शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

सोमबार, २५ मङ्सिर २०७४, १४ : ५८
सोमबार, २५ मङ्सिर २०७४

 

 रमेश लम्साल 

काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । 

नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् ।
हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित हुनुभएको छ । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् । 

रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित हुनुभएको हो । 

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए । 

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता हुनुहुन्छ । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता हुनुहुन्छ । 

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए । 

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा ९एमाले०बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो । 

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी ९डिना० उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । उहाँहरु सबै पराजित हुनुभएको छ । 

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो । खरेल विजयी भइसक्नु भएको छ । 

वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित हुनुभयो । विजयी डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गर्नुभएको छ । मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गर्नुभयो । 

सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले हालसम्म २६ हजार २१९ मत प्राप्त गर्नुभएको छ । गच्छदारले २५ हजार ६२० मत ल्याउनु भएको छ । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ । 

यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनु भएका अर्याल पराजित हुनुभएको छ । 

तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा काँंग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको थियो । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको थियो । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि हुनुहुन्छ । 

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो । त्यसमध्ये रोकाले मात्रै विजयको झण्डा पहराउनुभयो । 

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए । 

संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ । 

ललितपुर–३ बाट विजयी माओवादी केन्द्रकी प्रवक्तासमेत रहनुभएकी भुसालले आफूलाई ललितपुरका जनताले विश्वास गरेको र वामगठन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको बताउनुहुन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण विजयी भएको उल्लेख गर्नुभयो । 

उहाँले काँग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गर्नुभयो । भुसालले २४ हजार ३६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी अमात्यले २२ हजार ३२९ मत प्राप्त गर्नुभयो । जितले आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिएकाले जिम्मेवारी पनि दिएको बताउनुभयो । 

महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने देखिएको उहाँको भनाइ छ । 

मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ९डीना० पराजित हुनुभयो । उहाँ एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित हुनुभयो । खतिवडाले ४४ हजार ७४४ मत प्राप्त गरेर विजय प्राप्त गर्दा उपाध्यायले ३२ हजार ५५८ मत प्राप्त गर्नुभयो । 

कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी हुनुभयो । उहाँले मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुनुहुन्छ । 

निर्वाचन प्रचार÷प्रसारको समयमा उहाँका पति प्रकाश दाहालको असामयिक निधन भएपछि शोकमा पर्नुभएका मगरले आफूलाई कञ्चनपुरका जनताले जिताएर न्याय गरेको प्रतिक्रिया दिनुभयो । उहाँले सबै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद मगरले बताउनुभयो । ‘संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्’ उहाँले भन्नुभयो । 

‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने मतदाताको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ उहाँले भन्नुभयो ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्कोतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’ 

पूर्वी रुकुमबाट निर्वाचित रोकाले पनि जनताले दिएको अवसरलाई बढी भन्दा बढी सदुपयोग गरेर अगाडि बढ्ने बताउनुभएको छ । उता प्यूठानबाट विजयी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी डा गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत ल्याउनु भएको छ । नवनिर्वाचित सांसद पौडेलले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण मतदाता, वामगठबन्धन तथा प्यूठानका सम्पूर्ण जनताको हितमा सधै प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप