शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अधुरै रह्यो देवको डाक्टर बन्ने सपना

उत्कृष्ट नतिजा ल्याए तर हेर्नै नपाइ अस्ताए
आइतबार, १९ भदौ २०७९, १९ : ३१
आइतबार, १९ भदौ २०७९

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा जाजरकोट जुनीचाँदे गाउँपालिका–६ का देव दर्शन सिंहले ३.७० जिपिए ल्याएर प्रदेशमै सर्वोत्कृष्ट भए । तर विडम्बना उनले आफ्नो नतिजा हेर्न पाएनन् ।  

वीरेन्द्रनगरको उषा बालबाटिकामा अध्ययनरत उनको घर जाने क्रममा यही जेठ २७ गते जीप दुर्घटनामा परेर मृत्यु भएको थियो । जेठ १५–२५ गतेसम्म लिइएको परीक्षाको नतिजाको पखाइमा रहेका उनको नागरिकताको प्रमाण–पत्र लिनका लागि आफ्नो गाउँ जाने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । घटनमा उनकी आमा कालिका शाहीको पनि मृत्यु भयो । 

१९ वर्षीय शाही विद्यालयमा निकै मेहनती, लगनशील र बौद्धिक छविका विद्यार्थीको रूपमा चिनिन्थे । उनीसहित तीन जना विद्यार्थीको तस्बिर सहितको पोस्टर विद्यालयको अगाडि राखेको छ । उक्त बोर्डमा लेखिएको छ, ‘कर्णाली प्रदेशकै उत्कृष्ट नतिजा ।’ 

‘उनको मृत्युले विद्यालयमा सन्नाटा छाएको छ,’ विद्यालयका प्रिन्सिपल सुशील भुसालले आइतबार रातोपाटीसँग कुरा गर्दै भने, ‘बाबुको एमबीबीएस पढ्ने ठुलो सपना थियो । आफ्नो मेहनत र परिश्रमले नै पढाई गर्छु भन्ने अठोट थियो । दैवको लीला भनौँ उनी हामीमाझ रहेनन् ।’

स्कुलमा पनि सबैको प्रिय भएकाले भुसाल देवलाई बाबु भनेर बोलाउने रहेछन् । उनको बारेमा कुरा गर्दा भावुक बनेका भुसाल भन्छन्, ‘वीरेन्द्रनगरकै अमरज्योति माविबाट ४ जिपिए ल्याएर प्रथम भएपछि हाम्रो विद्यालयमा छात्रवृत्तिमै अध्ययन गर्ने अवसर पाएका थिए । कक्षा १२ मा पनि राम्रो अंक ल्याएर छात्रवृत्तिमै पढ्ने योजना बनाएका थिए । त्यसैका लागि उनी नागरिकता बनाउने तरखरमा थिए ।’ विद्यालयमा इमान्दार, लगनशील विद्यार्थी थिए, देव । उनीमा केही गर्नुपर्छ भन्ने खालको ‘प्यासन’ भएको भुसाल बताउँछन् ।  

आफू प्रिन्सिपल मात्रै नभएर शिक्षक पनि भएका नाताले देवलाई नजिकबाट चिनेको भुसाल बताउँछन् । ‘उनमा त्यस्ता केही कुरा विशेष थिए, जो अन्य विद्यार्थीमा पाउन मुस्किल छ,’भुसाल भन्छन्,‘ पढाई मात्र नभएर अन्य अतिरिक्त गतिविधि, राजनीतिक र सामाजिक कुरामा उत्तिकै चिन्तन गर्थे ।’

कोरोना भाइरस (कोभिड– १९ ) ले शिक्षा क्षेत्रलाई तहसनहस पारेको अवस्थामा पनि उनले ल्याएको नतिजा प्रेरणादायक रहेको उनी बताउँछन् । जाजरकोटको एउटा ग्रामीण भेगमा जन्मिएर पनि सम्मान गर्न लायक जुन नतिजा ल्याए, त्यो उनको दृढ सङ्कल्प र मेहनतका कारण प्राप्त भएको हो । उनले जीव विज्ञानतर्फ प्रथम र समग्रमा दोस्रो स्थान ल्याएका हुन् । ‘हाम्रा लागि एउटा तारा अस्ताएको अनुभूति हामीले गरेको छौँ,’ भुसाल भन्छन्,‘ उनी अस्ताए पनि हामीमाझ सधैँ अटल र अमर हुनेछन् । बाबुले विद्यालयमा ठुलो छाप छोडेर गएको छ ।’ मृत्यु अकल्पनीय हो । तर कोही व्यक्ति मृत्यु भएर गए पनि उनको व्यक्तित्व र इमानको मृत्यु कहिल्यै हुँदैन । 

..त्यो नै मेरो अन्तिम भेट भयो 

देव दर्शनको परिवार ०७२ सालयता वीरेन्द्रनगर–१२ को एयरपोर्ट चोकमा बस्दै आएका छन् । ‘परीक्षाको समय हुनुभन्दा केही पहिला विद्यार्थीलाई परीक्षाको तयारी दिने समयमा शिक्षकहरू घरमा जाने क्रम म उनको कोठामा गएको थिएँ,’ प्रिन्सिपल भुसालले भने, ‘एयरपोर्ट नजिकै एक होटेलमा बसेर परीक्षाको तयारीका बारेमा छलफल गरेका थियौँ । त्यही भेट नै मेरो लागि अन्तिम हो ।’ 

‘नतिजा आएपछि उनका बुबा नरबहादुर शाही स्कुलमा आउनुभयो,’ उनले भने,‘उहाँले म सँग कुरा नै गर्न सक्नुभएन । आफैलाई निकै पीडा महसुस भयो ।’ 

‘दाइको सपनालाई साकार गर्छु’

देवको घरमा एक भाइ र आमा–बुबा मात्रै थिए । दुर्घटनामा दाइ र आमाको मृत्यु भए पनि अहिले भाइ तप्तबहादुर सिंह र बुबा मात्रै छन् । तप्तबहादुर पनि उषा बालबाटिकामै कक्षा ११ मा साइन्स विषय लिएर नै अध्ययन गरिरहेका छन् । आइतबार विद्यालयमै भेटिएका तप्तबहादुरले दाजु–भाइको अटुट सम्बन्ध, सङ्घर्षका बारेमा सुनाए ।

‘सानै उमेरदेखि बुबा–आमा रोजगारीको सिलसिलामा भारत जानुहुन्थ्यो,’ उनले विगत सम्झदै भने,‘ दुई भाइको भविष्यका लागि धेरै सङ्घर्ष गर्नुभयो, हामीले पनि मेहनत गरेर पढाइ गरिरहेका थियौँ ।’ उनले दाइको सपना पुरा गर्नका लागि आफ्नो पढाई थाती राखेर पनि दाइलाई सहयोग गर्ने गरेको सुनाए । 

उनी भन्छन्, ‘दाइ डक्टर बनेपछि म पछि बनिहाल्छु भन्ने लाग्थ्यो, त्यसैले कोठामा खाना पकाउनेदेखि लुगा धुनेसम्म सबै काम आफैँ गर्थेँ । सायद मेरो दाइ जस्तो मेरा लागि दुनियाँमा अरू कसैको दाइ छैन जस्तो लाग्छ ।’ 

जाजरकोटको खलङ्गाकै एम बोर्डिङ स्कुलबाट पढाई सुरु गरेका देव सधैँ प्रथम हुने विद्यार्थीको दर्जामा सामेल थिए । विद्यालयमा आफ्नो दाइसँग प्रतिस्पर्धा गर्ने अन्य विद्यार्थी नभएको दाबी गर्छन् । ‘म कहिले काहीँ प्रथम, कहिले दोस्रो हुँदै पाँचौँसम्म आउँथे तर दाइ जहिले प्रथम हुन्थ्यो,’ उनले भने ।  देवले कक्षा ६–८ वीरेन्द्रनगरको डाईनामिक बोर्डिङ स्कुलमा पढेका थिए भने १० अमर ज्योतिमा पढेका थिए । उनले कक्षा ८ मा पनि ४ जिपिए नै ल्याएको तप्तबहादुर बताउँछन् । 

तप्तबहादुर दाइको सपना पुरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँछन् । ‘बुबा विगत ४ वर्षदेखि घरमा आउनुभएको थिएन, ममी बीचबीचमा हाम्रो न्यास्रो मानेर आउने–जाने गरिरहनुहुन्थ्यो,’ उनले भने, ‘बुबा आएको केही समयमै घटना भयो । अब सबै जिम्मेवारी मेरो काँधमा आएको छ ।’ 

देव दर्शनको सम्झनाका लागि विद्यालयको योजना

उषा बालबाटिका सकेन्डरी विद्यालयले देव दर्शनको स्मृतिका लागि उनका पुस्तकहरू लाइब्रेरीमा राख्ने योजना बनाएको छ । विद्यालयका प्रिन्सिपल भुसालका अनुसार त्यसलाई कृतिका रूपमा छुट्टै फ्रेम बनाएर राखिने छ । यहाँ पढ्ने आउने अन्य विद्यार्थीहरूलाई समेत सिकाई होस् भन्ने उद्देश्य रहेको उनले बताए ।  ‘त्यो एक प्रेरणाको स्रोत समेत बनोस्,’ उनले भने, ‘जसले विद्यार्थीको पढाइमा जोस र जाँगर आओस् ।’ 

उषा बालकाटिका प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा परिचित छ । ०६५ देखिनै ११, १२ मा कक्षा सञ्चालन गर्दै आएको विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको छ । उषा ०७६ मा देशकै ४ नम्बरमा पर्न सफल भएको थियो । त्यो बेला व्यवस्थापन सङ्कायमा विद्यार्थी छात्रा कुसुम थापा मगरले ३.८४ जिपिए ल्याएकी थिइन् । भुसाल हालसम्म कर्णालीमा यस्तो नतिजा अन्य कुनै विद्यालयले नल्याएको दाबी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप