शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने

बागमती प्रदेशमा ३७ सय २७ जनामा डेंगु,  ललितपुर जिल्लामा मात्रै  १८ सय ३२ केस पुष्टि
मङ्गलबार, २१ भदौ २०७९, ०६ : ४६
मङ्गलबार, २१ भदौ २०७९

काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको आशंकामा टेकु अस्पताल पुगे । ज्वरो र शरीर दुखाइले आत्तिएका उनलाई परीक्षण गर्दा डेंगु पुष्टि भने भएन । डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहेपनि स्वास्थ्यमा समस्या आइरहेकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको सुनाए ।

उता शंखमुल बस्दै आएकी पवि राईको परिवार तीन जनालाई एक्कासि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुखेपछि उनीहरू सिभिल अस्पताल पुगे । डक्टरको सल्लाहमा डेंगु परीक्षण गराउँदा तीनै जनाको नेगेटिभ रिजल्ट आयो । चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको तीन काट्दा पनि स्वास्थ्य सुधार आएन । त्यसपछि उनी दुवै छोरीसहित टेकु अस्पतालमा पुगेर पुन: डेंगु परीक्षण गरे पनि नेगेटिभ नै आएको सुनाइन् । डाक्टरको सल्लाहमा औषधि सेवन गरी आराम गरिरहेको सुनाए । डेंगुका बिरामी बढिरहँदा डेंगुको जस्तै लक्षण देखिने तर, परीक्षण गर्दा नेगेटिभ रिजल्ट आउने चिकित्सकहरूले बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि अस्पतालमा डेंगु र डेंगुको जस्ता लक्षण देखिएका बिरामीको चाप बढेको सुनाउँछन् । डेंगु लक्षण लिएर आउने कतिपयमा दोहोराएर परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको सुनाउँछन् ।

एडीस जातकै लामखुट्टेले चिकुनगुनिया भाइरस फैलाउने उनले बताए । ‘अस्पताल आउने बिरामीमा ज्वरो आउने, जोर्नी अधिक दुख्ने,टाउको दुख्ने, मांसपेशीको दुखाइका समस्या लिएर आउनेहरूले परीक्षण गर्दा नेगेटिभ रिजल्ट आउँदा कतै एडिस जातीको ‘लामखुट्टेबाट उनीहरूलाई  चिकुनगुनिया भाइरसले त सताएको छैन भनेर प्रश्न खडा भएका छ,’ उनी भन्छन्, ‘परीक्षण गरेर पुष्टि नभएसम्म चिकुनगुनिया भाइरस फैलिएको छ वा यसले यस्तो स्वास्थ्य समस्या ल्याएको भन्ने अवस्था छैन, यसका लागि अध्ययन गर्नुपर्छ ।’

​इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले विभिन्न अस्पतालका डाक्टरहरुसँगको छलफलमा उनीहरूले डेंगु सँगसँगै अरू भाइरसजन्य रोगहरूको मिक्स्ड इन्फेक्सन भएको प्रारम्भिक जानकारी दिएको सुनाए । उनी भन्छन्, ‘हामी निरन्तर चिकित्सकहरूसँग परामर्श गरिरहेका छौँ । राय सुझाव लिइरहेका छौँ । डेंगुसँगै अन्य भाइरसहरू मिसिएको भन्ने उहाँहरूले प्रारम्भिक जानकारी दिनुभएको छ ।’

त्यही आधारमा इडिसिडिले सेरोटाइपिङको अध्ययन अनुसन्धान गर्दा जसलाई डेंगुका लक्षण देखिएर परीक्षण गर्दा नतिजा नेगेटिभ आएका ती नमुनाहरूमा चिकुनगुनिया, जिका भाइरसको अध्ययन तथा अनुसन्धान गर्ने तयारी भइरहेको उनले सुनाए ।

डेंगुको जस्तो लक्षण देखिएका र नेगेटिभ नतिजा आएका नमुनाहरूमा चिकुनगुनिया, जिका भाइरस परीक्षणका गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छलफल चलाइरहेको उनले बताए । यस अध्ययनले डेंगुको लक्षण देखिदा परीक्षण गरिएको नतिजा नेगेटिभ किन भन्ने कुरालाई थाहा पाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । यस्तै इडिसिडिले कति वटा नमुना परीक्षण गर्दा कतिमा डेंगु पुष्टि भन्ने थाहा पाउन आँकडा केलाइरहेको उनले बताए ।

परीक्षण उपचार गराउने बिरामी बढ्दै

काठमाडौँ उपत्यकाका डेंगु सङ्क्रमितको दर ह्वात्तै बढेको छ । उपत्यका अस्पतालहरूमा डेंगुको परीक्षण तथा उपचार गराउने बिरामी बढेको अस्पतालहरूले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई सातायता ओपिडीमा दैनिक १२० जनाभन्दा बढी बिरामी पुग्नेछन् । जसमा दैनिक १५ भर्ना हुने गर्छन् । अस्पतालको आकस्मिक कक्षमा आउने बिरामीलाई उपचारका लागि बेड समेत थपिएको छ ।

उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तीन दिनयता डेंगुका बिरामी ह्वात्तै बढेको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार तीन दिनयता दैनिक १५० देखि १६० जना डेंगुका बिरामी परीक्षण तथा उपचारका लागि पुग्ने गर्छन् । हाल पाटन अस्पतालमा १५ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै, पाटनमा मात्रै साउन महिनायता ११ सय ८० जना डेंगु बिरामीलाई उपचार गरिएको उनले बताए ।

यस्तै, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले डेंगुका बिरामी बढेपछि फिभर क्लिनिक सञ्चालन गरेको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाका अनुसार डेंगु परीक्षण र उपचार गराउने बिरामी दर बढ्न थालेपछि अस्पतालले डेंगु वार्ड नै सञ्चालन गर्ने तयारी गरिएको छ ।

अस्पतालमा आकस्मिक उपचार कक्षमा डेंगुका बिरामी मात्रै ३९  उपचाररत छन् भने ३० जना बिरामी भर्ना भएको उपसचिव सापकोटाले बताए ।

उता त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’ मा पनि ज्वरो आएर अस्पतालमा डेंगु परीक्षण गर्न पुग्ने दर बढेको छ ।  अस्पतालले ज्वरो आएर परीक्षण गर्न आउनेको १००  जना भन्दा बढी हुने बताए । हाल अस्पतालमा डेंगुका १५ जना बिरामी भर्ना भएको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । उनले अस्पतालका डाक्टर नर्स गरी १० जना डेंगु सङ्क्रमित भएको सुनाए ।

निर्देशक शाक्यले तीन दिनयता डेंगुका लक्षण देखिएर अस्पताल उपचार गराउन आउने दर ह्वात्तै बढेको बताए । अस्पतालमा डेंगुको भई उपचार गराउन आएका मध्ये रगतमा सेतो मात्रा कम भएका र प्रेसर  कम भएकालाई मात्रै अस्पताल भर्ना गर्ने गरिएको चिकित्सकहरू बताउँछन् । लक्षण देखिएका अधिकांशलाई घर मै पठाइने गरेका निर्देशक शाक्य बताउँछन् । 

डेंगु भाइरस सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा डेंगु देखिँदै । देखिएपनि सामान्य खालका लक्षणहरू देखिन्छ । नेपालमा गएको १० महिनामा ५ हजार २९ जना डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका लक्षण देखिने गर्छ । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको सिभिल अस्पतालका उपसचिव सापकोटाले बताए ।

अस्पतालहरूमा डेंगुको जस्तै लक्षण देखिने तर, परीक्षण गर्दा डेंगु नेगेटिभ आउने गरेको चिकित्सकहरू बताउँछन् । काठमाडौँ उपत्यका काठमाडौँ,भक्तपुर,ललितपुरमा गरी २ हजार ८१९ केस पुष्टि भएको छ । यद्यपि ललितपुर जिल्लामा ललितपुर जिल्लामा मात्रै गएको १० महिनायता १८ सय ३२ केस पुष्टि भएको छ ।

कुन प्रदेशमा सङ्क्रमित बढी

काठमाडौँ उपत्यका मात्रै नभएर सात प्रदेशमध्ये बाग्मती प्रदेशमा डेंगुका बिरामी ह्वात्तै बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तंथ्याकले देखाएको छ । बागमती प्रदेशमा मात्रै ३७ सय २७ जनामा डेंगु पुष्टि भएको छ । ललितपुर जिल्लामा मात्रै  १८ सय ३२ केस पुष्टि भएको छ ।  काठमाडौँ ८८८, मकवानपुर ५९८ केस, रुपन्देहीमा ४३९ केस धादिङ १११ जनामा डेंगु पुष्टि भएको छ । बाँकी जिल्लामा एक भन्दा कम डेंगु सङ्क्रमित रहेको पाइएको छ ।

डेंगु सङ्क्रमित सबैभन्दा बढी बाग्मती प्रदेशमा भएझैँ हालसम्म सबैभन्दा कम कर्णाली प्रदेशमा ३६ जना सङ्क्रमित भएको पाइएको छ । यस्तै, मधेस प्रदेशमा ७५, सुदूरपश्मिमा ९५,गण्डकी १०१,  प्रदेश नम्बर १ मा २२१, लुम्बिनी प्रदेशमा ७७० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

 नेपालमा गएको पुस महिनादेखि ७५ जिल्लामा डेंगु पुष्टि भएको छ । १० महिनाको अवधिमा ५ हजार २९ केस पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य  शाखाका प्रमुख डा.  दाहालले बताए । सन् २००४ देखि हालसम्म नेपाल ३० हजार ९९६ वटा केस देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप