शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनशैली: पोषणको महत्त्व (भाग–१)

आइतबार, १२ असार २०७९, १२ : ५५
आइतबार, १२ असार २०७९

बढ्दो मोटोपनको कारणले संसारभर ज्यान गुमाउने या दीर्घ रोगले पीडित हुने क्रम जारी छ । स्वस्थ्यकर जीवनशैलीको चार मुख्य बाधकहरू धूमपान, मदिरा, प्रशोधित कार्बोहाइड्रेट तथा जनावरबाट पाइने खानाको धेरै उपभोग हो ।

पोषणको विषयमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् । ७० प्रतिशत मृत्यु दीर्घकालीन रोगका कारणले हुन्छ, जुन स्वयं जीवनशैलीको परिणाम हो । सही जीवनशैलीको अनुसरण गरेमा ९० प्रतिशत टाइप–२ मधुमेह, ८० देखि ९० प्रतिशत मुटुरोग, ४० देखि ७० प्रतिशत क्यान्सर निराकरण गर्न सकिने तथ्य विभिन्न अनुसन्धान देखाएका छन् । 

–खानाबाट पाइने पोषण

खानाबाट पाइने पोषणलाई दुई भागमा विभाजन गर्न सकिन्छ । ती हुन्– 

–म्याक्रोन्युट्रियन्स: प्रोटिन, कार्बोहाइड्रेट, फ्याट: जति धेरै यो वर्गको खाइन्छ उति नै आयु कम हुन्छ । 
–माइक्रोन्युट्रियन्स: भिटामिन, मिनरसल्स फाइटोकेमिकल्स, एन्टी अक्सिडेन्ट: यो वर्गका खाना जति धेरै खाइन्छ त्यति दीर्घजीवी भइन्छ । 
–फाइटोकेमिकल्स भनेको वनस्पतिमा पाइने विभिन्न जैविकको मिश्रण हो । एन्टिअक्सिडडेन्टको माने अक्सिडेसन गर्नबाट रोक्नु हो । जसको अर्थ कोष खराब हुनबाट बचाउनु हुन्छ । 

सबै अनुसन्धानले सबैभन्दा उत्तम खाना हरियो सागसब्जी तथा तरकारीलाई नै भनेको छ । सागसब्जीमध्ये पनि पात भएको (क्रुसिफरस) जस्तै बन्दा, काउली, ब्रोकाउली, मुला, सलगम आदिलाई उत्कृष्ट मानिन्छ । यस्ता सब्जीमा ग्लुकोसिनोलेट्स भन्ने तत्त्व पाइन्छ, जुन चपाएर खाँदा आइसोथाइयोसाइनेट (आईटीसी) भन्ने फाइटोकेमिकल मुखमा बन्न पुग्छ । यो क्यान्सर प्रतिरोध कम्पाउन्ड हो । जति राम्रोसँग चपायो, उति नै धेरै आईटीसी बन्छ । यसरी चपाउँदा माइरोसिनेस भन्ने बायोकेमिकल इन्जाएम सेल मेम्ब्रेनभित्र बन्छ र ग्लुकोसिनोलेट्ससँग मिश्रण हुन्छ । माइरोसिनेस, र्‍याल र यसमा हुने ब्याक्टेरियामार्फत् नाइट्राइट अक्साइड बन्छ । यो शरीरका लागि अति उपयोगी हुन्छ । माइरोसिनेस तापमा राख्दा या पकाउँदा कम प्रभावकारी हुनेहुँदा यस्ता सब्जी काँचै खानुपर्छ । माइक्रोन्युट्रियन्सयुक्त खानाले हाम्रो स्वस्थ्यलाई उत्तम बनाउँछ । माइक्रोन्युट्रियन्स पाइने खाना विभिन्न किसिमका सागसब्जी तथा तरकारीहरू हुन् । कम क्यालोरी भएको तर धेरै पोषणयुक्त भएको खानाले दीर्घ जीवन बढाउनुको साथसाथै बूढो हुने प्रक्रियालाई ढिलो बनाउँछ । यसले कोषहरूको मर्मत तरिकालाई बढाउँछ, आन्तरिक सुनिने कारणलाई कम गर्छ । वंशाणु परिवर्तनलाई दबाउँछ, फ्री र्‍याडिकल्सलाई र मेटाबोलिक रेटलाई कम पार्छ । क्रस लाइनिङ एजेन्टको उत्पादनलाई रोक्छ । डीएनएको मर्मतलाई बढाउँछ । टक्सिन तथा एडभान्स ग्लायाइकोजन एन्ड प्रडक्ट (एजीईयस) लाई हटाउँछ । धेरै अनुसन्धान तथा ब्राचियल भासोडिलेसन टेस्टले सागसब्जी तथा तरकारी खानाले रक्तकोषिकाभित्र (इन्ट्रा भास्कुलर इन्फमेसन) सुनिने कम हुनुको साथै यसको लचकता तथा कार्यमा सुधार भई हृदयाघात, स्ट्रोक जस्ता रोगलाई कम बनाउँछ । सन् २००६ को एपिडेमोलोजिकल अध्ययनले काँचो सब्जीले (सलादमा खाने) सबै खाले क्यान्सर कम गर्ने शक्ति भएको निष्कर्ष निकालेको छ । 

च्याउ माइक्रोन्युट्रियन्सको उच्च कोटिमा नपरे पनि क्यान्सर प्रतिरोधको लागि अति उपयोगी छ । त्यस्तै आलस तथा अन्य बियाँहरूको पनि महत्त्व छ । प्याज, लसुन, लिक, छ्यापीमा एलिनेज, सल्फाइड, फ्ल्याभोनाइड्स, च्रमियम, क्युरटिन, जस्ता क्यान्सर प्रतिरोध तत्त्व पाइन्छ । एलिनेज पकाउँदा नोक्सान हुनेहुँदा यी वर्गका खाना काँचो खाएमा बढी फाइदा पुग्छ । त्यसैले प्याज हरेक सलादमा हालेर खान सकिन्छ । गेडागुडीमा इनोसिटोल पेन्टकिस्फोस्फेट (आईपी–५) भन्नेमा क्यान्सर प्रतिरोध तत्त्व पाइन्छ । हप्तामा दुईपल्ट गेडागुडी खानाले कोलोन क्यान्सरको जोखिम ५० प्रतिशतले कम हुन्छ । प्रत्येक २० ग्राम गेडागुडीले ८ प्रतिशत मृत्यको जोखिम कम गर्छ । अरू खानाभन्दा गेडागुडी दीर्घजीवी हुनका लागि अग्र स्थानमा रहेको तथ्य अनुसन्धानहरूबाट देखिएको छ ।   

ब्युटेरेट भन्ने पेटमा हुने ब्याक्टेरिया हो । यो धेरै फाइबर तथा माइक्रोन्युट्रियन्स खाँदामा फ्याटी एसिड उत्पादन हुन्छ । यस ब्याक्टेरियाले खाइएको फाइबर तथा पचाउन नसकिने अन्य कुराहरू खान्छ । 

मोटो मानिस कोही पनि स्वस्थकर हुँदैन । मोटोपनले इन्सुलिन प्रतिरोध हुनुको साथै मधुमेह हुनुपूर्वको अवस्था हो । माइक्रोन्युट्रियन्सको कमी शरीरको सबैतिर फैलिएको हुन्छ । यसले गर्दा डीएनएको नोक्सान हुने, माइक्रोकन्ड्ररियाको र टेलेमेयरको क्षय हुन्छ । प्रायः सबै मोटो मानिसमा हरियो सागसब्जी तथा तरकारीबाट पाइने माइक्रोन्युट्रियन्सको कमी भएको हुन्छ । 

बोसोको कोषहरू:

शरीरमा हुने बोसो जिउँदो तन्तु हो । यसलाई अक्सिजन तथा पोषण चाहिन्छ । दिमागको कोषहरू नोक्सान हुने तथा आन्तरिक सुनिने पदार्थ बनाउँछ । यसले इन्सुलिन प्रतिरोध बनाउँछ । प्याङ्क्रियाजले अतिरिक्त इन्सुलिन बनाउन पर्छ । धेरै इन्सुलिनले एन्जियोजेनसिस बढाउँछ । यसको अर्थ रक्तबहिनीहरू अरू बढ्ने हुन्छ । इन्सुलिनले क्यान्सर, मुटुरोग र डिमेन्सिया जस्ता रोगहरू लाग्ने कारक हुन्छ । फ्याट कोषहरूले लाइपोकिन्स र साइटोकिन्स जस्तो सुनिने र एरोमेटेज भन्ने एन्जायम उत्पादन गर्नलाई उत्साहित गर्छ । एरोमेटेजले यास्ट्रोजन भन्ने हार्माेन उत्पादन गर्छ, जसले स्तन तथा प्रोस्ट्रेट क्यान्सरको जोखिम बढाउँछ । 

चिनीको धेरै उपभोगको कारणले डोपोमिन भन्ने न्युरोट्रान्समिटर दिमागमा बढ्छ । यसले बढी खान अरू उत्साहित बनाउँछ । अमेरिकाको सरकारी तथ्याङ्कअनुसार त्यहाँका ६७ प्रतिशत मानिस मोटा या अति मोटा छन् । यो आँकडा बीएआई २५ लाई आधार मानिएको छ । खासमा स्वस्थ जीवनका लागि पुरुषको बीएमआई २३ भन्दा कम तथा शरीरमा बोसोको प्रतिशत १५ भन्दा कम हुनुपर्छ भने महिलाको बीएआई २२ भन्दा कम तथा २५ प्रतिशतभन्दा कम बोसो हुनुपर्छ । यस हिसाबले हेर्दा अमेरिकाको कुल जनसङ्ख्याको ८९ प्रतिशत मानिस मोटा छन् । बाँकी ११ प्रतिशतमा कोही धूमपान तथा मदिराको लतले तौल घटेको र कोही क्यान्सर, अटो एम्युन डिजिज जस्ता दीर्घ रोगले पीडित हुँदा तौल कम भएका हुन् । खासमा अमेरिकाको कुल जनसङ्ख्याको २ दशमलब ४ प्रतिशत मानिस मात्र स्वास्थ्यकर जीवनशैली आँगालेका छन् । त्यस्तै बेलायतको अवस्था पनि उस्तै छ । स्टानडर्ड अमेरिकन डाइट खाने मानिस स्वास्थ्यकर हुनै सक्दैनन् । यस्तो खाना नसादार हुन्छ । धूमपान जस्तै चाहेर पनि धेरैले छोड्न सक्दैनन् भने धेरैलाई यससम्बन्धी ज्ञानको पनि कमी छ । यसमा करिब ६० प्रतिशत प्रशोधित खाना, ३० प्रतिशत जनावरबाट पाइने खाना तथा अरू अन्यमा पर्छन् । यो खाना क्यालोरीको भारी मात्र होइन यसमा भिटामिन, मिनरल तथा अन्य पोषणका तत्त्वहरू एकदम न्यून मात्रामा पाइन्छ । वास्तवमा प्राकृतिक खाना खाएर कोही पनि मोटो हुँदैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा प्रकाशित गरेको अनुसन्धानमा धेरै प्रोसेस र रातो मासु खानाले क्यान्सर हुने जोखिम करिब धूमपान जति नै हुन सक्ने कुरा बताएको छ । सङ्गठनको रिपोर्टले भनेअनुसार दैनिक ५० ग्राम रातो या प्रोसेस मासु खानाले कोलोरेक्टर क्यान्सरको विकास हुने जोखिम १८ प्रतिशत बढ्छ । कोलोरेक्टर भन्नाले ठूलो आन्द्रादेखि नितम्बसम्मको क्यान्सर मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा परिभाषित गरे अनुरूप अस्वयथ्यकर खाना भन्नाले प्रशोधित खाना जसमा चिल्लो, चिनी, नुन थपिएको हुन्छ र स्याचुरेटेट फ्याट धेरै भएको जनावरबाट पाइने खाना हो । यसको साथै जुन खानामा सागसब्जी, फलफूल, गेडागुडी, सिङ्गो दाना अन्न (होलग्रेन), नट्स तथा अन्य फाइबर धेरै भएको खाना न्यून रहन्छ । 

शरीरमा हुने बोसो

हाम्रो शरीरमा हुने दुई प्रकारको बोसो सब्कुटेनियस फ्याट र भिस्सेरियल फ्याटको तुलना हेर्न सकिन्छ । सब्कुटेनियस फ्याट छालाको ठीकमुनि हुने बोसो हो भने भिस्सेरियल फ्याट पेटको भित्री गहिराइमा हुने हो । जहाँ शरीरका मुख्य अङ्गहरू रहन्छन् । अनुसन्धानले के निक्र्याेल गरेको छ भने भित्री गहिराइमा हुने भिस्सेरियल फ्याट बढी हानिकारक हुन्छ । यसले मुटुरोग र मधुमेह हुने सम्भावना अधिक रहन्छ ।

पहिला के विचार गरिन्थ्यो भने बोसो अलि निस्क्रिय हुन्छ । यो खालि शक्तिको भण्डार हो । तर पछिल्लो अनुसन्धानले के बताएको छ भने फ्याट सेलहरू जैविक रूपमा सक्रिय हुन्छन् । यिनीहरू शरीरमा हुने हार्माेन र अरू केमिकलसँग आबद्ध भएर शरीरका प्रायः सबै अङ्गहरूलाई असर गर्दछ । 

जब हाम्रो तौल सामान्य रहन्छ, तब यी हार्माेन र केमिकलहरूले शरीर स्वस्थ्यकर राख्छ । यिनीहरूले भोकको नियन्त्रण, ऊर्जा बढाउने, इन्सुलिनको व्यवस्था गरी मधुमेहबाट बचाउने जस्ता कामहरू गर्छन् ।

माइक्रोन्युट्रियन्सको कमीको प्रभाव र भोक 

प्रशस्त मात्रामा शरीरलाई चाहिने माइक्रोन्युट्रियन्स नखाएमा विषाक्त (टक्सिन) जम्मा हुन्छ । फ्री र्‍याडिकल्स, क्रस लिङेकिङ एजेन्टस अलडेहइड्स, एडभान्स ग्ल्याइकोजन इन्ड प्रडक्ट (एजीईएस) जस्ता टक्सिनले स्वास्थ्यमा अनेक जोखिम पार्छ । धेरै क्यालोरी भएको खाना बढी खाएमा डोपोमिन तथा विषाक्त दुवै बढाउँछ । हाम्रो पाचनको दुई चरण हुन्छ । एउटा खाने ग्रहण गर्ने जसलाई एनाबोलिक फेज भनिन्छ भने अर्काे खानाबाट शक्ति निकाल्ने (बर्न अफ) लाई क्याटाबोलिक फेज भनिन्छ । क्याटाबोलिक फेजमा शरीरले विषाक्त कम गर्ने, रोगमुक्त बनाउन (हिल एन्ड रिसाइकल) काम गर्छ । त्यसैले यी दुवै चरणमा शरीरले काम गर्नको लागि जति धेरै अवधिपछि खाना खायो त्यति नै शरीरले मर्मत गर्ने मौका पाउँछ । एनाबोलिक फेजपछि शरीरमा भएको विषाक्तको कारणले विषाक्त भोक जागिरहने हुनाले भोक नियन्त्रण नभई खाएर मात्र आनन्द आउने हुँदा यस्ता मानिस क्याटाबोलिक फेजसम्म नखाई बस्न सक्दैनन् । विषाक्त भोक नहुने मानिसमा क्याटाबोलिक फेजपछि भोक जागरण हुन्छ । भोक भनेको पातलो शरीरलाई आवश्यक पर्ने ठीक क्यालोरीको माग गर्ने कम्प्युटर जस्तै सही हुन्छ । ठीक भोकको कारणले शरीरमा बोसो लाग्ने हँुदैन । वजन बढ्नका लागि भोक लाग्दैन । विषाक्त (टक्सिक) भोक, भावावेश भोक (इमोसनल), मनोरन्जन भोक (रिक्रियसन) ले मात्र बोसो लाग्ने हुन्छ । साँचो भोक लाग्नुको कारण दिमागलाई चाहिने ग्लुकोज बनाउनका लागि हुन्छ । शरीरले आफ्नो मांसपेशीबाट ग्लुकोज बनाई मांसपेशी नोक्सान गर्न चाहँदैन । टक्सिक भोक भएको मानिसमा बेला बेलामा खान नपाए टाउको दुख्ने, कमजोर अनुभव हुने, पेट कराउने, दिक्दार लाग्ने, मुड परिवर्तन भइरहने आदि हुन्छ । साँचो भोकको तीन विशेषता हुन्छन् । घाँटीमा सनसनी (सेन्सेसन) हुनु, मुख रसाउनु र स्वादको महशुस धेरै आउनु हुन्छ । विषाक्त भोक कम गर्नका लागि जनावरबाट पाइने प्रोटिन, चिनी, कयाफिनको न्यून उपभोग गर्नुपर्छ । 

सही भोक जगाउनका लागि गर्न सकिने कुरामा भोक नलागी नखाने, जुनबेलामा पनि जे पायो खाने बानी नगर्ने, भुँडी टन्न हुनेगरी नखाने, बेलुकीको खाना हलुङ्गो खाने, नसादार कुरा कुनै नखाने आदि हुन् । 

विभिन्न किसिमका सलादको एक ठूलो प्लेट, ३० ग्राम नट्स र बियाँहरू, एक कचौरा दाल या गेडागुडी, च्याउ, प्याज र तीनवटा फलफूल, पकाएको तरकारी, फापर, कोदो, जौ जस्ता सिङ्गो अन्न जस्तो दैनिक खाने उदारहण हुन् । 

खानामा धेरै माइक्रोन्युट्रियन्स हुनुको साथै अरू पोषणका लागि चाहिने भिटामिन तथा मिनरल्सको पूर्णता हुनुपर्छ । भिटामिन डी, बी१२, आयोडिन, ओमेगा–३ जस्ताको कमी हुनु भएन । धेरै माइक्रोन्युट्रियन्ससँगै उपयुक्त हार्माेनका लागि पनि लाभदायी हुने खाना खानुपर्छ ।

हार्माेनमैत्री खाना

हाम्रो शरीरमा धेरै किसिमको हार्माेन भए पनि खासमा खानाको सन्दर्भमा इन्सुलिन तथा इन्सुलिन लाइक ग्रोथ फ्याकटर वान (आईजीएफ–१) को चर्चा गरिन्छ । यी दुवै हार्माेन धेरै बढाउने खानाले अनेक रोग निम्त्याउने हुनाले सजगता अपनाउनुपर्छ । इन्सुलिन भनेको वृद्धि गर्ने हार्माेन हो, यसले बोसो जम्मा गर्न प्रोत्साहन गर्छ । यसले कोषहरूको कपी गर्छ । ठूलो मात्राको इन्सुलिन क्यान्सरसँग सम्बन्धित हुन्छ । इन्सुलिनले एन्जिओजेनसिसलाई प्रवर्धन गर्छ । यसको अर्थ नयाँ रक्त कोषिका बढ्न जानु हुन्छ । यसले बोसोलाई इन्धन आपूर्ति गर्छ । अर्काे अर्थमा शरीरमा बोसो सफलतापूर्वक बढ्नका लागि बोसोको कोषहरूले एन्जिओजेनसिसपूर्वको हार्माेन बढ्न मद्दत गरी रक्त कोषिकाहरूमा बोसोलाई चाहिने अक्सिजन, क्यालोरी ग्लुकोज पठाउँछ । यसले बोसोलाई स्थिर भई बढाउँछ । एन्जिओजेनसिसपूर्वको हार्माेनले गर्दा कोषहरू क्यान्सर अगाडिको अवस्था हुनपुग्छ । समयको क्रममा यी कोषहरू क्यान्सरमा परिणत हुन्छ । एन्जिओजेनसिस नभईकन क्यान्सर कोषको विकास हँुदैन । स्वास्थ्यकर खाना जस्तै च्याउ, गेडागुडी, बेरिजहरू (स्ट्रॉबेरी, ब्लुबेरी, ऐंसेलु, काफल, जामुन), प्याजहरूमा एन्जिओजेनसिसविरुद्धको पोषणका तत्त्वहरू पाइन्छ । यिनीहरूले शरीरमा बोसो बढ्न नदिएर क्यान्सर बढ्न दिँदैनन् । यी खानाहरू क्यान्सरविरुद्ध प्रभाकारी हुन् । त्यसैले इन्सुलिनले क्यान्सर हुन प्रभावकारी भूमिका खेल्छ । त्यस्तै अर्काे क्यान्सर प्रवद्र्धन गर्ने हार्माेन इन्सुलिन लाइक ग्रोथ फ्याकटर वान (आईजीएफ–१) तथ्य पुष्टि भएको छ । जनावरबाट पाइने प्रोटिन जस्तै मासु, दूध तथा यसको परिकार, अन्डा आदिले बढाउने आईजीएफ–१ हानिकारक हुन्छ । विभिन्न अध्ययन तथा अनुसन्धानले के देखाएको छ भने जुन राष्ट्रको जनसङ्ख्यामा इन्सुलिन लाइक ग्रोथ फ्याकटर वान (आईजीएफ–१) को लेभल बढ्छ, क्यान्सर त्यसमा पनि स्तन क्यान्सर बढेको देखाएको छ । इन्सुलिन लाइक ग्रोथ फ्याकटर वान (आईजीएफ–१) ले दिमागको साथै अरू अङ्गहरूलाई चाँडै बूढो बनाउँछ । जनावरबाट पाइने प्रोटिनले बढाएको आईजीएफ–१ ले यस्तो गर्ने गर्छ । त्यसैले मैदा, सेतो भात र कुखुराको मासु खानु भएको दुवै उपयुक्त हार्माेन उत्पादन गर्दैन । मैदा र सेतो भातमा हुने कार्बाेहाइड्रेटले इन्सुलिन र कुखुरामा हुने प्रोटिनले आईजीएफ–१ बढाउँछ । 

सन् १९७० को दशकमा कोरियामा अमेरिकाको तुलनामा १० गुणा कम स्तन क्यान्सर थियो । तर हाल कोरियामा ५०० प्रतिशत वृद्धि भएको छ । यसको कारण जनावरबाट पाइने खानाको उपभोग बढ्नुलाई भएको अनुसन्धानले देखाएको छ । यस अवधिमा कोरियामा जनावरबाट पाइने खाना ६ प्रतिशतबाट बढेर १६ प्रतिशत पुग्नुको साथै चिनीको उपभोग दोब्बर तथा तेलको खपत चार गुणाले बढेको छ । कोरियामा अझै पनि प्रशस्त मात्रामा सेतो भात खाइन्छ जसले इन्सुलिन बढाउँछ । सेतो भात सँगै जनावरबाट पाइने प्रोटिनमा हुने आईजीएफ–१ को उच्च हार्माेनले क्यान्सर दर बढेको पुष्टि भएको छ । इन्सुलिन तथा आईजीएफ–१ दुवै धेरै बढाउने खानाको मिश्रणले स्वास्थ्यमा अनेक असर पार्ने कुरा अनुसन्धानले देखाएको छ । 

तेल 

सबै खाले तेल प्रशोधित भएकाले क्यालोरीको भण्डार बाहेको अरू केही होइन । एक टेबल चम्चा तेलमा १२० क्यालोरी हुन्छ । तेल खाएको यति चाँडै रगतमा पुग्छ कि दिमागलाई खाएको भनी यकिन हँुदैन । तेलले भोक जगाउन मद्दत गर्छ । तेल तताउने बित्तिकै विषाक्त (टक्सिक) हुन्छ । तेलको प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । कुनै पनि तेल चाहे सूर्यमुखी होस् या ओलिभ या अरू कुनै, स्वास्थ्यका लागि कुनै फाइदा छैन । यसको बदलामा सिङ्गो बियाँ एवं नट्सहरू थोरै मात्रामा खाने गर्नुपर्छ । सिङ्गो बियाँ (तील, आलस, सूर्यमुखी, फर्सी ओलीभ) एवं नट्स (ओखर, हाडेबदाम, पिस्ता) हरूमा फाइबर, मिनरलहरू, एन्टिअक्सिडेन्ट तथा अन्य फाइटोकेमिकलहरूको साथै स्वास्थ्यकर चिल्लो पाइन्छ । प्रशोधित तेलमा यस्ता कुनै पोषणका तत्त्वहरू पाइँदैन । नट्स तथा बियाँहरू तेलको तुलनामा कम क्यालोरीको हुन्छ, हाम्रो शरीरले सबै पचाउन सक्दैन । नट्स तथा बियाँहरूमा भएको केही चिल्लो यसको फाइबरमा रहन्छ, अरू दिसामा जान्छ । बाँकी रहेको चिल्लो शरीरले बिस्तारै शक्तिमा रूपान्तरण गर्छ । यसमा स्टेरोल्स, इस्ट्यानोल्स, फाइबर, मिनरल्स, लिग्नन्स तथा अन्य पोषयुक्त कुरा पाइन्छन् । तेलले एन्डोठिलियमलाई नोक्सान पुर्याउने कार्य गर्छ, जुन रक्त कोषिका तथा मुटुमा हुने पातलो मेम्ब्रेन हुन्छ । यसले चिल्लो जम्ने प्रक्रियालाई सघाउ पुर्याउँछ । नट्स, बियाँहरूले राम्रो कोलेस्ट्रोल बढाउनुको साथै भास्कुलर लचकतालाई कायम राख्छ । दिनको ४०, ५० ग्राम नट्स तथा बियाँहरू खाने सल्लाह दिइन्छ । १२ वर्षको अनुसन्धान लगाएर निकालिएको सेभेन्थ डे ऐडभेनिस्ट, सन् २००१ अनुसार सबैभन्दा दीर्घजीवी नट्स तथा बियाँहरू खाने भिगन (बिल्कुल जनावरबाट पाइने खाना नखाने) समूहका मानिसहरू भएको देखाएको छ । कहिलेकाहीँ मासु खाने (फ्लेक्सिटेरियन) को साथै नट्स र बियाँहरू खाने दोस्रो तथा भिगन तर नट्स बियाँहरू नखाने तेस्रो दीर्घजीवी समूहमा देखाएको छ । नट्स तथा बियाँहरू खाने यी समूहका मानिसमा मेडिकल घटनाहरू कम हुनुको साथै क्यान्सरबाट हुने मृत्युमा पनि भारी गिरावट देखाएको छ । नट्स तथा बियाँहरू नखाने भिगनहरूमा ओमेगा–३ (ईपीए र डीएचए) कमी देखिएको छ । एउटा बफेट खान गएको दुई ग्रुपमा एउटा परीक्षण गरिएको थियो । एउटा ग्रुपको प्रत्येक मानिसलाई बफेट लिनुभन्दा ठीक अघि एक चम्चा ओलिभ तेल खुवाइएको थियो भने अर्काे ग्रुपकोलाई एउटा स्याउ दिइएको थियो । १२० क्यालोरी युक्त ओलिभ तेल खानेले बफेट खाँदा सधैँको भन्दा कुनै कम परिणाम खाएनन् भने ६५ क्यालोरीको स्याउ खाने यसमा भएको फाइबरले गर्दा कम खाए । 

नुन 

मानव शरीर प्राकृतिक खानाका लागि बनाइएको हो । धेरै अगाडिका पुस्ता मानव विकास क्रममा नुनको उपयोग गरेका थिएनन् । हाम्रा ढुङ्गे युगका पुस्ताहरूले खासगरी फलफूल, वनस्पति, नट्स, बियाँहरू, माछा, कीरा तथा जङ्गली जनावरको सिकार गरी खान्थे । सोडियम तथा अन्य मिनरलहरू आफूले खाने खानाबाट प्राप्त गर्दथे । यसरी खाने क्रम करिब एक लाख पुस्तासम्म चल्यो । अहिले संसारभर प्राकृतिक खानामा पाइनेभन्दा करिब दस गुणा बढी नुनको उपभोग गरिन्छ । उच्च सोडियम युक्त खानाले उच्च रक्तचाप, मुटुको मांसपेशीको क्षयीकरण (कार्डियक फाइब्रोसिस), मिर्गौला रोग, स्ट्रोक जस्ता अनेक रोगहरू निम्त्याउँछ । दिनमा सात ग्रामभन्दा कम नुन खान सुझाव दिइएको छ । वनस्पति प्रधान खानामा नुन शरीरलाई पुग्ने सोडियम प्राप्त हुन्छ । नुनमा लगाम लगाउनु एकदम वाञ्छनीय हुन्छ । बिना नुनको खाने बानिपरेपछि स्वाद पनि त्यही अनुरूप विकास भई खाना अरू स्वादिष्ट हुन्छ । 

जनावरबाट पाइने खानामा खासै ठूलो मात्रामा एन्टिअक्सिडेन्ट, फाइटोकेमिकल, फाइबर पाइँदैन । शरीरलाई चाहिनेभन्दा केही कम क्यालोरी खाएमा दीर्घजीवी होइन्छ । कम क्यालोरी उपभोग भएमा शरीरले भइरहेको वजनलाई कायम राख्न प्रयत्न गर्छ । यसका लागि मेटाबोलिक रेट ढिलो बनाउनुको साथै शरीरको तापक्रम कम गरी श्वासप्रश्वास कम भई थाइराइड कार्य पनि सुस्त बनाउँछ । एन्टिअक्सिडेन्ट, फाइटोकेमिकल, फाइबर भएको खाना खाएमा शरीरलाई पचाउन धेरै समय लाग्ने हुनुको साथै भोक पनि कम लाग्छ । एउटा दुनोट, एउटा कुखुराको मासु, सेतो भात पोषणको हिसाबले एकै हुन् । यी तीनवटैमा कुनै एन्टिअक्सिडेन्ट, फाइटोकेमिकल, फाइबर पाइँदैन । यिनीहरू केवल क्यालोरीका भण्डार हुन् । 

ब्लु जोन भनेर चिनिने ओकिनवा, पटवा हाइल्यान्ड, न्युगिनी, मध्य अफ्रिका, चीनको गाउँतिर कार्डियोभास्कुलर (सञ्चारसम्बन्धी रोग जस्तै कोरोनरी मुटुरोग, स्ट्रोक) करिब नील जस्तो नै रहेको छ । यहाँ अनेक किसिमका अनुसन्धान भएको छ । सबै अनुसन्धानको निष्कर्ष भनेको यहाँको जीवनशैली भएको यकिन गरेको छ । 

हाई ग्लाइसामिक लोडले लाग्ने रोगहरू 

जति सेतो खाना खायो उति मृत्यु नजिक भन्ने कथनअनुसार जति सेतो भात, पिठो, पास्ता, चिनी तथा चिनीयुक्त पेय जस्ता प्रशोधित खाना खाइन्छ उति इन्सुलिन बढी दीर्घकालीन रोग लाग्ने सम्भावना उति बढ्छ । मधुमेह, मुटुरोग, धेरै क्यान्सरका प्रकार, उमेरसम्बन्धी म्याकुलर डिजेनेरेसन, गलब्याडर रोग, समग्र दीर्घ रोग, हाई ग्लाइसामिक खानाले ल्याउँछ । यसको अलावा फास्ट या जङ्क फुडले डिप्रेसन हुने कुराको पनि तथ्य प्रमाणित भएको छ । 

ग्लाइसामिक लोड कम हुने खाना सागसब्जी र गेडागुडी हो । बोडीमा २७ प्रतिशत तथा दालमा २५ प्रतिशत रिजिस्टनट स्ट्रार्च तथा ७०, ५९ प्रतिशत रिजिस्टनट स्ट्रार्च, फाइबर पाइन्छ । यस्तो कार्बाेहाइड्रेट पचाउन ३ देखि चार घण्टा लाग्छ भने तेल खाएको ३– ४ मिनेटमा नै रगतमा पुग्छ । शरीरमा यति चाँडै क्यालोरी एकैचोटि आएपछि शक्तिमा रूपान्तरण नगरी तेललाई सिधै बोसोमा परिणत गर्छ । 

तीनवटा विवादरहित तथ्य: 

१. साग सब्जी तथा तरकारी, नट्स तथा बियाँहरू, फलफूल स्वास्थको लागि राम्रो ।

२. धेरै जनावरबाट पाइने खाना खानाले रोग लाग्ने कारण हुन्छ । 

३. प्रशोधित कार्बाेहाइड्रेट रोग लाग्ने कारण हो र यसले मोटोपन बढाउँछ ।  

माथि गरिएको चर्चाबाट सागसब्जी प्रधान भएको होलग्रेनयुक्त अन्न खाएर नुन, तेल र जनावरबाट पाइने खानामा कम गरी यसको बदलामा थोरै नट्स तथा बियाँहरू खानु स्वास्थ्यकर हुन्छ । यसको साथै क्रियाशील जीवन र चिन्ताको उचित व्यवस्थापनले सही जीवनशैलीलाई अँगाल्न सकिन्छ । धेरै मानिस धूमपान तथा मदिरापान गरी प्रशस्त मासु खाई सबै रोगको उपचारका लागि एउटा ट्याब्लेटमा खोजेका छन् जुन सम्भव छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकलचन्द्र आचार्य
विकलचन्द्र आचार्य
लेखकबाट थप