शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुण्डा नाइकेसँग एक करोडको लेनदेनले लियो ‘सहिद’ शरद गौचनको ज्यान

आइतबार, १७ मङ्सिर २०७४, १५ : ०६
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौँ । गुण्डानाइके समिरमान सिंह बस्न्यातसँग एक करोड रुपैयाँको लेनदेन नमिल्दा सरकारले सहिद घोषणा गरेका निर्माण व्यवसायी शरद कुमार गौचनको ज्यान गएको गएको तथ्य खुलेको छ ।

घटनाका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य खुल्न आएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गौचनले आफूले सञ्चालन गर्दै आएको डाँफे कन्सट्रक्सनको सेयर दिने भनेर गजुरमुखी कन्सट्रक्सनका मुख्य लगानीकर्ता रहेका कुमार श्रेष्ठ (घैँटे) मार्फत दुई करोड पचास लाख रुपैयाँ लिएको देखिएको हो ।

घैँटेको मृत्युपछि उक्त रकममध्ये एक करोड आफ्नो भएको दाबी गर्दै उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्सट्रक्सनको सेयर वा रकम फिर्ता गर्न बस्न्यातले गौचनसँग पटक–पटक माग गरेका थिए ।

त्यसमाथि वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन बापतको २ प्रतिशत रकम माग गर्दा पनि गौचनले त्यसलाई वेवास्ता गरेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो । 

त्यसैको बदला लिन वस्न्यातको योजनामा असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई यसअघि नै पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका वस्न्यातसहित ८ जना फरार रहेका थिए ।

वस्न्यात भारतमा लुकेर वस्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले गत मंगिर १६ गते चितवनको नारायणघाटबाट पक्राउ गरेको थियो ।

काठमाडौँ–१३ स्थायी घर भएका वस्न्यात पछिल्लो छ महिनादेखि नेपालबाहिर लुक्दै आएका थिए ।

अन्य दुई घटनाका पनि मुख्य योजनाकार

२०७३ साल पौष ४ गते रुपन्देहीमा नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी र चैत २९ गते काठमाडौँ गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा दावालाई तीन गोली प्रहारको घटनामा पनि वस्न्यातनै मुख्य योजनाकार रहेको खुलेको छ ।

दुर्गा तिवारीको हत्यामा मनोज पुनले घटनाको जिम्मेवारी लिए पनि वस्न्यात नै यसको मूख्य योजनाकार रहेको सिआइबीले जनाकारी दिएको छ । तिवारीलाई गोली हान्ने लोप्साङ लामा वस्न्यातकै ‘राइट ह्याण्ड’ रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

त्यस्तै, दावा लामालाई गोली हान्न लोप्साङले अमर बहादुर रानामगरलाई प्रयोग गरेका थिए ।

टुट्यो ग्याङ
 

यता, समिरमान सिंह वस्न्यात पक्राउ परेपछि उनको समूहमा विभाजन आएको सिआइबीले जानकारी दिएको छ । वस्न्यात पक्राउ परेपछि अहिले समूहको नेतृत्व

लोप्साङ लामाले सम्हालेपछि यसबाट मनोज पुन अलग्गिएको पनि प्रहरीले जानकारी दिएको छ ।

लोप्साङ र पुन प्रहरीको फरार सूचीमा रहेका छन् ।

उनीहरुसँगै गंगा प्रसाद लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

प्रहरीले गौचन हत्यामा संलग्न वस्न्यातसहित वसन्त थेवे, धनराज योङहाङ राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप