पर्व

जितिया पावैन बड भारी

जितियाको कथामार्फत् सृष्टिसम्बन्धि ज्ञान

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

जितिया पावैन (पर्व) थारू, दनुवार, राजवंशी, कोच लगायत मैथिल महिलाहरु समेत ब्रत बसेर मनाउने गरेका छन् ।  यसलाई महोत्सव भनेर अहिले वस्तुकरण गर्दा समाजले यसलाई कसरी बुझ्ने र मनाइने गरेको हुन्छ ? यी सवाल एक अवधारणा प्रदान गर्छ कि कुनै पर्व साँस्कृतिक वस्तुकरणमार्फत् मौलिकता र पहिचानको आधार कमजोर बनाएको हुन्छ । यो तर्कलाई नेपालमा छरिएर रहेका समग्र हिमाली समुदाय र नवउदारवादको आडमा थप बलियो भएको पर्यटन उद्योगले सही सावित गरेका छन् । 


सन् १९८० मा प्रकाशित ‘द जोओपोलिटिक्स अफ इन्फोर्मेसन’ मा प्रा.एन्थोनी स्मिथ पर्यटनले सबै संस्कृतिलाई वस्तुकरण गर्दै बजारका निमित्त संस्कृतिको मुल्य तोक्छ र अन्ततः साँस्कृतिक विशेषता र भौगोलिक वैभव विनास गर्छ भन्ने तर्क गर्छन् । उनको तर्क स्पष्ट छ र थारूले हाल गरिरहेको अभ्यास पनि उपरोक्त तर्ककै सेरोफेरोमा देखिन्छ । 



यो लेख मार्फत सामाजिक प्रतिरोधी क्षमता सशक्त बनाउन बुझाईमा देखिने कमजोरी हटाउनुपर्ने र पर्वलाई सामान्य घेरामा कैद नगरी यसका वहुआयाम उपर चर्चा गरिनुपर्ने आवश्यकता बोध गराउन सकिने विश्वास लिइएको छ ।



जितियाको परिचय

जितिया गंगाको मैदानी भागमा महिला दिदीवहिनीहरुले मनाइने साँस्कृतिक पर्व बुझिन्छ । परापूर्वकालदेखि नै यो पर्व आश्विनको कृष्ण पक्षको सप्तमी र अष्ठमी तिथि पारेर मनाइने गरिन्छ । यो पर्वलाई खरजितिया भन्ने चलन छ । खरजितिया र अन्य किसिमले मनाइने जितियाबिच फरक देखिएका छन् । जितिया ब्रत कथाले जितियाको महत्व झल्काउँछ ।

खरजितिया संयोग मिल्नुपर्ने तिथिमा मात्र परिभाषित गरिन्छ । यो तिथि भनेको सप्तमी तिथि शनिबार र अष्ठमी तिथि आइतवार पर्नुपर्ने अनिवार्यता हुन्छ । यो भनेको जितिया तिथिअनुसार मनाइने पर्व भनेर बुझ्नुपर्छ । 

यसरी तिथि अनुसार शुद्ध लाग्ने गर्छ र विशेषतः विवाहित महिलाले मात्र खरजितियाको ब्रत बस्न पाउने हो । कारण जितिया ब्रत आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य, एवम् प्रगतिको लागि बस्ने हो । 

खरजितियाको लागि भाईको भूमिका उतिकै महत्वपूर्ण हुन्छ । ब्रत बसेकी दिदीवहिनीको पिँठ्युमा सिकीको घोडामा भाई आएर सिकीको धनुष र तीर तीन पटक छुवाउँदै ब्रतको प्रक्रिया पुरा गर्न सघाउँछ । यसरी भाइको साथ पाएर दिदीवहिनी आफ्नो माइती सम्झने गर्छे र कर्मघर तथा माइतीको नाम रोशन गर्न आफ्नो सारा वर्गत खर्च गर्छिन् ।

विधिसम्मत रुपमा जितिया ब्रत बस्नुपर्ने भएकोले शनिवार लहाई, आइतवार ओटघन तथा उपवास र सोमबार पारन गर्नुपर्ने हुन्छ । लहाईको दिन पोखरी, खोला अथवा इनारमा स्नान गरेर घेराको पातमा माटो, पिना तथा तेल र घेराको फूल सूर्यलाई अर्पण गर्ने चलन छ । त्यसदिन खानपिन गर्न मिल्छ तर ओटघन लिइ सके पश्चात खाना पानी केही नलिएर ब्रत बस्न सक्नुपर्छ । सोही दिन जितिया ब्रत कथा सुनेर दिनभरी शान्तपूर्वक बस्ने हो । 

यो कठिन ब्रत यस कारणले पनि हो कि अर्को दिन सूर्यको पूजा नगरिकन पारन गरिन्न र भिजाएको बौटराको दाना तीन पानीसंग निलेर दही,च्युराको पारन गरिसके पश्चात ब्रत पुरा भएको बताइन्छ । यसरी हेर्दा यो साल पनि खरजितियाको तिथि मिलेको देखिएर शुइध लाग्ने भएको छ ।

सृष्टिसम्बन्धि ज्ञान दिने जितिया  

माथि उल्लेख गरि नै सकियो कि जितियामा सूर्यको पूजा गरिन्छ । तर सूर्यको सृष्टि कसरी भयो ? पृथ्वी, चन्द्रमा तथा समुद्रहरु कसरी बने ? यसबारे जितियमा प्रसंग आउँछ । जितिया ब्रत कथा एक वैकल्पिक विश्वदृिष्टकोण पनि हो, जसले सृष्टिसम्बन्धि ज्ञान प्रदान गर्छ । 

कथाअनुसार, अन्धा अन्धी दुई मात्र आफ्नो जीवन सुदुर भूतलमा विताउँदै थिए । अन्धीले आफ्नो पनि अन्धालाई अचानक सुनिएको कदभोरका चराको आवाजबारे बुझ्न कर गर्छे । अन्धासंग प्रश्न गर्दै अन्धीले सो आवाज कुन दिशा तिरबाट आएको बताउनु भने । 

अन्धाको सचेत मनले त्यो अस्वीकार गर्दै थियो, कारण अन्धा सत्य भन्ने वित्तिकै उनको सर्वनाश हुने निश्चित थियो । सोही कारण चुपचाप बसेर अन्धाले अन्धीको कुरो मात्र सुनिरह्यो । तर अन्धी त्यो नबुझी नछाड्ने अडान लिइन् । अन्धीलाई उसले बतायो कि त्यो कुरा भन्ने वित्तिकै म मारिन्छु । तर अन्धीको जिद्दीले बाध्य भएर कदभोरका चरा पूर्व दिशामा बोलेको बताउने वितिकै अन्धाको शरीर मृत देखियो । 

किनकी कदभोरका चारको रुपमा आवाज निकाल्ने भगवान् थिए । त्यसरी अन्धी क्रोधित भएर भगवान्संग बदला लिन उनलाई कुना कुना लखेट्न थालिन् । अन्धीसंग जोगिन भगवान् निकै कोशिश गरे तर नसकेर नै उनले अन्धाको दुई हात र दुई खुट्टाद्वारा पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशा बनाए । 

साथै, पेटबाट आकाश र पिँठ्युबाट पाताल बन्न पुग्यो । रगतले समुद्र बने भने दुई आँखामध्ये दाहिने आँखाले सूर्य र बाँया आँखाले चन्द्रमा बने । तत्पश्चात् जलमग्न ठाउँमा माटोको जोरन पातालबाट ल्याउन गोरा माछा पठाए, जुन त्यही अड्किरहे । 

त्यसपछि बाम माछालाई सो काममा लगाए । बाम माछा पाताल पुगेर केही माटो लिएर आएपछि त्यही माटोको जोरन दिएर पृथ्वी बन्न पुगेको हो । त्यसपश्चात माटो र पानी दुइटै ठाउँमा जीवजन्तुको विकास हुन पुग्यो । यसरी सृष्टिसम्बन्धि ज्ञान जितियाको कथामार्फत् बुझाउन खोजिएको छ ।

सामाजिक–साँस्कृतिक महत्वको रुपमा जितिया 

सबैलाई थाहा भएकै कुरो हो कि थारूको जीवनचर्या कृषि हो । कृषि प्रणालीमा रहेको यो जातिले धान लगाइसकेको समय हो भाद्र, आश्विन । यही महिनामा जितिया पर्व मनाउनु भनेको महिलाहरु लामो समयपश्चात माइत जाने फुर्सद पाउने गर्छन् । यसरी कर्मघर र माइतको सम्बन्धलाई कसिलो बनाउने गर्छ जितियाले । 

जितिया कथामा पनि के गर्न हुने र के गर्न नहुने सामाजिक शिक्षा समेटिएको छ । तर पूँजीवादी व्यवस्थाले उपरोक्त सबै सामाजिक सम्बन्धहरु परिवर्तन हुँदै गएको पाउँदछौं । साँस्कृतिक रुपमा जितिया अहिले मिडियामा छाउन थाल्यो । सामाजिक सञ्जाल तथा अनलाइन पोर्टल र भरसक युट्युब लगायतका मिडियाहरु प्रचार प्रसारमा सहयोग गर्दा बाँकी संसारले पनि त्यसको जानकारी पायो । 

तर कहिलेकाहीं मिडियाले गलत प्रचार पनि गरेको भेटिन्छ र जितियालाई थारूको तीज भनी बुझाउन खोजिन्छ । जितिया भनेको मात्र जितिया हो, भने तीज भनेको अलग पर्व मानिन्छ ।

जितियाको ज्ञान परम्परा पृथक छ । यसमा कथा पनि छ र साँस्कृतिक विरासत पनि । त्यसले पूर्खाको लामो ज्ञानको श्रृङ्खला जोडेर ल्याएको बुझ्न सकिन्छ । यसलाई वैदिक काल पूर्वको पर्व मान्न कुनै प्रमाण खोजी राख्नु जरुरी छैन । त्यसैले जितियाको जगमा नयाँ विज्ञानको खोजी गर्न पनि सकिने छ । 

अझ विश्व तापमान बढ्दै गएको परिवेशमा जितिया ब्रतले जैविक विविधतालाई संरक्षण र प्रवद्र्धन गर्न सघाउने साँस्कृतिक मान्यता विकास गर्न सकिन्छ । यसले सबै प्राकृतिक सिर्जनाहरुको महत्वलाई बराबरी रुपमा बुझ्ने गर्छ ।

जितियाको अर्थराजनीतिक महत्व

 किसान परिवारको लागि जितिया सुख र दुःख दुइटै क्षण महसुस गराउने गर्छ । जितियामा अहिले सरकारी विदालगायत केही आर्र्थिक श्रोत समेत उपलब्ध गराउने गरिएको छ । त्यसको सही उपयोग गर्न जितियाको अर्थराजनीतिक महत्व प्रति सचेत बन्दै पहलकदमी लिनुपर्छ । त्यस क्रममा जितियामा यो पनि सुनिन्छ कि आलिशान पार्टी प्यालेस तथा हलहरुमा दिनभरी मनोरञ्जन गरिन्छ । तर अनावश्यक तामझामसहित होहल्ला मच्चाएर जितिया ब्रत फलिफाप हुने होइन । 

जितिया ब्रतको आफ्नै विशेष परम्परा छ । यसले अपो दीपो भव अर्थात् आफैं अनुभव गरेर सत्यको अनुभूति गर्नु भने सिकाउँछ तर उपभोक्तावादी संस्कृति हावी भएको वेला जितिया जनसरोकारको विषय भन्दा पर जान खोजेको हो कि आशंका उब्जाउँछ । 

एउटा भनाई यस्तो छ, ‘हथिया चित्रा चित्त मर्रावे, घर बैठक गिरहत अगराबे । कोठिया चौर के भात–धिमैर के माछ, ढक्ना ल्या भन्सिया नाँच ।’ यसको अर्थ खोजी गर्दा के देखिन्छ भने यतिवेला किसानहरुले चामल जुगाड गरेर राखेका हुन्छन्, जहाँ माछा खेतको पानीमै हुँदा धिमैरको माध्यमले माछा समातिन्छ । सोही माछा र भात थारूको पौष्टिक खानाको रुपमा यो समयमा हुने गर्छ । 

यसरी जितियामा अरु तरकारी नभए पनि माछाले नै छाक टार्ने गरेको बुझ्न सकिन्छ । अहिले वातावरण परिवर्तनले कहिले पानी परेको पर्यै हुन्छ भने कहिले खडेरी । त्यसैले अबको पूँजीवादी युगमा निर्णायक पूँजी ठहर भएको कारण यही पेशा अपनाएर पूँजी सञ्चय गर्न योजना बनाउने र सोहीअनुसार मौसमी खेती गरी जीवनस्तर उठाउने काम गर्न सकिन्छ । त्यो भनेको सहकारीमार्फत् अगुवाई लिने नै हो ।

गाउँ गाउँमा हाटबजार लाग्ने गर्दा आफ्नो उत्पादन बेच्न केही सहज त भयो तर उचित मोलको आभाव वेहोर्दै आएका साना किसानहरु अब ठूला कम्पनीहरुसंग प्रतिस्पर्धा कसरी गर्लान् ? सोचनीय सवाल यहाँ छ । कृषिमा पनि अब पूँजीपतिहरु लगानी बढाउँदै लगेपश्चात कृषि क्षेत्र अब निर्वाहमुखी अर्थतन्त्रमार्फत् अगाडि जान सक्ने स्थिति रहेन । 

त्यसैले, कृषि पेशालाई व्यवसायिक तुल्याउँदै उत्पादनमा आफ्नो उचित मुल्य तोक्ने साथै पशुपालन, माछा पालनको लागि क्रियाशीलता बढाउन सक्नुपर्छ । 

फलफुलको पनि जितिया ब्रतसंग प्रत्यक्ष सरोकार हुँदा वेमौसमी तरकारी, केरालगायत अन्य फलफुल आफैं उत्पादन गर्न क्षमता अभिवृद्धि गरेर जान सकिन्छ । ज्ञानसंगको साक्षात्कार त्यसको लागि जरुरी छ ।

सामाजिक–साँस्कृतिक जगमा ज्ञान मिमांशीय विधि अगाडि बढाउँदै क्षमता बढाउने र उद्यमशीलता हासिल गर्ने हो भने थारूलाई प्रतिस्पर्धारत संसारले रोक्न सक्ने स्थिति छैन । 

सिकीको मौनी, डलिया, धम्मा लगायत मोथिको गुन्द्री, गवहाको धम्मा, धमनी अनि बाँसको सामग्री बनाउन जाने विश्व बजारमा बेच्न सकिने परिवेश बनेको छ । त्यस्तै माटोले सिंगारेका घरहरु जसरी विस्थापित गर्न सरकारी नीति दवाव बढाउँदै लगिएको छ । त्यसले थारूलगायत कृषि पेशामा लागेकाहरुको ज्ञान संहारमा सघाउने भएको छ । केही मुठी भरका उद्योगी व्यापारीहरुको नाफा बढाउन यसखाले नीतिले बल पुर्याइरहेको कारण कृषि पेशाप्रति वितृष्णा बढेर गएको छ । त्यसैले जितिया वैकल्पिक अर्थतन्त्रको आधार बन्न सक्ने देखिन्छ ।

अन्त्यमा, जितिया पहिचानको आधार तयार गर्न मद्दत गर्छ । यसको इतिहास, दर्शन, सामाजिक–साँस्कृतिक पक्षलगायत आध्यात्मिकता, भौतिकता, आत्मरक्षासंग जोडिएका विषय सारको रुपमा बोकेको छ । संकट पर्दा कुनैबेला अचानक सो संकटबाट जोगिए आमाले खरजितिया ब्रत लिएको सम्झिने पुस्ताको कमी छैन । कर्मप्रधान पावैन जितियाको परिणाम सोहीअनुसार हुने विश्वास गरिन्छ र जितिया ब्रत कथामा विस्तारपूर्वक सोको जानकारी गराइएको मानिन्छ । 

यसले साँस्कृतिक क्रान्तिको विगुल फुकेको छ र मानिस हुनुको परिभाषा कर्मशील बन्नु हो भन्ने सन्देश दिने जितिया समाजवादी विचारधाराको नेतृत्व लिने देखिन्छ । यही कारण हो कि जितिया कुनै औपचारिकतामा सीमित हुनु भएन । न कुनै अलिशान पार्टी प्यालेसको तामझाम नै सुहाउँछ । जितिया औपनिवेशिकताबाट मुक्तिको मार्ग बन्न सकोस् । जितिया ब्रत बस्ने तथा त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सबैमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । 

लेखक त्रिवि कीर्तिपुरमा एमफील–पीएचडी अनुसन्धानमा अध्ययनरत छन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।