शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा नेपालीको बेहाल : ऋण खोजेर कमाउन गएकाहरु रित्तो हात फर्किए

सोमबार, १० असोज २०७९, १६ : १२
सोमबार, १० असोज २०७९

साउदी अरबमा ६ महिनादेखि अलपत्र परेका १४ जना नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) को पहलमा उनीहरू नेपाल फर्किन सफल भएका हुन् । उद्धार गरिएकाहरूले ६ महिनादेखि तलब र काम दुवै नदिएर आफूलाई बन्धक बनाएर राखिएको बताएका छन् । बल्लतल्ल स्वदेश फर्किन पाएका उनीहरु अब वैदेशिक रोजगारीमा जान लिइएको ऋण कसरी तिर्ने भन्ने समस्यामा छन् ।
सामाखुशीस्थित इशान ओभरसिज प्रालिमार्फत गत मार्च २९ तारिखमा उनीहरु नेपालबाट साउदी उडेका थिए ।

साउदीमा करिब ६ महिना रहँदा आफूहरुले एक दिनमात्र काम पाएको, त्यो पनि बालुवा बोक्ने काममा लगाइएको गुनासो गरे । नेपालबाट होटलमा हेल्परका लागि भनेर पठाइएका उनीहरु उता पुगेपछि ३ महिनासम्म काम नै नदिइ राखिएको बताउँछन् ।

गोरखाका ध्रुव गुरूङले रातोपाटीलाई दिएको जानकारी अनुसार उनी नेपालबाट १ लाख २० हजार तिरेर किचेन हेल्परका लागि साउदी पुगेका थिए । ‘किचन हेल्पर भनेर पठाएको थियो । ६ महिनामा एक दिनमात्र काम पायौं । त्यो पनि बालुवा बोक्ने । दिनभर खाली पेट बालुवा बोकेर बस्यौं,’ उनले भने ।

नेपालबाट जानासाथ सुरूमा शौचालय र प्यासेजमा आफूहरुलाई राखेको उनको भनाइ छ । उनले भने, ‘पहिलो महिना शौचालयको पानी खाएर बस्यौं । सुत्नलाई प्यासेजमा राखियो । खाना त कति दिनको बासी दिने गर्थ्यो । नेपालबाट लगेको चाउचाउ र चिउरा खाएर बस्यौँ ।’

इशानमार्फत गएका कतिपयले १ लाख ७० हजार रुपैयाँसम्म तिरेका थिए । ६ महिनासम्म अलपत्र पारेको कम्पनीले अहिले आएर ६०÷६५ हजार दिएर चुपचाप बस्न भनिरहेको उनको भनाइ छ ।
नवलपरासीका सूर्यबहादुर विकले बेसिक ८०० र खानाको २०० गरेर एक हजार रियाल दिने भनेर सम्झौता गरिएको तर सम्झौताअनुसार काम नपाएको बताए ।

‘होटल लाइनमा पठाईदिन्छु । काम एकदम सजिलो छ भनेर पठायो । उता पुगेपछि न काम दियो, न राम्रोसँग खान बस्न पायौं,’ उनले भने । रमजान महिना कम्पनीले कसैलाई ४०० त कसैलाई ५०० रियाल दिएको जनाउँदै उनले दोस्रो महिना पनि त्यसरी नै बेसिक सेलरी भन्दै थोरै पैसा दिएर राखेको बताए ।

‘काम भोलिदेखि हुन्छ, पर्सीबाट हुन्छ भन्दै तीन महिनामा टारिदियो । अति नै भएपछि हामीले दूतावासमा पनि जानकारी गरायौं । दूतावासले पनि हाम्रो केही कुरा सुनेन,’ सूर्यबहादुरले भने ।
उनीहरूको समूहमा रहेका एक जना भने मानसिक पीडामा थिए । उनी आफ्नै पैसामा केही दिन अगाडि नेपाल फर्किएका थिए । १ लाख ७० हजार पैसा तिरेर साउदी पुगेका उनलाई नेपालमा रहेको मेनपावरले ६५ हजार रूपैयाँ दिएको थियो । उनले आफूले साउदी जाँदा लागेको सबै खर्च र विदेशमा ६ महिना बस्दा पाउनुपर्ने तलबसमेत मेनपावरले दिनुपर्ने बताए ।

६ महिनासम्म त्यत्तिकै राखेर घर फर्किने बेला कम्पनीले टिकट काटेर पठाइदिएको ध्रुवको भनाइ छ । ‘हाम्रो समूहमा रहेका १५ जना बाहेक ९२ जना नेपाली पनि काम नपाएर अलपत्र अवस्थामा छन् । दूतावासले केही काम गर्दैन । पैसा नभएको बेला हामी कसरी दूतावासमा पुगेर गुनासो गर्ने ?’ ध्रुवले प्रश्न गरे ।  

आफूलाई राखिएको ठाउँबाट दूतावास टाढा हुने र त्यहाँ जान पनि पैसा आफूहरुसँग नहुने भएका कारण कतिपयले दूतावासमा गएर आफ्ना समस्या राख्न नपाएको उनीहरुको भनाइ छ । ‘साथीभाइसँग मागेर खाना खाइरहेकाहरू कसरी दूतावाससम्म पुग्ने ? दुतावासमा जान पनि पैसा हुँदैन । गएपनि त्यहाँ न्याय पाउनुभन्दा उल्टै पीडा दिने काम हुन्छ,’ ध्रुवले भने ।

नेपालीहरू नेपालबाटै ठगिएर विदेशी भूमिमा पुग्ने र त्यहाँ पनि ठगिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘राम्रो काम पाइने, राम्रो तलब पाइने भनेर नेपालबाटै दलालहरुले ठगेर पठाउँछन् । उता विदेशमा पुगेपछि अलपत्र भएर बस्नुपर्छ । मर्नु न बाच्नुको अवस्थामा पु¥याउँछ,’ सूर्यबहादुरले भने । विदेशमा रहेका धेरै नेपाली मानसिक रोगको सिकार भइरहेको भन्दै उनले नेपालबाटै राम्रोसँग बुझेर मात्र जानुपर्ने सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप