शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ हेटौंडा उपमहानगरको बजेट र नीति तथा कार्यक्रम

आइतबार, १२ असार २०७९, २० : ३९
आइतबार, १२ असार २०७९

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँको बजेट प्रस्तुत गरको छ । आइतबार उपमहानगरपालिकाले ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भन्दा ११ करोड बढी बजेट ल्याएको हो ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल २ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो । गत असार १० गते सार्वजनिक गर्नुपर्ने उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नेकपा एमालेले नगरसभा बहिष्कार गर्दा रोकिएको थियो । एमालेले विभिन्न माग गर्दै नगर अधिवेशन बहिस्कार गरेको थियो । नगर अधिवेशन संचालनको लागि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँ र एमालेका जनप्रतिनिधिबीच ३ बुँदे सहमती पश्चात नगरसभा संचालन भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख रुपैयाँ, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख रुपैयाँ, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख रुपैयाँ, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख रुपैयाँ, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख रुपैयाँ, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले खर्च व्यहोर्न आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख रुपैयाँ, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख रुपैयाँ, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।  

यस्तो छ हेटौंडाको नीति तथा कार्यक्रम

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ‘आर्थिक समृद्धिको आधार कृषि प्रसार’ भन्ने मुल नाराका साथ कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकरण र बजारीकरणका लागि सामुहिक खेति प्रणाली अवलम्बन गर्ने नीति लिएको छ । जमिनको खण्डीकरण र कृषि भूमिको अतिक्रमणलाई नियन्त्रण गर्न जग्गाको वर्गिकरण गर्ने हेटौंडा उपमहानगरपालिकाको योजना रहेको छ ।

त्यस्तै उपमहानगरपालिकाकी मेयर लामाको पहिलो निर्णय कार्यान्वयनका लागि पनि बजेट विनियोजन गरिएको छ । मेयर लामाको पहिलो निर्णय सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य वीमाका लागि ५३ लाख रुपैयाँ विनियोजित गरिएको हो ।

उपमहानगरपालिकाले माटोको उत्पादकत्व वृद्धि गर्न हेटौंडा–१६ को माटो परिक्षण प्रयोगशालालाई प्रभावकारी बनाउने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको कार्य उत्प्रेरणा अभिवृद्धि गर्न, विद्यार्थीहरुको दिवा खाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक अनुदान, छात्राहरुलाई निशुल्क सेनेटरी प्याड, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति अनुदान लगायत सामाजिक विकास अन्तर्गत शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ६६ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी रंगशाला पूर्वाधार निर्माण, मिनी रंगशाला निर्माण, फुटबल प्रतियोगिता लगायत खेल पूर्वाधार निर्माणलगायतका कार्यक्रमलाई ३ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ मा रहेको पिप्ले क्याम्पा रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा हेटौँडामा अर्को मिनि रंगशाला निर्माणको लागि ८० लाख तथा फुटबल एकेडेमी सञ्चालनको लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण अन्तर्गत हेटौंडा १६ र १७ को सडक स्तरीकरणका लागि ३ करोड रुपैयाँ, वडा तथा वस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको निर्माणलाई निरन्तरता दिन ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत जेहेन्दार विद्यार्थीहरुलाई एमवीबीएस अध्ययनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यको सेनापति कनक सिं बानियाँको प्रतिमा राख्ने कार्य गरिने भएको छ ।

उपमहानगरपालिकाले नगरको बृहत्तर विकासमा महत्व राख्ने ठुला आयोजनाहरुको सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइङ, अनुसन्धान तथा परामर्श एवं आवधिक योजना निर्माण गर्न परियोजना बैंक निर्माणका लागि १ करोड ४५ लाख रुपैयाँ, तामाङ संग्रहालय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा सुविधा सम्पन्न प्रस्तुती अस्पताल निर्माण र स्वास्थ्य संस्थाहरूबाट सुरक्षित मातृत्वको लागि बर्थिङ्ग सेन्टर सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले हेटौडा–९ र १० मा कर्रा नदीमा झोलुंगे पुलसहितको आकर्षक पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी सोही अनुरुप आवश्यक निर्माण कार्य प्रारम्भ गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप