शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा एक दिन : पीडित युवाहरुको भीड र आक्रोश छरपस्ट

बुधबार, २० मङ्सिर २०७४, १५ : ३३
बुधबार, २० मङ्सिर २०७४

काठमाडौं– वैदेशिक रोजगार विभाग समग्र वैदेशिक रोजगार क्षेत्रको अनुगमन तथा नियमन गर्ने एकमात्र सरकारी निकाय हो । 

कानुनी मापदण्ड पुरा गरि नयाँ म्यानपावरका लागि आवेदन दिएका व्यवसायीलाई इजाजत प्रदान गर्ने पनि विभागको काम हो । कानुन विपरित म्यानपावर व्यवसायीले कुनै काम गरेको पाइए कानुनी दायरामा ल्याउने वैदेशिक रोजगार विभागको क्षेत्राधिकार रहेको छ । 

तर, भष्ट्रचार काण्डमा महानिर्देशक विश्वराज पाण्डेय पक्राउ परेपछि विभाग अहिले नेतृत्वविहिन हुन पुगेको छ । 

वैदेशिक रोजगारीमा हुने ठगिलाई रोक्नु, न्यायका लागि पीडितको पक्षबाट वकालत गर्नु पनि विभागको क्षेत्राधिकार भित्र नै पर्छ । कामदार ठगिएको पुष्टि भएमा  म्यानवपावरको इजाजत रद्ध वा निलम्बन गर्ने अधिकार पनि विभागसँग रहन्छ । 

इजाजतप्राप्त करिब १२ सय म्यानपावर व्यवसायी मार्फत विदेशिएका युवाहरु ठगिएका घटनाहरु विभागसामु बग्रेल्ती छन् । पछिल्लो समय संस्थागत ठगिको  तुलनामा व्यक्तिगत ठगिका घटना बढ्ेको विभागकै तथ्यांक छ । 

म्यानपावर र व्यक्तिबाट ठगिने युवाहरुको पछिल्लो समयको उजुरीका विषयमा बुझ्न विभागको कार्यालय दिउँसो २ः१५ बजे पुग्दा कार्यालयमा पीडित युवाहरुको भिड लागेकोे थियो । पोल्याण्ड जाने प्रलोभनमा परि ठगिएका युवाहरुको दुई समुह थियो । पीडित युवामध्यका पहिलो समुहका छ जनाले प्रतिव्यक्ति तिन लाख ५० हजारका दरले दलाललाई पैसा बुझाएका रहेछन् । तिमध्ये एक युवाले भने ‘गत वर्ष रकम बुझाएको हो । भाका दिँदै समय सार्दै गरेको दलाल पछिल्लो समय सम्पर्क विहिन भयो ।’

चिनजानका व्यक्तिमार्फत सम्पर्कमा पुगेका युवाहरुले पोल्याण्डको रोजगारी सुनिश्चित हुने ठानेर पैसा दिएको बताए । सम्पर्कबाट नजिकको सम्बन्ध बनाएका युवाहरु कथंकदाचित् रोजगारीमा जान नसके पैसा नगुम्नेमा उनिहरु आश्वस्त थिए ।

 तर, युवाहरुलाई त्यसबेला झड्का लाग्यो–जुनबेला दलाल फरार भयो । अनि युवाहरु हारगुहार गर्न वैदेशिक रोजगार विभागको शरणमा पुगे ।

पोल्याण्ड पुग्ने गुलियो सपना देखेर दलाललाई पैसा फसाइरहेका अर्को समुहका युवाहरु पनि विभागमा तलमाथि गरिरहेका थिए । एक म्यानपावरमा कार्यरत चितवनवासी दलालले ति युवाहरुको प्रतिव्यक्ति डेढ लाखका कुम्ल्याएका रहेछन् ।

 विभागमा छ महिनादेखि धाइरहेका युवाहरुले विभागका कारण आफुहरुले न्याय पाउन ढिला भईरहेको बताए । म्यानपावरले इजाजत प्राप्त गर्ने क्रममा राखेको धरौटीमा कटौती हुनेगरि युवाको फसेको रकम दिलाउने सम्झौता भएको रहेछ । पीडित मध्येका एक युवाले लेखा शाखाले ढिलो गरेकोले दिनहुँ धाइरहनु परेको गुनासो सुनाए । उनिहरु कुनैबेला निर्देशकको कक्षमा पुग्थे त कहिले लेखा शाखामा देखिन्थे । 

परिवारलाई पनि जानकारी नगरि दलालसँग पैसा फसाएका युवाहरुले आफ्नो तस्वीर प्रकाशित नगरिदिन हामीलाई आग्रह गरे । 

भुईं तलामा रहेको विभागको अनुसन्धान तथा मुद्धा कक्षमा पीडितहरु र पीडकबीच चर्काचर्की सुन्न सकिन्थ्यो । संस्थागत तथा व्यक्तिगत रुपमा ठगिमा परेका युवाहरुको उजुरीका आधारमा विभागले पक्राउ गरेका पीडकहरु हत्कडीमै अनुसन्धान कक्षमा उभ्याइएका थिए । नातामा भान्जा पर्ने व्यक्तिबाटै ठगिएका एक व्यक्तिले चर्को स्वरमा दलाललाई हकारिरहेका थिए । हत्कडीसहित रहेका दलालले भने ‘काम गर्दागर्दै विग्रेको हुँ मामा । केहि व्यक्ति उडेका पनि छन् ।’ मामा पर्नेले आक्रोशित हुँदै भने ‘आर्थिक रुपमा कमजोरहरुलाई ठगिरहने, तिमीलाई सडाईदिउँ ?’

आफन्तसँगै ठगिनेहरुको संख्यामा वृद्धि 
विगतका वर्षहरुमा संस्थागत रुपमा ठगिका उजुरी संख्या धेरै रहेको विभागले जनाएको छ । तर , हालका दिनहरुमा व्यक्तिगत रुपमा ठगि हुनेहरुको संख्या बढेको विभागको रेकर्डले देखाउँछ ।

विभागमा दिनहुँ दश बढि उजुरी विभागमा दर्ता हुने गरेका छन् । दर्ता भएका उजुरीमा अधिकांश व्यक्तिगत ठगिका छन् । विकसित मुलकमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई दलालहरुले ठग्ने गरेका छन् । व्यक्तिगत ठगिका उजुरीमा आफन्तसँग पीडित हुनेहरुको संख्या उल्लेख्य रहेको विभागका निर्देशक मोहन अधिकारीले बताए । दर्ता भएका उजुरी मध्यमा ६० प्रतिशत पीडितहरुले न्याय पाउने गरेको उनले बताए । 

उता, विभागको गेट आसपासमा रहेका लेखापढि व्यवसायीले पनि पीडित युवाहरुको उजुरीका कागजात तयार गर्ने क्रममा अस्वभाविक शुल्क असुल्ने गरेका छन् । पीडित युवाको उजुरी लेखिदिने नाममा व्यवसायीले दुई हजार रुपैयाँ शुल्क लिने गरेको एक युवाले बताए । सरकारी निकायसँगको समन्वयमा सञ्चालित पिपुल फोरमले पीडित युवाको उजुरी निशुल्क तयार गरिदिने कानुन व्यवसायी कृष्ण प्रसाद न्यौपानेले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप