शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गौमुखे गाउँपालिकामा एकल पुरुषलाई भत्ता

आइतबार, १२ असार २०७९, २१ : ११
आइतबार, १२ असार २०७९

प्युठानको गौमुखे गाउँपालिकाले  ५० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको १२ औँ गाउँसभामा अध्यक्ष विष्णु गिरिले पेस गरेको नीति, कार्यक्रम तथा बजेट भाषणमा  सो कुरा उल्लेख गरिएको हो ।

गाउँपालिकाले 'समृद्ध गौमुखी गाउँपालिका निर्माणको आधार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने नाराका साथ लगानीका प्राथमिकता क्षेत्र निर्धारण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा ४६ करोड ६६ लाख ९८ हजारको बजेट प्रस्तुत गरेको छ । बजेटमा विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणमा मुख्य जोड,प्राविधिक धार तर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूमा लगानी,क्याम्पस स्थापना, इ लाइब्रेरी, स्थानीय पाठ्यक्रम लागु गर्ने, सिकाई उपलब्धि र शैक्षिक गुणस्तरमा वृद्धि, शैक्षिक जनशक्तिको व्यवस्थापन र विद्यार्थीसँग गाउँ सरकार कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै घर दैलोमा डाक्टर कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच,अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा,१५ शय्याको अस्पताल निर्माण र एम्बुलेन्सको व्यवस्था गर्ने भनिएको छ । एक घर एक स्वच्छ खानेपानी धाराको नीति अनुसार खानेपानी तथा सरसफाइ गुरुयोजना निर्माण गरी खानेपानी आयोजनाहरू सञ्चालन गर्ने उल्लेख छ ।

यता आगामी २ वर्षभित्र प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गर्दै  गौमुखीको पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन  गर्ने, बाइसमुल, झाकृढुङा, नाङ्गी, दहबसे, रानीताल, तामाखानी, देबी मन्दिर, नारिकोट, गुफा, कैलाश दहलगायत पर्यटकीय गन्तव्यस्थलहरूको प्रवर्द्धन र पर्यटकीय पूर्वाधार निर्माण गर्ने , विभिन्न जातजातिका संस्कृति संरक्षणमा विशेष ध्यान दिँदै पञ्चेबाजा र मारुनी र सोरठी प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।

गाउँपालिकाले एक घर एक सीपयुक्त जनशक्ति को नारालाई सार्थक बनाउन सीपमूलक तालिम, उद्यमीहरू सृजना गर्ने, सबै खाले विकास योजनाहरुलाई रोजगारी सृजना गर्ने कार्यसँग जोड्ने बताएको छ । त्यस्तै कृषि क्षेत्रको व्यवसायीकरण,यान्त्रीकरण र आधुनिकीकरण गर्न जोड गर्ने,कृषकले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य उत्पादनको मूल्य निर्धारण गरी गाउँपालिकाले खरिद तथा बजारीकरणको व्यवस्था गर्ने र कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप