शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा ‘लु’ बाट कसरी जोगिने ?

बुधबार, १४ वैशाख २०७९, ०६ : २९
बुधबार, १४ वैशाख २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत हुन आग्रह गरेको छ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् । यो मौसममा चल्ने तातो हावाले  धेरैलाई सताउँछ । पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भने   अत्यधिक गर्मीले ‘लु’ लाग्ने गर्छ । तराई क्षेत्रमा गर्मी बढ्दै गएकाले ‘लु’ वा हिट स्ट्रोकको समयमा उपचार नभएको खण्डमा ज्यान जान सक्ने खतरा भएकाले सचेत रहन आग्रह गरिएको हो ।  गर्मीले नुन र पानीको कमी भएमा ‘लु’ लाग्न सक्छ । शरीरले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ डिग्री फरेनहाइट भएमा राम्ररी काम गर्छ । 

‘लु’ लागेर तत्काल उपचार गराएमा बिरामी सामान्य अवस्था फर्किन सक्छ । त्यसैले, जतिसक्दो चाँडो प्राथमिक उपचार गरेर अस्पताल पुर्‍याउनु पर्छ । बिरामीको शरीरमा पानी छर्किने, चिसो कोठामा राख्ने, चिसो पानी बरफका टुक्राहरू शरीरमा छर्किने आदि गर्नुपर्छ । 

शरीरको तापक्रम १०६ डिग्री फरेहनहाइट भन्दा बढी दिमागले काम गर्न नसक्ने अवस्था ‘लु’ हो । ‘लु’ का कारण हुने हिट् स्ट्रोक दुई प्रकारका हुन्छन् । पहिलो एक्जरसनल हिट स्ट्रोक धेरै शारीरिक अभ्यास गर्दा, गर्मीमा कडा परिश्रम गर्दा, खेलहरू खेल्दा लाग्न सक्छ । यस्तै, अत्यधिक गर्मी हुने स्थानमा कम उमेरका बालबालिका र बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई हिट स्ट्रोक अर्थात् ‘लु’ लाग्न सक्छ । 

तत्काल तातो हावा ‘लु’ नलाग्ने

स्वास्थ्य मन्त्रालयले सचेत हुन आग्रह गरिरहँदा उता मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले    नेपालमा तातो हावा ‘लु’ लाग्ने गरी तापक्रम नबढेको  बताउँछन् । ४० डिग्री सेल्सियस भन्दा बढी गर्मी भएमा तातो हावा चल्ने ‘लु’ लाग्न सक्छ । नेपालमा तत्काल ‘लु’ लाग्ने गरी तापक्रम बढ्ने सम्भावना कम रहेको उनले बताए । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १३ गते मंगलबार सबैभन्दा बढी धनगढीमा ३८ देखि ४० डिग्री तापक्रम रहेको छ । तर वरिष्ठ मौसमविद् प्रधानाङ्गका अनुसार तत्काल तातो हावा ‘लु’ लाग्ने अनुमान छैन ।

यस्तै, घोराही र वीरेन्द्रनगर तथा दीपायलमा ३५ देखि ३७ डिग्री सेल्सियस तापक्रम रहेको छ । प्रधानाङ्गका   अनुसार लगातार पाँच दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भइराख्यो भने ‘लु’ लाग्ने सम्भावना रहन्छ । 

‘लु’ लाग्दा देखिने लक्षण  

‘लु’ लागेमा उच्च ज्वरो आउने, हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने, झाडावान्ता लगायतका समस्याले सताउँछ । ‘लु’ले गर्भवती, कुपोषित बालबालिका र घरबाहिर कडा परिश्रम गर्नेहरु चाँडै गर्मीबाट प्रभावित हुने चिकित्सकहरु बताउँछन् । 

‘लु’ बाट जोगिने उपाय

तापक्रम बढी भएका स्थानमा तातो बतास चल्दा धेरै हिँड्ने, खेल्ने गर्दा शरीरको तापक्रमको असन्तुलन हुँदा स्वास्थ्यमा समस्या आउन सक्छ । स्वास्थ्य मन्त्रालयका अनुसार गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपाय यस्तो छः 

–दिउँसो घरबाट बाहिर ननिस्कने ।

–चिसो पानीले नुहाउने ।

–क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी सोडा जस्ता पेय पदार्थ नपिउने ।

–फलफूलको रस र पानी पिउने । सधैँ पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने ।

–खेतबारीमा कामकाज गर्दा सकभर बिहान वा बेलुका गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप