बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा मकवानपुरमा एमालेलाई कति सहज ?

सोमबार, १३ भदौ २०७९, १८ : २१
सोमबार, १३ भदौ २०७९

नेकपा एमालेले मकवानपुरलाई आफ्नो गढको रुपमा लिने गरेको छ । २०४८ पछिका आम निर्वाचन परिणामले पनि मकवानपुरमा एमाले बलियो रहेको देखाउँछ । यद्यपि, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा एमालेलाई कति सहज होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । खासगरी अघिल्ला निर्वाचनको तुलनामा यस पटक एमाले विभाजित अवस्थामा निर्वाचनमा जाँदैछ भने एमाले विरुद्ध पाँच दलीय गठबन्धन संगठित देखिन्छ । अर्कोतिर एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि सत्तारुढ गठबन्धनमै छ । त्यसैले अघिल्ला निर्वाचनको तुलनामा यो निर्वाचन एमालेका लागि चुनौतीपूर्ण रहेको आकलन गरिएको छ ।

एमाले विभाजनको असर कति ?

पार्टी विभाजन, सत्तारुढ गठबन्धनमात्र नभएर पछिल्लो समय एमाले मकवानपुरभित्र देखिएको विवादका कारण पनि आगामी निर्वाचन एमालेलाई चुनौतीपूर्ण हुने देखिन्छ ।

एमाले विभाजनपछि केन्द्रदेखि जिल्लासम्मका केही नेताहरु नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । नेकपा एकीकृत समाजवादीमा आवद्ध हुनेमा संघीय सांसददेखि प्रदेश सांसद र केन्द्रीय सदस्य भइसकेकाहरु समेत छन् ।

मकवानपुरबाट लगातार ४ पटकसम्म अपराजित रहेका प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, राष्ट्रियसभा सदस्य गोमा तिमल्सिना, संविधानसभा सदस्य राजाराम स्याङ्तान लगायत केन्द्रीय तहका नेताहरु एमाले छोडेर एकीकृत समाजवादीमा गएका छन् भने मकवानपुरबाट तल्लो तहका करिव २ हजार जनाले एमाले छोडेका छन् । आगामी निर्वाचनमा एमालेले सो विभाजनको असरको सामना गर्नुपर्ने निश्चित छ । 

अर्कोतिर मकवानपुरमा एमालेभित्र स्पष्ट दुई वटा समूह छ । एउटा समूह एमाले मकवानपुरका वर्तमान अध्यक्ष एकलाल श्रेष्ठको नेतृत्वमा छ भने अर्को समूह निवर्तमान अध्यक्ष बद्रि लम्सालको नेतृत्वमा छ । पार्टीको जिल्ला अधिवेशनमा पनि श्रेष्ठ नेतृत्वको समूह हावी भएर उम्मेदवारी कायम रहेकै अवस्थामा श्रेष्ठलाई एकतर्फी रुपमा अध्यक्ष घोषणा गरिएको थियो भने पार्टीको विभिन्न पदमा अध्यक्ष श्रेष्ठले एकलौटी रुपमा मनोनित गरेको भन्दै केही जिल्ला तहका नेताले पार्टी छोडेका थिए । पार्टीभित्रकै विवादका कारण पनि आगामी निर्वाचनमा एमालेलाई मकवानपुरमा सहज नहुने जानकारहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा पनि असफलता

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेलाई मकवानपुरमा असफलता नै प्राप्त भयो । आफ्नो संगठनको बलमा मकवानपुरका १० वटै स्थानीय तहमा जित्ने दाबीसहित निर्वाचनमा होमिएको एमालेलाई सोचेझैं सफलता मिल्न सकेन ।

उक्त निर्वाचनमा एमालेले मकवानपुरको १० वटा स्थानीय तहमध्ये २ वटामा मात्र नेतृत्व लिन सफल भयो । एमालेले मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको मात्र नेतृत्व लिन सक्यो ।

एमालेले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित्दा भीमफेदीको अध्यक्ष पदमा मात्र जित निकाल्यो । इन्द्रसरोवरको अध्यक्षमा देवकृष्ण पुडासैनी, उपाध्यक्षमा उमा कुमारी लामाले नेतृत्व लिँदा भीमफेदीमा हिदम लामाले चुनाव जिते । भिमफेदीको उपाध्यक्षमा एमालेकी पार्वती राना भने कांग्रेसका सञ्जीव श्रेष्ठसँग पराजित भइन् ।

जिल्लाका अन्य स्थानीय तहमा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवारसँग पराजित भए । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा एमालेका अनन्त पौडेललाई एकीकृत समाजवादीकी मीना कुमारी लामाले पराजित गरिन् भने उपप्रमुखमा कांग्रेसका राजेश बानियाँले एमालेकी सुमित्रा काफ्लेलाई हराए ।

थाहा नगरपापालिकाको प्रमुखमा माओवादी केन्द्रका विष्णु विष्ट ‘आदर्श’ले एमालेका अचुतम प्रसाद ढकाललाई र उपप्रमुखमा कांग्रेसका भरत गोपालीले एमालेकी कल्पना गोपालीलाई पराजित गरे ।

कैलाश गाउँपालिकाको प्रमुखमा कांग्रेसका लोकबहादुर मोक्तानले एमालेका नरेन्द्रलाल रिजाल र उपप्रमुखमा माओवादी केन्द्रका बालकुमार मल्लले एमालेकी सुकुमाया थिङलाई हराए ।

राक्सिराङ गाउँपालिकाको प्रमुखमा कांग्रेसका राजकुमार मल्लले एमालेका बाबुलाल स्याङ्तान र उपप्रमुखमा माओवादी केन्द्रका बनस्तम थिङले एमालेकी सुन्तलीमाया प्रजालाई पराजित गरे । मनहरी गाउँपालिकाको प्रमुखमा कांग्रेसका रञ्जन कोइरालाले एमालेका एकराज उप्रेती र उपप्रमुखमा माओवादी केन्द्रकी सीता पुलामी मगरलाई हराए ।

​मकवानपुरगढी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दोर्जे लामा स्याङ्तानले जित्दा एमालेका विदुर हुमागाई र उपप्रमुखमा माओवादी केन्द्रकी मनकुमारी पाख्रिनले एमालेकी सन्तु थिङलाई हराइन् । बकैया गाउँपालिकाको प्रमुखमा कांग्रेसका धर्मराज लामिछानेले एमालेकी सरला बोलखे र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्रीले एमालेका लालबहादुर स्याङ्तानलाई हराए ।

बागमती गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका सर्केश घलानले एमालेका खेमराज जर्घामगर र उपप्रमुखमा कांग्रेसका फणिन्द्र कुमार तिमल्सिनाले एमालेकी धनमाया स्याङ्तानलाई हराए ।

मकवानपुरमा यस्तो छ एमालेको विगत

२०४८ सालमा भएको निर्वाचनमा देशभर एमालेले ६९ सिट जित्दा नेपाली कांग्रेसले ११० सिट जितेर पहिलो पार्टी बनेको थियो । तर कांग्रेसले मकवानपुरमा जित निकाल्न सकेन । एमाले मकवानपुरको तत्कालीन ३ वटै क्षेत्रमा विजयी भएको थियो ।

सो निर्वाचनमा एमालेले मकवानपुर–१ बाट कृष्णप्रसाद दाहाल, मकवानपुर–२ बाट विरोध खतिवडा र मकवानपुर–३ बाट हिरण्यलाल श्रेष्ठले जितेका थिए । एमाले २०५१ मा भएको मध्यावधि निर्वाचनमा देशभरबाट ८८ सिटमा जित हात पार्दै सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयो । कांग्रेसले देशभर ८३ सिटमा मात्र सीमित भयो ।

सो निर्वाचनमा मकवानपुरमा एमाले कमजोर बन्न पुग्यो । एमालेले मकवानपुरको ३ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा हार व्यहोर्नु परेको थियो । मकवानपुर–२ बाट एमालेका विरोध खतिवडा र मकवानपुर–३ बाट एमालेका हिरण्यलाल श्रेष्ठले चुनाव जित्दा मकवानपुर–१ बाट कृष्णप्रसाद दाहाल पराजित भएका थिए । क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापाले चुनाव जितेका थिए ।

२०५६ मा भएको आमनिर्वाचनमा एमालेले देशभरबाट ७१ सिटमा जित हात पारेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले देशभरबाट १११ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो । त्यतिबेला पनि एमालेले मकवानपुरको ३ वटै क्षेत्रमा जित निकाल्न सफल भयो । सो निर्वाचनमा मकवानपुर–१ बाट कृष्णप्रसाद दाहाल, मकवानपुर–२ बाट विरोध खतिवडा र मकवानपुर–३ बाट वीरबहादुर लामाले चुनाव जितेका थिए ।

२०६२÷०६३ मा जनआन्दोलन भयो । उक्त जनआन्दोलनले लोकतन्त्र स्थापना गर्न सफल भयो । राज्यसत्तामा फेरबदल पनि भयो । २०६४ मा संविधानसभाको निर्वाचन भयो । २०६४ को निर्वाचनमा देशभरबाट नेकपा माओवादी सबैभन्दा ठुलो पार्टी बन्यो । कांग्रेस दोस्रो र एमाले तेस्रो भयो । सो निर्वाचनमा मकवानपुरमा कांग्रेस र एमाले शून्य भए । मकवानपुरको तत्कालीन ४ वटै क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भए ।

सो निर्वाचनमा मकवानपुर–१ बाट माओवादीका दिलबहादुर घिसिङ ‘फुर्वा’ले जित्दा कांग्रेसका इन्द्रबहादुर बानियाँ र एमालेका बद्री लम्साल पराजित भए । मकवानपुर–२ बाट माओवादीका प्रेमबहादुर पुलामी ‘छिन्तु’ले जित्दा कांग्रसका भिम लामा र एमालेका विरबहादुर लामा पराजित भए । मकवानपुर–३ बाट माओवादीका प्रह्लाद लामिछाने ‘समिर’ले जित्दा एमालेका अनन्त पौडेल पराजित भए । मकवानपुर–४ बाट माओवादीकी कुमारी मोक्तानले चुनाव जित्दा कांग्रेस र एमालेका उम्मेदवार पराजित भएका थिए ।

तर दोस्रो संविधानसभा निर्वाचनमा माओवादी मकवानपुरको सबै क्षेत्रबाट पराजित भयो भने एमालेले पुनरागमन ग¥यो । एमालेले सो निर्वाचनमा मकवानपुरको ४ क्षेत्रमध्ये ३ वटामा जित निकाल्न सफल भयो ।

एमालेले मकवानपुर–१ मा हार व्यहोर्‍यो । मकवानपुर–२ मा एमालेका एमालेका सुभाष चन्द्र ठकुरीले जित्दा माओवादीका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र कांग्रेसका जयराम लामिछाने पराजित भए । मकवानपुर–३ बाट एमालेका अनन्त पौडेल विजयी भए भने मकवानपुर–४ बाट एमालेकै राजाराम स्याङ्तान विजयी भए ।

यता मकवानपुर–१ मा भने पहिलो पटक कांग्रेसको उदय भयो । मकवानपुर–१ बाट कांग्रेसका इन्द्रबहादुर बानियाँले जित निकाल्न सफल भए भने एमालेका अर्षराज जर्घामगर र माओवादीका सर्केस घलान पराजित भए ।

२०७२ मा देशले नयाँ संविधान पायो । सोही संविधान अनुसार देश संघीयता कार्यान्वयनको चरणमा गयो । २०७४ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र निर्धारण भएको थियो ।

सो निर्वाचनमा मकवानपुरबाट प्रदेशसभातर्फको एक सिटमा कांग्रेसले जित्यो भने अन्यमा एमाले–माओवादी गठबन्धनले जित हात पार्‍यो । कांग्रेसका इन्द्रबहादुर बानियाँले मकवानपुर–२ (ख)बाट चुनाव जिते । सो निर्वाचनमा मकवानपुरमा एमालेले प्रतिनिधिसभाको २ वटै सिटमा जित हात पा¥यो भने प्रदेशतर्फ १ सिट जित्यो । माओवादीले प्रदेशसभामा भाग पाएको २ वटा सिटमध्ये दुवैमा जित निकाल्न सफल भयो ।

प्रतिनिधिसभा तर्फ मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालले कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवार कमल थापालाई हराए भने मकवानपुर–२ मा एमालेका विरोध खतिवडाले कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराए । प्रदेशतर्फ भने मकवानपुर–१ (क)मा माओवादीका प्रेमबहादुर पुलामी, १ (ख) मा एमालेका डोरमणि पौडेलले जित्दा मकवानपुर–२ (क)मा माओवादीकी कुमारी मोक्तानले जितिन् । मकवानपुर–२ (ख)बाट एमालेका उम्मेदवार राजाराम स्याङ्तान कांग्रेसका बानियाँसँग पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप