शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : प्रदेशसभा छाडेर संघतिर अघि बढ्ने दाउमा छन् यी नेता

आइतबार, १२ भदौ २०७९, १५ : ३१
आइतबार, १२ भदौ २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका सदस्यहरु पनि प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तरखरमा छन् । उनीहरु प्रत्यक्ष र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा जुटेका हुन् ।

बागमती प्रदेशका ११० जना सांसदमध्ये प्रदेशसभामा हाल १०७ सदस्य कायम छन् । तीमध्ये आगामी निर्वाचनमा २२ जना सांसद प्रदेश छोडेर संघको निर्वाचन लड्ने तयारीमा जुटेका हुन् । प्रदेशबाट संघमा चुनाव लड्ने २२ जना सांसदमध्ये सबैभन्दा धेरै एमालेका छन् ।

एमालेबाट ९ जना संघमा जान इच्छुक

प्रदेशसभामा सभामुखसहित एमालेका ४४ जना सांसद रहेकोमा ९ जना संघीय चुनावको तयारीमा लागेका छन् । यसअघि प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका एमालेका २ जना सांसद सहित ९ जना आगामी निर्वाचनमा संघमा जान इच्छुक देखिएका छन् ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता डोरमणि पौडेलले आगामी निर्वाचनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने घोषणा गरेका छन् । उनले प्रदेशसभा या प्रतिनिधिसभामा उम्मेदवार बन्ने आफ्नो इच्छा नरहेको बताइसकेका छन् तर पार्टीले उचित ठानेर उम्मेदवार बन्नुपर्ने अवस्था आएमा आफू संघीय चुनावमा उम्मेदवार बन्न सक्ने उनले बताएका छन् ।

२०७४ को निर्वाचनमा मकवानपुर–१ को (ख) बाट चुनाव लडेर प्रदेश सांसद चुनिएका पौडेल आगामी निर्वाचनमा मकवानपुर १ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न इच्छुक रहेको उनी निकट स्रोत बताउँछ ।

अर्की पूर्वमुख्यमन्त्री एवम् एमाले नेतृ अष्टलक्ष्मी शाक्य पनि प्रदेश छोडेर संघमा जाने तयारीमा छिन् । २ महिना १० दिन बागमती प्रदेशको मुख्यमन्त्री सम्हालेकी उनले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बन्ने आकांक्षा देखाएकी छन् ।

२०७४ को निर्वाचनमा पनि संघतर्फ दाबी गरेकी उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन कै लागि प्रदेशसभाको उम्मेदवार बनाइएको थियो । सो निर्वाचनमा उनी काठमाडौं–८ (क)बाट निर्वाचित भएकी थिइन् ।

प्रदेशबाट संघमा जाने दाउमा रहेका एमालेका अर्का व्यक्ति हुन् बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ । उनी प्रदेशसभामा उम्मेदवार बन्ने इच्छा नरहेको बताउँदै आएका छन् । उनी कुनै पनि अवस्थामा संघ कै सांसद बन्ने तयारीमा जुटेका छन् ।

सभामुख श्रेष्ठ २०७४ को निर्वाचनमा काठमाडौं–२ (क) बाट निर्वाचित भएका थिए । उनी आगामी निर्वाचनमा काठमाडौं–२ बाटै संघीय निर्वाचन लड्ने तयारीमा रहेको बुझिएको छ ।

संघीय निर्वाचनको तयारीमा रहेका एमालेका अर्का नेता हुन् अरुणप्रसाद नेपाल । उनी बागमती प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । एमाले विभाजन हुन अघि उनी माधव नेपाल समूहमा थिए । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमलाई संविधान विरोधी भन्दै उनले पदबाट राजीनामा दिएका थिए । तर, पार्टी विभाजनको समयमा भने उनी एमालेका १० भाइसँगै एमालेमै रहे । उनी पनि आगामी निर्वाचनमा प्रदेशसभा छोडेर संघतर्फ उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

उनी सिन्धुपाल्चोक–१ (क)बाट निर्वाचित सांसद् हुन् । उनी सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेको बुझिएको छ भने उनको निर्वाचन क्षेत्र निर्धारण भएको छैन ।

रामेछापबाट चुनाव जितेर प्रदेशसभा सदस्य बनेका कैलाशप्रसाद ढुंगेल पनि आगामी निर्वाचनमा संघतर्फ जाने तयारीमा देखिएका छन् । साढे ३ वर्षसम्म प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालेका उनी आगामी निर्वाचनबाट संघीय सांसद बन्ने दाउमा छन् । उनी रामेछाप–१ (क)बाट निर्वाचित सांसद् हुन् । उनी रामेछापबाटै संघीय निर्वाचनको तयारीमा लागेका छन् ।

देशभरबाट महत्वका साथ हेरिएको क्षेत्र हो चितवन–३ । चितवन–३ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । आगामी निर्वाचनमा प्रचण्डले सोही क्षेत्रमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । सो क्षेत्रका एमालेका प्रदेश सांसद हुन् कृष्णप्रसाद भुर्तेल ।

भुर्तेल पनि आगामी निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभातर्फ प्रचण्डसँग चुनाव लड्ने तयारीमा छन् । सोही अनुसार उनी आन्तरिक तयारीमा जुटेका छन् । उनी २०७४ को निर्वाचनमा प्रदेशसभामा चितवन–३ (क)बाट निर्वाचित भएका थिए ।

नुवाकोट २ (क) बाट निर्वाचित एमालेका सांसद केशवराज पाण्डे पनि संघतर्फ जाने तरखरमा छन् । एमाले बागमती प्रदेशका अध्यक्षसमेत रहेका उनी प्रदेशबाट संघतर्फको चुनाव लड्ने तयारीमा लागेको बुझिएको छ । एकै कार्यकालमा २ पटकसम्म मन्त्री बन्ने मौका पाएका उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।  

काठमाडौं–३ (ख) बाट प्रदेश सांसद जितेका रामेश्वर फुयाल पनि संघको चुनावमा होमिने तयारीमा छन् । उनी काठमाडौं–३ बाटै संघीय चुनाव लड्ने तयारीमा जुटेको बुझिएको छ । उनी डोरमणि पौडेल नेतृत्वको सरकारका पालामा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् ।

एमाले नेतृ रचना खड्का दोलखाबाट निर्वाचित प्रदेश सांसद् हुन् । उनी पनि आगामी निर्वाचनमा संघतर्फ चुनाव लड्ने तयारीमा जुटेकी छन् । २०७४ को निर्वाचनमा एमालेको समानुपातिक सूचीबाट प्रदेश सांसद बनेकी उनी आगामी निर्वाचनमा दोलखाबाटै संघीय सांसद बन्ने दाउमा रहेकी छन् ।

उनी बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत भइसकेकी छन् । उनले सो मन्त्रालयको जिम्मेवारीमा करिव २ महिना बिताएकी छन् ।

 

माओवादी केन्द्रका ५ प्रदेशसभा सदस्य प्रतिनिधिसभा जाने दाउमा

नेकपा माओवादी केन्द्रका ५ जना प्रदेश सांसद संघीय संसदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । प्रदेशसभामा २३ जना सांसदसहित प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संसदीय दलको नेतासहित अन्य ४ जनाले संघीय चुनाव लड्ने तयारी गरिरहेका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्कट्टेल आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा देखिएका छन् । यसअघि नै बागमती प्रदेशको मुख्यमन्त्रीको दावी गरेका उनको रोजाई संघीय संसद बनेको छ । ०७४ को निर्वाचनमा उनी धादिङ १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी आगामी निर्वाचनमा धादिङ १ बाटै संघीय चुनाव लड्ने तयारीमा छन् । उनी पनि एकै कार्यकालमा २ पटक मन्त्री बन्ने सांसद् हुन् । डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका उनी हाल आर्थिक मामिला तथा योजना मन्त्री छन् ।

बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् । नुवाकोट १ (क) बाट २०७४ मा प्रत्यक्ष तर्फबाट प्रदेशसभा सदस्य जितेकी तामाङ आगामी निर्वाचनमा संघ जाने तयारीमा देखिएकी छन् । उनी सोही क्षेत्रबाट संघीय संसद्को निर्वाचनको तयारीमा जुटेको बुझिएको छ ।

२०७४ मा सिन्धुपाल्चोक २ (ख) बाट बागमती प्रदेशसभा सदस्य जितेका युवराज दुलाल ‘शरद’ पनि प्रदेश छोडेर संघतर्फको निर्वाचनमा होमिने तयारीमा छन् । दुलाल आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्ने तयारीमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको विरोध गर्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

बागमती प्रदेशकी बहलवाला सामाजिक विकासमन्त्री कुमारी मोक्तान पनि प्रदेशसभातर्फ निर्वाचन नलड्ने बताउँदै आएकी छन् । २०७४ को निर्वाचनमा मकवानपुर–२ (क) बाट बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी मोक्तानले संघतर्फ टिकट पाएमात्र चुनाव लड्ने अन्यथा नयाँ अनुहारलाई अघि बढाउने बताएको माओवादी केन्द्र मकवानपुरका एक नेताले बताए । उनले मकवानपुर–२ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । उनी २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्य पदमा मकवानपुर–२ बाट नै चुनाव लडेर जितेकी थिइन् ।

२०७४ को निर्वाचनमा दोलखा १ (क) बाट बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका विशाल खड्का पनि संघीय संसद् जाने तयारीमा छन् । उनी बागमती प्रदेशका वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनले आफू दोलखा–१ बाटै माओवादी केन्द्रको तर्फबाट संघीय चुनाव लड्ने निर्विकल्प उम्मेदवार भएको बताउँदै आएका छन् । २०७४ को निर्वाचनमा पनि उनलाई संघीय संसदको चुनावमा उम्मेदवार बनाउने पार्टीले तयारी गरेपनि बाम गठबन्धनका कारण प्रदेशमा झर्नुपरेको थियो ।

एकीकृत समाजवादीबाट २ जना

बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पनि आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दिने तयारीमा छन् । उनी धादिङ–१ बाट प्रतिनिधिसभातर्फ चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी २०७४ को निर्वाचनमा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर–१ (क) बाट चुनाव लडेका थिए । २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका पाण्डे संघीय सरकारमा स्थानीय विकास मन्त्री भइसकेका छन् ।

२०७४ को निर्वाचनमा चितवन–१ (ख) बाट निर्वाचित सांसद् कृष्णप्रसाद शर्मा खनाल पनि आगामी निर्वाचनमा संघतर्फ चुनाव लड्ने तयारीमा छन् । एकै कार्यकालमा २ पटक मन्त्री बन्ने अवसर पाएका उनी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि एमालेबाट चितवन–२ बाट उम्मेदवार थिए ।

नेपाली कांग्रेसका बानियाँ पनि संघीय चुनावको तयारीमा

मकवानपुरमा कम्युनिस्टको गढ भत्काएर कांग्रेसको उदय गराएका इन्द्रबहादुर बानियाँ पनि प्रदेश छोडेर संघीय चुनावमा लड्ने तयारीमा छन् । २०६४ को निर्वाचनमा मकवानपुर–१ बाट पहिलो पटक संसदीय चुनाव लडेका बानियाँलाई माओवादी केन्द्रका दिल बहादुर घिसिङ ‘फूर्वा’ले हराएका थिए । २०७० के निर्वाचनमा बानियाँ पुनः सोही क्षेत्रबाट चुनाव लडे । सो निर्वाचनमा उनलाई सफलता मिल्यो । संसदीय निर्वाचनमा बानियाँको त्यो पहिलो जित थियो ।

उनी सोही अवधिमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्री समेत बने । त्यस यता बानियाँले कुनै पनि चुनाव हार्नुपरेको छैन । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बने पनि केन्द्रीय तहको गठबन्धनका कारण उनले सो क्षेत्र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई छोड्नु प¥यो । सो क्षेत्र थापालाई छोडेका बानियाँ मकवानपुर–२ छिरे । उनले मकवानपुर–२ (ख) बाट प्रदेशसभा सदस्य पदमा चुनाव जिते र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिए । बानियाँ आगामी निर्वाचनमा मकवानपुर–१ बाटै संघीय चुनावको तयारीमा जुटेको बुझिएको छ ।

विवेकशीलका ३ सांसदको संघ जाने दाउमा

बागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका ३ जना सांसद छन् । प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रबाट निर्वाचन जित्न नसकेको विवेकशील साझाले बागमती प्रदेशमा समानुपातिकतर्फ भने ३ सिट जित्न सफल भयो । विवेकशील साझाको प्रतिनिधित्व गर्ने प्रदेश सांसद रमेश पौड्याल आगामी निर्वाचनमा संघीय संसद्मा चुनाव लड्ने तयारीमा छन् भने विराजभक्त श्रेष्ठ र शोभा शाक्य पनि सोही अनुसार आ–आफ्नो क्षेत्रमा सक्रियता बढाइरहेका छन् । पौड्याल कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने यकिन भइसकेको छैन भने श्रेष्ठ काठमाडौं–८ र शाक्य भक्तपुरबाट चुनाव लड्ने तयारीमा छन् ।

उता राप्रपाका २ जना सांसद पनि संघीय निर्वाचनमा होमिने भएका छन् । समानुपातिक तर्फबाट बागमती प्रदेशसभा सदस्य चुनिएका राप्रपाकी रिना गुरुङ र रिता माझी संघीय चुनावको तयारीमा जुटेको बुझिएको छ । गुरुङ चितवनबाट र माझी रामेछापबाट उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ ।

यता २०७४ को निर्वाचनमा भक्तपुर–१ (ख) बाट चुनाव जितेका नेमकिपाका सुरेन्द्रराज गोसाई पनि प्रदेश छोडेर संघीय निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । बागमती प्रदेशमा प्रत्यक्षतर्फ एक सिटमा चुनाव जितेको नेमकिपाको तर्फबाट भक्तपुरबाटै उनी आगामी निर्वाचनमा संघीय निर्वाचनको तयारीमा लागेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप