचनमा प्रतिनिधि चयन गर्ने मतदाताको मनोविज्ञान चाहिँ के छ त ? यो जिज्ञासा पनि आम सर्वसाधारणमा कायमै छ ।

ललितपुर महानगरपालिका स्थानीय तहहरूमध्येमा सफल एक सफल पालिका मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका चिरिबाबु महर्जनको ५ वर्षे कार्यकाललाई निकै सफल रूपमा विश्लेषण गर्ने गरिएको छ । पुनः ललितपुरको मेयरको दाबी गरिरहेका चिरिबाबुबाट त्यहाँका मतदाता खुसी छन् त ? अथवा मतदाता स्वयं त्यसको विकल्प खोजिरहेका छन् ? यसै सन्दर्भमा ललितपुर महानगरपालिकाका स्थानीय मतदातासँग बुझ्ने प्रयास गरेका छौँ । अबको स्थानीय निर्वाचनमा उनीहरूले कस्तो नेतृत्व छान्ने मनस्थितिमा छन् त ?  

दुर्गालक्ष्मी शाक्य

स्थानीय तहको विकास जति गर्न सकिन्थ्यो, त्यो हुन सकेन । प्रतिनिधिहरूले भौतिक विकासलाई मात्रै जोड दिए । सामाजिक विकासका काम लगभग शून्य जस्तै भयो । महानगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने भनेर अचार, झोला, मखमलको जुत्ता बनाउने तालिमहरू दियो । तर त्यसको बजारीकरण गर्न सकेन । तालिम लिनेहरू घरमै अचार बनाएर खान बाहेक अरू गर्न सकेनन् । आत्मनिर्भर बनाउन उत्पादनको बजारीकरण गर्दिनुपर्छ । सीप बजारमा बिकेन भने कसरी महिलाले आर्थिक उन्नति गर्न सक्छन् ? 

त्यस्तै,  ललितपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ सफा सुग्घर राखेर पर्यटन प्रवर्द्धनमा जोड दिन सकियो भने स्थानीयको आर्थिक उन्नति हुन्छ । यी विषयमा निर्वाचित प्रतिनिधिले काम गर्न सकेनन् । विकास पनि समानुपातिक हुनुपर्छ । विकासले समग्र स्थानीयको जनजीवनमा परिवर्तन आउनुपर्छ । यस्तो खालको भिजन भएको प्रतिनिधिलाई भोट हाल्छु ।  

महेन्द्र महर्जन

हामीले पठाएका प्रतिनिधिहरूले पारदर्शी ढंगले काम गर्न सकेका छैनन् । जनता महानगरमा सेवा लिन जाँदा पनि ढिलासुस्ती छ । कर्मचारीले प्रतिनिधिलाई अधीनमा राखेर काम गरेका छन् । महानगरका कर्मचारीतन्त्र पुरै खराब छ । पाँच वर्ष होइन, धेरै वर्ष हेरिसक्यौ यिनीहरूबाट काम हुँदैन । अबको चुनावबाट नयाँ नेतृत्व आओस् भन्ने चाहना छ । ललितपुर कलात्मक वस्तु क्षेत्र हो । त्यसको विकास र प्रवर्द्धनमा काम गर्न सक्ने नेता आउनुपर्छ । र, भूकम्पबाट क्षति भएका सम्पदाको छिटो भन्दा छिटो पुनर्स्थापना गर्नुपर्छ । 

राजीव जोशी

काँग्रेस, एमाले र स्वतन्त्र उम्मेदवारबीच तालमेल हुन नसक्दा विकासका काम केही पनि देख्न पाइएन । । यसरी तालमेल नहुने हो भने आगामी वर्ष पनि विकासका काम होला भन्नेमा शंका छ । हरेक वडामा चारदेखि पाँच करोडको हाराहारीमा बजेट छ । तर त्यो बजेटको सदुपयोग भएको छैन । फेरि पनि वडा नं १० मा उही प्रतिनिधि आएमा सेरोमोनियल बनाएर राख्दिने हो । अनि, हामी जनता वडामा एक कमिटि बनाएर आफ्नै वडाको विकास गर्ने हो । 

सरोज केसी 

आफ्नो निकायको विकास गर्छु भन्ने निस्वार्थी भाव भएको नेतृत्व आजको आवश्यकता हो । नागरिकको स्वास्थ्यमा स्थानीय निकायको कुनै संरक्षण छैन । सबैभन्दा धेरै जनताको स्वास्थ्यको बारेमा ख्याल राख्नुपर्छ । समिति बनाएको छ तर त्यस निकायले कामै गरेको छैन । प्रतिनिधि जो आए पनि स्वच्छ प्रतिस्पर्धाबाट जितेर आउनुपर्छ । कार्यकर्ताहरूले आफ्नो नेताले गरेको गलत क्रियाकलापको बारेमा प्रश्न गर्न सक्ने हुनुपर्छ । आफ्नो नेताले जे भन्यो, त्यसमा ‘हो हो’ भन्ने कार्यकर्ता तथा नेताहरूले नै यो देश बर्बाद गरेका हुन् । राम्रो  काम गर्ने नेताले विपक्षी नेताको पनि समर्थन गर्नुपर्छ । पदको लोभले राजनीतिक माहौल बिग्रिएको मैले बुझेको छु । 

प्रेम बहादुर शाक्य

म राजनीतिमा निकै रुचि राख्छु । प्रतिनिधिहरूको कामप्रति सन्तुष्ट छैन । सामाजिक काममा लगानी छैन । चुनावी प्रक्रिया नै ठिक छैन, दुई दशक बढी भयो भोट हालेर प्रतिनिधि चुनेको तर स्थानीय तहको स्तर सुधारिएन । बेरोजगारीको समस्या यस्तो विकराल भएको देशमा महँगी हरेक दिन बढेको छ । नागरिकले दुई छाक पेटभरी खानै समस्या हुने स्थिति सिर्जना भएको छ । वैदेशिक रोजगारीमा गयो, उस्तै समस्या छ । व्यक्तिवादी राजनीति भएसम्म जनताले सधैँ यस्तो समस्या भोग्नुपर्छ । चुनावले जनतालाई अलमल्याउने काम गरेको छ । 

३० वर्ष भयो नेपालमा मलको कारखाना स्थापना हुनुपर्छ भनेको तर परनिर्भर भएर बस्नु परेको छ । भोज खाएर भोट हाल्ने प्रवृत्ति छ । जसरी छोरीको बिहे गर्दा केटा पक्षको बानी गुण हेरिन्छ, त्यो भन्दा धेरै बुझेर आफ्नो भोट कसलाई दिने भन्ने निर्णय गर्नुपर्छ । तबमात्र विकासप्रेमी, जनताप्रेमी नेतृत्व आउँछ । अब पनि मासुभातमा ललितपुरवासीले भोट नबेचुन् । भोट बेच्ने र किन्नेहरू राष्ट्रका दलाल र गद्दार हुन् । 

बुद्धिलाल महर्जन 

राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ । पुरानाहरुको काम हेरिसकियो, अब कति मात्रै यिनीहरूलाई सत्ता सुम्पिनु । पुरानाले देश बेचेर खाइसके । अब पनि तिनीहरूलाई नै भोट दिने हो भने यो देश बाँकी रहन्न । यो बचाउने जिम्मा अब युवाको हातमा छ । राष्ट्रलाई आमाको रूपमा मान्ने युवा नेताको खाँचो छ । बारम्बार जनताको आँखामा छारो हाल्ने यी बुढा पुरानो नेताहरूलाई भोट हालेर फेरि नेतृत्वमा आउन दिनु हुँदैन । यो देशमा केही परिवर्तन होला, जनताको पनि सुखका दिन आउला भन्ने आशामै मेरो उमेर ६५ पुग्यो । आफ्नो उमेर सकिए पनि आउँदा पुस्ताले समृद्ध नेपाल देख्न पाउन् । युवालाई जिम्मेवारी दिएर नयाँ प्रयोग हेर्नुपर्छ ।

चन्द्रशोभा शाक्य

सडक बनायो, फेरि ढल हाल्न भनेर भत्काउँछ । यसले नागरिकको जनजीवनमा समस्या ल्याउँछ । बाटो नहुँदा समस्या हुन्छ । धुलोबाट उस्तै सास्ती खेप्नुपर्छ । फेरि बिजुलीको तार हाल्न भनेर बाटो भत्काउँछ । यसले जनताको करको दुरुपयोग भएको छ । विकासको मोडल करको दुरुपयोग नहुने पनि हुनुपर्छ । सुधारिन्छु भन्ने हो भने पुरानै नेता आएपनि हुन्छ । तर हिजो जस्तो जनता झुक्याउँदै हिँड्ने हो भने अब नयाँ नेता आउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप