शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी शक्तिले प्रतिबन्धमार्फत विश्व अर्थतन्त्रलाई सशस्त्रीकरण गरेको चीनको आरोप

बिहीबार, ०९ असार २०७९, १७ : १०
बिहीबार, ०९ असार २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिमी शक्तिले प्रतिबन्धमार्फत विश्व अर्थतन्त्रको ‘सशस्त्रीकरण’ गरेको आरोप लगाएका छन् । उनले बढ्दो वित्तीय चुनौतीमाझ एकताको लागि आह्वान समेत गरेका छन् ।  बुधबार साँझ ब्रिक्स सम्मेलनमा भिडियो सम्बोधन गर्दै उनले विश्व अहिले महामारी तथा नयाँ ‘सुरक्षा चुनौतीबाट’ बाहिरिने संघर्षमा रहेको बताए । 

‘युक्रेन युद्ध विश्वको लागि अर्को चेतावनी हो । यसले कथित ‘सबल हैसियत’ माथिको अन्धविश्वास र सैन्य गठबन्धन विस्तार गर्ने प्रयास र अन्यलाई हानी पु¥याएर आफ्नो सुरक्षा खोज्ने शैलीको स्मरण गराएको छ ,’ सीले भने ।  सीको यो टिप्पणी अमेरिका र नेटोविरुद्ध थियो जसलाई बेइजिङले पटक पटक युक्रेनमाथि रुसी आक्रमणको लागि उचालेको आरोप लगाउँदै आएको छ । 

सम्बोधनमा सीले पश्चिमी प्रतिबन्धलाई पनि निशाना बनाए । उनले यस्तो कदम ‘दुई धारको तरबार’ जस्तो हुने बताउँदै यसले विश्व अर्थतन्त्रलाई शसस्त्रीकरण गर्ने र अन्तिममा विश्वभरका मानिसलाई हानी गर्ने बताए । 
उनले अहिलेको समयमा सबै मुलुकहरुले एक अर्कासँग ऐक्यबद्धता र सहकार्यको बाटो खोज्ने प्रयास गर्नुपर्ने बताए ।  बेइजिङले यो पटक भर्चुअल माध्यमबाट ब्रिक्स सम्मेलनको आयोजना गरिरहेको छ । सम्मेलनमा युक्रेनमाथि आक्रमण गरेपछि पहिलोपटक रुसी राष्ट्रपति अन्तर्राष्ट्रिय फोरममा भाग लिँदैछन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो व्यापारिक वहावलाई ‘ब्रिक्स मुलुक’ तथा अन्य विश्वसनीय अन्तराष्ट्रिय साझेदारतर्फ केन्द्रीत गर्न लागेको बताए ।  पुटिनले पश्चिमले रुस विरुद्ध लगाएको प्रतिबन्ध ‘राजनीतिक रुपमा प्रेरित’ भएको भन्दै यो कदम खासमा ‘प्रतिस्पर्धामाथि दबाब सिर्जना गर्न प्रयोग हुने संयन्त्र’ भएको बताए । 

सन् २००९ मा स्थापना भएको ब्रिक्स समूहका सदस्य वर्षेनी सम्मेलनमा भेटघाट गर्छन् । यो पटकको सम्मेलन १४ औं हो । ब्रिक्स सन् २००९ मा ‘उदाउँदो बजार अर्थतन्त्र र विकासोन्मुख मुलुकको साझा स्वार्थ पुरा गर्न ’ गठन गरिएको थियो । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।

पुटिनले उनको भिडियो सम्बोधनमा ‘ब्रिक्स सदस्यहरुले अन्तर्राष्ट्रिय भुक्तानीको लागि विश्वसनीय वैकल्पिक संयन्त्र विकास गरिरहेको’ बताए । पश्चिमले रुसका महत्वपूर्ण संस्थानहरुलाई अमेरिकी डलर प्रणालीबाट बहिष्कार गरेपछि उसले अहिले विकल्प खोजिरहेको छ । तथापि सबै सदस्यहरुले अमेरिकी डलर प्रणालीबाट बाहिरिने सम्भावनामा आशंका रहेको छ ।

सम्बोधनमा ब्रिक्सका सदस्य मुलुकका नेताहरुले रुसलाई सिधा आलोचना नगरे पनि उनीहरु रुसी कदमलाई समर्थन नरहेको देखाउन सचेत थिए ।  बुधबार साँझको सम्बोधनमा पाँच देशका नेताको बोलीको अलग अलग भाका स्पष्ट देखिएको थियो । जस्तो आफ्नो भिडियो सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोरमको उद्देश्यमा मात्र केन्द्रीत भए र यसले स्टार्ट–अपहरुलाई प्रोत्साहन गर्न सक्ने क्षमताबारे केन्द्रीत भएर बोलेका थिए । 

त्यस्तै दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा गरिबी, असमानता र खोपमाथिको पहुँच लगायत व्यापार र लगानीमा केन्द्रीत भए ।  ब्राजिलका राष्ट्रपति बोल्सोनारो विश्वव्यापी आर्थिक जोखिमको समयमा आफ्नो मुलुक थप आर्थिक एकीकरणको लागि खुला रहेको बताए । गोप्य भिडियो कन्फरेन्समा नेताहरुले सम्मेलनमा बोलेको कुरा तिनका सरकारले उपलब्ध गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप