शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : अल्मुताइरीको पद धरापमा, हवाई सेवा कम्पनीहरूको घुर्की

मङ्गलबार, ०७ असार २०७९, २० : ५४
मङ्गलबार, ०७ असार २०७९

आज २०७९ असार ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा रवि लामिछानेको राजनीतिमा इन्ट्री, दलहरूको प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा, नेप्सेमा सुधार, काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, ‘मिटरब्याज’ले उठीबास लगाएपछि आन्दोलन लगायत छन् ।

राजनीतिमा रवि

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।  मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ताका लागि निवेदन पनि दिएका छन् । पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक बस्ने उनको भनाई छ । २१ जनाको टिममा देशले चिनेको मान्छे नभई देशलाई चिन्ने मान्छे रहेको उनले बताए । 

पदाधिकारी आगामी प्रदेश र संघको चुनावपछि मात्रै

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारी आगामी प्रदेश र संघको चुनावपछि मात्रै टुंगो लगाउने मनस्थिति बनाएको छ । तत्काल पदाधिकारी टुंगो लगाउनतिर लाग्दा पार्टीमा थप गुटबन्दी सृजना भई चुनावमा असर पर्न सक्ने निष्कर्षका साथ चुनावपछि या कार्यलाई चुनावपछि धकेल्न लागिएको हो । 

भोटेबहालको गेस्ट हाउसमा बलात्कार

काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एकजना युवकले सुन र नगद लुटेका छन् । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने  विश्व तामाङले २४ वर्षीय युवतीलाई बलात्कार गरेका हुन् । 

हवाई सेवा कम्पनीहरु आन्दोलित

निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघ आन्दोलित भएको छ । सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । 

वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा पुग्दा भएको विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थलतर्फ जाँदै छ ।

हेटौँडामा मेयरको अधिकार कटौती गर्ने प्रयासमा एमाले

हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनबीच विवाद सुरु भएको छ । नगर कार्यपालिकामा बहुमतमा रहेको एमालेले कार्यपालिका बैठक संचालन कार्यविधि परिवर्तन गर्न प्रस्ताव गरेपछि गठबन्धन त्यसको विपक्षमा देखिएको छ ।

सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र शिक्षक पुर्पक्षका लागि थुनामा

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका को–अर्डिनेटर र एक शिक्षक जेल चलान भएका हुन् ।  

चुनावी तालमेलका लागि लेखाजोखा

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।

अल्मुताइरीको प्रशिक्षक पद धरापमा

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वमा आएसँगै पंकज नेम्वाङले खेलाडीलाई न्याय दिने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएसँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पद धरापमा परेको टिप्पणी हुन थालेको छ ।  ​

नेप्सेमा ३७ अंकको सुधार

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३७ अंकमाथिको सुधार भएको छ । अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप