शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो रिपोर्ट : दसैँको बेला विदेशिनेको कथा व्यथा

आँशु र पीडा लुकाउँदै विमानस्थलबाट बिदाइको हात
बुधबार, १२ असोज २०७९, १६ : १४
बुधबार, १२ असोज २०७९

सिन्धुली घर भई चितवन बस्दै आएका दिपेन्द्र कार्की घटस्थापनाकै दिन विदेशिन पुगे । वैदेशिक रोजगारीका लागि दुबई गएका उनी बिदामा घर आएका थिए । बिदा सकिएपछि उनले चाहेर पनि नेपालमा घरपरिवारसँग दसैँ मनाउन पाएनन् । बाध्यताको अगाडि रहरले घुँडा टेक्यो र मन भारी बनाएर सात समुद्रपार हानिए ।

पिठ्यूँमा रहेको भारीभन्दा उनको मनको भारी निकै गह्रौँ भयो । आँशु र पीडा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिवारसँग हात हल्लाउँँदै बिदा भएर उनी घटस्थापनाकै दिन विदेशिए । प्राण प्यारी श्रीमती, ससुराबुबा र बहिनीले लगाइएको दिएको माला घाँटीमै झुण्ड्याउँदै अगाडि बढ्ने क्रममा उनले परिवारलाई राम्रोसँग दसैँ मनाउन ढाडस दिए ।

‘कोही पनि रहरले देश छोडेर जान चाहदैन, बाध्यता हुन्छ । आफ्नो सुनौलो भविष्य बनाउन घर परिवार, चाडपर्व सबैलाई त्याग गर्नुपर्ने रहेछ । परिवार छोडेर जानुपर्दा कसको मनले मान्ला र !’ उनले भने ।

तनहुँ, दमौलीका सुजन मिश्र पहिलो पटक वैदेशिक रोजगारीका लागि दुबई गए, त्यो पनि दसैँको मुखमा । घरको आर्थिक अवस्था अगाडि उनले दसैँको परवाह गरेनन् र दसैँकै बेला परदेशिन पुगे । ‘दसैँको बेला विदेश जाँदा रमाइलो त कसलाई लाग्ला र ? चाडपर्व भनेर भएन, समस्याले गिजोलेपछि जानै प¥यो,’ उनले भने ।  

यो उनको मात्र पीडा नभएर दैनिक विदेशिने एक हजारभन्दा बढी नेपालीको पीडा र बाध्यता हो । ‘घरको आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा दुःखी भए पनि जानुपर्ने बाध्यता प¥यो । देशमा भएका रोजगारी पनि बन्द भए । नेपालीहरूलाई विदेश जानुको विकल्प छैन,’ सुजनले भने ।

सुनसरीको कोशी गाउँपालिका, भण्टाबारीका ६६ वर्षीय बद्री शर्मा आफ्नो नातिलाई बिदाइ गर्न काठमाडौं आए । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेको नातिलाई उनले मन भारी गर्दैैै बिदाइ गरे ।

‘उस्तै बेला पनि आफन्तलाई परदेश पठाउनुको पीडा अत्यन्तै नरमाइलो हुन्छ । झन् चाडपर्वको बेला पठाउँदा कसको मन खुसी होला र ?’ उनी प्रश्न गर्छन् ।

गरिब भएर जन्मिएपछि यस्ता दुःख र पीडालाई सहजै लिनुपर्ने उनको भनाइ छ । ‘के गर्ने, गरिब मान्छेलाई के दुःख, के सुख ? सबै कुरा हाम्रोलागि उस्तै हो । अहिले दुःख र पीडा भए पनि भविष्यमा कुनै दिन सुख आउला भनेर आश गर्नुपर्छ,’ बद्रीले भने ।

दसैँको बेला अधिकांश निकै भारी मन गर्दै विदेशिन लागेका भए पनि आफ्नो भविष्य साकार पार्न विदेश जान लागेको भन्दै खुसी हुने पनि भेटिए । काँडाघारी, काठमाडौंका मनिष कट्टेल भने पढ्नका लागि अष्ट्रेलिया गएका छन् । दसैँको मुखमा भए पनि लामो प्रतीक्षापछि उनको अष्ट्रेलियाको भिसा लाग्यो । जसले गर्दा उनलाई चाडपर्व भन्दा पनि आफ्नो सुखद् भविष्य बनाउन लागेकोप्रति खुसी लागेको छ ।    

‘बल्ल बल्ल भिसा लागेको छ । दसैँ घर परिवारका साथ बर्सेनि मनाइरहेको हो । यो पटक भने अष्ट्रेलियामा मनाउँछु । आफ्नो घर परिवारसँग मनाउन नपाए पनि साथीभाइसँग दसैँ मनाईन्छ,’ मनिषले भने ।

विदेशमा गएर पढ्ने उनको सपना थियो । त्यो आज गएर साकार भएको छ । त्यो सपना पूरा गर्दै गर्दा उनलाई दसैँ गौण लागेको छ ।

उनको बिदाइका लागि आमा, हजुरआमा, मामा, भाइ र बहिनी एयरपोर्टसम्म पुगे । परिवारका सबै सदस्यले गहभरि आँशु बनाएर उनको बिदाइ गरे । उनीहरू मनिष चढेको जहाज नउडुन्जेल बसिरहे । जब आकाशमा ठूलो आवाज र उज्यालो दिँदै जहाज उड्यो, त्यसपछि उनीहरू पनि घरतिर लागे ।

उनकी आमा कमला कट्टेल दसैँतिहार भन्दा पनि छोराको भिसा लागेकोमा बढी खुसी छिन् । ‘दसैँतिहार त हरेक वर्ष आउँछन्, मनाईहाल्छौं । तर, छोराको भिसा बल्ल बल्ल आएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान पाएको छ । त्यसमा खुसी छु,’ कमलाले भनिन् ।

पोखराका हरिकुमार श्रेष्ठले दुई वर्ष भयो दसैँ विदेशमै मनाउन थालेको । छोरा, बुहारी र श्रीमती नै अष्ट्रेलियामा भएपछि उनी एक्लो घरमा बस्न सकेनन् र दसैँको मुखमा अष्ट्रेलियातिर हानिन पुगे ।

‘छोरा बुहारीलाई नेपाल बोलाउनुभन्दा आफू जानु सजिलो भएकाले जान लागेको हुँ । यो पटकको दसैँतिहार उतै मनाइन्छ । श्रीमती २ महिना अगाडि नै गएकी थिइन् । घरमा म एक्लै भएकाले आज जान लागेको हुँ,’ श्रेष्ठले भने ।

स–परिवार एकै ठाउँमा बसेर दसैँ मनाउन पाउँदा उनी दङ्ग छन् । आफ्नो जन्मभूमि र मातृभूमि छोडेर जाँदा नरमाइलो भने पक्कै लागेको उनले बताए ।

यसरी दसैँतिहार जस्ता महान पर्वको बेला पनि मानिसका पाइला विदेश जान लम्किन छाडेका छैनन् । आफ्नो र परिवारको सुखद् भविष्यका लागि परदेशिनेको संख्या उल्लेख्य छ । विमानस्थलमा बिहानैदेखि बिदाइ गर्ने र रुवाबासी गर्नेको भिड हुने गर्दछ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप