शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा कस्तो रह्यो लोसपाको नतिजा ?

बिहीबार, १२ जेठ २०७९, ११ : ०४
बिहीबार, १२ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचन परिणामलाई सन्तोषजनक मानेको छ । लुम्बिनी प्रदेशको हकमा पहिलो पटक लोसपा नेपाल स्थानीय निर्वाचनमा सहभागी भएको थियो ।​ जसपाबाट विभाजन भएर बनेको लोसपा नेपालले जसपाको पकड क्षेत्रमा पनि जित हासिल गरेको छ । पार्टीले लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीमा ३ र कपिलवस्तुमा १ सीट जितेको छ भने केही ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको छ ।

२०७४ सालमा तत्कालीन राजपाले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । तत्कालीन राजपा नेपालकै ‘लिगेसी’ रहेको लोसपा नेपालले लुम्बिनी प्रदेशमा पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुनका बाबजुद रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जित्न सफल भएको छ । कोटहीमाईको अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा सुशीला कुमारी यादव निर्वाचित भएका छन् ।

यस्तै, रुपन्देहीको मायादेवी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।  कपिलवस्तुको शुद्धोधनमा गाउँपालिका अध्यक्षमा पनि लोसपा नेपालका उम्मेदवार विजयी भएका छन् । मायादेवी गाउँपालिका उपाध्यक्षमा नर्वदा देवी उपाध्याय निर्वाचित भएकी छन् । उनले काँग्रेसकी उम्मेदवार तारादेवी यादवलाई पराजित गरेकी हुन् ।

यस्तै लोसपाका कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कमलेश शरण चौधरीले जितेका छन् । चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गरेका थिए ।

लोसपा नेपालका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले आफ्नो पार्टीका लागि यो प्रदेशमा स्थानीय तह चुनावको पहिलो अनुभव भए पनि रुपन्देही र कपिलवस्तुमा जित्न सकेको बताए । आफ्नो पार्टीले उठाएका मधेशका मुद्दालाई आधार मानेर जनताले मत दिएको उनको दाबी छ । उनले रातोपाटीसँग भने, ‘अहिले हामीलाई जनताले मत दिएका छन्, धेरै सिट ल्याउन नसके पनि आएको मतलाई संरक्षण गर्दै अझै सशक्त रुपमा लाग्ने छौं ।’

जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रुपन्देहीमा जसपाभन्दा बलियो ठान्नेहरु पनि छन् । किनकि रुपन्देहीमा जसपाले विगतमा जितेका रुपन्देहीका स्थानीय तह गुमाउँदै गर्दा लोसपाले जिल्लामा ३ सिट ल्याएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लको गृह जिल्ला रुपन्देहीमा यस पटक पार्टीले कोटहीमाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा मायादेवी गाउँपालिकाको उपाध्यक्षमा जितेर जसपालाई चुनौती दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप