अबको डेंगु कडा हुने ?
नेपालमा विगत केहि वर्ष यता डेंगुको प्रकोप देखिँदै आइरहेको छ।कोभिड-१९ को महामारी सुरु हुनु भन्दा अगाडी ( सन् २०१९ मा) नेपालको इतिहासमा नै पहिलो पटक लामो अवधि, धेरै मानिस र लगभग सबै जिल्लाहरूमा एकै पटक डेंगुले प्रभावित पारेको थियो। केहि व्यक्तिले मृत्युवरण समेत गर्नु परेको थिए।सन् २०१९ मा काठमाडौँमा डेंगु फैलिएको लेखकले नै पहिला जानकारी दिएपछि अस्पतालमा छुटै "फिबर क्लिनिक" को स्थापना गरी लेखकबाट नै बिरामीको उपचार वा परामर्श दिन सुरु गरिएको थियो।हाल कोभिड-१९ को लहर शिथिल भएको अवस्था छ भने मानिसहरू आफ्नो सक्रिय दैनिकीमा फर्किसकेको अवस्था छ। मानिस मात्र होइन वर्षाको प्रवेशसँगै लामखुट्टे पनि सक्रिय भएको देखिन्छ। हाल पानी जमेका ठाउँहरूमा लामखुट्टेका लार्भाहरू प्रशस्तै देख्न सकिन्छ।अर्थात् अबको केहि हप्तामा यी लार्भाहरू वयस्क भएर मानिसलाई टोक्न सुरु गर्नेछ। र सँगसँगै डेंगु पनि फैलन सुरु हुनेछ।वास्तवमा, काठमाडौँमा डेंगु देखिन सुरु भैसकेको छ।
डेंगु भाइरस एडीस जातको लामखुट्टेको टोकाइबाट मानिसमा र मानिसबाट लामखुट्टेमा सर्ने गर्दछ।मानिसबाट डेंगु भाइरस लामखुट्टेमा लक्षण देखिनु २ दिन अगाडी र ज्वरो घटेको २ दिन पछाडिसम्ममा सर्न सक्दछ। एडीस जातको लामखुट्टे कालो सेतो (जेब्रा रङ्ग) को हुने गर्दछ। सङ्क्रमित लामखुट्टेले टोकेको ४ देखि १० दिन भित्रमा लक्षणहरू देखा पर्ने गर्दछ।धेरैमा लक्षणहरू सामान्य नै हुने गर्दछ। तर केहीमा भने लक्षण जटिलता तिर जान सक्दछ।विगत र अहिलेको सङ्क्रमणमा डेंगुको सेरोटाईपमा फरक भए सङ्क्रमितमा लक्षण कडा वा जटिलता तिर जान सक्ने सम्भावना बलियो हुनेछ।हाल डेंगुलाई "१", "२", "३" र "४" गरी चार सेरोटाईपहरुमा वर्गीकरण गरिएको छ।नेपालमा डेंगुको चारै सेरोटाईपहरु देखा परिसकेको छ। सन् २०१९ मा डेंगु फैलिदा अधिकांशमा सेरोटाईप "२" भाइरसले सङ्क्रमण गरेको पत्ता लागेको थियो।अर्थात् अब ती सङ्क्रमितहरूमा सेरोटाईप "२" बाहेक "१" वा "३" वा "४" ले फेरी सङ्क्रमण गरे पहिलेको भन्दा लक्षणहरू कडा देखिन सक्नेछन्। भारतमा गरिएको अनुसन्धान नतिजाले (बिएमसी इन्फेकसिओस डिजिज -२०१६ जर्नलमा प्रकाशित) दोश्रो पटक फरक सेरोटाईपबाट सङ्क्रमित भएकामा बढी उच्च ज्वरो देखिएको, रगतमा प्लेटेलेट्सको सङ्ख्यामा अझ कमी देखिएको र धेरैमा डेंगुको "रक्तश्राव" वा "शक सिन्ड्रोम" देखिएको थियो।
असाध्य टाउको दुख्नु, आँखाको गेडी दुख्नु, जोर्नी तथा मांसपेशीका दुख्नु, वाकवाक वा बान्ता हुनु, शरीरमा बिबिराहरू देखिनु यसका मुख्य लक्षणहरू हुन।लक्षणहरू देखिएको ३ देखि ७ दिनपछि बिरामीमा कडा डेंगु देखिन सक्ने सम्भावना बलियो हुनेछ। यसलाई "क्रिटिकल फेज" पनि भन्ने गरिन्छ।"क्रिटिकल फेज" को २४ देखि ४८ घण्टा अति महत्त्वपूर्ण हुने गर्दछ। सो समयमा ज्वरो भने १०० डिग्री फरेनहाईट भन्दा तल झरेको हुनेछ।यो सँगै "चेतावनीका साङ्केतिक लक्षणहरू अर्थात् वार्निंग साईन" देखिन सक्दछ। पेट असाध्य दुख्नु, तारनतार बान्ता हुनु, गिजा वा नाकबाट रगत बग्नु, बान्ता वा दिसामा रगत देखा पर्नु, थकित हुनु , बेचैनी, कलेजोको आकार बढ्नु जस्ता चेतावनीका साङ्केतिक लक्षणहरू देखिए चिकित्सकले अत्यन्त सावधानीका साथ जटिलतातिर गए/ नगएको हेर्नु पर्दछ र आवश्यकता अनुसार उपचार गर्नुपर्दछ। बिरामीमा श्वास-प्रश्वास समस्या देखिने, शरीरका विभिन्न अङ्गहरूमा पानी जम्ने तथा थप अरू अङ्गहरूको काममा समेत अवरोध देखिन सक्नेछ।छिटो र सही उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्छ।
डेंगुको सेरोटाईप पीसीआर प्रविधिबाट पत्ता लगाउन सकिन्छ। कोभिड-१९ को महामारी सुरु हुनुभन्दा अगाडी पीसीआर प्रविधिको सहज उपलब्धता थिएन।तर कोभिड-१९ को लहरसँगै प्रत्येक प्रदेश तथा कतिपय निजी अस्पताल र प्रयोगशालाहरूमा समेत पीसीआर प्रविधिको स्थापना भैसकेको छ। अर्थात् डेंगुको सेरोटाईप थाहा पाउन चासो दिने हो भने सजिलै पत्ता लगाउन सकिनेछ।पहिले र अहिले सङ्क्रमण गरेको भाइरसको सेरोटाईप थाहा पाउन सके अहिले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्थाको अनुमान गर्न चिकित्सकलाई गर्न सहज हुनेछ। यसबाट अस्पतालको तयारीमा पनि फाइदा पुग्नेछ।जस्तो उदाहरणको लागि सन् २०१९ मा काठमाडौँमा डेंगुले महामारीको रूप लिँदा हजारौँ मानिसहरू सङ्क्रमित भएका थिए र माथि उल्लेख गरे झैँ डेंगुको "२" सेरोटाईप देखिएको थियो र अबको दिनमा अर्को/फरक सेरोटाईप भएको डेंगु देखिए अस्पताल भर्ना हुनेहरूको अनुपात बढ्न सक्ने अनुमान लगाउन सकिन्छ र त्यसै अनुरूप अस्पताल तयारी समेत गर्न सकिनेछ।यसमा सम्बन्धित निकायले नै विशेष चासो र पहल लिनु पर्दछ।
नेपालमा सन् २००४ मा डेंगु भाइरस पुष्टि भए यता वर्षेनी जस्तो निरन्तर देखिँदै आइरहेको छ। भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि र लामखुट्टेकोले आफ्नो उपस्थिति भौगोलिक रूपमा विस्तार गर्दै जाँदा सङ्क्रमितमा वर्षेनी सङ्क्रमण दोहोरिँदै जाने सम्भावना बढेर गएको छ। फरक फरक डेंगुको सेरोटाईपले सङ्क्रमण गर्दै जाँदा आगामी दिनमा डेंगुले पनि कडा रूप लिँदै जाने निश्चित प्राय देखिन्छ। तसर्थ डेंगु फैलाउने बिचौलिया एडीस जातको लामखुट्टेको नियन्त्रण तथा भाइरस फैलिहाले त्यसको सेरोटाईप थाहा पाउन सके कडा डेंगुबाट हुनसक्ने मानवीय क्षतिलाई कम वा रोक्न सकिनेछ।
डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण