शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा विजयलाई धोका हुँदा ‘सूर्य’को उदयमा यसरी लाग्यो ‘ब्रेक’

सोमबार, ०९ जेठ २०७९, १५ : १७
सोमबार, ०९ जेठ २०७९

स्थानीय निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी छ । भरतपुर महानगरपालिकामा गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एमालेविरुद्ध सत्तारुढ गठबन्धन एकताबद्ध भएर प्रतिस्पर्धामा उत्रिएको थियो । भरतपुर महानगरको नेतृत्वका लागि एमालेले हेभीवेट नेता बागमती प्रदेशसभा सदस्य विजय सुवेदीलाई अघि सारेको थियो । २०७४ सालको निर्वाचनमा चितवनको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा तर्फको (ख)बाट २१ हजार ५७२ मतसहित सुवेदी निर्वाचित भएका थिए । उनलाई एमालेले प्रदेशसभा सदस्यबाट राजीनामा गराएर भरतपुरको नेतृत्वका लागि उम्मेदवार बनाएको थियो ।

भरतपुरको प्रमुख पदका लागि एमालेबाट उनीसँगै केन्द्रीयस्तरसम्म पहुँच राख्ने क्षमता बनाएका कृष्णभक्त पोखरेल र यसअघिको निर्वाचनमा प्रमुख पदका उम्मेदवार रहेका देवी ज्ञवालीले पनि आकांक्षा व्यक्त गरेका थिए । आन्तरिक छलफलपछि भरतपुरको प्रमुख पदको उम्मेदवारमा पोखरेल र ज्ञवालीको समर्थनमा सुवेदीको नाम ‘फाइनल’ भएको थियो ।

उम्मेदवार टुङ्ग्याएर स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको एमालेले अन्तिम अवस्थामा राप्रपासँग तालमेल गर्ने निर्णय ग-यो र भरतपुर महानगरपालिकाको उपमेयर राप्रपालाई सुम्पियो । यता, सत्तारुढ गठबन्धनको तर्फबाट ५ वर्ष महानगरपालिकाको नेतृत्वमा रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई प्रमुख पदमा उम्मेदवार बनाइएको थियो । सम्बन्धका आधारमा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । उनलाई भरतपुरको प्रमुखमा गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाको साथ छ ।

आफ्नो ५ वर्षे अनुभवका साथ चुनावी मैदानमा एमालेका सुवेदीसँग प्रतिस्पर्धामा उत्रिएकी दाहालले यो समाचार तयार पार्दासम्म फराकिलो अग्रता लिइरहेकी छन् ।

किन पछि परे विजय ?

हालसम्म भरतपुर महानगरपालिकाको २९ वटा वडामध्ये २५ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । कुल १ लाख २७ हजार ५६६ मत खसेको भरतपुर महानगरपालिकाको अब ४ वटा वडाको मत गणना कार्य बाँकी छ ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनकी दाहाल जित नजिक पुगेकी छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दाहाल १० हजार ८९४ मतले अगाडि छन् । कुल खसेको मतमध्ये एक लाख १३ हजार ७७७ मत गणना गर्दा दाहालले ४५ हजार ८८७  मत पाएकी छन् भने एमालेका सुवेदीले ३४ हजार ९९३ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र (काँग्रेसका बागी) उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत पाएका छन् । अब महानगरमा १३ हजार ८०० मत गन्न बाँकी छ । हालसम्मको मत गणनाको अवस्था हेर्दा भरतपुरमा एमालेको गढको रुपमा रहेको वडाहरुमा पनि काँग्रेस र माओवादी केन्द्र हावी भएको देखिन्छ । मत गणनाको सुरुवाती चरणमा भरतपुरको वडा नम्बर २ बाट एमालेका सुवेदीले थोरै मतले अग्रता लिए । त्यो अग्रता वडा नम्बर ४ को गणनासम्म पनि टिकेन । त्यहाँबाट सुवेदी पछाडि परे । 

भरतपुरको वडा नम्बर २ एमालेको राम्रो पकड भएको क्षेत्र हो । तर, एमालेले त्यहाँ वडा अध्यक्ष पद नै गुमायो । वडा नम्बर २ मा सुवेदीलाई अपेक्षा गरेअनुसारको मत पनि आउन सकेन ।

त्यसपछि एमालेले भरतपुरको वडा नम्बर–७, ८, ९, १०, ११ र १२ बाट राम्रो मतको आशा गरेको थियो । त्यहाँसम्म आइपुग्दा एमालेले वडा नम्बर ३, ११ र १२ को वडा अध्यक्ष पदमा जित हात पारेको थियो । ती वडामा एमालेले वडा अध्यक्ष जित्दै गर्दा प्रमुख पदका उम्मेदवार सुवेदीले उल्लेख्य सफलता भने पाउन सकेनन् । विशेष गरी भरतपुरका ती वडामा एमालेको राम्रो पकड रहेको बताइएको थियो । त्यहाँसम्म आइपुग्दा सुवेदी ३ हजार मतको हाराहारीमा पछाडि परे ।

वडा नम्बर १३ र त्यसपछिका वडा भरतपुरको पश्चिम क्षेत्रमा पर्दछन् जहाँ एमालेको प्रभाव न्यून रहेको बताइन्छ । भरतपुर–१३ पछिका अधिकांश वडामा माओवादी केन्द्र र काँग्रेसको प्रभाव बढी देखिन्छ ।

भरतपुर–१४ प्रचण्डको गृह वडा पनि हो । भरतपुर–१३ र १४ को मत गणना सम्पन्न हुँदासम्म सुवेदी ४ हजार मतको हाराहारीमा पछाडि परे । भरतपुर–१७, १८, १९ र २० मा पनि एमालेले आफ्नो पकड रहेको दावी गर्दै आएको थियो । ती वडामा आफ्नो राम्रो मत आउनेमा सुवेदी आशावादी थिए । भरतपुर–२० सम्मको गणना गर्दा दाहालले सुवेदीसँग ७ हजारभन्दा बढी मतको अग्रता कायम गर्न सफल भइन् ।

एमालेले भरतपुरको वडा नम्बर २७ र २८ मा थोर बहुमत पाउने आशा गरेको छ । त्यो मत दाहालसँगको मतान्तर कम गर्नमात्र काम लाग्ने देखिएको छ । तर, हालसम्मको मतको ‘ट्रेण्ड’ हेर्दा त्यहाँ पनि एमालेले राम्रो मत पाउने अवस्था देखिएको छैन ।

एमालेले भरतपुरको ५ वटा वडाको अध्यक्ष जित्दा दाहालको अग्रता बढ्दो क्रममा छ भने सुवेदी निकै पछि परेका छन् । यसबाट भरतपुरमा एमालेले जितेका वडाहरुमा गठबन्धनको आन्तरिक किचलो र विवादका कारण वडा अध्यक्ष पद गुमेको काँग्रेसको अनुमान छ । वडा तहमा गठबन्धनका दलहरुले राम्रा उम्मेदवार दिन सके भए ती वडामा पनि गठबन्धन नै विजयी हुन्थ्यो भन्ने उनीहरुको तर्क छ ।

यता एमाले भने राप्रपासँग गठबन्धन गर्नु नै कमजोरी भएको बताउँछ । गठबन्धनमा राप्रपा प्रतिवद्ध नहुँदा र एमालेभित्रै अन्तर्घात हुँदा सुवेदी पछाडि परेको उनीहरु बताउँछन् । काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार पौडेलले गठबन्धनको करिव १५ प्रतिशत मत काट्दासमेत सुवेदी पछाडि पर्नु एमालेभित्रकै संगठित मत नपाएको प्रस्ट हुने उनीहरुको भनाइ छ । एमालेकै मत पाएर गठबन्धनतर्फको उम्मेदवार दाहालले अग्रता लिएको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप