शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहजिल्लामा मेटमणिको व्यस्तता : उद्घाटनदेखि आश्वासनसम्म

सोमबार, ३० साउन २०७९, १६ : ३३
सोमबार, ३० साउन २०७९

शहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेसँगै दोस्रोपटक गृहजिल्ला आएका शहरी विकास मन्त्री मेटमणि चौधरी जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।  जिल्लामा विकास निर्माणको योजनाहरुको शिलान्यासदेखि उद्घाटनसम्मको कार्यक्रममा उनी व्यस्त भएका हुन् । 

मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलान्यास गरी विकासे योजनालाई प्राथमिकता दिएका हुन् । यस्तै उनले जिल्लाको विकासमा आश्वासन पनि बाँडिरहेका छन् ।  मन्त्री चौधरीले दाङको गहनाका रुपमा स्थापित बहुउद्देश्यीय सभाहल उद्घाटन गर्दै सभाहल आवश्यक मर्मतसम्भारका लागि १ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय सरकारको लागतमा ३८ करोड २० लाख ९३ हजारको लागतमा आर्थिक वर्ष २०७३/०७४ बाट निर्माण सुुरु भएकोमा २०७८ असोजमा निर्माण सम्पन्न भएको थियो । 

यस्तै मन्त्री चौधरीले घोराही उपमहानगरपालिका वडा नं. १८ कटुवाखोलामा निर्मित पुलको समेत उद्घाटन गरेका छन् । यसैगरी  घोराही उपमहानगरपालिका वडा नंं १९ सैघा जोड्ने १३ किलोमिटर कालोपत्रे सडक निर्माणको समेत शिलान्यास गरेका छन् ।  करिव १८ करोडको लागतमा उक्त सडक निर्माणका सम्पन्न गर्न सक्ने अनुमान गरिएको छ । 

तत्काल उक्त सडकको सम्पूर्ण प्रक्रिया पुरा गरी भदौ महिनाभित्रमा ठेक्का प्रक्रिया सम्पन्न गर्ने तयारी गर्न पनि उनले मन्त्रालयका सचिव तथा विभागलाई कार्यक्रम स्थलमा निर्देशन दिएका छन् । सैघाबासी सडकको समस्या पुस्तानी पीडा रहेकाले तत्काल घोराही उपमहानगरपालिका वडा नं. १८ मसिनादेखि सैघासम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

त्यस्तै सोमवार मन्त्री चौधरीले घोराही उपमहानगरपालिका वडा नं.१८ नवलपुरस्थित साततले व्यापारिक महलको समेत शिलान्यास गरेका छन् । जसको निर्माणका लागि तत्काल ठेक्का प्रक्रिया सञ्चालन गरिने उनले बताए ।  राप्तीकै पुुरानो शैक्षिक संस्थाका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसका अहिले जीर्ण अवस्था छ । केही संरचना मात्रै नयाँ बनेका छन् । त्यो पुरानो र जीर्ण शैक्षिक संस्थाको मुहारमा फेर्ने उनले महेन्द्र क्याम्पसका आधुनिक सुविधा सम्पन्न भवन निर्माण प्रतिवद्धता व्यक्त गरेका छन् । 

क्याम्पसले आयोजना गरको स्वागत कार्यक्रममा उनले करिव १५ करोड लागतमा आवश्यक शैक्षिक पूर्वाधार निर्माण गर्ने गरी आवश्यक प्रक्रिया सुरु गरिने बताए ।   सबै क्षेत्रको विकासले नै समृद्धि सम्भव रहेकाले जनताको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप