बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजावादी भर्सेस गणतन्त्रवादी : सालिकको नाममा नेपालगन्जमा पटक–पटक लफडा

राप्रपाका महामन्त्री भन्छन्– निन्दनीय घटना भयो
बिहीबार, १९ जेठ २०७९, १३ : ४८
बिहीबार, १९ जेठ २०७९

बाँकेको नेपालगन्ज सहरमा राजावादीहरु उल्लेख्य छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाका महामन्त्री डा धवल शमशेर राणा नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनबीच भएको तालमेलका कारण राप्रपाले आफ्नो पकड कायम राख्न सकेन । यद्यपि राप्रपाको प्रभाव भने कायमै छ ।

राजावादी बाहुल्य क्षेत्र भएकैले नेपालगन्जका विभिन्न चोकमा विगतमा पूर्वराजाका सालिक थिए भने हाल पनि राजा त्रिभुवनको सालिक छ । यसअघि रहेका पूर्वराजा ज्ञानेन्द्र र राजा वीरेन्द्रको सालिक भने गणतन्त्रवादीहरुले हटाएका थिए । सालिक हटाइएको भन्दै राजावादीहरुले उक्त शालिकलाई पुनर्स्थापनाको प्रयास गर्दै आएका छन् । यहीक्रममा राजा वीरेन्द्रको यसअघि भत्काइएको सालिक पुनर्स्थापना गर्न खोज्दा बिहीबार तनावको अवस्था सिर्जना भएको छ ।

​राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पुगेकै दिन स्थानीय प्रशासनको अनुमति बिना राजावादीहरुले सालिक पुनर्स्थापना गर्न खोजिएपछि तनावको अवस्था सिर्जना भएको हो । राजावादीले वीरेन्द्र चोकमा सालिक राख्न पाएनन् भने सोही झोकमा सेतु विक चोकमा पुगेर जनआन्दोलनका सहिद विकको शालिकमाथि तोडफोडको प्रयास भएको छ ।

नेपालगन्जका निवर्तमान मेयर तथा राप्रपाका महामन्त्री धवलशमशेर राणाले सालिक राख्न अवरोध गरेर प्रशासनबाट निन्दनीय कार्य भएको आरोप लगाए । उनले राष्ट्रवादीहरूले सालिक राख्न खोज्दा प्रहरी प्रशासनबाट हस्तक्षेप भएपछि झडपको अवस्था सिर्जना भएको आरोप लगाउँदै ‘गणतान्त्रिक सरकारको दादागिरि’विरुद्ध राप्रपाका कार्यकर्ताले पनि प्रतिरोध गरेको बताए ।

‘यो एकदमै निन्दनीय घटना हो, जुन प्रहरी प्रशासनबाट भयो’, उनले रातोपाटीसँग भने, ‘स्वर्गीय र एकदमै लोकप्रिय राजाको सालिक पुनर्स्थापना गर्दाखेरी के उहाँहरुलाई चिन्ता ? खाली रहेको ठाउँमा सालिक राख्न खोजिएको हो । त्यसमाथि नामै वीरेन्द्र चोक हो । सत्ताधारी दलहरुसमक्ष म यो कार्यको निन्दा गर्न चाहन्छु ।’

उनले आफू मेयर हुँदा त्रिभुवन चोकमा सालिक राख्दा पनि त्यस्तै लफडा निकाल्न खोजिएको भन्दै त्यसबेला भने आफूहरू सफल भएको स्मरण गरे । ‘पहिला त्रिभुवन चोकमा लगायौँ, त्यतिबेला म मेयर थिएँ’, उनले भने, ‘अहिले स्थानीय सरकार र संघीय सरकारले कार्यले मर्माहत बनाएको छ ।’

त्यतिबेला ४–५ दिन झडपको अवस्था बने पनि आफूहरू लागेर सालिक बचाउन सकिएको बताए । उनका अनुसार हाल सेतु विकको सालिक रहेको स्थानमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सालिक थियो । आन्दोलनकारीहरूले ज्ञानेन्द्रको सालिक हटाएर पछि सेतु विकको सालिक राखेको उनको भनाइ छ ।

‘वीरेन्द्रको सालिक प्रहरीले हटाएको रिसमा केही केटाहरू गएर सेतु विकको सालिक तोडेको भन्ने सूचना पाएको छु’, उनले भने । उनले पूर्वराजाको सालिक राख्न अवरोध गर्नु राज्यको असहिष्णु व्यवहार भएको आरोप लगाए ।

०००००

सालिक तोडफोडबारे राणाको छोटो प्रतिक्रिया जस्ताको तस्तैः

सालिक राख्ने काममा अवरोध गरेर प्रहरी प्रशासनबाट निन्दनीय घटना भयो । स्वर्गीय राजा, त्यसमाथि एकदमै लोकप्रिय राजाको सालिक पुनर्स्थापना गर्दाखेरी के उहाँहरुलाई चिन्ता ? सालिक राख्न खोजिएको ठाउँमा पहिला राजा वीरेन्द्र शाहकै सालिक थियो । त्यसमाथि त्यो ठाउँको नामै वीरेन्द्र चोक हो । सत्ताधारी दलहरुसमक्ष म निन्दा गर्न चाहन्छु । मेरो यसमा धेरै ठूलो विरोध छ ।

वीरेन्द्र चोकमा सालिक लगाइसकेपछि हटाउनुले राजावादीहरूलाई ठूलो चुनौती आएको छ । पहिला त्रिभुवन चोकमा लगायौँ, त्यतिबेला म मेयर थिएँ । अहिले स्थानीय सरकार र संघीय सरकारको यो कार्यले मलाई मर्माहत बनाएको छ ।

सालिक पार्टीको निर्णयअनुसार राख्न खोजिएका होइन । राष्ट्रवादीहरूले राखेको हो । खाली हाम्रो आदरणीय तथा महान् व्यक्तित्व स्वर्गीय राजाको सालिक राख्न अवरोध भएपछि त्यो सालिक बचाउनका लागि राप्रपाका कार्यकर्ता होमिने नै भए । विगतमा त्रिभुवन चोकमा पनि राष्ट्रवादीहरूले सालिक राखेपछि त्यसलाई हामीले बचाएका थियौँ ।

अहिले सालिक राखिएको ठाउँमा अर्को कसैको सालिक थिएन । विगतमा स्वर्गीय राजा वीरेन्द्रकै त्यहाँ सालिक थियो । त्यो बेला पनि आन्दोलनकारीहरूले कसैलाई सोधेर भत्काएको होइन । यो पाली पनि राष्ट्रवादीहरूले कसैलाई नसोधेर पहिले भत्काएको ठाउँमा पुनः सालिक राखेको मात्रै हो ।

सेतु विकको सालिक भएको अर्कै चोक हो । सेतु विकको सालिक भएको ठाउँमा बरु राजा ज्ञानेन्द्रको सालिक थियो । त्यसलाई हटाएर सेतु विकको सालिक लगाइएको हो । वीरेन्द्रको सालिक प्रहरीले हटाएको रिसमा केही केटाहरू गएर सेतु विकको सालिक तोडेको भन्ने सूचना पाएको छु ।

के भन्छ प्रहरी ?

बिहीबार राजावादीलाई सालिक राख्नबाट रोकेपछि प्रहरीमाथि ढुंगामुढा भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ । स्थानीय प्रशासनले पूर्वराजा वीरेन्द्रको सालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको उनको भनाइ छ ।

आक्रोशित राजावादीले सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिकमा समेत क्षति पुर्‍याएका थिए । सो क्रममा केही आन्दोलनकारी घाइते भएको बताइएको छ । घटनापछि नेपालगन्ज क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप