शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रत्यक्षतर्फका उम्मेदवार छनोट : एमालेको गृहकार्य सुरु, भागबन्डा कुर्दै गठबन्धन !

मङ्गलबार, ०४ असोज २०७९, १६ : १५
मङ्गलबार, ०४ असोज २०७९

समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएसँगै राजनीतिक पार्टीको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाए लगत्तै पार्टीहरू औपचारिक/अनौपचारिक रूपमा प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्यमा लागेका हुन् ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० जना सदस्य निर्वाचित हुँदैछन् । निर्वाचन आयोगले दसैँ लगत्तै (असोज २३ गते) प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । असोज दोस्रो साताबाट नेपालीहरूको मुख्य चाड दसैँ लाग्ने भएकाले पनि त्यस अगावै उम्मेदवार टुङ्ग्याउनुपर्ने दबाब सबै पार्टीहरूलाई छ ।

निर्वाचनको तयारीस्वरुप राजनीतिक पार्टीहरूले तल्ला तहका पार्टी कमिटीबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवारका नाम सिफारिस गर्न यसअघि दिएको निर्देशनअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । यसरी तल्ला तहबाट सिफारिस भएका नामहरूमा पार्टी केन्द्रले जाँचबुझ गरी निर्क्योल गर्नेछ ।

असोज १६ भित्र टुङ्ग्याउने एमाले तयारी

एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि सबै उम्मेदवारको नाम टुङ्ग्याउने भएको छ । समानुपातिकको सूची बुझाए लगत्तै मंगलबारबाट प्रत्यक्षतर्फका उम्मेदवार छान्न गृहकार्य थालिसकेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

‘हामीले समानुपातिकतर्फको सबै सूची सोमबार बुझाइसकेपछि मंगलबारबाटै प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्य थालेका छौँ’, प्रचार विभाग प्रमुख गुरुङले रातोपाटीसँग भने, ‘एमाले प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा लागिसक्यो ।’

नेता गुरुङले महासचिव शंकर पोखरेल नेतृत्वको नेताहरूको टोलीले सर्ट लिस्ट छुट्याउन थालिसकेको बताए । उनले उम्मेदवार छनोट गर्दा तल्ला कमिटीबाट आएका सिफारिसलाई मुख्य आधार बनाइने पनि बताए ।

‘उम्मेदवार छान्दा तल्ला कमिटीबाट सिफारिस भएर आएका नामलाई नै मुख्य आधार मानिन्छ । यदि त्यसरी आएका नामहरू मापदण्डभित्र परेका छैनन् भने मात्रै विकल्प खोजिन्छ । तर त्यस्ता केस थोरै मात्रै हुन सक्छन् ’, गुरुङको भनाइ छ । उनले असोज १६ गते अघि नै प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने जानकारी दिए ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले समानुपातिकको बन्द सूची पेस गरेसँगै प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउने कार्यभार आएको बताए । ‘पहिला त गठबन्धनमा टुङ्गो लाग्नुपर्‍यो, सायद गठबन्धनमा छिट्टै टुंगिएला । त्यसपछि पार्टीको काम प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने नै हुन्छ’, महासचिव गुरुङको भनाइ छ ।

‘सिट भागबन्डापछि व्यक्ति छनोट’

आ आफ्नो पार्टीबाट बन्दसूची आयोगमा बुझाए लगत्तै ५ दलीय गठबन्धन पनि प्रत्यक्षतर्फको सिट भागबन्डा टुङ्ग्याउन जुटेको छ । त्यसका लागि मंगलबार बिहान कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा बसे पनि बैठकमा गठबन्धन दलका नेता माधवकुमार नेपाल नआएपछि मंगलबारै पुन बेलुकालाई बैठक राखिएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लागेपछि आ आफ्ना पार्टीबाट व्यक्ति छनोट हुने बताए ।

‘गठबन्धनमा सिट बाँडफाँटबारे कङ्क्रिट रूपमा निर्णय भइसकेको छैन । केही दिनभित्र भागबन्डा टुङ्गो लाग्ला, त्यसपछि पार्टीहरूले आआफ्ना तर्फबाट उम्मेदवार छनोट गर्छन्’, नेता खनालको भनाइ छ ।

काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धनभित्र सिट बाँडफाँट टुंगिइसकेपछि मात्रै आआफ्नो पार्टीभित्र प्रत्यक्ष तर्फका उम्मेदवारबारे औपचारिक छलफल हुने बताए । ‘अहिले अनौपचारिक ढंगले कुराकानी, भेटघाट  र छलफल भइरहेको छ, तर कार्यदलले भागबन्डा मिलाएपछि मात्रै पार्टीमा त्यसको औपचारिक प्रक्रिया सुरु हुन्छ’, पाण्डेले रातोपाटीसँग भने, ‘उम्मेदवार छनोट गर्ने निकाय काँग्रेसमा संसदीय बोर्ड भए पनि त्यसले पूर्णता पाएको छैन । बोर्डले पूर्णता नपाउँदा समानुपातिकतर्फ ’ उनले समयको पाबन्दीलाई ख्याल गर्दै गठबन्धनले अब चाडै सिट सङ्ख्या टुङ्गो लगाउने र सो सङ्ख्याका आधारमा पार्टीमा सिफारिस भएर आएका नाममा कसलाई टिकट दिने भन्ने निर्णयमा पुग्ने बताए । ‘समय घर्किँदै गएको छ त्यसैले संसदीय बोर्डलाई पूर्णता दिएर त्यसमार्फत निर्णय गर्ने या समानुपातिकमा जस्तै निर्णय गर्ने भन्ने पनि टुङ्गो लाग्छ’, पाण्डेको भनाइ छ ।

टिकटका लागि मारामार

सबैजसो राजनीतिक पार्टीमा उम्मेदवारका आकाङ्क्षी अत्यधिक छन् । उम्मेदवार हुने आकाङ्क्षा बोकेका पार्टीका पार्टीका देशभरका नेता कार्यकर्ताहरू काठमाडौँ जम्मा भएका छन् । टिकटका लागि काठमाडौँ आएकामध्ये समानुपातिकमा नपरेकाहरूले प्रत्यक्षमा टिकट पाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेका छन् ।

‘देशभरका नेताहरू काठमाडौँमा छन् । व्यवस्थापन गर्न समस्या जस्तै भएको छ । समानुपातिकमा नपरे प्रत्यक्षमा टिकट पाउनुपर्ने भन्दै प्रेसर आइरहेको छ’, कांग्रेसका एक पदाधिकारी भन्छन्,‘यो पटक गठबन्धन भएकाले पनि होला विगतमा खासै चासो नराख्ने पनि यो पटक चुनाव जितिहालिन्छ भन्ने मानसिकता भएकाले हुनसक्छ आकाङ्क्षीहरू धेरै देखिएका छन् ।’

प्रत्यक्षतर्फ असोज २३ देखि २६ सम्म

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता असोज २३ लाई निर्धारण गरेको छ ।

निर्वाचन आयोगको स्वीकृत निर्वाचन कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारी दर्ता, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी आह्वान २५ असोजमा उजुरी छानबिन र र असोज २६ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप