शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘ट्रयाक चेन्ज’ पछि युवा स्वरोजगार कोषः खराब कर्जा घट्दै, ऋण लगानी बढ्दै

मङ्गलबार, ०४ पुस २०७४, ०९ : ५४
मङ्गलबार, ०४ पुस २०७४


काठमाडौँ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको साल २०६५ मा युवाहरुलाई स्वरोजगार, उद्यमी तथा स्वावलम्वी बनाउनका लागि शुरु गरिएको ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ले शुरुका चार वर्ष आशातित सफतला प्राप्त गर्न सकेन । 

स्वावलम्बी बन्नका लागि युवाहरुलाई बिना धितो सस्तो व्याजदरमा रु. २ लाखसम्म ऋण उपलब्ध गराउने अभिप्रायबाट सञ्चालित कार्यक्रमले धेरै युवामा आशा पलाएको थियो । तर युवाको लागि सञ्चालित कार्यक्रमबाट लक्षित युवाहरु लाभान्वित हुन सकेनन् । सीप र इच्छाशक्ति भएका तर आर्थिक अभावमा रहेका युवाहरुले उद्यमी बनाउने मनशायले ल्याइएको कार्यक्रमबाट युवाहरुले भन्दा पहुँच हुनेहरुले लाभ लिए । कृषि तथा व्यवसाय मार्फत उपार्जनको लागि विपन्न युवाहरुको हातमा रकम पुग्न सकेन । पहुँचवालाले विना धितो प्राप्त गरेको ऋणलाई फरक प्रयोजनमा खर्च गरे । यसले कोषको खराब कर्जा पनि बढ्दै गयो । २०६९ सम्म आइपुग्दा कोषको खराब कर्जा रु.६५ करोड पुग्यो । उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन नहुनाले वार्षिक ५० हजार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य नै धरापमा परेको थियो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ‘ट्रयाक चेन्ज’
लक्षित वर्गमा विना धितोको कर्जा प्रवाह नहुनु तथा खराब कर्जा बढेपछि युवा स्वरोजगार कोषले २०६९ मा आफ्नो बाटो परिवर्तन गर्यो । विपन्न वर्गका युवाहरुलाई कर्जा प्रवाह गर्नका लागि सहकारीहरुको माध्यमबाट  ऋण उपलब्ध गराउने फरक बाटो तय गरिएको थियो । सहकारीहरु मार्फत युवाहरुलाई उपलब्ध गराउने प्रणाली शुरु गरिएपछि ४७ हजार युवाहरु लाभान्वित भएको कोषकी सूचना अधिकारी सम्झना वाग्ले भट्टराईले जानकारी गराइन् । कोषले देशभरका ६२५ सहकारीहरु मार्फत युवाहरुमा पुगिरहेको जनाएको छ । आर्थीक वर्ष २०७३÷०७४ मा २४ करोड कर्जा प्रवाह गरिएको कोषले जनाएको छ ।  सहकारीहरुका लागि आवेदन माग गरेपछि कोषले आवेदक सहकारीको विगतको वित्तीय अवस्था हेर्ने गर्दछ । कोषले बनाएको मापदण्डमा आवेदक सहकारीले बार्षिक साधारण सभा नियमित गरेको हुनुपर्दछ । साथै पछिल्ला दुई वर्षमा नाफामा गएको सहकारी संस्था मात्रै कोष मार्फत ऋण लिन योग्य हुन्छ । 

कोषले व्यक्ति तथा समुहलाई ऋण भने नदिने जनाएको छ । सहकारीको सम्पर्कमा स्थानीय समुह तथा व्यक्तिहरुको नजिकको सम्वन्ध हुनाले कोषको रकम सहकारी मार्फत प्रवाह गरिएको भट्टराईले स्पष्ट पारिन् । आर्थिक वर्ष २०६९÷०७० मा विपन्न वर्गका लागि छुट्याइएको तीन अर्ब ५२ करोडलाई रकमलाई नै कोषले हालसम्म परिचालन गरिरहेको छ । सहकारी मार्फत ऋण प्रवाह पश्चात रु.६५ करोडको खराब कर्जा झरेर रु.५६ करोडमा आइपुगेको कोषले जनाएको छ ।  

सहकारीलाई आफूखुसी ऋण प्रवाह गर्न अंकुश 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला संयोजन तथा अनुगमन समिती गठन गरिएको हुन्छ । सात सदस्यीय समितिमा युवा स्वरोजगार कोषको स्वयंसेवक पनि अनुगमनका लागि खटाइएको हुन्छ । आवेदक सहकारीले तोकिएको मापदण्ड पूरा गरेको अवस्थामा कोष मार्फत ऋण प्राप्त गर्दछ । कोषले ५ प्रतिशतमा प्रवाह गरेको ऋणलाई सहकारीहरुले दश प्रतिशत वार्षिक व्याजदरमा कर्जा उपलब्ध गराउनु पर्दछ । कथंकदाचित सहकारीले प्रवाह गरेको रकम खराब  कर्जामा परिणत भएको अवस्थामा पहिलो चरणमा सहकारी नै जवाफदेही हुनुपर्नेछ । सहकारीले १८ देखि ५० वर्ष समुहको व्यक्तिलाई कर्जा दिनुपर्दछ । सहकारीले ऋण प्रदान गर्दा धितो राख्न नपाइने पनि कोषले जनाएको छ ।

अनुगमनकर्ताले सम्वन्धित क्षेत्रमा गएर अवलोकन गरिसकेपछि सिफारिश गरिएको व्यवसायीलाई सहकारीले ऋण प्रदान गर्न सक्नेछन् । नगरपालिका, उपमहानगर तथा महानगर अवस्थित सहकारीहरुको शेयर संख्या भएको श्रेणीको आधारमा कोषले सहकारीहरुलाई रकम उपलब्ध गराउने गरेको छ । ४२ महिनाको अवधिमा सहकारीले कोषलाई चुक्ता गर्नुपर्ने हुन्छ । दुई चरणमा प्राप्त हुने ऋणका लागि सहकारीले आवश्यक मापदण्ड पूरा नगरेको भेटिएमा दोश्रो किस्ता कोषले रोक्ने गरेको छ । 

स्वरोजगार कोषको ऋण लिएका युवालाई थप लाभ

स्वरोजगार कोष मार्फत व्यक्तिलाई अधिकतम रु. दुई लाख उपलब्ध हुन्छ । स्वरोजगार कोषमार्फत लिइएको रकमको बीमा हुने हुँदा जोखिम अत्यन्तै न्युन रहेको भट्टराईले बताइन् । व्यवसाय र व्यवसायी दुबै पक्षको दुई लाख सम्मको बीमा गरिने कोषले जनाएको छ । दुबै पक्षको बीमा निःशुल्क रुपमा स्वरोजगार कोषले गर्ने व्यवस्था गरिएको छ ।

ऋण लिएर सञ्चालित कृषि ,पशुपालन जस्ता पेशाका  साथै सञ्चालकको पनि  बीमा गरिएको हुन्छ । असल ऋणी भएर निर्धारित समयमा ऋणको किस्ता चुक्ता गरेको अवस्थामा ६० प्रतिशत व्याज पुनः ऋणीलाई फिर्ता हुने गर्छ ।

कोषले नयाँ कार्यक्रम थप्दै 

आर्थिक वर्ष २०६९/०७० मा तिन अर्ब ५२ करोडबाट सहकारी मार्फत शुरु गरिएको कर्जा प्रवाह हाल पाँच अर्ब माथि पुगेको छ । ६२५ सहकारीलाई ऋण प्रवाह पश्चात् असुली गर्दा कोषमा रकम थपिदै गएको छ । 

रकम थपिएसँगै कोषले दुइ नयाँ ऋण योजना ल्याउने भएको छ । प्रत्येक स्थानीय तहमा एक करोड ऋण प्रदान गर्ने योजनामा रहेको सुचना अधिकारी भट्टराईले जानकारी गराईन् ।  व्यक्तिलाई धितो मार्फत पाँच लाख सम्म कर्जा प्रवाह गर्ने गरि कार्यक्रम छिट्टै सञ्चालनमा ल्याइने उनले जानकारी गराइन् । कोष हुँदै सहकारीमा पुगेको  रकमलाई युवाहरुले ऋण लिदा बढि समय लागेकोले कोष मार्फत नै ऋण प्रवाह गर्ने अर्को विकल्प पनि अघि ल्याइएको भट्टराईले बताइन् । यस प्रक्रियाबाट बढिमा तीस दिनमा युवाले ऋण प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप