बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनमा सकस : गगनमाथि पौडेल र देउवाको सवाल–जवाफ

आइतबार, ०४ वैशाख २०७९, १९ : १५
आइतबार, ०४ वैशाख २०७९

सत्तासीन नेपाली काँग्रेसलाई आसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल गर्न सकस परेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई मिलाएर लैजाने योजना बनाएको काँग्रेस अहिले चुनौतीको पहाड सामु उभिएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनसम्बन्धी सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म सत्तारुढ गठबन्धनभित्र भागबण्डा टुङ्गिन सकेको छैन । गठबन्धनका कारण काँग्रेसभित्रको आन्तरिक एकता पनि ओझेलमा परेको छ । तर, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि गठबन्धनसँगको चुनावी तालमेलमै केन्द्रित छ । काँग्रेसका कारण गठबन्धन भाँडिने अवस्था आउन नदिन नेताहरुलाई सभापति देउवाले निर्देशनसमेत दिएका छन् ।

‘जो जहाँ लडेपछि माओवादी र एमाले मिल्नुभएन,’ शनिबार केन्द्रीय कार्यसम्पादन समितिमा देउवाको रुलिङ थियो, ‘हाम्रो कारणले गर्दा गठबन्धन भाँडिनु हुँदैन । काँग्रेसले धोका दिनुहुँदैन । काँग्रेसको नैतिकता छ ।’

तर गठबन्धनभित्र ६ वटा महानगरपालिकामा भागबण्डाको विषय पेचिलो बनेको छ । काँग्रेसको जिल्ला तहबाट ६ वटै महानगरपालिकामा प्रमुख नछोड्न नेतृत्वमाथि चर्को दबाब छ । तर गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा पार्टीको स्ट्रेन्थ भन्दा संख्याको हिसाबमा माग–दाबी भइरहेको छ ।

६ वटा महानगरमध्ये तीन वटा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक पाउनुपर्ने ढंगले छलफल अगाडि बढेको छ । चुनावी तालमेल हुँदा काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुख पाउने सम्भावना छ । यस्तै, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिका पाउने अवस्था छ । यस्तै, ११ वटा उपमहानगरपालिकामध्ये ६ वटा काँग्रेस र ५ वटामा माओवादी, एकीकृत समाजवादी र जसपाबीच भागबण्डा लगाउनुपर्ने गरी छलफल भइरहेको छ ।

दाङको घोराही र बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा माओवादीको कडा दाबी छ । एकीकृत समाजवादीले तीन वटा उपमहानगरपालिकामा दाबी गरेको गठबन्धनको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

स्रोतका अनुसार बुटवल, धनगढी र हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पद दाबी गरेको छ । त्यसमा पनि हेटौंडा उपमहानगरमा उसको सशक्त दाबी छ । जसपाले धनुषाको जनकपुरधाम, बाँकेको नेपालगञ्ज र बाराको कलैया उपमहानगरपालिकामा सशक्त दाबी प्रस्तुत गरेको छ ।

गठबन्धन बैठकको उक्त परिदृश्यका बीच शनिबार काँग्रेसले महानगर र उपमहानगरबारे सुझाव लिने उद्देश्यका साथ केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेको थियो । बैठकमा रमेश रिजालले वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल कुनै हालतमा गर्न नहुने मत राखेका थिए ।

विमलेन्द्र निधि, आनन्द ढुंगाना लगायतले चुनावी तालमेलको नाममा गलत बाटो हिँडिरहेको आरोप लगाएका थिए । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख काँग्रेसले छोड्न नसक्ने उनीहरुको भनाइ थियो । तर सहमहामन्त्रीहरु फर्मुल्ला मन्सुर, महेन्द्र यादवले भने चुनावी तालमेलका लागि काँग्रेस उदार हुनुपर्नेमा जोड दिए ।

‘गठबन्धनभन्दा दायाँबायाँ अरु कुरा छैन । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सबैले पहल गर्नुपर्छ । यो हाम्रो जिम्मेवारी पनि हो,’ उनीहरुको भनाइ थियो । अर्का सहमहामन्त्री जीवन परियारले पोखरा महानगरपालिकाको मेयर काँग्रेसले छोड्न नहुने अडान राखेका थिए । गठबन्धनभित्र एकीकृत समाजवादीले पोखरा महानगर पाउने चर्चा हुन थालेको भन्दै उनले काँग्रेस बाहेकका दलले मेयर पाए जित्न कठिन हुने बताए ।

पौडेलको प्रश्न : गठबन्धनविरुद्ध किन बोलेको ?

कार्यसम्पादन समिति बैठकमा शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेलका विरुद्धमा पार्टीका पदाधिकारीबाटै अभिव्यक्ति आएकोमा प्रश्न उठाएका थिए । पौडेलले महामन्त्री गगन थापाको नाम नै लिएर तालमेलको एउटा निर्णय भइसकेपछि बाहिर बोल्न पाइँदैन भनेका थिए । जवाफमा महामन्त्री थापाले तालमेल गर्ने पार्टीको निर्णय माने पनि आफू त्यसको विपक्षमा भएकाले बोल्न नछोड्ने बताए ।

‘हेर्नुस् रामचन्द्र दाइ ! म तालमेलको विपक्षमा हुँ । पार्टीको बैठकमा पनि यो कुरा राखेको छु,’ थापाले भने, ‘बाहिर पनि यो कुरा राख्छु । पार्टीको निर्णय प्रक्रियामा सहभागी भएपछि निर्णय मान्छु । तर मेरो मतलाई पार्टीको निर्णय बनाउने प्रयास गरिराख्छु नि म ।’

गगनलाई देउवाको जवाफ

तालमेलका विषयमा नेता पौडलबीच मात्र होइन, सभापति देउवासँग पनि महामन्त्री थापाको सवाल जवाफ भयो । बैठकमा देउवाअघि बोलेका थापाले स्थानीय आवश्यकता र अवस्था हेरेर तालमेल गर्ने पार्टीको निर्णय खण्डित हुन नहुने बताए । चुनावी तालमेलको निर्णय स्थानीय तह बाहेक अरुले गर्ने नपाउने थापाको तर्क थियो ।

‘स्थानीय तहले ३ गतेसम्म तालेमलको प्रयास गर्ने, गर्न नसके माथि पठाउने भनिरहेका छौं । त्यो माथि पठाउने भनेको कहाँ हो ?,’ थापाको प्रश्न छ, ‘जिल्लाले तालमेल गर्न सकेन भने हामीले माथिबाट कसैले पनि गर्न सक्दैनौं । गर्न पनि पाइँदैन । निर्णय भए पनि कसैले मान्दैन । त्यसैले तालमेल गरे पनि, नगरे पनि स्थानीय तहले निर्णय नै गर्छ ।’

जिल्ला तहमा तालमेल टुङ्ग्याउन बरु केन्द्रीय समिति सदस्यलाई खटाएर मिलाउने कोशिस गर्दा राम्रो हुने थापाको भनाइ थियो । ‘तर तालमेल गर्ने नगर्ने निर्णय जिल्लाले नै गर्न पाउनुपर्छ । त्यो भन्दा दायाँबायाँ भयो भने समस्या हुन्छ,’ उनले भने ।

थापाका अनुसार महानगर र उपमहानगरपालिकामा चुनावी तालमेल केन्द्रले कसरी टुङ्ग्याउने भन्ने विषयले समस्या पैदा गरेको छ । ‘केन्द्रले कुन महानगर र उपमहानगरपालिका आफूसँग राख्ने र कुन छोड्ने भन्नका लागि आधार के हो त ? आधार कसले दिन्छ ? त्यो आधार जे जे मन लाग्यो त्यही बोलेर हुन्छ ?,’ थापाको प्रश्न छ ।

यसको आधार दिनका लागि सम्बन्धित महानगर र उपमहानगरपालिकाको कार्यसमितिसँग रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ । ‘रिपोर्ट प्राप्त भएपछि त्यसका आधारमा बल्ल निर्णय गर्न पाइन्छ । सबै महानगर र उपमहानगरका साथीहरुले नेतृत्व छोड्नु हुँदैन भनिराख्नु भएको छ,’ उनले भने । पहिला उनीहरुको कुरा सुनेरमात्र गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने थापाको भनाइ छ ।

देउवाले पनि बैठकमा भतरपुरको स्थानीय पार्टी कमिटीको विषय उठाउने नेताहरुलाई जवाफ दिएका थिए । भरतपुर महाननगर सभापतिले चित्रसेन अधिकारीले उपमेयर लड्छु भनिसकेको देउवाले बताए । ‘साथीहरुले तलको मान्छेको कुरा सुन्नुपर्छ भन्नुभयो । यहाँ भरतपुरको कुरा छ । भरतपुर महानगरको सभापतिले उपमेयर लड्छु भनिसक्यो । ऊ तलको मान्छे होइन ?,’ देउवाको भनाइ छ । संस्थापन इतर पक्षबाट महानगर सभापतिमा निर्वाचित अधिकारी पछिल्लो समय संस्थापन निकट देखिएका छन् ।

उपमेयरका लागि अधिकारीलाई गृहमन्त्री बालकृष्ण खाणले ‘प्लान्ट’ गरेको स्रोतले रातोपाटीलाई बतायो । यद्यपि अधिकारीले आफूले माओवादीलाई मेयर दिलाएर उपमेयर लड्छु नभनेको बताए । अधिकारीको नाम भरतपुरको मेयरका लागि सिफारिस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप