रोग

के एक पटक भइसकेकालाई पटक–पटक डेंगु हुन सक्छ ?

person explore access_timeभदौ २८, २०७९ chat_bubble_outline0

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँछ कि ल्याउँदैन ? लगायत चिन्ताले धेरैले सताएको छ । 


एकपटक डेंगु सङ्क्रमण भएकालाई पुनः डेंगु सङ्क्रमण तत्काल नहुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुनाउँछन् । ‘एकपटक सङ्क्रमण भइसकेपछि एन्टीबडीको विकास भइसकेको हुन्छ, पुनः तत्काल डेंगु हुने सम्भावना धेरै कम हुन्छ ।’ एकपटक डेंगु भइसकेपछि अर्को पटक त्यही सेरोटाइपको डेंगु तत्काल सङ्क्रमण नहुने डा पुनले बताए । 





डेंगु सार्ने लामखुट्टे एडिस एजिप्टस र एडिस एलबोपिकटस प्रजातिका, साना, सेतो धर्काका भएका हुन्छन् । यो लामखुट्टे सफा पानीमा बस्छ र यसले उज्यालोमा टोक्छ । डेंगुको एकदेखि चारवटा वटा सेरोटाइप हुन्छ ।

हाल नेपालमा सामान्यतया एउटै सेरोटाइप लामखुट्टेले टोकेको सरुवारोग विशेषज्ञहरू बताउँछन् । नेपालमा सन् २०१९ मा डेंगु फैलिदा डेंगु–२ देखिएको थियो । अहिले पनि डेंगु हुने बिरामीमध्ये प्रायःलाई डेंगु–२ सङ्क्रमण भएको चिकित्सकहरू बताउँछन् ।

दोस्रो पटक डेंगु हुँदा कस्तो समस्या आउँछ ?  

सरुवारोग विशेषज्ञ डा लुना भट्टले डेंगु पहिलो पटक भएकालाई पुनः दोस्रो, तेस्रो पटक सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता आउने बताइन् । किनभने यो भाइरसको चार वटा सेरोटाइपका हुन्छ । 

पहिलो पटक डेंगु भएकालाई पछि सङ्क्रमण गर्ने भाइरस फरक प्रकारका हुन सक्छन्  । चार वटा सेरोटाइपसँग त्यसको जिनमा हल्का न्युक्ल्यिोटाइड परिवर्तन भएर थुपै्र जेनोटाइप बनेका हुन्छन् । त्यसैले पहिलेको र पछिको सङ्क्रमण गर्ने भाइरस फरक खालको हुन सक्ने डा. भट्ट बताउँछिन् ।

यस्तै, सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार कुनै व्यक्तिलाई चार सेरोटाइपमध्ये एक सेरोटाइपले टोकिसकेर पुनः अर्कोे पनि सेरोटाइपले टोक्यो भने कडा खालको लक्षण देखिने सम्भावना हुन्छ । डा. भट्टले पनि दोस्रो पटकको सङ्क्रमण झन् जटिल हुनुका साथै प्रतिरोध प्रणाली अर्थात् इम्युन सिस्टमको कोषलाई नै प्रयोग गरेर त्यसैमार्फत् शरीरमा फैलिने बताइन् ।

यस्तै, डा. भट्टका अनुसार, पहिलो संक्रमणबाट बनेको एन्टीबडीलाई दोस्रो पटकको सङ्क्रमण गरेको भाइरस फरक सेरो वा जेनाटाइप भएमा यसले भर्याङ बनाएर सजिलैसँग इम्युन सिस्टमको कोषलाई प्रयोग गर्छ । त्यसैले यसको भ्याक्सिन प्रभावकारी हुन सकेको छैन । 

​माथिका अवस्थाबाहेक सामान्य मानिसलाई धेरै समस्या नहोला तर दीर्घ रोग भएका र अन्य स्वास्थ्य जटिलता भएकालाई धेरै असर गर्न सक्ने डा. भट्टले बताइन् ।

डेंगु सङ्क्रमण हुँदा सबैलाई लक्षण देखिँदैन । करिब एक हजार जनालाई सङ्क्रमण हुँदा १० जनालाई मात्रै लक्षण देखिन्छ । सबैलाई कडा खालको लक्षण नदेखिने हुनाले पटक पटक धेरै सङ्क्रमण भएपनि थाहा नहुने डा. पुन अनुमान लगाउँछन् ।

डेंगुको एकपटक सङ्क्रमण भयो, अब अर्को पटक हुँदैन भनेर ढुक्क हुने अवस्था नभएको डा पुनको भनाइ छ । जबसम्म चार वटा सेरोटाइपमार्फत् सङ्क्रमण हुँदैन, तबसम्म संक्रमणको जोखिम कायमै रहने उनले बताए ।  

डा. भट्टका अनुसार लामखुट्टेले सफा पानीमा अण्डा पार्छन् तर क्लोरिनेटेड पानीमा समेत बाँच्न सक्ने प्रकृतिका हुन्छन् ।  एजिप्टस प्रजातिका लामखुट्टे, सहरका घरहरुका कोठाको अँध्यारो कुनामा बस्ने हुन्छन् । कौसी खेती पनि लामखुट्टेको वृद्धि गर्न राम्रो वातावरण हुन सक्ने उनले बताइन् । लामखुट्टेको प्रजनन विकास हुने वातावरण बन्न नै नदिनु यसबाट जोगिने उत्तम उपाय हो । 

कस्तो हो डेंगु सार्ने लामखुट्टे ?  

डेंगु एडिस एजिप्टाई प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । एडिस प्रजातिको लामखुट्टे आफ्नो वंश बढाउन अन्य लामखुट्टे भन्दा बाठो चरित्रको हुन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण किटजन्य महाशाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस जातिको लामखुट्टेले वातावरणमा अन्य प्रजातिका लामखुट्टेभन्दा बढी घुलमिल हुने क्षमता राख्छ । 

‘यो लामखुट्टेले एकै ठाउँमा अण्डा नपारेर भिन्दा भिन्दै स्थानमा पार्छ,’ उनी भन्छन्, ‘एक ठाउँमा पारेका अण्डा लार्भा बन्न असफल भए पनि अन्य ठाउँका अण्डा बच्न सक्छ । त्यसैले, यो चलाख हुन्छ ।’ 

अण्डाबाट लार्भा, प्यूपा, त्यसपछि वयस्क बन्छ । तर, यसले सुख्खा मौसममा अण्डा पारेपनि ५/६ महिनासम्म मर्दैनन् । सुख्खा मौसममा अण्डा पारेपछि सात आठ महिनापछि पानी पर्‍यो भने पुनः त्यो अण्डाबाट लार्भा बन्ने गरेको उनले बताए । यसले वंशाणुगत चरित्रलाई बचाउने गर्छ । 

डेंगु भएको मानिसलाई टोकेको लामखुट्टेले अरूलाई टोक्दा डेंगु हुन्छ । यतिमात्रै होइन, डेंगु भएका लामखुट्टेबाट जन्मिने छोराछोरी, नाति नातिना अर्थात् अन्य पुस्तामा समेत डेंगु भाइरस हुन सक्ने डा. दाहालले बताए । यस्तै, डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसो मान्छेको रगत मन पराउने भएकाले उज्यालोमा बढी टोक्ने गर्छ । जबकि अन्य लामखुट्टेले अँध्यारोमा टोक्छन् । 

सहरी तथा घना बस्तीमा डेंगु एडिस प्रजातिका लामखुट्टे बस्ने गर्छन् । यी लामखुट्टे सफा पानीमा बस्न रुचाउँछन् । जस्तै, सहरका कर्पोरेट हाउस, ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे हुन्छन् । नुहाउन प्रयोगका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहनुपर्छ । डेंगु तराई, हिमाल र पहाडमा देखिएपनि छिरोलिएर केसहरू नदेखिएको डा. दाहालले बताए । 

डा. पुनका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य आधार हो । यसका लागि घर वरपर पानी जम्मा हुने ठाउँ राख्नु हुँदैन । कार्यस्थल अर्थात्  होटल, कार्पोरेट हाउस राखिने फुलदानीको पानी परिवर्तन गरिरहनुपर्छ । दिउँसो सुत्नै परे झुल लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो पनि सबै शरीर ढाक्ने लुगा लगाउनु पर्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।