शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उन्मुक्ति’ खोजिरहेको टीकापुर

अदालतका ‘दोषी’ रेशम चौधरीलाई जनताबाट ‘न्याय’
शनिबार, ०७ जेठ २०७९, ०८ : ४४
शनिबार, ०७ जेठ २०७९

‘नयाँ पुस्तक लेखेको छु, लिन आउनु पर्यो,’ डिल्लीबजार कारागारबाट रेशम चौधरीले चैत अन्तिम साता फोन गरेका थिए । वैशाखको पहिलो साता सहकर्मी मदन ढुंगानासँग रेशमलाई भेट्न जाने मौका जुर्यो । कुराकानीको सुरुमै उनले आफ्नो नागरिक उन्मुक्ति पार्टीले ६ स्थानीय तहमा जित्ने दावी गरेका थिए । ‘गठबन्धनको अगाडि तपाईंको जोड चल्दैन, धेरै नखोक्नुस्,’ हामीले भनेका थियौं । तर उनी पनि के कम, हामी यो यो पालिका जित्छौं भनेर पालिका सूची लेखेरै हातमा थमाइ दिए । 

चुनावअघि एमाले अध्यक्ष केपी ओलीले रेशमको पार्टीसँग पनि सहकार्य हुन सक्ने भनेका थिए । अझ ओलीले नै रेशमलाई पार्टी खोल्न खर्च समेत उपलब्ध गराएको गाइँगुइँ थियो । यसबारे संकेत गर्दा कुम उचाल्दै जोशिलो पाराले रेशमले भने,‘इन्द्रको बाबु चन्द्र आए पनि नागरिक उन्मुक्ति पार्टीले कसैसँग गठबन्धन गर्नेवाला छैन । हाम्रो पार्टी कति पानीमा छ, हामी परीक्षण गर्न चाहन्छौं । हामी परीक्षणकालमै खरो भएर देखाउने छौं ।’

‘अनि ओलीले पार्टी खोल्न खर्च उपलब्ध गराएको कुरा ?’ यसबारे सम्झना गराउँदा उनले रुद्रघण्टी स्पर्श गरेर फुक्दै भने,‘खर्चबारे कसैले सप्रमाण देखाओस्, राजनीति नै छाड्दिन्छु । टीकापुरको २ कट्ठा जग्गा बेचेर आएको रकमले गाउँलेहरुलाई बोलाएर पार्टी दर्ता गरेको छु । गाउँलेहरुले जसरी पनि जिताउने वाचा गरेका छन् । अर्को भेटमा बधाइ दिन आउन तपाईंलाई हतार हुनेछ ।’

रेशमले आफैले लेखेर दिएको ६ वटै पालिकामा त जितेनन् । तर उनले आँकलन गरेको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी, गाउँपालिका गरी ४ निकाय कब्जा गरेर धेरैको निद्रा उडाइ दिएका छन् ।

टीकापुरका जनताले अरुका कुरा किन पत्याएनन् ?

गएको पुस १९ मा मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले मात्र ३ महिनाको छोटो समयमै कसरी यति लोकप्रियता हासिल गर्न सक्यो ? सर्वत्र चासो छाएको छ । त्यसो त उन्मुक्ति पार्टीको तरंगपछि कैलालीका सबैजसो ठुला दलका उम्मेदवार मात्रै होइन, शीर्ष नेताहरुले नै टीकापुर घटनामा थारू समुदायलाई अन्याय परेको वकालत गर्न थालेका थिए । 

वैशाख ८ को कैलाली, मसुरियाको आमसभामा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए,‘रेशम चौधरी निर्दोष छन्, म सरकारसँग भोलि नै यसबारेमा कुरा गर्छु ।’ तर टीकापुर क्षेत्रका जनताले उनको भोलिको उधारो बोली पत्याएनन् । प्रचण्डलाई हेक्का हुनुपर्ने हो, उनी आफै पनि गठबन्धन सरकारमा छन्, रेशमको रिहाइबारे कोसँग कुरा गर्नुपर्ने हो ? 

उता वैशाख २२ को कैलाली, बौनियाको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति थियो, ‘टीकापुर घटनाले गर्दा यहाँका थारू नेताहरु अहिले पनि जेलमा छन् । रेशम चौधरी र थारू नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । अनैकौं हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनुपरेन तर थारू नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ ।’ उनले रेशम लगायतलाई छाड्ने प्रक्रिया मिलाउँदै गर्दा आफूले सरकार छाड्नु परेको जिकिर गरेका थिए । तर उनको कुरा पनि जनताले पत्याएनन् ।

उता चुनावको मुखमै काँग्रेसका सुदूरपश्चिम उपाध्यक्ष तथा पूर्व राज्यमन्त्री जनकराज चौधरीले रेशमको पार्टीलाई फटहाहरुको पार्टी भएको आरोप लगाए । त्यसै गरी काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजनम चौधरीले चुनावमा सबैले दुकान थाप्ने क्रमसँगै रेशम चौधरीले पनि दुकान थापेको तर उनको दुकान नचल्ने अभिव्यक्ति दिएका थिए । तर रेशमको नागरिक उन्मुक्ति पार्टीले जनकराज र रामजनमको वडा मात्रै होइन, तिनको जोशीपुर गाउँपालिका नै कब्जा गरिदियो । हाल राजनीतिलाई कम प्राथमिकता दिई गाउँमै होटल चलाएर बसेका रामजनमको होटल त चल्यो तर राजनीतिक दुकान चल्न सकेन । होटल चलाउने बहानामा गाउँमै अड्डा जमाएर बसेका रामजनमभन्दा बरु कारागारबाट निर्देशन दिएको रेशमकै बोली बिक्यो । अझ रोचक कुरा पूर्व मन्त्री रामजनमको वडामा नागरिक उन्मुक्ति पार्टीबाट जितेका वडाध्यक्षको नाम पनि रामजनम चौधरी नै रहेको छ । 

जनकराज चौधरीले रेशमको पार्टीलाई फटहाहरुको पार्टी भएको आरोप लगाए पनि जनताले तिमी नै फटहा हौ भन्ने जवाफ मतदानबाट दिए । जोशीपुर गाउँपालिकाबाट २०७४ को चुनावमा उनकी श्रीमती किरण चौधरी उपाध्यक्षमा लोकतान्त्रिक फोरमबाट उमेदवार भएर पराजित भएकी थिइन् । लोकतान्त्रिक फोरम काँग्रेसमा विलय भएपछि उनले यसपाली पनि अरुलाई विकल्प देखेनन् । फेरि उपाध्यक्षमै श्रीमती किरणलाई उम्मेदवार बनाउन सफल भए । तर जनताले पत्याएनन् ।

कैलालीकेन्द्रीत रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले भने स्थानीय माग मुद्दा सम्बोधनसँगै उनको रिहाईको मुद्दालाई प्रमुख बनायो । साथै, टीकापुर घटनामा थारू समुदायलाई परेको अन्यायको मुद्दालाई अघि सार्यो । यही मुद्दा उठानले जनताले पत्याए, उन्मुक्ति पार्टीले झण्डा फहरायो । 

आखिर ‘टीकापुर घटना’को आयतन चुनावकै बेला मात्रै किन बेलुनझैं फुल्छ । अनि चुनावपछि किन फ्यास्स फुट्छ ? टीकापुर घटनाको अन्तर्यबारे संविधान सभाको चुनावतिर एकफेरा फर्किनुपर्ने हुन्छ । 

पहिचानको आन्दोलन र टीकापुर घटनाको अन्तर्य

जनआन्दोलन २०६२/०६३ पछि पहिचानको आन्दोलन निकै मुखरित भयो । तर पहिलो संविधान सभाको चुनाव २०६४ ले संविधान सभा बनाउन सकेन । उत्साहित पहिचान पक्षधरहरु त्यत्तिबेला खिस्रिक्क परे, जब दोस्रो संविधान सभा २०७० को चुनावले करिब करिब सम्वोधन भइसकेको मुद्दालाई पनि खाइदियो । पहिचानको आन्दोलनको क्रममा पूर्वी मधेस जागेझैं पश्चिम थरुहट पनि जागेको थियो । 

२०६४ को चुनावमा विजयकुमार गच्छदार काँग्रेस परित्याग गरेर उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम छिरेर सुनसरी र मोरङ दुइ स्थानबाट चुनाव जितेका थिए । सरकारमा सहभागी हुने सवालमा यादव र गच्छदारबीचको मनमुटावले पार्टी दुइ चिरा भयो । फोरम लोकतान्त्रिक हाँकेका गच्छदारको पार्टीमा थारू नेताहरुको बाहुल्यता बढ्दै गयो । २०७० को चुनावमा कैलाली १ (टीकापुर क्षेत्र) बाट जनकराज चौधरी तथा कैलाली ३ (जोशीपुर क्षेत्र) बाट रामजनम चौधरी प्रत्यक्ष निर्वाचित भए । सोही चुनावमा थरुहट तराई पार्टी नेपालबाट गोपाल दहित र गंगा सत्गौवा थारू समानुपातिक सांसद भए । पछि थरुहट तराई पार्टी नेपाल, फोरम लोकतान्त्रिक पार्टीमा मर्ज भयो । फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा मर्ज भयो । यसरी पश्चिम थरुहटमा पहिचानवादी पार्टी अंकुराउन नपाउँदै लोपझैं भयो ।

पश्चिम थरुहटमा पहिचानवादी पार्टी लोपझैं भए पनि थरुहटको मुद्दा सेलाएन । मात्र  दुइ चार दिनको आन्दोलनले कर्णाली प्रदेश सुनिश्चित भयो । तर प्रचण्डले दाङदेखि कञ्चनपुरसम्म देखाएको थरुहट प्रदेशको सपना पुरा भएन । त्यसैले थरुहट प्रदेशको सपना बोकेका थरुहट थारूवान संयुक्त मोर्चा मात्रै होइन, थारू समुयदायको छाता संगठन थारू कल्याणकारिणी सभादेखि विभिन्न दलमा आवद्ध थारू सांसदहरुको एलायन्स पनि आन्दोलनमा सहभागी थियो । 

अखण्ड सुदूरपश्चिम पक्षधरले थरुहट थारूवान मोर्चाको विभिन्न कार्यक्रममा हस्तक्षेप गरे । टीकापुरस्थित थारू छात्रवासमा आगजनी गरे । यी विविध घटनाले थरुहट थारूवान संयुक्त मोर्चा तिल्मिलाएको थियो । यही क्रममा २०७२ भदौ ७ मा थरुहट आन्दोलनकारीहरु टीकापुर नगरपालिकामा थारू कल्याणकारिणी सभा तथा थरुहट थारूवान संयुक्त मोर्चाको झण्डा मात्रै गाडेर कोणसभा गर्ने उद्देश्यले हिँडेका थिए । तर प्रहरीको अवरोधले त्यो मनसुवा पुरा भएन । बरु आन्दोलनकारी र प्रहरीको भीडन्तले रणमैदानमा परिणत भयो । ८ प्रहरी र एक नाबालकको ज्यान गयो । प्रहरी र नाबालकको ज्यान जाने घटना अत्यन्त दुःखद थियो । तर त्यो भन्दा पनि अप्रिय घटना भदौ ८ मा थारूहरुको घर पसल छानी छानी आगजनी गर्नु रहेको थियो । टीकापुर घटनाको दोषी थारूहरु मात्रै ठह्र्याइए । आगजनी गर्नेहरु चोखिए । 

२०७२ असोज ३ मा संविधान घोषणा भयो । जताततै दीपावली छायो । तर थारू समुदायले आफ्नो प्रदेशको सम्बोधन नभएको संविधान स्वीकार्न सकेन । लगत्तै थरुहट प्रदेशका लागि थारू सांसदहरुको एलायन्सका संयोजक रहेका रामजनम चौधरी स्वास्थ्य मन्त्री बनाइए । पछि टीकापुर क्षेत्रकै जनकराज चौधरी स्थानीय विकास राज्यमन्त्री बनाइए । सरकारमा गएर पनि टीकापुुर मुद्दाबारे चासो नदिएको परिणाम २०७४ मंसिरको चुनावमा प्रदेश तथा संसदीय चुनावमा देखियो । काँग्रेसका जनकराज चौधरीलाई टीकापुर क्षेत्रबाट राजपाका कृष्णबहादुर चौधरीले प्रदेश सांसदमा हराए । रामजनम चौधरी कैलाली ३ बाट संघीय सांसदमा पराजय बेहोरे । 

जबकि २०७४ को चुनावमा टीकापुर क्षेत्रबाट प्रवासमा रहेर पनि रेशम चौधरीले राजपाबाट अत्याधिक मतले विजयी भए । आत्मसमर्पण गरेका उनी शपथका लागि कारागारबाट सिंहदरबार लगिए पनि रिहा भएनन् । आफ्नो सांसद विना टीकापुर टुहुरो भयो । २०७९ को स्थानीय चुनावमा आफूप्रति स्थानीय जनताको सहानुभूति रहेको रेशमले प्रमाणित गरे । 

फोरम लोकतान्त्रिकको साख नागरिक उन्मुक्ति पार्टीमा

टीकापुर जहिल्यै विद्रोही रहने संकेत देखाएको छ । फोरम लोकतान्त्रिक काँगे्रसमा विलय भएपछि फोरमको साख नागरिक उन्मुक्ति पार्टीमा सरेको छ । २०७४ को चुनावमा टीकापुर नगरपालिकामा एमालेका तपेन्द्र रावलसँग फोरम लोकतान्त्रिकका लौटन चौधरीले मात्र ४२५ भोट अन्तरले हारेका थिए । यसपाली टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डंगौरा थारुले सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गरे । उनले ९ हजार ६४२ मत प्राप्त गरे ।

कैलालीको जोशीपुर गाउँपालिका अध्यक्षमा २०७४ को चुनावमा काँग्रेसले जित्दा फोरम लोकतान्त्रिक दोस्रो स्थानमा थियो । यसपाली नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ४ हजार ९०३ मत ल्याएर विजयी भए । अध्यक्षमा उनले एक हजार ५३५ मतान्तरले काँग्रेसका वङ्शराम बडायकलाई पराजित गरे । 

कैलालीको भजनी नगरपालिकामा २०७४ को चुनावमा माओवादीले जित्दा फोरम लोकतान्त्रिक दोस्रो स्थानमा थियो । त्यसबेला फोरम लोकतान्त्रिकका केवल चौधरी माओवादीका शेरबहादुर चौधरीसँग २०३ मतले मात्रै हारेका थिए । २०७४ मा हारेका केवल चौधरी यसपाली नागरिक उन्मुक्ति पार्टीबाट उनै शेरबहादुर चौधरीलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरे ।

त्यस्तै कैलालीको जानकी गाउँपालिका अध्यक्षमा २०७४ को चुनावमा फोरम लोकतान्त्रिकको तर्फबाट प्रदीप चौधरी काँग्रेस उम्मेदवारलाई हराएर विजयी भएका थिए । यसपाली काँग्रेसका परशुराम कठरियालाई नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले एक हजार बढीको मतान्तरको फरकमा हराए । 

थरुहट तराई पार्टी नेपाल फोरम लोकतान्त्रिकमा विलय भएपछि पश्चिमका थारुहरुले फोरम लोकतान्त्रिकलाई नै आफ्नो पार्टी मान्न थालेका थिए । तर फोरम लोकतान्त्रिक नै मूलधारको काँग्रेसमा विलय भएपछि उनीहरुले क्षत्रीय पार्टीको विकल्प खोज्न थालेका थिए । 

लक्ष्मण थारुले थरुहट थारुवान मोर्चाबाट आन्दोलन अघि बढाए पनि पार्टी दर्ता गर्न सकेनन् । फोरम लोकतान्त्रिकबाट काँग्रेसमा विलय हुन नमानेको नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारुले पार्टी विस्तार गर्नै सकेनन् । लक्ष्मण थारुले भानुरामको पार्टी ज्वाइन गर्ने मन बनाए पनि पछि न्यूट्रल बसे । यसरी रेशमले एकाएक नागरिक उन्मुक्ति पार्टी खोलेपछि खास गरी कैलालीका थारु मतदाताले फोरम लोकतान्त्रिकको विकल्प पाए । रेशमले पार्टी नखोलेको भए त्यहाँ काँग्रेस बलियो हुने थियो । 

रातोपाटीसँग रेशमले भनेका थिए, ‘मेरो रिहाइको मुद्दा उधारो राखेर लोसपाले ओली सरकारमा दर्जन बढी मन्त्री पठायो । त्यसपछि पार्टीसँग मेरो पुरै आशा मर्यो । अनि त पार्टी खोल्नै पर्ने बाध्यता आइ लाग्यो ।’ आधिकारिक रुपमा नागरिक उन्मुक्ति पार्टीमा रेशमको कुनै पदमा संग्लग्नता नरहेकोले पार्टीले उनलाई कार्वाही गरेको छैन । उनी अझै पनि सांसद छन् ।

लक्ष्मण थारूले चुनावको अघिल्लो दिनसम्म आफू यसपालीको चुनावमा ‘न्यूट्रल’ बसेको यो पंक्तिकारलाई बताएका थिए । तर ४ जेठको स्टाटसमा अरु ठाउँमा ढकिया र धनगढीमा आँपलाई समर्थन गरेको सूचना चुहाएका छन् । जबकि उनी नेपाल लोकतान्त्रिक पार्टीको पक्षमा माहोल बनाउन हिँडेका थिए । टीकापुर घटनामा मुछिएका उनी जेलबाट छुटेपछि थरुहट आन्दोलनको बीउ जोगाए । यही आन्दोलनलाई ब्यूँताएकै कारण टीकापुर आन्दोलनमा पहिले साढे ३ वर्ष सजाय तोकिएका उनलाई पनि आजीवन कारावास तोकिएको छ । लक्ष्मण थारुले थरुहट आन्दोलनको बीउ जोगाए पनि यसको फल रेशमको पोल्टामा मात्रै परेको देखियो । रेशम चौधरी भन्छन्, ‘थरुहट आन्दोलनमा लागेका लक्ष्मण थारु, रुक्मिणी थारु, भानुराम थारु मेरो पार्टीमा आऊन्, सबैलाई सांसद बनाउन तयार छु ।’

मताधिकार प्रयोग गरी बदला

दुइ दशक बढीको पत्रकारिता छाडेर जानकी गाउँपालिकाको अध्यक्ष भएका गणेश चौधरी भन्छन्, ‘टीकापुर घटनाले पनि कैयौँलाई तितरबितर बनायो । समाजलाई विभाजित गर्ने काम भयो । अझै मन मिलिसकेको अवस्था छैन । अहिले हाम्रो पार्टी यस्ता समस्यालाई कसरी मिलाएर लैजान सकिन्छ भन्नेमा केन्द्रीत हुनेछ । चुनाव भनेको आन्दोलन नै हो भन्ने मानिसहरूले बुझेर हाम्रो पार्टीलाई मत दिएर जिताए ।’

नागरिक अगुवा सुरेन्द्र चौधरी यसपाली नागरिक उन्मुक्ति पार्टीको प्रचार प्रसारमा खुलेरै लागे । उनी भन्छन्, ‘टीकापुरमा २०७२ भदौ ८ गते कर्फ्यु लगायो प्रशासनले । कर्फ्युको बेला सेना र प्रहरीको सुरक्षामा एक हुल लठैतहरु थारूहरुको घर र पसलमा आगजनी गरे । तिनीहरुलाई कार्वाही भएन । आगजनी गर्नेहरुको नेतृत्व नै स्थानीय चुनावमा उमेदवार भए । जनताले मताधिकार प्रयोग गरेर बदला लिए ।’

२०७२ भदौ ७ मा थरुहट आन्दोलनकारीहरु टीकापुर नगरपालिकामा थाकस तथा थरुहट थारूवान मोर्चाको झण्डा मात्रै गाडेर कोणसभा गर्ने उद्देश्यले हिँडेका थिए । तर सफल भएनन् । यसपाली टीकापुर नगरपालिकामा मात्रै होइन, त्यो बाहेक अन्य तीन वटा पालिकामा नागरिक उन्मुक्ति पार्टीको झण्डा फहराएको छ । यो फहराएको झण्डाले टीकापुर क्षेत्रले ‘उन्मुक्ति’ खोजिरहेको जबर्जस्त सन्देश प्रवाह गरेको छ । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी भन्छन्, भक्तपुरमा नेमकिपाझैं उन्मुक्ति पार्टीले टीकापुर क्षेत्रमा साख जोगाइ रहन सके थरूहट प्रदेशको मागको बीउ पनि जोगाइरहने छ ।

टीकापुर नगरपालिकामा माओवादीको खडकबहादुर शाहलाई उपमेयर जिताएर त्यहाँका स्थानीयले प्रश्न थाँती राखेका छन्, ल त, तिम्रो केन्द्रीय अध्यक्ष प्रचण्डको टीकापुर घटनाबारे सरकारसँग कुरा गर्ने भोलिको त्यो साइत कहिले  जुर्ला ? 

यो साइत नजुरे आगामी प्रदेश र संघीय निर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टी मार्फत जनताको जवाफ पहिल्यै तयार छ । टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर रामलाल डंगौरा थारूले गुनासोको पोको खोल्दै उद्घोष गरिसके, ‘हामीलाई फेद न टुप्पाको भनियो, जरा नभएको पार्टी भनियो । अहिले स्थानीय चुनाव मार्फत् जरो गाडिसक्यौं । अब प्रदेश र संघीय निर्वाचन पनि जित्छौं । 

नागरिक उन्मुक्ति पार्टीको अहिलेको सबैभन्दा ठुलो मुद्दा हो, टीकापुर घटनालाई राजनीतिक घटना मान्दै रेशम चौधरीलगायत त्यो घटनाको सबैको रिहाइ । मानौं, ठुला दलको जोडबलमा रेशम चौधरी चाँडै रिहा होलान् रे । तब नागरिक उन्मुक्ति पार्टीको आगामी मुद्दा के ? ठोस मुद्दाले नै उनको पार्टीले हाँगाबिंगा फैलाउन सक्ला । 

तर अहिलेको दृष्यले अदालतका ‘दोषी’ रेशम चौधरीलाई जनताबाट ‘न्याय’ मिलेको छ । रेशम धर्मपत्नी रन्जिता संघीय सांसदको चुनावको लागि तम्तयार भएको देखाएको छ । यो स्थानीय चुनावमा अपवादको रुपमा नागरिक उन्मुक्ति पार्टी मात्रै त्यस्तो पार्टी रह्यो, जसले कर्णझैँ एक्लै आफ्नो पार्टीबारे परख गर्न सक्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप