प्रेरक प्रसङ्ग : बेनको पतन र पृथुको प्रशंसा

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

प्राचीनकालमा बेन नामका राजा थिए । मनुपुत्र उत्तानपादका वंशमा जन्मेका यिनका बाबुको नाम अङ्ग र आमाको नाम सुनिथा थियो । बेन जन्मजात दुष्ट स्वभाका थिए । उनको बानीब्योहोरा जति खराब थियो बोलीवचन त्यत्तिकै क्रुर । खुनी थिए, क्रोधी थिए, दम्भ र अहङकार त मूलभूत विशेषता नै मानिन्थ्यो । अरूलाई जति बढी दुःख दिन सकियो उती बढी खुसी मान्थे । अनावश्यक करको भार बढाएर जनताको ढाड सेक्ने काम त यसै पनि गरेकै थिए अनावश्यक निहुँ निकालेर दण्डजरिवाना गर्न पनि पछि पर्दैनथे । जनता सिधा, साधा र निमुखा थिए, विरोध गर्ने हिम्मत कसैमा पनि थिएन । जो–जसले गर्थे उनीहरूले ज्यानबाटै हात धुनुपथ्र्यो ।


जनताले सकुन्जेल सहे तर सहनु पनि कति । हरेक कुराको एउटा हद हुन्छ । हद नाघेपछि बिस्फोट हुन करै लाग्दो रहेछ । यहाँ पनि यस्तै भयो । जब उनको अत्याचारले हद नाघ्यो तब जनताहरूले आश्रमवासी ऋषिहरू समक्ष गएर भने–



‘ऋषिवर ! सहयोगको अपेक्षा लिएर आएका छौँ, आशा छ नाइनास्ति गर्नुहुने छैन ।’



‘सहयोग ? भन्नुस् न के हो ?’ उनीहरूलाई सम्बोधन गर्दै ऋषिहरूले भने–

‘सहयोगमा पनि नाइनास्तिको कुरा आउँछ र । धर्म भनेकै सेवा र सहयोग नै त हो । यसैका लागि भगवान्ले शरीर दिएका हुन् । अन्यथा मानव शरीर पाउनुको अर्थ नै के रह्यो र ? मानव शरीर पाएर पनि कसैको दुःखसुखमा काम लाग्दैन भने त्यस्तो शरीरलाई मुर्दा बराबर मानिन्छ । ढुक्कसँग भन्न सक्नुहुन्छ कस्तो सहयोगको अपेक्षा गर्नुभएको हो ।’

ऋषिहरूका कुरा सुनेर जनताले लामो सास फेर्दै भने–

‘राजा बेनको स्वभाव कति दुष्ट छ यहाँहरूलाई थाहै छ । पापी छन्, अधर्मी छन्, अत्याचारी त्यति नै । उनको अत्याचार यसरी बढेर गएको छ कि बसिखानै नसकिने भएको छ । भागेर जाऔँ कहाँ जाऔँ, देश यही हो ।  बसौँ बस्नै सकिन्न । उनलाई निहुँ नै चाहिन्न । विना कारण निहुँ झिकेर दण्डित गर्छन् । कतिबेला कसको ज्यान जाने हो पत्तै हुँदैन । त्यसैको दुःखपुकारा गर्न आएका हौँ ।’

उनीहरूका कुरा सुनेर ऋषिहरूले खुइय गरे । बेन खराब छन्, खराब काम गर्छन्, गर्न लगाउँछन् भन्नेमा उनीहरू पनि जानकार थिए । त्यसैले तत्कालै बेन समक्ष गएर भने–

‘महाराज ! तपाईँ यस देशको राजा हुनुहुन्छ । राजा भएको नाताले सबैको अविभावक पनि हुनुहुन्छ । देश र जनताको हित तपार्ईँकै काँधमा छ । त्यसैले जनतालाई अनावश्यक दुःख दिने काम बन्द गरी उनीहरूको हित र उन्नतिमा लाग्न आग्रह गर्दछौँ । सक्नुहुन्छ उपकार गर्नुस् सक्नुहुन्न अनावश्यक पीडा दिएर दुखित नपार्नुस् । धर्मशास्त्र भन्छ परपीडनभन्दा ठूलो पाप अर्को हुँदैन । यसले अन्ततः तपाईँकै पनि भलो हुँदैन ।’

‘तपाईँहरू को हो मलाई उपदेश दिने ?’ ऋषिहरूको आग्रहपछि बेनले रिसाउँदै भने–

‘मेरो मर्जी के गरुँ । देशको राजा हुँ, जे पनि गर्न सक्छु । आजका मितिदेखि सर्वसाधारण जनताले मात्र होइन तपार्ईँहरूले समेत दान, धर्म, तीर्थ, ब्रत, यज्ञअनुष्ठान गर्न पाउनुहुने छैन । जेजे गर्ने हो मेरै लागि गर्नुपर्छ, मेरै नाममा गर्नुपर्छ । किनकि देशको राजा भनेको मै हुँ । राजा भनेका भगवान् हुन्छन् भन्ने कुरा सबैले बुझ्नुपर्छ । यो मेरो विशेष आदेश हो, जसले यसको उल्लङ्घन गर्छ उसले कडाभन्दा कडा सजाय पाउनेछ ।’

ऋषिहरूले सोचेका थिए राजालाई सम्झाएर सही बाटोमा ल्याउन सकिएला तर आफ्ना प्रयास आफैँमाथि महँगो पर्ने अवस्था आएकाले कुशको टुक्रा मन्त्रेर फ्याँकिदिए । मन्त्रशक्ति न हो किन खेर जान्थ्यो र कुशको टुक्राले लाग्ने बित्तिकै बज्रसमान चोट परी उनी त्यहीँ ढले ।  त्यसपछि ऋषिहरूले उनको शरीर मन्थन गरी (क्लोनविधिद्वारा) एक पुरुष र एक नारी उत्पन्न गरे, जसका नाम क्रमशः पृथु र अर्चि राखिएको थियो । पछि उनीहरूको आपसमा विवाह गराई सिंहासनमा राखेर राज्याभिषेक गरे ।

बेनको अत्याचारबाट मुक्ति पाइएको खुसियालीमा जनताले पृथुको स्तुतिगान गर्न थाले तर यो कुरा पृथुलाई मन परेन र सम्झाउँदै भने–

‘अहिले नै यसरी किन प्रशंसा गर्नुहुन्छ । तपार्ईँहरूको मालिक होइन सेवक हुँ । सेवा गर्न आएको हुँ । कस्तो काम गर्छु हेर्न बाँकी नै छ । राम्रो काम गर्न सकेँ भने प्रंशसा गर्नुहोला त्यो पनि मेरो होइन कामको । व्यक्तिको प्रशंसा कतै राम्रो हुुँदैन । यसले सबैभन्दा बढी हानि उसैलाई गर्छ, जसको प्रशंसा गरिएको छ । त्यसैले आशा छ आइन्दा मेरो प्रशंसा गरेर अप्ठ्यारोमा पार्नुहुने छैन ।’

राजाको वचन सुनेर जनता स्यावासी दिँदै घरतिर लागे, ऋषिहरू आश्रमतिर । देशपछि राजा पृथु जनताको सेवामा लागे । दान, धर्म, तीर्थ, ब्रत यज्ञअनुष्ठान सुरूभयो । बेनको अत्याचारले हावा, पानी, माटो दुषित भएर खेतवारीको उब्जनी हुनै छाडिसकेको थियो । राजा पुथुले सर्वप्रथम त्यतैतिर ध्यान दिए । आवश्यकता अनुसार नहर, कुलो, बाँध बने । गाउँगाउँमा वृक्षारोपणको लहर आयो, जसले गर्दा देशमा हरियाली छायो । बाढी, पैरो, भूक्षय, अतिवृष्टि, अनावृष्टि रोकियो । गाउँशहर हराभरा भए । देश धनी भयो, जनता धनी भए ।

हाल उनको पार्थिव शरीर त छैन तर उनको यश कीर्तिको भने अहिले पनि उत्तिकै श्रद्धापूर्वक गाउने गरिएको छ ।

श्रीमद्भागवतमा आएको यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर यसको सन्देश भने अहिले पनि उत्तिकै सान्दर्भिक छ । हाल मुलुकमा निर्वाचनको माहोल छ । सर्वत्र जिन्दावाद र विजय जुलुस भइरहेको छ तर जो चुनिए पनि भरखरै चुनिएका छन् । उनीहरूले कस्तो काम गर्छन् हेर्न बाँकी नै । यस अर्थमा हालको प्रशंसा भनेको कामको नभई व्यक्तिकै हो । तत्काल सुन्न राम्रो लागे पनि यसले बढी घाटा उसैलाई गर्छ, जो चुनिएर गएका छन् । त्यसैले यसतर्फ सम्बद्ध पक्षले यथासम्भव ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।