शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिजको संघारमा ‘प्रेम गीत ३’:  ‘हिन्दी भर्सन’बारे किन भैरहेको छ लफडा ?

हिन्दी भर्सन चलाउन बोर्डमा गर्नुपर्ने ‘प्रोसेस फलो’ भएनः भुवन केसी
मङ्गलबार, ०४ असोज २०७९, ०७ : ०६
मङ्गलबार, ०४ असोज २०७९

प्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ आगामी शुक्रबारबाट नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । फिल्मको रिलिजको बिषयलाई लिएर चलचित्र विकास बोर्ड र यसका निर्माण पक्षबीच विभिन्न विवाद चलिरहेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति नजिकिदै गर्दा प्रदर्शनमा बाधा पुर्याउन चलचित्र विकास बोर्डले विभिन्न नियम ल्याएको आरोप लगाएको छ । 

बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने लगायत बोर्डले अहिले ल्याएको नियम आफ्ना लागि भएको निर्माण युनिट धारणा छ । 

आफ्नो फिल्मको व्यवसायमा प्रभावित पार्न बोर्डले विभिन्न नचाहिँदो नियमसमेत ल्याएको ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनको भनाइ छ ।  ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा रिलिजका लागि विदेशी फिल्म सरह विभिन्न ट्याक्स तिर्नुपर्ने बाध्यता बनाएको सेनको अर्को आरोप छ ।

सेनको सबै आरोप झुट भएको चलचित्र विकास बोर्डले जनाएको छ । ‘साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ ल्याएर नेपाली वितरक र प्रदर्शकले राती १ बजे नै शो राखे । राती १ बजे फिल्म चल्यो । राती १ बजे फिल्म चलाउँदा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर चलचित्र विकास बोर्डलाई समेत जानकारी गराइएको थिएन,’ बोर्डका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘चलचित्र विकास बोर्डले ‘केजीएफ २’ रातको १ बजे चलाउने एफक्यूब हललाई स्पष्टिकरण सोध्यो । साथमा, राजश्व कार्यलयलाई पनि पत्र काटेको थियो ।’ 

बोर्डले त्यही समय ११ बजे भन्दा पछि र बिहान ६ बजे भन्दा अगाडि फिल्मको प्रदर्शन गर्न नपाइने र गर्नु परेको खण्डमा सुरक्षाको प्रत्याभूति लिएर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम ल्याएको ती कर्मचारीले जानकारी दिए । ‘प्रेम गीत ३’ हिन्दी भाषा रिलिजका लागि बोर्डले विदेशी फिल्म सरह व्यवहार गरेको ती कर्मचारीले स्वीकारे । 

‘ बोर्डमा नेपाली फिल्मलाई हिन्दी भाषामा डबिङ गरेर, नेपालमा रिलिज गर्न राज्यले केही नियम बनाएको छ । त्यो नियम फलो नगर्ने विदेशी भाषाका फिल्मको रुपमा हेर्नुपर्ने स्पष्ट नियम छ’ बोर्डका ती कर्मचारीले भने, ‘प्रेम गीत ३ ले नेपाली फिल्म हिन्दीमा डबिङ गर्नका लागि बनाएको राज्यको नियम फलो गरेका छैन । निर्माताले बाहिर मात्र कराएर हिँडेका छन् । त्यसले केही हँुदैन ।’ 

निर्माता सेनले भने नेपाली फिल्म हिन्दी भाषामा नेपालमा रिलिज गर्दा प्रोसेसको बिषयमा आफूलाई थाहा नभएको बताए । ‘चलचित्र विकास बोर्डले भारतमा नेपाली फिल्म हिन्दी भाषामा रिलिज हुन लागेको भन्दै हामीलाई केही अगाडि बोलाएर सम्मान पनि गरेको थियो । त्यो समय हिन्दी नेपालमा रिलिज गर्न यस्तो नियम छ । त्यो गर्नु होला भनेर हामीलाई भन्नु पर्दैन ?,’ सेनले भने, ‘अहिले रिलिजको समयमा यो भएन, त्यो भएन भन्नुको मतलब हामीलाई डिस्टर्ब गर्न खोजेकै हो ।’ जे गरेर भएपनि हिन्दी र नेपाली दुबै भाषामा फिल्म स्वदेशमा रिलिज गर्ने सेनको भनाई छ ।

भुवनको राजीनामा प्रसंग किन ?

केही दिन अगाडि ‘प्रेम गीत ३’ ले राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजनीनामा मागेको थियो । आफ्नो चलचित्रलाई थोरै हल उपलब्ध गराउन बोर्ड अध्यक्ष भुवन केसीले चलखेल गरेको आरोप समेत निर्माण पक्षको थियो ।

फिल्मका निर्माता सन्तोष सेन पनि भुवनको ईसारामा फिल्म असफल बनाउने प्रयास भइरहेको बताउँछन् । ‘बोर्डबाट केही हललाई फोन गरेर ‘प्रेम गीत ३’ का लागि यसो गर्नु, त्यसो नगर्नु भनेको सुन्यौ,’ निर्माता सेनले भने, ‘बलिउडमा समेत रिलिज हुन लागेको फिल्मलाई आफ्नै देशमा अवरोध देख्दा सहन सकेनौ ।’ 

‘प्रेम गीत ३’ बलिउडमा रिलिज गर्न लागेर आफूले राष्ट्रको गौरव बढाएको बताएका सेनले आफ्नै देशमा खट्टा तानेको देख्दा दुःख लागेको सुनाए ।

के भन्छन् भुवन ?

फिल्म ‘प्रेम गीत ३’ युनिटले आफूमाथि बिभिन्न आरोप लगाउँदै राजीनामाको समेत माग गर्दा बोर्ड अध्यक्ष भुवन केसी भने मौन छन् । ‘म अहिले सबैका लागि राम्रो काम गरिरहेको छु । त्यसैले मैले बोल्नु आवश्यक ठानिन,’ केसीले भने, ‘नराम्रो काम गर्यो भने बाहिर आइहाल्छ । मैले कसैको नराम्रो काम गरेको छैन ।’ 

भुवनले ‘प्रेम गीत ३’ युनिटले हिन्दी भर्सन चलाउन बिकास बोर्डमा गर्नुपर्ने प्रोसेस फलो नगरेको र आफ्नो कमजोरी ढाकछोप गर्न बाहिर हल्ला गर्दै हिँडेको आरोप समेत लगाए । ‘बोर्ड एउटा फिल्मको मात्र होइन, पुरै उद्योगको अभिभावक हो,’ केसीले अगाडि थपे, ‘घरको एउटा सदस्यलाई चित्त बुझेन भने मैले उसँग सिंगौरी खेल्न जानु पनि त भएन नि ।’ प्रेम गीत ३ युनिटले आफूप्रति लगाएको सबै आरोप झुटो भएको र त्यो बिस्तारै खुल्ने भुवनको धारणा छ ।
बोर्डले फिल्म चलाउन नपाइने भनेको छैन । तर, सुरक्षाको प्रत्याभूति गराउन आवश्यक छ भनेको हो’, भुवन भन्छन्, ‘कुनै एउटा व्यक्तिले नियम कानुन नवुझी लहडमा बोलेर बोर्ड चल्ने हो र ? बोर्ड कुनै प्राइभेट लिमिटेड कम्पनी पनि होइन । सरकारले बनाएको नियमअनुसार हरेक नागरिक अगाडि बढ्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप