आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गीतकार राज श्रेष्ठको ‘मन बिसाउने चौतारी’ लोकार्पण

आइतबार, २९ जेठ २०७९, १४ : १७
आइतबार, २९ जेठ २०७९

कवि तथा गीतकार राज श्रेष्ठको गीति एल्बम ‘मन बिसाउने चौतारी’को एक कार्यक्रमको बीच राजधानी काठमाडौँमा विमोचन गरिएको छ । सोल्टीमोडस्थित कालिमाटी ब्याङ्क्वेटमा एपेक नेपालद्वारा आयोजित उक्त कार्यक्रमा प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठ, सङ्गीतकार सूर्य थुलुङ, दीपक जङ्गम, विश्वविमोहन श्रेष्ठ, कवि राजेन्द्र शलभ र गीतकार रमेश पौडेलले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै राजेन्द्र शलभले बेलायतमा बसेर पनि यतिको उच्च स्तरको गीत रचना गर्न सफल भएकोमा बधाई दिए । 

प्रमुख अतिथि रायनले गीतकार राज श्रेष्ठ एउटा लाहुरे जीवनमबट फड्को मारेर गीत सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको खुसी लागेको बताए । उनले लाहुरेहरुको विरुद्धमा गीति नाटक लेखेको स्मरण गरे । त्यसमा उनले नेपाल भाडाको सिपाहीको देश नबनोस् भनेर त्यसविरुद्ध लेखेको बताए । उनले भने, “तर एउटा फूलबारीमा सयौँ किसिमका फूलहरु हुन्छन्, सयौँ किसिमका सुवासहरु हुन्छन्, कसैले गुलाव मनपर्छ, कसैलाई चमेली । आफूलाई मन परेको फूललाई लिएर कोठामा सजाउने काम उहाँहरुले गर्नुहुन्छ । आफूले रोजेको विधा समाएर आफू रमाउने हो । राज श्रेष्ठ गीति क्षेत्रमा रमाउनु भएको छ । यसले निरन्तरता पाओस् ।”

यसैगरी एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले राज श्रेष्ठ गीत, सङ्गीत र सिर्जनामा जति मुखरित हुनुहुन्छ, सम्पर्कमा त्यति नै भूमिगत भएको बताए । उनले भने– “उहाँलाई पहिल्याउन उहाँले निरन्तर लेखिरहनुभएको मुक्तक, कविता र गीतहरूको श्रवण गर्दा अझ प्रष्ट हुन्छ ।” उनले बेलायती सेनामा रहेर पनि सधैँ सिर्जनामा रमाउने व्यक्तित्व भएका राज श्रेष्ठ सरल सहज र रसिक भएको चार्चा गरे ।  

६ वटा गीतहरूको सङ्ग्रह रहेको मन बिसाउने चौतारी गीति एल्बमका गीतहरूलाई दीपक जङ्गम, न्ह्यु वज्राचार्य र सूर्य थुलुङले सङ्गीत र थुलुङ, सङ्गीता राना प्रधान, अजर जङ्गम, प्रवीण बेडवालगायतले स्वर दिएका छन् ।

रात्रिभोजसहितको उक्त कार्यक्रममा राज श्रेष्ठको परिवारका सदस्यसहित प्राज्ञ माया ठकुरी, पद्मावती सिंह, लव गाउँले, गोविन्द गिरी प्रेरणा, वसन्त श्रेष्ठ, गीता खत्री, जयदेव भट्टराई, राजेश नेपाल, चूडामणि देवकोटा, दुर्गा किरण तिवारी, मन्दिरा मधुश्री, कमला रानी, मणिराज सिंह, विमल भौकाजी, चलचित्रकर्मी दीपक श्रेष्ठ, स्नेह सायमी, लक्ष्मी माली, अर्जुन श्रेष्ठ, पूर्णलाल चुके, नवराज पुडासैनी ज्योत्सना, श्रीराम राई, राजेश कोइरालालगायतको उपस्थिति थियो ।

एपेक नेपालले आयोजना गरेको कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष विश्वविमोहव श्रेष्ठ र कार्यक्रम सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप