शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङलाई काम गर्न कति सहज ?

सोमबार, १३ असार २०७९, ०८ : ३९
सोमबार, १३ असार २०७९

पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको ‘तारो’ बनेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ के गर्दैछन् ? उनलाई काम गर्न सहयोग भइरहेको छ कि असहयोग भइरहेको छ ? भन्ने विषयमा सबैको चासो छ ।

नगर प्रमुख साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही पनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’

पुराना नीति, नियम, कानुन र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।

उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा पनि उपमहानगर प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरू मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु,’ बेघा भन्छन्, ‘उहाँ आफै धेरै सक्रिय र बुझ्ने भएका कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।’

पहिलो कार्यपालिकको बैठकमा विवाद भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।

साम्पाङ भने कहिले खोला खोल्सा चहार्दै त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लीन देखिन्छन् । उनी खानेपानीको एजेण्डामा निरन्तर लागिरहेका छन् । ‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ साम्पाङले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखे ।

सोही अनुसार कतिपय युवा शनिबार पकुवा खोलामा गएर खानेपानी धरान ल्याउने काममा खटिएका थिए । ‘यो काम टेण्डर लगाएर ठेक्कामा गर्न थालेको भए यति समयमा काम पनि हुँदैन थियो र उपमहानगरपालिकाकाले कम्तीमा ५० लाख सकिने थियो,’ श्रमदानमा खटिएका एक युवाले भने ।

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा उनको व्यस्तता बढिरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।

‘हर्क साम्पाङ आएपछि बजेट घटेको होइन’

धरानले गत असार १० गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा ३५ करोड कम छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेस गरेको धरानले चालु आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ६४ लाखको आयव्यय अनुमान गरेको थियो । आगामी आर्थिक वर्षका लागि बजेट कम आएपछि कतिपयले हर्क साम्पाङ आएपछि बजेट घट्यो भन्दै आलोचना पनि गरेका थिए । तर, उपप्रमुख बेघाले यसपटक यथार्थमा आधारित बजेट ल्याइएको बताए ।

‘यसअघिका बजेट त वास्तविक धरातलमै रहेनछन्, हामीले यथार्थमा आधारित बजेट ल्याउने कोसिस गरेका छौँ,’ बेघाले भने, ‘हामी आएपछि बजेट घटेको होइन, पहिलेका बजेटको यथार्थ आम्दानी पनि अहिलेकै बजेटजस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप