शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महासचिवको गृहपालिकामा सत्तारुढ गठबन्धनलाई धक्का

तुलसीपुर उपमहानगरमा किन असफल भयो गठबन्धन ?
मङ्गलबार, १० जेठ २०७९, १८ : ५७
मङ्गलबार, १० जेठ २०७९

- गिरिराज नेपाली

दाङको तुलसीपुर उपमहानगरपालिका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेका महासचिव शंकर पोखरेल दुवैको गृह पालिका हो । तुलसीपुर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आपसमा तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएका थिए । उता नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

तुलसीपुर उपमहानगरमा तीन दलको संयुक्त गठबन्धन अघिल्लो निर्वाचनको परिणाम अनुरुप करिव दश हजारभन्दा बढी मतले विजयी हुने चर्चा थियो तर मत गणना परिणाम अनुसार गठबन्धनलाई पछि पार्दै नेकपा एमाले विजय उन्मुख देखिएको छ ।

तुलसीपुर उपमहानगरमा गठबन्धन तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उम्मेदवार छन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी उम्मेदवार छिन् । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरी २०७४ सालमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए । उनलाई नेकपा एमालेका घनश्याम पाण्डेले तीन हजार ९५५ मतले पराजित गरेका थिए । ०७४ सालको पराजयको बदला लिन  गिरीलाई अहिले गठबन्धनको साथ थियो तर पनि उनको सपना पुरा हुने संकेत देखिएको छैन ।

गत निर्वाचनमा गिरीले १८ हजार ९०३ मत ल्याउँदा नेकपा एमालेका घनश्याम पाण्डे २२ हजार ८५८ मत ल्याई विजयी भएका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले १० हजार ३८१ मत प्राप्त गरेका थिए ।

काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारले गत निर्वाचनमा पाएको मत संख्या जोड्दा २९ हजार २८४ पुग्छ । जुन नेकपा एमालेका उम्मेदवारले त्यतिबेला पाएको मतभन्दा ९ हजार २८४ मत बढी हुन्छ । तर अहिले काँग्रेस, माओवादी र एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीका साझा उम्मेदवार गेहेन्द्र गिरी एमालेका उम्मेदवार टीकाराम खड्काभन्दा झण्डै दुई हजार मतले पछि छन् ।

उपमहानगरपालिकाकोे १९ वडामध्ये १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी ३ वटा वडामध्ये १७ र १८ मा गणना भइरहेको छ भने १९ नम्बर वडामा गणना गर्न बाँकी छ । गणना भइरहेको वडा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काको गृह वडा हो भने गणना हुन बाँकी वडा नं. १९ नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह वडा हो । त्यसैले यी वडामा पनि नेकपा एमालेले राम्रै मत ल्याउने अनुमान गरिएको छ ।

गठबन्धन पराजय नजिक पुग्दा काँग्रेस–माओवादी एक अर्कालाई आरोप लगाउँदै

एमाले विजय उन्मुख भएपछि गठबन्धन दलहरुमा अनेकौं प्रश्न उठिरहेका छन् । जसका कारण एक अर्काप्रति दोष–खोट देखाउने होड चलिरहेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले काँग्रेसकै अन्तरघात र अन्तर संघर्षका कारण गठबन्धन पराजयको नजिक पुगेको बताउँछन् । उनले भने, ‘काँग्रेसले काँग्रेसलाई हराउन लाग्दा तुलसीपुरमा गठबन्धन सफल हुन सकेन ।’

काँग्रेस नेता कार्यकर्ताले नै काँग्रेस उम्मेदवार हराउन भूमिका निर्वाह गरेकाले सिङ्गो गठबन्धन नै तुलसीपुरमा पराजयको अवस्थामा पुगेको उनको भनाइ छ । काँग्रेसले केन्द्रीय सहमति अस्वीकार गरी कतिपय वडामा गठबन्धनको निर्णय समेत उल्लङ्घन गरेकाले समेत यो स्थिति देखा परेको उनले सुनाए । ‘काँग्रेसले नै काँग्रेसका हराउन लागे, गठबन्धनको सहमति स्वीकार गरेनन्, एकीकृत समाजवादी र हामीलाई हेपे,’ उनले भने ।

तर, काँग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालले माओवादी केन्द्रका कारण पराजयको अवस्था निम्तिएको आरोप लगाए । माओवादीले इमानदारिता देखाउन नसक्दा गठबन्धन हार्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा यो उपमहानगरपालिकामा शून्य भएको माओवादी यस पटक ५ वडामध्ये ३ वटा वडामा विजयी भएको छ । माओवादीले जितेकै वडामा उपमहानगर प्रमुख पदमा गठबन्धनका उम्मेदवारलाई कम मत आएको हमालले बताए ।

माओवादीले १, ४, १२, १५ र १८ नं. वडा  लिएको थियो । ती मध्ये  १, १२ , १५ नम्बर वडा माओवादी केन्द्रले जितिसकेको छ भने १५ र १८ को परिणाम आउन बाँकी छ । त्यस्तै काँग्रेसले २, ५, ६, ७, ८, ९, १०, ११, १३, १४ र १७ नम्बर वडा लिएको थियो । तीमध्ये ५, ७, ९ र १४ मात्रै जित हात पारेको छ भने १७ नम्बर वडाको परिणाम आउन बाँकी छ । ११ वटा वडामध्ये काँग्रेसले चार वडामा मात्रै जित हात पर्दा गठबन्धनका दुई दल माओवादी र समाजवादीले स्वतन्त्रका उम्मेदवार भोट दिएको उनले आरोप लगाए ।

काँग्रेसका वडा हार्ने र माओवादीका वडामा जित हुने कुराले नै अन्तर्घात कसले ग¥यो भन्ने पुष्टि भएको हमालले बताए । यस्तै गठबन्धनले कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षा प्रभावकारी नबनाउँदा एमालेले जित्ने अवस्था आएको उनले बताए ।

एमाले नेता भन्छन्– जनताले पुनः एमाले नै खोजे

‘तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले नराम्रा काम गरेको भन्दै सत्तारुढ दलले बदनाम गर्ने निकै कोसिस गरे । चुनावी प्रचार प्रसारका क्रममा एमालेमा बढ्दै गएको लोकप्रियता देखेर विपक्षीहरुले बदनाम गराउने धेरै कोसिस गरे,’ एमाले तुलसीपुर अध्यक्ष माधव ओलीले भने, ‘जनताले पुनः एमालेको नेतृत्व तुलसीपुरमा खोजे । तुलसीपुरवासीको मनमा एमाले बसिसकेकाले पुनः जितको नजिकमा छौं ।’

उपमहानगरको विकास र समृद्धिको सपना र योजना नेकपा एमालेसँग मात्रै भएकाले जनताले पुनः एमाले नै खोजेको ओलीले बताए ।

तुलसीपुरको विकासको काम एमाले बाहेक अरुले गर्दैन भन्ने तुलसीपुरवासीलाई परेको उनले बताए । एमाले जनताको मनमा बसिसकेको भन्दै कसैले दुष्प्रचार गर्दैमा जनताको मनबाट एमालेलाई हटाउन नसक्ने ओलीले ठोकुवा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप