शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवादकैबीच अल्मुताइरीको कार्यकाल : १७ खेल, १६ खेलाडीको डेब्यू

बिहीबार, ३० भदौ २०७९, ०८ : १९
बिहीबार, ३० भदौ २०७९

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी छोडेको अब्दुल्लाह​अल्मुताइरीले सामाजिक सञ्जालमार्फत घोषणा गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले कतार फुटबलका अध्यक्षसँग भेट गरेको पछिल्लो दिन नै उनले मुख्य प्रशिक्षक छोडेको घोषणा गरेका थिए । 

अल्मुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी छोडेको घोषणा गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक राजीनामा दिएको बताएका अल्मुताइरी पुनः टोलीमा फर्केर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी अल्मुताइरीले वि.स २०७७ चैत २२ गते सम्हालेका थिए । अल्मुताइीले आफ्नो कार्यकाल सम्हालेको समय देखि नै धेरै विवादमा तानिए । 

अहिले अरुको कारण त कहिले आफ्नो कारण । यो सबैबीच अल्मुताइरीले अन्तिम पटक हुन सक्छ राजीनामा दिएको ।  उसोत उनको सुर चलेमा पहिलेको जस्तै मैले राजीनामा दिएको छैन भन्न बेर लगाउँदैनन् ।

फेसबुक मार्फत उनले राजीनामा दिँदै लेखेका छन्, ‘नेपाली फुटबलमा ५२५ दिनको सेवापछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । वान टिम, जय नेपाल ।’ अल्मुताइरीको यो तेस्रो राजीनामा हो । 

विवादकै बीचमा चल्यो अल्मुताइरीको कार्यकाल 

अल्मुताइरी नेपाली फुटबल टोलीका एक यस्ता प्रशिक्षक हुन् । जसको कार्यकाल विवादमा नै चल्यो । कहिले एन्फा नेतृत्वसँग विवाद त कहिले खेलाडी या प्रशिक्षकसँगको विवाद । अल्मुताइरीको विवाद एन्फा नेतृत्वबाट सुरु भएको थियो । 

अल्मुताइरीले आफ्नो कार्यकालको छोटो समयमा नै एन्फाका पदाधिकारी नेम्वाङसँग विवादमा परेका थिए । उनले सामाजिक सञ्जालमा नेम्वाङले आफूलाई तीन साता देखि काम गर्ने वातावरण नदिएको भन्दै राजीनामा दिन एन्फा जाँदैछु भनेर लेखेका थिए । 

त्यसपछि छानविन समिति गठन भएर अल्मुताइरीलाई नै दाेषी ठहरायो । अल्मुताइरीले एसियन कप छनोटमा रहेको आफ्नै टोली छनोट हुन सक्दैन भन्दा विवादमा परेका थिए । बन्द प्रशिक्षणमा खेलाडीहरु रहेको समयमा अल्मुताइरीले नेपाल एसियन कपका लागि छनोट नहुने बताएका थिए । 

आफैले नेतृत्व गरेको टिम प्रतियोगितामा सहभागिता जनाउनु पूर्व छनोट नै हुँदैन भन्नु नराम्रो भएको भन्दै अल्मुताइरीको आलोचना भएको थियो । त्यसपछिको अन्तिम विवादमा भने अल्मुताइरी कमजोर भए । खेलाडीहरूले आफ्नो  आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा उनी खेलाडी प्रति नै जाइ लागे । 

खेलाडीको खान पिन र बसाइको विषयमा जानकारी लिन सकरात्मक हो तर, खेलाडीले आफूहरुलाई अलि सहज वातावरण बनाइ दिन भनेपछि जाइ लाग्न अल्मुताइरीको गल्ती थियो । अल्मुताइरीले सोही विषयमा खेलाडीमाथि जाइ लाग्दा तत्कालिन राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दलाई टिमबाट निकाले । 

त्यसै समयमा रोहितले आफ्नो आधारभूत आवश्यकताको विषयमा कुरा उठाएको मनन गर्दै अन्य ९ जना खेलाडीले पनि विरोध गरे । त्यसपछि एन्फाले छानविन समिति बनायो । एन्फाको छानविन समितिले पुनः अल्मुताइरीलाई दोषी ठहर गरि उनको विकल्प खोज्नु भनेर प्रतिवेदन बुझाएको थियो । 

१७ आधिकारीक खेल १० हार 

अल्मुताइरीले नेपाली राष्ट्रिय टोलीलाई १७ खेलमा नेतृत्व गरेका थिए । जसमा अल्मुताइरी कमजोर देखिएका छन् । १७ आधिकारिक खेलमा नेपालले ५ खेलमा मात्र जित निकालेको छ । जसमा नेपाल २ खेलमा बराबरीमा रोकिएको छ भने १० खेलमा हार व्यहाेरेकाे छ । नतिजाको हिसाबमा भन्ने हो भने नेपाली टोलीमा अल्मुताइरीको असफलता नै हो । 

अल्मुताइरीले हारको नतिजाबाट नेपाली टोली सम्हाले भने उनको अन्तिम खेलमा पनि नेपाल पराजित नै भयो । नेपालले अल्मुताइरीको प्रशिक्षकत्वमा भएको इराकविरुद्धको पहिलो खेल खेलमा नेपालले हार व्यहोर्‍याे ​। नेपालले अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध पनि हार व्यहोर्‍याे । 


अल्मुताइरीको प्रशिक्षकत्वमा नेपालले ३६ गोल व्यहोरेको छ । जसमा नेपालले जम्मा १४ गोल गरेको  छ । अल्मुताइरीको प्रशिक्षकत्वमा नेपालले पाएको ठूलो सफलता भनेको साफ च्याम्पियनसिप अन्तर्गत फाइनल प्रवेश हो । 

जसमा नेपालले फाइनलमा भारतको सामना गरेको थियो । तर, नेपालले उपाधि भने जित्न सकेन । 

१६ युवा खेलाडीको डेब्यू 

अल्मुताइरीको कार्यकालमा नेपाली राष्ट्रिय टोलीमा धेरै युवा खेलाडीले डेब्यू गरे । उनी आएको पहिलो वर्ष नै नेपाली युवा खेलाडीलाई मुख्य विन्दु बनाएर राष्ट्रिय टोलीको तयार पार्थे । उनले प्रशिक्षकत्व सम्हालेको पहिलो खेलमा दुई खेलाडीले डेब्यू गर्ने मौका पाए । राष्ट्रिय टोलीमा उत्कृष्ट युवा खेलाडी तयार पारेको सन्देश दिएर इराकसँग खेल्न पुगेका उनले मैत्रीपूर्ण खेलमा मनीष डाँगी र गौतम श्रेष्ठले डेब्यू गराए । 

यो उनको कार्यकालको पहिलो खेल थियो । अल्मुताइरीको कार्यकालमा फिफा विश्वकप छनोटमा धेरै खेलाडीले डेब्यूको मौका पाए । 
जसमा अहिले यू–२० राष्ट्रिय टोलीका कप्तान आयुष घलान, कमल थापा र सुरजज्यु ठकुरी रहेका छन् । 

त्यसपछि नेपालका लागि घरेलु मैदानमा राष्ट्रिय टोलीका लागि डेब्यू गर्ने खेलाडीको सख्या पनि बड्यो । नेपालले दशरथ रंगशालामा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नितिन थापा, राजन गुरुङ र गोलरक्षक विशाल श्रेष्ठलाई डब्यू गरेका थिए । 

लामो समय राष्ट्रिय टोलीको डेब्यूका लागि पर्खेका विशाललाई अल्मुताइरीले डेब्यूको मौका थिए । विशाल १० वर्षसम्म राष्ट्रिय टोलीमा डेब्यूको पर्खाइमा थिए । घरेलु मैदानमा नै भएको मौरिससविरुद्धको खेलमा पनि धेरै खेलाडीले डेब्यूको मौका पाए । अल्मुताइरीले नविन गुरुङ, सुदीप गुरुङ, आकाश बुढामगरलाई मैदान उतारेका थिए । त्यस्तै प्रशान्त अवस्थीले थाइल्यान्डमा डेब्यु गरे । 

त्यसपछि विवादको समयमा १० खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिँदा नयाँ खेलाडीले डेब्यू गर्ने मौका पाए । जसमा गोलरक्षक दीप कार्की, विकास तामाङ, नीरकुमार राई, शिव गुरुङले डेब्यू गरे । 

फर्कन चाहान्थे अल्मुताइरी 

अल्मुताइरी नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा अझै लामो समय रहन चाहन्थे । उनले टिमका लागि जति मेहनत गरे अझै गरेर नेपाललाई सफलता दिलाउन चाहन्थे । तर, अल्मुताइरीको इगोले उनलाई साथ दिएन । आफैसँग विवाद भएको व्यक्ति नै एन्फा नेतृत्वमा आउँदा अल्मूताइरीलाई असहज भयो । 

एन्फाले अल्मुताइरीको विषय सुल्झाउन महासचिव किरण राईलाई जिम्मा दिएको थियो । तर, राईले आफ्नो जिम्मेवारी निभाउनु पूर्व नै अल्मुताइरीले राजीनामा दिएका थिए । ​अल्मुताइरीले यसअघि आफ्नो राष्ट्रिय टोलीका लागि केही कार्य योजना पनि पठाएको एन्फाले बताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप