शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी युरोपी मुलुकमा पुगिरहेका छन्, विपन्न मुलुकले केही पाइरहेका छैनन्–पुटिन

बिहीबार, २३ भदौ २०७९, १९ : १४
बिहीबार, २३ भदौ २०७९

विश्वव्यापी खाद्यान्न संकट सहज बनाउनको लागि संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा युक्रेनी बन्दरगाहबाट ढुवानी खुलाइएका अन्नहरु सबै नै धनी युरोपेली मुलुक पुगिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् ।

पुटिनले बुधबार खाद्यान्नको खास आवश्यक महसुस गरिरहेका विपन्न मुलुकलाई बेवास्ता गरेर धनी मुलुकले युक्रेनी अन्नमा हाली–मुहाली गरिरहेको पनि बताए । ‘युक्रेनबाट निर्यात भएको सबै खाद्यान्नहरू युरोपेली संघका मुलुकमा गइरहेको छ, विपन्न विकासोन्मुख मुलुक होइन ,’ भ्लादिभोस्तोकस्थित प्रशान्त सागरमा रहेको रुसी बन्दगाहमा आयोजित आर्थिक फोरममा पुटिनले भने । 

तर युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले भने पुटिनको आरोप खण्डन गरे । ‘युक्रेनी अन्नको दुई तिहाई ढुवानी एशिया, अफ्रिका र मध्यपूर्व गएका छन् । युक्रेनी अन्न युरोप मात्र गएको छ भन्ने रुसी भनाई यथार्थसँग मेल खाँदैन,’ कुलेबाले भने । संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा खाद्यान्न कोरिडोर बनेदेखि यता विश्वव्यापी खाद्यान्नको मुल्यमा परेको दबाब कम भएको पनि उनले दाबी गरे । कुबेलाले गहुँको मुल्य मात्रै अगष्ट महिनामा कम्तिमा पाँच प्रतिशतले घटेको दाबी गरे । 

तर पुटिनले भने युरोपेली मुलुकले औपनिवेशिक शासकजस्तो व्यवहार देखाएर विकासोन्मुख मुलुकलाई अन्न नदिएको दाबी गरे । ‘यस्तो प्रवृत्तिले विश्वको खाद्यान्न समस्या झन् बढ्छ मात्रै,’ पुटिनले भने ।
‘खाद्यान्न तथा अन्य उत्पादनको निर्यात सिमित गर्नेबारे सोच्नुपर्ने बेला भएको हो त ?’ पुटिनको प्रश्न थियो । जुलाईमा सम्पन्न खाद्यान्न रुट खोल्ने सहमतिको अनुगमन गर्ने इस्तानबुलस्थित एक संयुक्त केन्द्रको तथ्यांकले भने कुल खाद्यान्नको एक तिहाई मात्र युरोप गएको देखाएको छ । 

झण्डै ३० प्रतिशत खाद्यान्न विश्वका न्युन तथा न्युनमध्यम आयुक्त मुलुकले पाएको पनि तथ्यांकले देखाउँछ । ‘यस विषयमा रुसी भनाई यथार्थपरक छैन । सम्भवत पछिल्ला दिनमा युक्रेनी आक्रमणले रुसीहरुलाई असर गरिरहेको र युरोपेले पनि दबाब सिर्जना गरिरहको स्थितिमा उनीहरुले जवाफी क्षति पु¥याउनेबारे सोचिरहेका छन्,’ इस्तानबुल आयदिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तरिका ओगुज्लुले भने । 

युक्रेन र रुस गहुँ र अन्य अन्नका विश्वका सबैभन्दा ठूला निर्यातक मुलुक हुन् । युक्रेनमा युद्ध सुरु भएयताका ६ महिनामा मस्को र कियभबीच युक्रेनी बन्दरगाहमा फसेका अन्न निकाल्न सुरक्षित मार्ग बनाउने सहमती मात्र दुई मुलुकबीच भएको एक मात्र सहमती हो । जुलाईमा भएको सम्झौता १२० दिनको लागि मात्र हो । मिति थप्न मस्को र कियभ दुवैको सहमती आवश्यक पर्छ । तर मस्कोले पछिल्लो समय सहमतिबारे गुनासो व्यक्त गर्न थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप