शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय

फर्केर हेर्दा वर्ष २०७८ : ऊर्जा, उद्योग र व्यापारमा अनेक उतारचढाव

बुधबार, ३० चैत २०७८, १८ : २७
बुधबार, ३० चैत २०७८

वर्ष २०७८ मा कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धले नेपालीलाई महँगीको भार थोपर्‍यो । कोभिड–१९ महामारीको प्रभाव न्यून हुँदै जाँदा विश्वभरको अर्थतन्त्र लयमा फर्कने क्रममा धेरैजसो वस्तुको मूल्य उकालो लाग्यो । कोरोनाले बढाएको मूल्यलाई रूस–युक्रेनबीचको युद्धले समेत मलजल ग¥यो । यससँगै, नेपालमा यो वर्ष धेरै वस्तुको मूल्यले नयाँ कीर्तिमान कायम ग¥यो । पेट्रोलियम पदार्थ, खानेतेल, खाद्यान्न र सुनचाँदीको मूल्य नयाँ कीर्तिमान कायम गरेको हो ।

यसैगरी यो वर्ष विश्वभर कोइला, पेट्रोलियम पदार्थ र बिजुलीको मूल्य बढेर ऊर्जा संकट नै निम्तियो । यस्तो संकटका बीच नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ११ महिनासम्म नेतृत्व खाली रह्यो । यसै वर्षदेखि नेपालले भारततर्फ बिजुली निर्यात शुरू गरेको छ । कूल जडित क्षमता ४५६ मेगावाट रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन शुरू भएसँगै भारततर्फ निर्यात थालिएको हो 

यस्तै, अर्थमन्त्री जनार्दन शर्मालेस्पञ्ज आइरन आयातमा छुट दिन गरेको निर्णय निकै विवादित बन्यो । विश्वव्यापी महँगीको मार पनि नेपालको निर्माण उद्योगमै बढी प¥यो ।

भान्सा महँगिएको वर्ष

वर्ष २०७८ कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धको प्रभावले महँगीको वर्ष बन्न पुग्यो । खानेतेल, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न लगायत सबैजसो वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार घ्यू र तेलको मूल्यवृद्धि २६ प्रतिशतसम्म भएको छ । यस्तै, तरकारीको मूल्य १३.९६ प्रतिशत, दुग्धजन्य उत्पादनको मूल्य ११.३० प्रतिशत, अण्डाको मूल्य १० प्रतिशत र दालको मूल्यवृद्धि १०.३० प्रतिशतसम्म भएको छ ।

यो वर्ष खानेतेलको मूल्यमा पनि सबैभन्दा धेरै वृद्धि भएको छ । रूस–युक्रेन युद्धले खानेतेलको मूल्यलाई सबैभन्दा बढी प्रभावित बनायो । विश्वका धेरै देशमा खानेतेलको आपूर्ति गर्दै आएका यी देश युद्धमा होमिँदा निर्यात रोकिएको थियो । जसकारण खानेतेलको मूल्य बढेको हो ।

नेपालमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ४०० रुपैयाँ, काँचो तोरीको तेलको मूल्य प्रतिलिटर ३८५ रुपैयाँ, भटमास तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ र सूर्यमूखी तेलको मूल्य प्रटिलिटर २९० रुपैयाँ पुगेको छ । तीन वर्ष अघिभन्दा यो वर्ष तेलको मूल्यमा दोब्बर वृद्धि भयो ।

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यवृद्धि

यो वर्ष पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यो मूल्य इतिहासकै उच्च हो । यसअघि, वि.सं. २०७० सालमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

कोभिड–१९ महामारीयता विश्वको अर्थतन्त्र लयमा फर्कँदै गर्दा बढ्न थालेको पेट्रोलियम पदार्थको मूल्य रूस–युक्रेन युद्धले झनै चपेटामा पा¥यो । विश्वकै तेस्रो ठूलो तेल उत्पादक रूस युद्धमा होमिँदा विश्वभर पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्यो ।

यसैगरी, यो वर्ष खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । कच्चा तेलको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव खाना पकाउने ग्यासको मूल्य परेको हो । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६ रुपैयाँ पुगेको छ । जुन, अहिलेसम्मकै उच्च मूल्य हो ।

ऊर्जा संकट

रूसले युक्रेनमाथि हमला गर्दाको प्रभाव नपरेको कुनै क्षेत्र छैन । अन्य क्षेत्रमा जस्तै यो वर्ष ऊर्जा क्षेत्रमा पनि रूस–युक्रेन युद्धको प्रभाव प¥यो । यो वर्ष उपलब्ध सबै प्रकारका ऊर्जाको मूल्य बढ्यो । विश्व बजारमा कोइला, पेट्रोलियम पदार्थ र बिजुलीको मूल्य पनि अत्याधिक मात्रामा बढ्यो । यसबाट नेपाल पनि अलग रहन सकेन ।

कोइलाको मूल्य वृद्धिका कारण नेपालका इटा, डण्डी र सिमेन्ट उद्योगहरूको उत्पादन नै प्रभावित बनेको छ । यस्तै, डिजेलको मूल्य बढ्दा पनि औद्योगिक गतिविधि प्रभावित बनेको छ ।

विश्वभर कोइलाको मूल्य बढ्दा त्यसबाट उत्पादन हुने बिजुलीको आपूर्तिमा समेत समस्या भएको छ । सुख्खा याममा आन्तरिक माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता रहेको नेपालले यो वर्ष झनै चर्को समस्या भोग्यो । लोडसेडिङ अन्त्य भएको धेरै वर्षपछि यो वर्ष उद्योगहरूमा लगातार दुई दिन रातको समयमा विद्युत कटौती गरियो । भारतमा मूल्य बढेका कारण प्राविधिक समस्याले विद्युत आयात गर्न नपाउँदा नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा बिजुली कटौती गरेको हो ।

निर्माण उद्योग मूल्यवृद्धि चपेटामा

रूस–युक्रेन युद्धको प्रभाव नेपालको निर्माण क्षेत्रमा पनि देखियो । यो वर्ष नेपालको निर्माण क्षेत्रले इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मूल्यवृद्धिबाट लपेटियो । यो वर्ष कोइला, डिजेल र डण्डीको मूल्य बढ्दा निर्माण क्षेत्र समस्यामा परेको हो । यस्तै, बिटुमिन र अलकत्राको मूल्य बढ्दा पनि निर्माण उद्योगले समस्या भोग्यो ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीले डण्डीको मूल्य बढाएका छन् । उनीहरूका अनुसार विश्व बजारमै मूल्य बढेकाले नेपाल समेत त्यसबाट अछुतो रहन सकेन र मूल्य बढ्यो । जसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमै प¥यो । यस्तै, निर्माण उद्योगमा सबैभन्दा धेरै प्रयोग हुने डिजेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुग्दा निर्माण उद्योग थप समस्यामा परेको व्यवसायीहरूको भनाइ छ ।

स्पञ्ज आइरनमा छुट दिने निर्णय विवादित

वर्ष २०७८ मा अर्थमन्त्री जनार्दन शर्माले विवादित औद्योगिक निर्णय गरेको वर्ष समेत रह्यो । कच्चा पदार्थ आयात गर्ने उद्योगलाई प्रोत्साहन गर्ने भन्दै अर्थमन्त्री शर्माले स्पञ्ज आइरनमा बजेटमार्फत छुट व्यवस्था गरे । प्रतिस्थापन विधेयकमार्फत उनले स्पञ्जमा छुट दिँदा ६ वटा उद्योगलाई फाइदा पुगेको र बाँकी २४ वटा उद्योग धरासायी बनेको उद्योगीहरूले बताइरहेका छन् ।

अर्थमन्त्री शर्माद्वारा बजेटमा भएको नयाँ व्यवस्था अनुसार भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पु¥याइयो । यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदरमा पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था गरियो । यो व्यवस्था भएसँगै विदेशबाट विलेट आयात गर्दै आएका उद्योगहरूले आफ्नो अर्बौं रुपैयाँ लगानी र हजारौं कर्मचारी रोजगारविहीन बन्ने बताउँदै आएका छन् ।

सरकारले २४ वटा उद्योगलाई समयसमेत नदिई नयाँ व्यवस्था गरेकाले बाँकी उद्योग समस्यामा पर्ने भन्दै संघीय संसद अन्तगर्तका समितिहरूले पनि अर्थमन्त्रीको निर्णयमाथि प्रश्न उठाएका थिए ।

सुनको मूल्यमा नयाँ कीर्तिमान

वर्ष २०७८ मा कोरोना महामारी र युद्धको प्रभाव सुन र चाँदीको मूल्यमा पनि प¥यो । यो वर्ष सुनको मूल्यले अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुग्यो । यसअघि, गत वर्ष २०७७ साउनमा प्रतितोला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ पुगेको थियो । यसैगरी, यो वर्ष चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँसम्म पुगेको छ । यो पनि अहिलेसम्मकै उच्च मूल्य हो ।

वर्षको पहिलो महिना वैशाखमा सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ थियो । यो मूल्य फागुन महिनाको मध्यसम्म आइपुग्दा प्रतितोला १५ हजार ७०० रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँभन्दा माथि पुगेको हो । 

चीनतर्फ घाँस निर्यात
वर्ष २०७८ मा वैदेशिक व्यापारतर्फ देशले ठूलो उपलब्धि भन्दै चीनतर्फ घाँस निर्यात सम्झौता गरेको छ । चर्चा शुरू भएको तीन वर्षपछि पशुआहार चीनतर्फ निर्यात गर्न ढोका खुलेको हो । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसहितको टोलीले नेपालबाट घाँस आयातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरे । यससँगै, नेपालबाट औपचारिक रूपमा चीनतर्फ घाँस निर्यातको बाटो खुल्यो ।

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र चीनको आन्तरिक मापदण्ड पूरा गर्नसके अब नेपालले चीनतर्फ घाँस निर्यात गरेर मनग्य आम्दानी गर्नसक्छ । चितवन, नवलपरासी, दाङ तथा हिमाली जिल्लाहरूमा चीनतर्फ निर्यात हुने घाँस उत्पादनको प्रशस्त सम्भावना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले दाबी गरेका छन् ।

उद्योग मन्त्रालय नेतृत्वविहीन

यो वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अस्थिर बन्यो । वर्षको करिब ११ महिना मन्त्रालय करिब–करिब खाली रह्यो । यस वर्ष उद्योग मन्त्रालयको जिम्मेवारी लेखराज भट्ट, राजकिशोर यादव, विष्णु पौडेल र गजेन्द्र हमालले सम्हाले । विभिन्न कारणले यी सबै मन्त्री बहिर्गमनमा परेपछि मन्त्रालयको जिम्मेवारी सम्हाल्न दिलेन्द्रप्रसाद बडू आएका छन् ।

जेठ ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले असंवैधानिक व्याख्या गरेको थियो । खासगरी, सर्वोच्चले नेकपा माओवादी (केन्द्र)बाट निर्वाचित बनेर नेकपा (एमाले) प्रवेश गरेका ७ मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको व्याख्या गरेको थियो । सर्वोच्चको व्याख्यासँगै तत्कालीन उद्योग मन्त्री लेखराज भट्टको पद गएको थियो ।

त्यसयता मन्त्रालयको जिम्मेवारी सम्हाल्न ३ जना मन्त्री आएपनि लामो समय रहन सकेनन् । यस्तै, जेठ २९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजकिशोर यादवलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए ।

मन्त्रिपरिषद्को उक्त विस्तारलाई पनि सर्वोच्चले असार ८ गते खारेज गरेपछि ओलीले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । त्यतिबेला पौडेलले अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । यस्तै, अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै असार २९ गते नयाँ मन्त्रिमण्डल गठन भएको ८८ दिनपछि मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमालले पाएका थिए ।

प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि हमालले मन्त्रालयको जिम्मेवारी सम्हालेको दोस्रो दिनमै राजीनामा दिएका थिए । असोज २२ गते मन्त्रालयको जिम्मेवारी पाएका हमालले असोज २४ गते राजीनामा बुझाएका थिए । त्यसयता नेतृत्वविहीन मन्त्रालयको जिम्मेवारी सम्हाल्न दिलेन्द्रप्रसाद बडू आइपुगेका हुन् ।

माथिल्लो तामाकोशीबाट थालिएसँगै ऊर्जामा आत्मनिर्भर

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट यस वर्षदेखि व्यवसायिक उत्पादन शुरू भयो । ४५६ मेगावाट क्षमताको आयोजनाले असार २१ गतेदेखि उत्पादन थालेको थियो । यो वर्षदेखि नेपाल बर्खायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनेको छ । नेपालले भारततर्फ बिजुलीको निर्यात (३९ मेगावाट) पनि थालेको छ । करिब ८० अर्ब रुपैयाँ लागत लागेको आयोजनाबाट व्यवसायिक रूपमै उत्पादन शुरू थालिएपछि ऊर्जा उत्पादन सहज बनेको छ । 

माथिल्लो तामाकोशीबाट उत्पादन थालिएसँगै आएसँगै बर्खायाममा नेपालमा ४०० मेगावाटसम्म बिजुली खेर गएको थियो । नेपालबाट ३९ मेगावाट बिजुली निर्यात भएपनि थप बिजुली किन्न भारतले आनाकानी गर्दा अर्बौको बिजुली खेर गएको हो । यद्यपी, आगामी वर्षदेखि भने भारतले नेपालबाट ३६४ मेगावाट बिजुली किन्ने सहमती जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका क्रममा भारतले नेपालबाट बिजुली किन्न सहमति जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप