बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

‘गभर्नर हुने सपना थियो, डेपुटीमा अड्कियो’

त्यो लोभले गीत लेख्न थालेँ :  चिन्तामणि शिवाकोटी
शनिबार, ०४ भदौ २०७९, ११ : ०७
शनिबार, ०४ भदौ २०७९

नेपाल राष्ट्र बैङ्कमा सहायक स्तरबाट सेवा सुरु गरेका चिन्तामणि शिवाकोटी बढुवा हुँदै राष्ट्र बैङ्कका कर्मचारीतर्फको सबैभन्दा माथिल्लो पद कार्यकारी निर्देशकसम्म पुगे । उनी कार्यकारी निर्देशक रहेको समयमा उनलाई सरकारले डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो । कर्मचारीको रूपमा २८ वर्ष र डेपुटी गभर्नरका रूपमा ५ वर्ष गरी राष्ट्र बैङ्कमा ३३ वर्ष काम गरेका उनको गर्भनर हुने सपना थियो । त्यो अधुरो रह्यो ।

हाल राष्ट्र बैङ्कको सञ्चालक समिति सदस्य रहेका उनी गीतकार तथा साहित्यकार पनि हुन् । करिब डेढ सय गीत लेखेका उनका दुई दर्जन गीत रेकर्ड भएका छन् । साहित्यकारका रूपमा समेत करिब आधा दर्जन पुस्तक प्रकाशनमा ल्याएका चिन्तामणि शिवाकोटीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मीठो बनाउन सक्दिनँ
मेरो मनपर्ने खाना नेपाली दाल, भात, तरकारी र अचार हो । गुन्द्रुक र घिरौँलोमा भटमास हालेको, निगालाको टुसा र तामाको झोल पनि मनपर्छ । सिलाम, फिलुंगे, इल्चीको अचारसमेत मनपर्छ । त्यसमा टिम्मुर हालेको झनै राम्रो । पछिल्लो समय सुगर लगायतका रोगका कारण मटनभन्दा चिकेन खान्छु ।

रेस्टुरेन्ट धेरै जाने बानी छैन । रेस्टुरेन्टमा समय अनुसारको परिकार मनपर्छ । सबैभन्दा सजिलो मम लाग्छ । खाना नबनाएको विषयमा श्रीमतीले गाली गर्छिन् । पहिले डेरा बसेकाले खाना बनाउन त आउँछ, श्रीमती र महिलाहरूले जस्तो मीठो पकाउन सक्दिनँ ।

नियमित मर्निङवाक
अक्सर बिहान नियमित १ घण्टा मर्निङ्वाक गर्छु । बाहिर हिँड्न नपाएको समय घरमा ट्रेड मिलमा हिँड्छु । क्लब जाने, योग गर्दिनँ । पहिले एक्सरसाइजका लागि ब्याडमिन्टन खेल्थे । अहिले ठाउँको अभावले त्यो पनि छुट्यो ।

जुत्ता ब्रान्डेड
नेपाली पहिरन दौरासुरुवाल टोपी मनपर्छ । अफिसको सिलसिलामा सधैँ लगाउँथे । अहिले क्याजुअल पहिरन सजिलो लाग्छ । सर्ट, पाइन्ट, स्टकोट, टिसर्ट लगायतका प्रयोग गर्छु । पहिरनमा मनपर्ने रङ रातो हो । चिना हेराउँदा कालो नलगाउनु भनेकाले त्यो कहिल्यै लगाउँदिन । पहिले पहिरन सिलाएर लगाउँथे, अहिले रेडिमेड पनि किन्छु । त्यसमा ब्रान्डेडभन्दा मनपर्ने रोज्छु । जुत्तामा भने सधैँ ब्रान्डेड किन्छु । यो कम्फर्टेबल हुँदोरहेछ ।
 
अध्ययनमा रुचि
अध्ययनमा रुचि छ । साहित्य, उपन्यास, कविता, गीतका पुस्तक पढ्छु । पेसा आर्थिक विषयमा भएकाले आर्थिक विषयका पुस्तक तथा आर्टिकल अध्ययन गर्नुपर्ने हुन्छ । मेरो अध्ययन समय अक्सर बेलुका ८ देखि १२ बजेसम्म हो ।

घुम्न रुचि
घुमघाममा रुचि नहुने त कुरै भएन । हरेकपटक कि नयाँ ठाउँ, पुरानै भए विकास थपिएको ठाउँ मनपर्छ । देशको ७७ जिल्लामा डोल्पा, सोलुखुम्बु, मनाङ र मुस्ताङ जान बाँकी छ । विदेशका अहिलेसम्म ३३ देश घुमे । दक्षिण अफ्रिका, रुस, डेनमार्क र नर्वेलगायत जान मन लागेका ठाउँहरू हुन् । माहोल मिल्यो भने जान्छु ।

 

सानोमा खेलाडी

सानोमा फुटबल खेल्न धेरै मनपथ्र्यो, नियमित खेल्थेँ । स्कुल, कलेज र राष्ट्र बैङ्कको जागिर गर्दासमेत खेलेँ । राष्ट्र बैङ्कमा डेपुटी गभर्नर फुटबल टिम नै हुन्छ । वार्षिक उत्सवको समय नियमित खेल्नुपथ्र्याे ।
अहिले खेल्न नपाएपछि वर्ल्ड कप, युरो कप, राष्ट्रिय फुटबल गेमहरू नियमित हेर्छु ।

टीभी/फिल्म
टीभी नियमित साँझ हेर्छु । टीभीमा समाचार, गीत, मनोरञ्जनात्मक सिरियल, नेपाल आइडल लगायत रियालटी सो र लोकदोहोरी कार्यक्रम हेर्छु ।फिल्म कम हेर्छु । हलमै गएर फिल्म नहेरेको ४, ५ वर्ष भयो कि । पहिले छोराछेरी सानो हुँदा बारम्बार फिल्म हल गइन्थ्यो । अहिले फिल्म हेर्न मनलागे युट्युबमा हेर्छु । प्रायः नेपाली फिल्म हेर्छु । छोराछोरीले सिफारिस गरेको हिन्दी, अङ्ग्रेजी पनि हेर्छु । सामाजिक, ग्रामीण परिवेशका, दुःख, पीडा, वेदनाले भरिएका फिल्म मनपर्छ ।

मोबाइल दाहिने हात
मोबाइल अहिले दाहिने हात भएको छ । ०५८ सालमा अमेरिका गएको समय पहिलो पटक मोबाइल बोकेको थिएँ । नेपालमा २०६२ सालबाट बोक्न थालेको हो । 
अहिले मसँग सामसुङ ब्रान्डको एस टेन नोट भन्ने एउटा मोबाइल छ । फोन गर्ने, इमेल, सामाजिक सञ्जाललगायत धेरै कामका लागि यो प्रयोग हुन्छ ।

पूर्व डेपुटी गभर्नर
विसं २०४३ देखि ०४४ सम्म मैले अमर आदर्श बोर्डिङ स्कुल पुरानो बानेश्वरमा शिक्षण गरेँ । त्यसपछि ६ महिना त्रिभुवन विश्वविद्यालयको सञ्चय कोषमा लेखापालको जागिर खाएँ । ०४४ को चैतमा नेपाल राष्ट्र बैङ्कमा सुब्बा बराबरको जागिर सुरु गरेँ । त्यसपछि राष्ट्र बैङ्कमै विभिन्न पदमा रहेर २८ वर्ष बिताए । डेपुटी गभर्नर भएर समेत ५ वर्ष काम गरेँ । एकै ठाउँमा मैले ३३ वर्ष काम गरेँ ।

मेरो जागिरे जीवनका उतारचढाव भनि साध्य छैन । २०४६ जनआन्दोलनमा होमिएका कारण जागिर जाने स्थितिमा थियो । बहुदल आयो अनि बच्यो । त्यसपछि कर्मचारी सङ्गठन बनाएर पहिलो सदस्य सचिवमा बने । त्यो बेला मेरो लोकप्रियताका कारण व्यावस्थापन आक्रोशित भएर विभिन्न दुःख दियो ।

त्यो समय युनियन खोल्नु चुनौतीपूर्ण थियो । त्योभन्दा बढी चुनौती त्यसलाई हुर्काउनु, बढाउनु थियो । जागिर धरापमा राखेर युनियन स्थापित गराए । अफिसर भएपछि युनियन छोडे ।

सशस्त्र द्वन्द्वको समय म नेपालगञ्जमा थिएँ । त्यो समय निकै कष्टकर दिन बित्यो । भौतिक कारबाहीको धम्की थुप्रै आउँथे । सबै अप्ठ्यारा ट्याकल गरेर अगाडि बढे । त्यसपछि डेपुटी गर्भनर भए । भूकम्प, कोरोना लगायत तहसनहस भएको  अर्थतन्त्र सुधार्दैमा डेपुटी गभर्नरको कार्यकाल सकियो ।

अहिले राष्ट्र बैङ्कको सञ्चालक समिति सदस्यमा छु । युक्रेन र रसियाको युद्धका कारण अर्थतन्त्र खस्किएको छ । त्यो कसरी म्यानेज गर्ने भन्ने चुनौती अहिले छ । राष्ट्र बैङ्कलाई एउटा स्वायत्त संस्था बनाउने सोच पनि थियो । त्यो अहिलेसम्म पूरा गर्न सकिएन ।

गीतकार पनि म
०४३ सालदेखि गीत लेख्न थालेको हो । अहिलेसम्म डेढ सयभन्दा बढी गीत लेखेको छु । गीत रेकर्ड भने २३ वटा भए । १२ वटा गीतको म्युजिक भिडियो बनेको छ । आफ्नै युट्युब च्यानलसमेत खोलेको छु ।

राष्ट्रिय, समावेशी, सामाजिक सुरक्षा, बैङ्कमा खाता खोलौँ भन्ने, समृद्ध नेपाल सुखी नेपाली, बाल गीत, आधुनिकमा सेन्टिमेन्ट, प्रेम, विछोड, जातीय, अपमान, गाउँका अभाव, हराएका संस्कृतिलगायतका विषय मेरा गीतमा देख्न सकिन्छ । पछिल्लो समय कर्मसियल गीतसमेत लेख्न थालेको छु ।

सुरेश अधिकारी, अर्जुन पोखरेल, आलोकश्री, रामकृष्ण ढकाल, मेलिना राई, पारस मुकारुङ, हरि लम्साल, प्रमोद खरेल लगायतसँग मैले गीतको काम गरेको थियो । पहिले कवितामा वाचनका कार्यक्रम हुन्थ्यो । त्यो संस्कृति हराएर अहिले सबै डिजिटल भएको छ । एक गीत चर्चित भने युग युगान्तरसम्म चिनिन्छ । त्यो लोभले गीत लेख्न थालेँ ।

साहित्य पनि लेख्छु
कविताबाट मेरो लेखन यात्रा सुरु भएको हो । त्यसपछि गीत लेख्न थाले । राष्ट्र बैङ्कमा काम गर्दा विभिन्न बुलेटिनमा लेख लेखेँ । राष्ट्र बैङ्कको डेपुटी गर्भनर भएको समय ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक निकालेँ । मैले लेखेका यात्रा संस्मरण विभिन्न पत्रपत्रिका पनि छापिएका छन्  । अहिलेसम्म मेरा गीतका दुईवटा, कविताका दुईटा पुस्तक प्रकाशित छन् । मेरो जीवनको सबै पाटो समेटेर एउटा पुस्तक ल्याउने सोच छ । 

राजनीतिमा भिजेको
राजनीतिमा रुचि छैन कसरी भनौँ । २०३६ सालदेखि राजनीतिमा लागेको हो । त्यो समय पार्टीको झण्डा बोकेको त होइन, जनवर्गीय सङ्गठनमा रहेर काम गरेको थिएँ ।

२०३६ मा ८ कक्षा पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको सचिव थिए । १० कक्षामा सभापति भए । धरान क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य थिए । क्याम्पस क्षेत्र अध्ययन समूहको अध्यक्ष र जनसांस्कृतिक समूहको समेत सदस्य भए । राष्ट्र बैङ्कमा कर्मचारी सङ्गठन स्थापित गरे । त्यो हिसाबले पनि पहिलेदेखि नै मेरो रगत राजनीतिमा भिजेको छ ।

राजनीतिमा रुचि नभएको होइन । जागिरे जीवनमा राजनीति गर्न नपाए पनि चासो, चिन्ता र इन्ट्रेस्ट राख्थे । अहिले कुनै पार्टीले विश्वास गरेर अवसर दियो भने अन्यले भन्दा राम्रो गर्छु जस्तो लाग्छ । 

मागी विवाह गरे 
२०४९ मा मैले मागी विवाह गरेको हो । त्यो समय म राष्ट्र बैङ्कमा सुब्बामा कार्यरत थिएँ भने मास्टर पढ्दै थिए । विवाहका लागि आइए पास भएको र जागिर खाने केटी खोज्थे । त्यसो भयो भने दुवैको आम्दानीले काठमाडौँ घर चलाउन सजिलो हुन्छ भन्ने मेरो सोच थियो । काठमाडौँका साथी भाइमार्फत केटी खोजेर विवाह गरेँ ।

विवाह अगाडि कसैलाई चिट्ठा लेखियो होला, जिस्क्याएँ पनि होला । त्यतिबेला मैले विवाह गरौँ भन्दा केटीहरू नै पत्याउँदैन थिए । म सबैतिर चल्ता पुर्जा भएकाले उनीहरूलाई लाग्थ्यो यसले जिस्क्याएको मात्र हो । 

सपना देख्नु बेकार 
यो मुलुकमा सपना देख्नु बेकार लाग्छ । १९९७ मा दक्षिण कोरियामा ट्रेनिङमा जाँदा कतिले चन्द्रमामा घर बनाउने, कतिले के, कतिले के लेखे सपना बताए । मैले नेपाल राष्ट्र बैङ्कको गर्भनर सपना राखेको थिएँ । त्यही बैङ्कमा काम गर्ने भएकाले माथिल्लो स्थानमा पुग्ने सपना हुुनु स्वाभाविक थियो । त्यो सपना पूरा भएन । 

भूल भए होला
जीवनमा भूल हजार हुन्छन् । सधैँ पछुताउनुपर्ने भूल भए पनि होला । अमेरिका पढ्न जाँदा त्यही बस्न प्रेसर थियो । म भने नेपाल फर्किएँ । त्यो समय अमेरिका बसेको भए धेरै पैसा कमाउँथे, तर कसैले चिन्दैनथे । अहिले सबैले चिन्छन् । त्यसै खुसी छु ।

जीवन सङ्घर्ष हो
छोटकरीमा भन्दा जीवन सङ्घर्ष हो । जीवनमा हजारौँ उतार चढाव आउँछन् । तर सङ्घर्ष गर्न सक्नुपर्छ । जुझारु भएर निरन्तर काममा लाग्यो भने आफ्ना सोच, इच्छा, चाहना र योजनाले एक दिन अवश्य सार्थक हुन्छन् । असफलतामा हार नमानी निरन्तर लाग्ने मानिसले जीवनमा अवश्य  सफलता पाउँछ । 

रिसाउने बानी खराब
कुनै कुनै समय रिसाउने, सारो बोल्ने र धेरै बोल्ने मेरो खराब बानी हो । म सबैसँग सबै कुरो खोल्छु । मलाई लाग्छ यो मेरो पारदर्शी बानी हो । कतिपयले यो बानी खराब भन्छन् । नयाँ साथी बन्दै जाँदा पुराना साथी भाइलाई प्रसस्त समय दिन नसक्ने, चाकडी नगर्ने पनि मेरो खराब बानीमा पर्छ । यसैले धेरै मसँग रिसाउँछन् ।

रोग केही
विगत २०, २१ वर्षदेखि सुगरले सताएको छ । त्यसको नियमित औषधि खाँदैछु । कहिलेकाहीँ युरिक एसिडले पनि सताउँछ । छालामा एलर्जीको समेत समस्या छ ।

नो मापसे 
विसं २०५०/०५१ सालमा साथीभाइको जमघट, विभिन्न कार्यक्रम र पार्टीमा थोरै मापसे गर्थे । शरीरमा मापसेको कारणले एलर्जी भएको थाहा पाएदेखि २०६८ छोडे । यसपछि छोएको पनि छैन ।

राशि ‘मेष’
राशि ‘मेष’ हो । ग्रह, दशामा खासै विश्वास लाग्दैन । कहिले काही राशिमा भनेको मिल्दो रहेछ । त्यसैले हेराउने पनि गर्छु ।

मृत्यु सत्य हो 
मृत्यु सत्य हो । कसैले टारेर टार्न सक्दैन । मृत्यु मानिसको बस बाहिरको विषय हो । सचेतना अपनाउने हो भने मृत्यलाई पछाडि धकेल्न सकिन्छ । मृत्युबाट टाढा रहने कुरोमा हामीले सधैँ ध्यान पुर्याउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप