शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक पर्खँदै रुपन्देहीका पर्यटन व्यवसायी

बिहीबार, ०६ असोज २०७९, २१ : ५०
बिहीबार, ०६ असोज २०७९

रुपन्देहीका पर्यटन व्यवसायीले भारतीयसहित विदेशी पर्यटकलाई लुम्बिनी लगायतका स्थलको भ्रमण गर्न निम्ता गरेका छन् । ४३ औं विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल र भारतका पत्रकारबीच रुपन्देहीको भैरहवामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय तथा विदेशी पर्यटकलाई निम्ता गरिएको हो ।

यहाँका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा भैरहवाका होटलहरूमा विदेशी पर्यटकलाई २० प्रतिशत छुट दिने उद्घोष गरे । कार्यक्रममा पर्यटन दिवस मूल समारोह समितिका संयोजक सीपी श्रेष्ठले पर्यटन दिवसको अवसर पारेर विदेशी पर्यटकलाई होटलमा मात्र नभएर ठाउँअनुसार यातायातको छुट सहितका प्याकेज तयार पारिएको उल्लेख गरे ।

असोज ११ गते मंगलबार परेको विश्व पर्यटन दिवसको दिन भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य स्वागत गरिने उनले जानकारी दिए । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले भारत र नेपालका कतिपय संस्कृति मिल्ने भएकाले पनि दुई देशका पर्यटक आवागमनमा सहजता अपनाउनुपर्ने उल्लेख गरे । भारतीय पर्यटकलाई सुरक्षाको हिसावले नेपालमा कुनै असजिलो नहुने उनले बताए ।

लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्द्धनमा प्रदेश सरकारले सक्दो प्रयत्न गरिरहेको उल्लेख गरे । कार्यक्रममा भारतीय पत्रकारहरुले नेपाल भित्रिने भारतीय पर्यटकलाई नेपालको प्रहरी प्रशासनले शंकाको दृष्टिले हेर्ने गरेको गुनासो गरे । नेपाल भित्रिने भारतीय पर्यटकलाई सहज रुपमा नेपाल भ्रमण गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरे ।

सीमा नाका बेलुका चाँडै बन्द हुँदा बेलुका भित्रिन चाहने पर्यटकलाई समस्या हुने गरेको उनीहरुले बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, व्यवसायी चन्द्रबहादुर थापा, पत्रकार रामराज पोखरेल, नरेश केसी लगायत पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका प्रतिनिधिले पनि आफ्ना धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप