शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले मत बदरको जोखिम

आयोग भन्छ–‘दलको तालमेल हुँदा यसरी भोट हाल्नुस् भनेर सिकाउन मिल्दैन’
आइतबार, ०४ वैशाख २०७९, १९ : २१
आइतबार, ०४ वैशाख २०७९

स्थानीय तह निर्वाचन २०७४ मा काठमाडौँ महानगरपालिकामा एमाले र राप्रपाको चुनावी गठबन्धन थियो । राप्रपाले सहयोग गरेको उम्मेदवार विद्यासुन्दर शाक्य नगरप्रमुखमा निर्वाचित भए भने एमालेले सघाएको उपप्रमुखका उम्मेदवार राप्रपाका राजाराम श्रेष्ठ पराजित भए । गठबन्धनको मर्म अनुसार मतदाताले उपमेयरमा राप्रपालाई भोट दिनुपर्नेमा सूर्य चिन्हमा भोट गयो । उपप्रमुख पदमा सूर्य चिन्ह भए पनि उम्मेदवार भने थिएन । जसका कारण झन्डै १५ हजार मत सूर्य चिन्हमा गएका कारण बदर भएको थियो । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तापक्ष ५ दलले गठबन्धन बनाएका छन् । यो चुनावमा पनि माथिको उदाहरणको जस्तो मतपत्र बदरको घटना नहोला भन्न सकिन्न । त्यसका लागि निर्वाचन आयोग मात्र जिम्मेवार नहुने आयोगको भनाई छ । यस्तो अवस्थामा गठबन्धन बनाएर चुनावमा जाने राजनीतिक दलको पनि जिम्मेवारी हुने आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । रातोपाटीसँग कुरा गर्दै अर्यालले भने–‘धेरै राजनीतिक दलबिच चुनावी सम्झौता भयो भने आफ्नो दलको भोट खेर नजाओस् भनेर यसमा राजनीतिक दलहरूको पनि जिम्मेवारी हुन्छ । भोट मात्र माग्ने हैन कि सही तरिकाले भोट कहाँ कसरी हाल्ने भनेर आफ्ना मतदातालाई पनि बताउनुपर्ने हुन्छ । हामीले यी यी राजनीतिक दलले गठबन्धन गरेका छन् तपाईंहरू यसरी भोट हाल्नुस् भन्न मिल्दैन ।’ 

स्थानीय तहको चुनावमा मत बदर हुनुको कारण मतपत्र पहिले नै छापिनु र उम्मेदवार पछि तय हुनु हो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पहिला उम्मेदवार तय भएर मात्र मतपत्र छापिने गर्छ । प्रतिनिधि सभाको चुनावमा उठेका दलको मात्र चुनाव चिन्ह हुन्छ तर स्थानीय तह चुनावमा नउठेका उम्मेदवारको पनि चिन्ह राखिएको हुन्छ । चुनावका लागि उम्मेदवार नभएका चिन्हमा मत परेमा त्यसलाई बदर मानिने आयोगको भनाई छ । 

सह प्रवक्ता अर्यालले भने–‘पाँच वटा दलले चुनावी तालमेल गर्दा मतदातामा धेरै भ्रम पैदा हुन सक्छ । मतपत्र ठूलो हुँदा आफूले खोजेको चिन्ह फेला पार्न भद्रगोल हुन सक्छ । हामीले भन्न सक्ने भनेको मतपत्रको एउटा लहरमा नबिग्रिने गरी छाप हान्नुहोस् भन्न सक्ने मात्र हो ।’

यसरी गर्दैछ आयोगले मतदाता शिक्षा 

निर्वाचन आयोगले आगामी स्थानीय तह चुनावका लागि मतदाता शिक्षाका लागि २४ करोड खर्च गर्छ । त्यसमध्ये ९ करोड मतदाता शिक्षा स्वयंसेवक परिचालनका लागि खर्च हुने सह–प्रवक्ता अर्यालले बताए । 

अघिल्ला वर्षमा विभिन्न संघ संस्थालाई मतदाता शिक्षाका लागि परिचालन गरिने भए पनि यो पटक भने स्वयंसेवक मात्र परिचालन गरिने छ । संघ संस्थालाई मतदाता शिक्षामा सहभागी गराउँदा नतिजा राम्रो आएन भन्ने गुनासो आएपछि त्यो मोडेललाई परिवर्तन गरिएको हो । 

अघिल्लो निर्वाचनमा सहभागी भएका स्वंयसेवकहरुलाई नै यो पटकको निर्वाचनमा परिचालन गर्ने तयारी रहेको आयोगको भनाई छ । 

वैशाख २९ र ३० गते मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने तयारी रहेको अर्यालले बताए । वैशाख ३० गते निर्वाचनको दिन मतदान केन्द्रभन्दा बाहिर २ जनाका दरले मतदाता शिक्षा स्वयंसेवी परिचालन गर्ने आयोगको भनाई छ । 

आयोगले वैशाख ८ गतेपछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । 

अर्यालले भने–‘छपाई सामाग्री पनि अब दुई चार दिनमा आउँछ । अडियो भिडियो सामाग्री पनि बन्छ । ती सामग्री आइसकेपछि स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका देखि लिएर केन्द्रीय स्तरका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन पोर्टल, सामाजिक सञ्जालबाट एकैचोटी प्रवाह गरिन्छ ।’ 

कस्ता हुन्छन् मतदाता शिक्षा सामग्री

आयोगले नमुना मतपत्र जिल्ला जिल्लामा पठाइसकिएको छ । आयोगले कसरी सही तरिकाले मतदान गर्ने भन्ने सम्बन्धी एउटा पोस्टर बनाएको छ । त्यसपछि अचार संहिताको बारेमा र निर्वाचनको बारेमा बारम्बार सोधिने प्रश्न र तिनको जवाफ लगायतका कुरा समेटिएका सामग्री तयार पारिएको छ । आयोगले विद्युतीय माध्यमबाट, सामाजिक सञ्जालबाट पनि मतदाता शिक्षा सामग्री प्रसार गर्ने तयारी गरेको छ । 

उनले भने–‘अघिल्लो पटकको जस्तो मतदाता शिक्षाका लागि संघ संस्थाको प्रयोग गरिदैन । मतदाता शिक्षा सामाग्री छापा र विद्युतीय दुवै माध्यममा हुन्छ । मोबाइलको कलर रिङ्टोनमा पनि निर्वाचन सम्बन्धी सूचना राखिन्छ । यो अलि पछिबाट चुनावको पिक समयमा सुरु हुन्छ ।’

आयोगले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब, अनलाइन मिडिया लगायतबाट आयोगले मतदाता शिक्षा दिने तयारी गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप