शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मंकीपक्स फरक क्लिनिकल स्वरूपमा प्रस्तुत हुँदै ?

बुधबार, ११ साउन २०७९, ०९ : २७
बुधबार, ११ साउन २०७९

अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने क्षमता अहिले कसरी विकास भयो ? सङ्क्रमण गर्ने तरिकामा विगत भन्दा के कति फरक देखिँदैछ र लक्षणमा कस्तो परिवर्तन हुनेछ/छ भन्ने चासो विशेषत अनुसन्धानकर्ताहरूमा देखिएको छ । "युके हेल्थ सेक्युरिटी एजेन्सी" बेलायतले अफ्रिकी महादेश भ्रमण नगरेका व्यक्तिमा पनि मंकीपक्स सङ्क्रमण देखिएको भने सँगै अनुसन्धानकर्ताहरूले केही समय अगाडी देखि सङ्क्रमण फैलिरहेको अनुमान गरेका थिए । हालै भारतमा पनि मंकीपक्स सङ्क्रमित विदेश भ्रमण नगरेको भने सँगै सङ्क्रमण समुदायमा नै फैलिसकेको/फैलिरहेको देखिन्छ । नेपाल पनि मंकीपक्सको जोखिममा छ । नेपालमा पनि विभिन्न कारणहरूले गर्दा मंकीपक्स फैलिएको धेरै पछि मात्र पुष्टि हुने सम्भावना छ । मंकीपक्स नेपालमा आधिकारिक पुष्टि भएको त छैन तर परीक्षण नगरेसम्म छ /छैन यकिन गरिहाल्ने अवस्था पनि छैन । तसर्थ अहिले मंकीपक्स शङ्का गर्ने मुख्य आधार भनेको अफ्रिकी महादेश बाहिर फैलिरहेको सङ्क्रमितहरूको लक्षणहरूलाई आधार मानेर नै हो र त्यो अध्ययन/अनुसन्धान वा क्लिनिकल अवलोकनमा भर पर्ने हुन्छ । "युके हेल्थ सेक्युरिटी एजेन्सी" बेलायतले सुरुवाती दिनदेखि नै पुरुष समलिङ्गीहरू मंकीपक्सको मुख्य टार्गेटमा रहेको कुरा सार्वजनिक गर्दै आइरहेको छ । मंकीपक्स बारेमा गरिएको केही अनुसन्धानहरू प्रकाशित हुने क्रम जारी रहेको छ । नेपालमा मंकीपक्स पुष्टि नै नभइसकेको अवस्थामा अनुसन्धानका नतिजाहरू स्वास्थ्यकर्मी/सर्व-साधारणहरुलाई सङ्क्रमणको शङ्का/पहिचान गर्न सहयोगी हुनसक्ने लेखकको धारणा छ ।  

विश्व प्रसिद्ध मेडिकल जर्नल " न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिन" मा प्रकाशित अनुसन्धान लेख अफ्रिकी महादेश बाहिर देखिएका सङ्क्रमितहरूको लक्षणहरूमा आधारित छ । सङ्क्रमितहरू मध्य सबैभन्दा बढीमा घाउ/पानी फोकाहरू देखिएका थिए । यी घाउ/पानी फोकाहरू सबैभन्दा बढी गुप्ताङ्ग/गुदद्वारमा  थिए । तर यस्ता घाउ/पानी फोकाहरूको सङ्ख्या धेरैमा ५ भन्दा कम अर्थात् थोरैमा देखिएका थिए । घाउ/पानी फोकाहरू क्रमशः छाती, पेट, अनुहार र हात खुट्टाहरूमा देखिएका थिए ।  क्रमशः धेरै देखिएका थप लक्षणहरूमा ज्वरो, ग्रन्थि सुन्निने, आलश्य हुने ,जिउ दुख्ने आधी थिए । यी अधिकांश सङ्क्रमितहरू कुनै न कुनै सहवासमा संलग्न थिए । तर घर/परिवारबाट मंकीपक्स सरेको सबैभन्दा कम सङ्क्रमितहरू थिए । अधिकांश सङ्क्रमितहरू बहिरङ्ग विभाग (ओपीडी) तथा क्लिनिकमा सम्पर्क गरेका थिए । र सङ्क्रमितहरू अधिकांश पुरुष समलिङ्गीहरू थिए । अफ्रिकी महादेशमा सीमित हुँदा भने सङ्क्रमितको थुकको छिटा, सङ्क्रमितको घाउ/फोकाको तरल पदार्थ, सङ्क्रमितले प्रयोग गरेका सर-समान आधीबाट सर्ने देखिएको/भनिएको थियो । सहवासबाट सर्ने भनिएता पनि हाल देखिए जस्तो प्रमुख कारक र मुख्यतः पुरुष समलिङ्गी भनिएको भने थिएन ।          

यी उल्लेखित प्रस्तुत लक्षणहरूको आधारमा नेपालमा के कति सङ्क्रमित कहिले सम्पर्कमा आउला भनेर अनुमान गरौँ । सबैभन्दा धेरै सङ्क्रमितमा देखिने लक्षणमा घाउ/पानी फोकाहरू हुन । नेपालमा यस्ता घाउ/पानी फोकाहरू भएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन । उनीहरू नजिकै औषधी पसलमा गएर आफै उपचार/औषधी गर्नेछन् । नेपाली समुदायमा अत्यन्त पिडा नभए सम्म स्वास्थ्य केन्द्र वा चिकित्सकको सम्पर्क जाने पनि धेरै कम छन् । त्यसमामा पनि गुप्ताङ्ग/गुदद्वारमा समस्या देखिए लाज/सामाजिक हेयको दृष्टिले हेर्न सक्ने हुँदा चिकित्सककोमा सम्पर्कमा जाने सम्भावना झन् कम हुनेछ । र मंकीपक्स अधिकांशमा २ देखि ४ हप्तामा निको हुने हुँदा परीक्षण/रिपोर्ट हुने सम्भावना अत्यन्तै क्षीण हुनेछ । त्यसपछि सबैभन्दा बढी देखिने लक्षणहरूमा ज्वरो र ग्रन्थि सुन्निने हो । तर ज्वरोले निरन्तर उचाइ नलिएसम्म बिरामीहरू चिकित्सककोमा उपचार गर्न जाने सम्भावना पनि कम छ । लिफग्रन्थि सुन्निएको त झन् साधारण नागरिक धेरैलाई थाहा नहुन पनि सक्दछ । यदि सङ्क्रमितहरू ज्वरो तथा घाउ/पानी फोकाहरू समस्या लिएर निजी क्लिनिकमा गए पनि गोपिनीयता कायम गर्न खोज्ने छन् । यी सबै कारणहरूले गर्दा नेपालमा पनि भारतमा जस्तै मंकीपक्स फैलिएको धेरै पछि मात्र रिपोर्ट हुने सम्भावना लेखकले देखेको छ । तसर्थ नेपालमा यो लेख तयार पर्दै गर्दासम्म मंकीपक्सको आधिकारिक पुष्टि नभएको भएता पनि सङ्क्रमितहरूमा देखिने र बिशेषत पुरुष समलिङ्गीहरूको गुप्ताङ्ग/गुदद्वार वरिपरि घाउ/पानी फोकाहरू देखिए त्यो मंकीपक्स सङ्क्रमण पनि हुन सक्दछ भनेर चिकित्सकको सम्पर्कमा जानु उपयुक्त हुनेछ ।

हालै मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले "अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल" को घोषणा गरेको छ । यसले विश्वमा एक प्रकारको तरङ्ग नै ल्याइदिएको देखिन्छ । तर अफ्रिकी महादेश बाहिर मंकीपक्स पुष्टि हुने क्रम निरन्तर बढ्दै गइरहेको भएता पनि मृत्यु भने शून्य नै देखिन्छ । अर्थात् हाल फैलिरहेको मंकीपक्सबाट आतङ्कित हुनु पर्ने अवस्था भने देखिँदैन । मंकीपक्स फैलिसकेको रहेछ भने पनि आधिकारिक पुष्टि हुन नेपालमा माथि उल्लेखित विभिन्न कारणहरूले गर्दा समय लाग्न सक्ने भएकोले अफ्रिकी महादेश बाहिर पुष्टि भएका सङ्क्रमितको लक्षणहरूलाई आधार मानेर शङ्का गर्न भने सकिनेछ । र यी लक्षणहरू अफ्रिकी महादेशमा देखिँदै आइरहेका परम्परागत लक्षण र फैलने तरिकामा भने केही फरक जस्तो देखिएको पनि छ । अर्थात् मानिसमा सङ्क्रमण गरेको झन्डै ५० वर्ष पछि मंकीपक्सले अफ्रिकी महादेश बाहिर आफ्नो उपस्थितिलाई विस्तार गर्दै जाँदा फरक क्लिनिकल स्वरूपमा प्रस्तुत हुँदै गइरहेको जस्तो देखिन्छ ।

डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप