शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको ५ घण्टा : बयानमा न्यायाधीश माग्ने वकिल नेतादेखि पूर्व प्रधानन्यायाधीशसम्मको खोले पोल

बुधबार, १५ भदौ २०७९, २० : ३७
बुधबार, १५ भदौ २०७९

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बुधबार महाभियोग सिफारिस समितिमा बयान दिएका छन् । अघिल्लो वर्ष फागुन १ गत आफूमाथि महाभियोग लागेर निलम्बनमा परेको ठ्याक्कै साढे ६ महिनामा उनले आफ्नो कुरा राख्न पाएका हुन् । समितिका सांसद सदस्यहरूले उनीमाथि लागेको आरोपबाट बनाएका ४३ वटा प्रश्न मध्ये बुधबार ३ वटाको मात्र उनले जवाफ दिएका छन् । बाँकी बयानका लागि उनलाई बिहीबार पनि बैठकमा बोलाइएको छ । 

२ घण्टा कुराइए संसद् सचिवालयमा  

बुधबार बिहान ११ बजेका लागि महाभियोग सिफारिस समितिको बैठक बोलाइएको थियो । निलम्बित प्रधानन्यायाधीश राणा ठिक समयमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेका थिए । उनी सचिवालयमा महासचिवको कार्यालयको एक कोठामा सुनुवाइ समितिको बैठक जाने निम्तो कुरेर बसेका थिए । सुनुवाइ समितिको बैठक साढे ११ बजे सुरु भएको थियो भने दिउँसो १ बजेतिर मात्र राणालाई बयानका लागि बैठकमा बोलाएको थियो । जहाँ मिडियालाई प्रवेश दिइएको थिएन तर उनी बैठकमा सहभागी भएको फोटो र भिडियो खिच्न दिइएको थियो । 

बैठकमा बोलाइएपछि उनलाई त्यहाँ बोलाउनुको कारणबारे जानकारी गराएर समितिका सदस्यहरूले उनीमाथि लागेको आरोप प्रस्तुत गरेका थिए । साथै सांसदहरूले राणासँग प्रतिप्रश्न पनि गरेका थिए । 

महाभियोग निष्क्रिय भएको दाबी गर्दै भने–‘मलाई न्याय दिनुहोस्’

सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरे । उनले आफूले विधि–पद्धतिबाट काम गरिरहेका बेला मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गरे ।

महाभियोग निष्क्रिय भए पनि आफू संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा गर्दै पनि मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे ।

बारका तत्कालीन अध्यक्ष र महासचिवले न्यायाधीश पद मागेको आरोप 

सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा राणाले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरे । तर, सो पद नदिँदा आफू विरुद्ध आन्दोलन भएको उनको जिकिर थियो । 

तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र  महासचिव लीलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् । 

उनीहरूले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको तर आफू त्यसमा असहमत हुँदा आन्दोलन चर्काएको बताए ।  सांसद कृष्णभक्त पोखरेलको प्रश्नको जवाफका क्रममा जबराले स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको पनि जिकिर गरेका थिए ।  

उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाए । यस्तै अदालतको सानो भन्दा सानो कुरामा पनि मिडिया ट्रायल गर्ने गरिएको बताए । जबसम्म मिडियामा तथ्यपूर्ण कुरा आउँदैन तबसम्म त्यसले न्याय प्रक्रियामा असर पारिरहेको उनको भनाइ थियो । 

उनले भने, ‘सार्वजनिक व्यक्तिलाई सधैँ आरोप लाग्छ । तर त्यसलाई पुष्टि गर्न सक्नुपर्छ । हामीमाथि सधैँ आरोप लाग्ने गरेको छ । न्यायपालिकामा भ्रष्टाचार छ, यो छ त्यो छ भनेर आरोप लाग्छ’, उनले भने, ‘न्यायाधीश भनेको काँचो माटोजस्तै हो । भाँडाको आकार लिन समय लाग्छ ।’

न्यायपालिकालाई सक्षम र भ्रष्टाचार रोक्न आफूले सक्दो पहल गरेको पनि जबराले बताए । 

पूर्व प्रधानन्यायाधीशले ‘रिटायर’ भएपछि पनि भाग खोजेको आरोप 

निलम्बित प्रधानन्यायाधीश राणाले पूर्व प्रधानन्यायाधीशहरुले न्यायालयमा आफ्नो भाग खोज्ने गरेको बताए । 

पूर्व प्रधानन्यायाधीश आफ्नो मान्छेलाई न्यायाधीश बनाउन, कर्मचारी सरुवा बढुवाका लागि दबाब दिने गरेको र त्यसो नगरेमा जसरी हुन्छ त्यसरी सिद्ध्याउन खोज्ने प्रवृत्ति रहेको बताए । 

उनले भने–‘पूर्व प्रन्याले रिटायर भएपछि पनि आफ्नो भाग खोज्नुहुन्छ , आफ्नो मान्छे न्यायाधीश, कर्मचारी सरुवा बढुवा मा भाग माग्नुहुन्छ । नदिए हामीलाई कसरी सिद्ध्याउन सकिन्छ त्यसरी लाग्नुहुन्छ । विभिन्न कोणबाट न्यायपालिकालाई डिक्टेट गर्नुहुन्छ, कर्मचारीदेखि हरेक कुरा चलाउन खोज्नुहुन्छ ।’

माधव नेपालले चुड्की बजाएपछि महाभियोग 

सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा राणाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा महाभियोग लगाइएको बताए । गत वर्ष कार्तिक १५ गते ललित निवास जग्गा प्रकरणमा अन्तिम सुनुवाइ रहेका बेला आफूलाई दल निकट कानुन व्यवसायीबाट असहयोग भएको बताए । सो मुद्दाको विषय उठेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानन्यायाधीशलाई के गर्नुपर्छ हामी चुड्कीमा गरिदिन्छौँ भने लगतै आफूमाथि महाभियोग लागेको उनले बताए । 

राणामाथिको महाभियोगमाथिको बयानको क्रम जारी रहेको छ । उनले बिहीबार बिहान पुनः बयान दिँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप