सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कथा : पूर्णविराम

शनिबार, २५ भदौ २०७९, ०७ : २३
शनिबार, २५ भदौ २०७९

उसको टाउको जोडले दुखिराखेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ छ । शरीरको मात्र बिरामी भए डाक्टरहरूले निको पार्न सक्थे होलान् । तर मनको बिरामी निको पार्ने खै कहाँ छ र ठाउँ ? अनि कुन छ औषधि ? यदि पाउने भए ऊ घिस्रँदै जान्थी होली । तर उसलाई थाहा छैन । बरु उसलाई उसको विगतले घिसार्दै पुर्याउँछ आफ्नो गाउँ इलाममा । 

जनयुद्धले देश जर्जर भएको बेला थियो । बन्दव्यापार केही थिएन । युवामाझ छापामार हुनुपर्ने त्रासले दिनरात सताइरहन्थ्यो । उसको भर्खर प्रदीपसँग विहे भएको थियो । गाउँघरमा माओवादी जनयुद्ध नयाँ नयाँ सन्त्रास फैलाइरहेको हुन्थ्यो । कहिले आक्रमणको हल्ला, कहिले चन्दाको आतंक कहिले अपहरणको हल्ला । गाउँघरमा सबैभन्दा बढी युवालाई बस्न कठिन भएको थियो । 

उसको सासूससुरालाई आफ्नोभन्दा बढी लाउँ लाउँ खाउँ खाउँ भएको भर्खर बिहे भएको छोराबुहारीको पीर थियो । सासूससुराको सल्लाहअनुसार दुवैजना काठमाडौं आएर व्यवसाय गर्ने सल्लाह भयो । सासूससुराले केही रकम व्यवसाय गर्न दिएपछि प्रदीप र सिर्जना दुवै काठमाडौँ आए । 

एकछिनमा मोबाइलमा घण्टी बज्छ । 

“हेलो, सिर्जना ।” 

“हलो आरती दिदी ।”

“तिमीलाई कस्तो छ ?”

 “ठीक भइसकेको छैन ।” 

“हेर न आज फेरि एउटा डिमान्ड छ, तिमी बिरामी छौ । सङ्गीता र रोजी पनि पोखरा गएका छन् । तिमी जान सक्छौ कि ?”

“हुन्न हुन्न दिदी, म जान सक्दिनँ । अरू कसैलाइ पठाउनू ।”

यति भनिसकेर उसले मोबाइल अफ गरी ।

उसलाई आरती दिदीसँग भित्रदेखि नै रिस उठेर आयो । यो सब घटनाको प्रेरणास्रोत तिनै थिइन् । तिनीसँग भेट नभएको भए आज उनले यो दिन देख्नुपर्ने थिएन । तर आरती दिदीप्रतिको आक्रोश ऊ कतै व्यक्त गर्न सक्दिनथी । ऊ कुण्ठित मन लिएर पश्चातापको आगोमा जलिरही । उसको जलन धुवाँ धुवाँ भएर स्मृतिको आकाशमा यसरी फैलन थाल्यो । 

पहिला पहिला मोबाइको घन्टी बज्ने गर्दथ्यो । ऊ उठाउँथी । 

“हेलो सिर्जना ।” 

“हेलो आरती दिदी ।”

“अँ हेर न आज तिमीले होटल र्याडिसनमा जानुपर्ने भएको छ ।” 

उसले कतिचोटि भनिसकेकी थिई आरती दिदीलाई, अब ऊ यो पेशा गर्दिन भनेर । तर आरती दिदीले पटक्कै मानेकी हैनन्, “हेर सिर्जना, मिस्टर यादव र उसका साथीहरूको माग तिमी नै छौ । अरूको नाम लिँदा उनीहरू नाक खुम्च्याउँछन् ।  तिम्रो नाम लिनेबित्तिकै उनीहरू खुसी हुन्छन् । जाउ न आज एक पल्टलाई ।”

यसो गर्दा गर्दै ऊ लाचार भएर यो पेसा छोड्न सकेकी थिइन । यो पेसामा लाग्नाले नै आज उसले यो हविगत भोग्नु परिरहेछ । उसले दुई दिन अगाडि ठूलो दुर्घटना बेहोर्नुपरेको थियो । 

त्यसैले उसको मन भारी छ, तन भारी छ ।  त्यो भारी बिसाउने यत्रो संसारमा उसले कतै ठाउँ भेटेकी छैन । ‘वन डढेको सबै देख्छन् तर मन डढेको कोही देख्दैन,’ भनेको यही रहेछ । हुन त उसको वन नै डढेको भए पनि देख्नेवाला कोही थिएनन् । आफ्नै लोग्नेले यत्रो नाटक गरेर उसको जीवनको पर्दा नै च्यातिदिएपछि अरू कुरा के नै बाँकी रहयो र ? यो नाटकको पात्र को को थिए ? नाटक कसरी रिहर्सल भयो ? उसले केही थाहा पाउन सकिन । उसलाई मात्र यो थाहा छ, यो नाटकको प्रमुख पात्र उसको लोग्ने हो र यो नाटक वियोगान्त हो । 

गाउँबाट काठमाडौं आएपछि उसको लोग्ने र ऊ भएर जुत्तापसल खोलेका थिए । नयाँ ठाउँमा बजार भाउ बुझ्न नसक्दा, व्यवसायको अनुभव पनि नबटुलेको उनीहरूलाई पसल चलाउन हम्मे हम्मे भयो । दिनप्रतिदिन पसल घाटामा जान थाल्यो । अब अन्य विकल्प केही थिएन । युवाहरू विदेसिने भाइरल रोगले उसको लोग्नेलाई पनि छोयो । जेनतेन ऋण काढेर उसको लोग्ने अरब गयो । अब सिर्जना एक्ली भई । हावा खाँदा पनि पैसा तिर्नुपर्ने काठमाडौंमा सिर्जनालाई बाँच्न धौ धौ भयो । त्यसपछि उसले आफूलाई जीवित राख्न डिपार्टमेन्ट स्टोरमा काम गर्न थाली । 

एक दिन अचानक डिपार्टमेन्ट स्टोरमा एउटा घटना घट्यो । उसले सामान राम्रोसँग मिलाएर नराखेको भनी साहूले निकै झपार्यो । त्यही बेला डिपार्टमेन्टमा सामान किन्न आएकी ग्राहक आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले यो सब देखिरहेकी थिइन् । उनले बोलाएर सोधिन्, “तिमी अन्त काम गछौँ ?” उसले सजिलै भनिदिएकी थिई ‘गर्छु’ ।  

त्यसपछि आरती दिदीले फोन गर्न उसलाई भिजिटिङ्ग कार्ड छोडिदिएकी थिइन् । यसरी आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले नै उसलाई खान, बस्नका लागि कोठा मिलाइदिएकी थिइन् । ऊ आरती दिदीसँग होटलतिर घुम्न र रमाउन थाली । राम्रा राम्रा लुगा, मीठो मीठो खानेकुरामा नशा बस्दै गयो । 

वास्तवमा जीवन पनि त एउटा नशा नै त हो नि । नशा लागेको बेला मानिसले के के गर्छ, उसैलाई होश हुँदैन रहेछ । अहिले ऊ सोच्दै छे, नशा लागेको कुन बेला उसले यो पेसा अपनाइ, उसलाई पत्तै भएन । 

पहिलो दिन आरती दिदीले उसलाई तीन हजार हातमा राखिदिँदै भनेकी थिइन्, “लौ हेर सिर्जना । तिमीले डिपार्टमेन्टमा काम गर्दा महिना दिनको तलब एकैपल्टमा । फेरि फाल्टो टिप्स अनि फाइभ स्टार होटलको खाना, खाऊ मोज गर ।” 

उसले ती नोट हातमा लिएर निकैबेर हेरिरही । हजारको नोट यसरी हातमा नपरेको धेरै भइसकेको थियो उसको । अहिले आरती दिदीको पैसामा नै खाने, बस्ने र घुम्ने गरिरहेकी थिई । उसको लोग्नेले कमाएको पैसा सीधै साहूलाई पठाउँथ्यो, जहाँबाट उसले ऋण लिएको थियो । 

उसले कसरी गुजारा गरिरहेकी छे भनेर घरकाले कहिल्यै सोधेनन् भने लोग्नेले पनि कुनै चासो नै राखेन । ऊ सोच्दथी माइतकाले त ‘पाले पुण्य मारे पाप’ भनेर जिम्मा लगाएका उसलाई घरकाले त पक्कै सोध्नुपर्ने हो नि ! सिर्जना काठमाडौंको ठाउँमा के गरी बाँचेकी छौ ? भनेर । 

तर प्रश्नको ठेलीबाट उठेको उत्तरको पहाडले आफैँलाई किच्ला भन्ने डरले कसैले सोधेनन् । त्यो अभाव र गरिबीको पहाड आफैँले बोक्ने निर्णय गरी उसले । त्यसैले उसले आफूलाई निरीह बनाई, कसैको अगाडि हात फैलाउन चाहिन । 

अहिले उसलाई निकै गाह्रो भइरहेको थियो, ती कागतका नोट समाउन । लाग्थ्यो, ती कागतका नोट होइन, उसको जीवन तवाह गर्ने बम हुन् । त्यसैले ऊ उचाल्न सकिरहेकी छैन । त्यही बेला उसको कानमा आरती दिदीको उच्च स्वर बम पड्केझैँ गरी पड्किन पुग्यो, “आनाकानी होइन अब, यो कोठाको भाडा, खाने व्यवस्था तिमी आफैँले मिलाउनुपर्छ । हेर काठमाडौंको ठाउँमा बाँच्न सजिलो छैन ।”

 ऊ झसङ्ग भएर झस्की । आरती दिदीप्रतिको कृतज्ञताले उसले केही बोल्न सकिन । उसले केही बोल्न खोजी तर बोल्नलाई वाक्य नै अनशन बसेझै लाग्यो उसलाई । ऊ आरती दिदीप्रति यति अनुग्रहित थिई कि उसले आरतीलाई नकारात्मक शब्द बोल्नु अघि आफ्नो धड्कन छाम्नु पर्दथ्यो । त्यो वाक्यले कतै चलिरहेको धड्कन बन्द हुने हो कि भनेर सयौँ पटक सोच्नु पर्दथ्यो । 

साँच्चै हो, काठमाडौंको ठाउँमा बाँच्न सजिलो छैन । पाइलाभन्दा अघि पैसा दौडिसक्छ । पैसा छैन भने शरीर मूर्तिवत् हुन्छ अनि जड भइदिन्छ जीवन । अनि कसरी चलायमान हुन्छ जीवन ? साँच्चै ती हजार हजारका नोटले उसको जीवन चलायमान बनाउन थाल्यो । चलायमान मात्र होइन, नयाँ नयाँ स्वाद र रङ्गीन दिनहरूमा दिन उड्न थाले । 

सुरु सुरुमा उसलाई निकै गाह्रो भयो । मध्यमवर्गीय परिवारमा हुर्केकी ऊ समाजमा एक प्रकारको सम्मानित जीवन थियो उसको । ऊ आफ्नो इज्जत, सम्मानका साथ बाँचेकी थिई । 

पहिलो दिन एक्कासि परपुरुषको अगाडि नाङ्गिनु पर्दा निकै ‘नर्भस’ भएकी थिई ऊ । तर उसको यो सौभाग्य थियो कि पहिलो ग्राहक बौद्धिक स्तरको निकै परिपक्व व्यक्ति थियो । उसले सिर्जनासँग उसको मनोविज्ञान बुझेर भावनात्मक सम्बन्ध राख्यो । 

उसले सिर्जनाको अगाडि आफूलाई अलिकति खोलिदियो, जसले गर्दा सिर्जनाबाट विश्वास र सहानुभूति पाउन उसलाई खासै गाह्रो भएन । सिर्जनालाई उसले आफूप्रति आकर्षित गरेको थियो । ऊ स्वास्नी विदेश गएकी गैरसरकारी संस्थामा कम गर्ने अधबैंसे पुरुष थियो ।  उसले सिर्जनामा आफ्नो छाप यसरी छोडेको थियो कि घर फर्केपछि पनि सिर्जना उसैको कुरा सम्झिरहेकी थिई । 

पहिलो भेटमा उसले सिर्जनालाई कुनै शारीरिक स्पर्श गरेको थिएन, मात्र आफ्ना बारेमा केही कुरा सुनाएको थियो र प्रशस्त जोक्सहरू सुनाएको थियो । पहिलो दिन डर उसको तिनै जोक्समा हाँसोसँगै उडेको थियो ।  त्यसपछि सिर्जना आफैँ ऊप्रति तानिँदै गई । 

उसलाई भेटेर आएको पहिलो दिन उसलाई सहि नसक्नुभएको थियो । भित्र कतै आगो बलेजस्तो ऊ रातभर सुत्न सकेकी थिइन । उसले आगो कम गर्न उत्तेजित भिडियोका रिमिक्स गीत हेरेर रात बिताएकी थिई । लोग्नेले छोडेर गएका डेढ वर्षमा कतिपय रात उसले यसरी नै बिताएकी थिई । 

भोलिपल्ट उही पुरुषले बोलाओस् भन्ने उसले चाहेकी थिई । नभन्दै उसले नै सिर्जनालाई फोन गर्यो । सिर्जनाको शरीरभरि अतृप्त यौनले विष फैलाइसकेको थियो । अब उसले आफूलाई तृप्तिको अग्निमा होमिदिने विचार गरी । यही सोच बनाएर ऊ अधबैंसेलाई भेट्न होटलमा गई । ऊ आफू पनि केही पढेलेखेको भएर होला, ग्राहकसँग डिल गर्ने तरिका सिक्दै थिई । उक्त अधबैंसेलाई स्त्रीलाई रिझाउने कला निकै आउँथ्यो । सायद ऊ यस कुरामा पोख्त थियो । त्यसैले पनि पहिलो भेटमा नै उसले सिर्जनाको खुटटादेखि लिएर शिरसम्म प्रशंसाको बाढीले पुरेको थियो ।  

आज पनि उसले पहिलो भेटमा नै सिर्जनाको सकुन्जेल र भ्याएसम्म प्रशंसा गयो । सिर्जना रोमाञ्चकताको वायुयानमा उडान भरिरहेकी थिई । उसका अङ्ग सिरिङ्ग सिरिङ्ग गर्दै थिए । यस्तो अनुभूति उसले आफ्नो लोग्नेबाट पनि पाएकी थिइन । ऊ आफ्नो अतृप्त यौनाकाङ्क्षा उही अधबैँसेबाट तृप्त पार्न चाहन्थी । ऊ आफ्नो शरीर सुम्पन आतुर थिई । 

कुन बेला उक्त पुरुषले आफूलाई यौनका लागि आमन्त्रण गर्ला भनेर प्रतीक्षामा अधीर थिई । कुन बेला आफ्ना शाक्तिकुण्डलाई उसका अग्निजस्ता ब्रह्मास्त्र प्रहार गरी शान्त पार्ला भन्ने आकाङ्क्षामा थिई । केही छिनको वार्तालापपछि उक्त पुरुषले उसका मुलायम हातहरू समाएर मुसार्न थाल्यो । यसो गर्दा उसको शरीरमा हजारौँ भोल्टको विद्युत उर्जा उत्पन्न भएझैँ लाग्यो । त्यसपछि उसले आफूलाई थाम्न सकिन । स्वयम् नै अधबैंसेको गलामा कस्सिएर बेरिइसकेकी थिई । 

अधबैंशेलाई के चाहियो र ऊ त यही समयको प्रतीक्षामा थियो । उसका औँलाहरू सिर्जनाका प्रत्येक अङ्ग अङ्गमा सल्बलाउन थाल्यो । ठूलो बाढी थामेर बसेको बाँध अहिले भत्केको थियो । केही समयको अस्त व्यस्ततापछि सिर्जनाले ठूलो तृप्ती पाएको महसुस गरी । यसरी उसलाई अधबैंशसँगको अनुभूतिले आनन्दको शिखर चढाएको थियो । 

त्यसपछिका कतिपय घटनाले उसले यस्तो अनुभूति पाउन सकेकी थिइन । त्यसबेला आफू बेचिनु परेको भान हुन्थ्यो उसलाई र साह्रै नरमाइलो लाग्दथ्यो । तर पनि ऊ पेसेवर नभएकी हुनाले ग्राहकसँग एउटा समझदारी हुन्थ्यो, जसले गर्दा उसलाई बेचिएको होइन, बरु आफूले आत्मसन्तुष्टि लिइरहेको महसुस गर्ने गर्दथी । त्यसैले पनि ऊसँग आउने ग्राहकले पनि ऊबाट भरपुर आन्नद लिन्थे । त्यसैले पनि उसको डिमान्ड बढी हुने गर्दथ्यो । ऊ विभिन्न किसिमको ग्राहकसँग यौनको नयाँ नयाँ स्वाद लिँदै गई । 

उसले सोचेकी थिई केही दिनको कुरा हो, सब ठीक भइहाल्छ । प्रदीप आउन्जेल सब ठीक हुनेछ । यसरी ऊ दलदलमा फस्दै गई । न त उसलाई समय उडेको पत्तो भयो, न त उसको जीवनले कुनै नौलो नियतिको खेल खेल्दैछ भन्ने महसुस भयो । बस ऊ जीवनको रङ्गमा प्रत्येक दिन होली खेल्दै गई, त्यसमा पनि नयाँ नयाँ चोली फेर्दैै । 

विभिन्न किसिमको ग्राहकसँग डिल गर्ने क्रममा  एकपल्ट उसले अनौठो ग्राहक भेटाएकी थिई । उक्त ग्राहक मात्र छव्वीस–सत्ताइस वर्षको लाग्दथ्यो । उसले उसलाई नगरकोटको एउटा रिसोर्टमा लगेको थियो । सिर्जनाले भनेजति पैसा उसले चुक्ता गरिसकेको थियो । ऊ सिर्जनासँग धेरै बोल्न चाहेको थिएन । किन हो सिर्जनालाई यो कुराले अचम्म लागेको थियो । धेरै समय खाने र केही समय औपचारिक गफ गर्नेमा बितेको थियो । 

अन्त्यमा उसले एउटा प्रस्ताव राख्यो, त्यो थियो सिर्जनाको नग्न शरीर हेर्ने । यो कुरा सिर्जनालाई कुनै प्रधानमन्त्रीको चुनाव थिएन, यो अति सजिलो थियो । त्यसै पनि परपुरुषको अगाडि नाङ्गिनु मात्र नभई यौनप्यास बुझाउनुपर्ने पेसामा यो कुनै गाह्रो  थिएन । तर सिर्जनालाई यो कुरा निकै रहस्यमय लागिरहेको थियो । अहिलेसम्म उसले यस्तो ग्राहक भेटेकी थिइन । प्रायः सबै यौनका लागि कामातुर मात्र भेटेकी थिई । तर यो सजिलो काम पनि उसलाई निकै गाह्रो लागिरहेको थियो । 

त्यो के थियो भने उसको दाहिने छातीमा रहेको कालो कोठी कसरी लुकाउने भनेर उसलाई ठूलो समस्या परेको थियो । प्रायः ऊ त्यो कोठी लुकाउने गर्दथी । यौनउन्मादमा आतुर रहेका ग्राहकहरू त्यो कोठीको खासै चासो पनि राख्दैनथे । तर उक्त पुरुषले किन आफ्नो नग्न शरीर हेर्न खोज्यो, यो उसलाई निकै रहस्यमय लागेको थियो । एकातिर उक्त पुरुषले आफूले चुक्ता गर्नुपर्ने पैसा चुक्ता गरिसकेको हुनाले नदेखाउने कुरा नै हुँदैनथ्यो । 

उसले शरीरको सम्पूर्ण भाग देखाई तर दाहिने छातीको भने कपडाले छोपिरही । उक्त पुरुषले आफैँले आएर कपडा हटाएर हेर्यो । यस कुरालाई उसले नकार्न सकिन । पछि उसले खासै केही गरेन र केही भनेन पनि । मात्र यति भन्यो, ‘म स्त्रीको नग्न शरीरको चित्र बनाउँदैछु । त्यसैले तपाईंको शरीर हेर्न चाहेको हुँ । माफ गर्नु होला, मेरो कुनै अर्को उद्देश्य छैन,’ यति भनेर उसले घर फर्कने इच्छा व्यक्त गर्यो । 

घर आएपछि सिर्जनालाई कता कता यो घटनाले बिथोलिरह्यो । कतै यसमा कुनै षड्यन्त्र छ कि भनेर ऊ निकै गम्भीर बनेकी थिई । कतै उसैको श्रीमान्ले जासुसीको रूपमा उक्त व्यक्तिलाई पठाएको हो कि ? उसलाई निकै शङ्का लागेको थियो । यो कुराले उसको दिमागमा धेरै दिनसम्म भिलेनको रोल बनेर खेलिरह्यो । 

तर उसले आफ्नो सम्पूर्ण जीवन नै दाउमा लगाएर अपनाएकी पेसामा भिलेनलाई हराइदिई र त्यो तनावलाई पूर्ण रूपले दिमागबाट ‘डिलिट’ गरिदिई । उक्त घटनालाई उसले विस्मृतिको सागरमा लगेर अर्घ दिइसकेकी थिई र त्यो किनारा लागिसकेको थियो । तर यस घटनाले भित्रभित्रै आफ्नो जाल फिजाइसकेको उसले थाहा पाउनै सकिन । अब त्यो रहस्यमय घटनाका रहस्यहरू बिस्तारै पर्दामा देखिन तम्तयार थिए । उसका रहस्यका पर्दाहरू यसरी उघ्रेका थिए  ।

अस्ति भर्खरको कुरा थियो । 

आरती दिदीले फोन गरिन्, “सिर्जना तिमी भ्यू एन्ड हाइटमा जानुपर्छ । कोठा नम्बर १०२ हो ।”

सिर्जनालाई लागेको थियो, भनिदिऊ, “दिदी, अब म यो पेसा छोडिदिन्छु । प्रदीप पनि आउँदैछ । अरू कसैलाई पठाइदिनुहोस् । आफ्नो मान्छेहरूले पनि चियोचर्चा गर्न थालेका छन् ।” 

तर उसका मुखबाट यी कुरा निस्कन नपाउँदै आरती दिदी कड्केर बोलिन्, “ल तिमी छिटै जाऊ । अबेर नगरीकन । मिस्टर यादवको मिल्ने साथी हो । उसले तिमीलाई नै उताबाट फोन गरेर विशेष अफर गरेको छ । बरु ढिला नगरी जाऊ, अनि अलिक सिँगारिनु । उसलाई केटीहरूले कालो साडी लगाएको मन पर्छ, सेक्सी लाग्छ रे ।” 

सिर्जनाले मोबाइलमा एकोहोरो सुनिरही । उसले आरती दिदीको कुरा काट्न सकेकी  थिइन । उसले सोची आजको दिन उसको यो पेसाको लागि अन्तिम दिन हुनेछ । त्यसपछि ऊ भूमिगत हुनेछे, कसैले थाहा नपाउने गरी । 

उसले अर्कै ठाउँमा डेरा खोजिसकेकी थिई । अब आउने महिनाको सुरुमा ऊ नयाँ डेरामा, नयाँ मोबाइल लिएर नयाँ विचार, नयाँ पाइलाका साथ प्रदीपसँग नयाँ जीवन बाँच्नेछे । तर किन होला प्रदीपले धेरै दिनदेखि फोन गरेको पनि थिएन । ऊ आउने खबर पनि उसले उसका साथीहरूमार्फत् थाहा पाएकी थिई । कतै प्रदीपले यो सब थाहा पाइसकेको छ कि ? ऊ कहिलेकाहीँ झस्कन्थी । तर उनीहरूका सबै काम गोप्य हुने हुनाले थाहा पाउने कुरा नै हुन सक्दैनथ्यो । त्यसैले ऊ निर्धक्क आफ्नो दैनिकी चलाइरहेकी थिई । 

अहिले पनि ऊ आफू पूूर्णत विश्वस्त भएर तयार हुन थाली । 

उसले कालो जापनिज सिफनको साडीमा हल्का बुट्टा भएको रोजी । साडीमा मिल्ने ब्लाउज लगाई ।  वास्तवमा नै ऊ साडीमा निकै सेक्सी देखिन्थी ।  मेकअप आफ्नै किसिमले गरेकी थिई । आँखामा आइलाइनर, सानो टीका, ओठमा लिपलाइनर अनि लिपिस्टिक, घाँटीमा सानो मोतीको माला अनि साडीसँग मिल्ने सैन्डिल र ब्याग । उसको छनोट प्रक्रियाले पूर्णविराम पाएपछि ऊ कोठाबाट बाहिर निस्की । 

टयाक्सीमा होटल भ्यू एन्ड हाइट पुग्न उसलार्ई कत्ति समय पनि लागेन । रुम नम्बर १०२ उसलाई कण्ठ थियो । ऊ सीधै रुम नम्बर १०२ मा पुगी । स्विच थिची । ढोका खोलिएपछि ऊ हेरेको हेर्‍यै भई । अगाडि उसको आफ्नै लोग्ने थियो । ऊ बेहोश भएर भुइँमा लडी । त्यसपछि उसले आफूलाई अस्पतालको बेडमा पाएकी थिई । 

अहिले उसको टाउको दुख्नाको कारण त्यही थियो । ऊ दलदलमा भासिएकी थिई । उसलाई लागिरहेको थियो । अब यो दलदलबाट बाहिर निस्कन उसले अर्को जन्म लिनु पर्नेछ । अहिले उसको जीवनमा विराम मात्र होइन, पूर्णविराम नै लागिसकेको छ । 

क्यानभासमा कोरिएका कथाहरुबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप