शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको यो सहरको सडक सडकमा किन हिँड्न थाले गोही ?

शनिबार, ०४ असार २०७९, १७ : ०८
शनिबार, ०४ असार २०७९

यदि तपाईले बाटोमा घडियाल देख्नुभयो भने कति अचम्म वा डर लाग्छ होला । ब्राजिलको रियो दि जेनेरियोस्थित एक बस टर्मिनलमा गाडी कुरिरहेका मानिसहरुले खुला विचरण गरिरहेका घडियाल गोही देख्दा यस्तै अनुभव गरे । 
घटना मार्च २९ बिहान ५ः ४० बजेको हो । यसबेला सहरको बस टर्मिनलमा गाडी कुर्नेको घुइँचो हुने गर्छ । त्यहीबेला गोही आएपछि बस कुरिरहेका मानिसहरु बस टर्मिनल छेउको आकासे पुल चढे । केहीले भिडियो पनि खिचे । 

भिडबाट कसैले कराएर ‘यो जनावर खतरनाक छ’ भनेपछि मानिसहरू थप आतकित भए । हुन पनि झण्डै ४० किलोको २.५ मिटर लामो घडियाल भयानक देखिन्थ्यो । तर मानिसको भिड देखेर घडियाल पनि आत्तिएर होला, भाग्ने ठाउँ नपाएर उ आफै आकासे पातलो पुलमा तलमाथि गर्ने प्रयास गरिरहेको थियो । त्यसपछि त के थ्यो र ? मानिसहरु झन् चिच्याएर यत्रतत्र भाग्न थाले । मानिस जत्तिकै भयभित घडियाल पनि देखिन्थ्यो । 

एक घण्टा लामो उद्धार प्रयासपछि घडियाललाई खोरमा राखेर नजिकैको तालमा छाडिएको थियो । त्यहाँ मानिसहरू र घडियाल कसैलाई पनि कुनै हानी भएन । रियो दि जेनेरियोको सिभिल डिफेन्स डिपार्टमेन्टका अनुसार घडियाल एक किलोमिटर टाढा बनाइएको तालबाट आएको हुनसक्ने बताए ।

त्यहाँ काम गर्ने एक व्यक्तिले भने ,‘वर्षाको समयमा यस भेगमा विभिन्न जनावर निस्किने भएकाले अँध्यारो ठाउँमा जान डर लाग्छ ।’ 

धेरै भेटिन्छन्, जंगली जीव
पछिल्ला केही महिनाभित्र रियो दि जेनेरियोको शहरी क्षेत्रमा धेरै पटक जंगली जनावरहरू देखिएका छन् । त्यसबारेमा स्थानीय मिडियाले रिपोर्ट गर्छन् ।  बस टर्मिनलमा घडियाल देखिनुभन्दा चार दिनअघि अप्रिल २ मा भीषण वर्षापछि तीनवटा घडियाल एक गल्लीमा जमेको पानीमा तैरिरहेको अवस्थामा फेला परेका थियो ।

घडियाल देखिएको क्षेत्रमा बस्ने एक व्यक्तिले भने, ‘अहिलेसम्म यस क्षेत्रमा मुसा मात्रै देख्थ्यौँ । अब अनेकथरी जीव देखिन थालेको छ ।’ त्यसको एक साताअघि भाइरल भएको अर्को एक भिडियोमा १९ औं तलाको फ्ल्याटको सिलिङमा एउटा ठूलो खैरो सर्प लुकेको देखियो । उद्धार टोलीले ‘प्लास्टर’ फुटाउँदा सर्प भुइँमा खसेको थियो ।

यी घटनाभन्दा तीन महिनाअघि अर्को एक भिडियो भाइरल भएको थियो, जसमा भुइँ तल्लामा बस्ने एकजना मानिस मर्निङ वाकका लागि बाहिर निस्कँदा उनको घर बाहिर गोही आरामसँग बसेको देखिन्छ । यस प्रकारका अरु पनि तस्बिर र भिडियो भाइरल भैरहेका छन् । 

रियोमा जंगली जीव भेटिने घटनाको आधिकारिक तथ्याङ्कको ग्राफ बढिरहेको छ । सहरी क्षेत्रमा वन्यजन्तु भेटिने घटना बढ्दै गएको छ । सन् २०२० मा २,४१९ यस्ता घटना दर्ता भएकोमा सन् २०२१ मा बढेर ३,५३४ पुगेको छ । यस वर्षको जनवरी १ देखि मार्च २८ सम्म, रियो नगर निगमले शहरमा सर्प, घडियाल, ठूला छेपारो, चमेरो र जंगली मुसा फेला परेका १२०३ घटनाहरू दर्ता भएको जानकारी दिएको छ । 

अहिलेकै दरमा जंगली जीव भेटिने दर कायम रह्यो भने २०२२ सम्ममा चार हजार यस्ता घटना दर्ता हुने प्रक्षेपण गरिएको छ, जसको अर्थ औसतमा एक दिनमा औसत ११ जीव भेटिइरहेको छ । विज्ञहरुका अनुसार यस्तो घटना वृद्धिमा भौतिक संरचनाको वृद्धि, प्रदूषण र जलवायु परिवर्तन जिम्मेवार छन् । ६० लाख ७० हजार जनसंख्या भएको रियो दि जेनेरियोमा पछिल्लो समय घरजग्गाको कारोबार बढ्दै गएको छ । घरको संख्या बढ्दै जादा खुल्ला स्थान घट्दै गएको छ ।

यसका कारण सहरका वन्यजन्तुमाथि दबाब परेको जीव वैज्ञानिक रिकार्डो फ्रेटास बताउँछन् । फ्रेटासले विगत दुई दशकदेखि शहरमा घडियालको व्यवहारको अध्ययन गर्दै आएका छन् । ‘बस टर्मिनलमा घडियालको आगमन शहरीकरणले सिर्जना गरेको अराजकताको संकेत हो ,’ फ्रेटास् भन्छन् । शहरीकरणका कारण यी जनावरहरूको लागि ठाउँ घटेको छ । 

घडियालको मौन चिहान
सहरका अन्य पर्यावरणविद् र विज्ञजस्तै रिकार्डोलाई शहर क्षेत्रमा काम गर्ने ठेकेदारहरू र घरजग्गा व्यवसायीहरू वन्यजन्तुप्रति कुनै चिन्ता चासो राख्दैनन् । सस्तोमा काम सकाउन वातावरणीय मापदण्ड बेवास्ता भइरहेका छन् । 
रियो दि जेनेरियोमा करिब पाँच हजार घडियाल छन् । सिकारी जनावरको रूपमा घडियालले पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ । तर, तिनको संख्या घट्दै गएको छ ।

रिकार्डो फ्रेटास भन्छन् ,‘ घडियाल सास नफेरि ३० मिनेटदेखि एक घण्टासम्म पानीमुनि बाँच्न सक्छन् तर, यस अवधिमा ती निर्माण सामाग्रीले थिचिएर मर्छन्, जुन निर्माणस्थलमै दबिन्छन् ।’ रियोको वातावरण विभागका प्रवक्ताले सहरको वन्यजन्तुको संरक्षणका स्थानीय सरकारका विज्ञ र प्राज्ञिक समितिले थप कदमका लागि प्राविधिक र वैज्ञानिक सहयोग उपलब्ध गराउने बताए । उनका अनुसार स्थानीय सरकारले उद्धार कार्य बढाउनुका साथै अवैध निर्माणको नियमनमा पनि ध्यान दिइरहेको छ ।

प्रदूषणको खतरा
जनावर तिनको प्राकृतिक घरबाट बाहिरिने अर्को कारण प्रदुषण पनि हो । ‘रियोको सम्पूर्ण पश्चिमी क्षेत्र अति प्रदूषित छ । अधिकांश घडियालको बासस्थान फोहोर, जैविक पदार्थ र ढलले ढाक्न थालेपछि फोहोरका कारण ती मर्छन् । उनीहरुको लागि खाना पनि कम हुदै गएको छ,’ फ्रेटासले भने ।

वन्यजन्तुलाई मानिसको खाना खुवाउँदा तिनको आनीबानीमा परिवर्तन आउँछ र उनीहरु त्यही खानेकुराका लागि बारम्बार सहरी क्षेत्रमा आउँछन् । रियो सिटी हलका प्रवक्ताका अनुसार पछिल्लो समय स्थानीय सरकारले उक्त विशाल प्राणी बस्ने ताल र नदीहरू सफा गरिराखेको छ ।

मौसम परिवर्तन
रियोमा भारी आँधी र बाढीका आउँदा पानीमा गोही र सर्प देखिन थाल्छन्, जसको भिडियो सामाजिक सञ्जालमा भरिन्छन् । भारी वर्षा र जलवायु परिवर्तनबीच प्रत्यक्ष सम्बन्ध जोड्न सम्भव नभए पनि ब्राजिलमा प्राकृतिक प्रकोपका घटनाहरू बढी रहेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अध्ययनमा विशेषज्ञता राख्ने जर्नल कार्बन ब्रीफले हालै गरेको अध्ययनले ब्राजिल विश्वको चौथो ठूलो कार्बनडाइअक्साइड उत्सर्जन गर्ने मुलुक भएको देखाएको छ । ब्राजिलअघि अमेरिका, चीन र रुस मात्र छन् । सन् २०१९ मा ब्राजिलले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड बढेर १३ वर्षकै उच्च पुगेको थियो । स्रोत ः बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप