दसैँमा मासु : गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

person explore access_timeअसोज १६, २०७९ chat_bubble_outline0

बडा दसैँ घर आँगनमै आइसकेको छ । परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा  खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ । 


आफ्नो गच्छेअनुसार हरेक घरले पशुपक्षी काट्ने हुँदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समयसम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइदाजनक भएता पनि उपयुक्त तरिकाले तयारी, भण्डारण र सेवन नगर्दा चाडको समयमा मानिसहरू बिरामी पर्नेदेखि ज्यानै जाने जोखिम हुन्छ । 



त्यसैले दसैँको समयमा मासुको उपभोगबाट आइपर्ने समस्याबाट बच्न पशुपक्षी किन्दादेखि नै धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ । अर्को शब्दमा भन्नुपर्दा गोठदेखि ओठसम्म आइ पुग्दासम्म नै मासु सुरक्षित र स्वास्थ्य राख्नुपर्छ ।



कस्तो पशुपक्षी किन्ने  ? 

स्वस्थको दृष्टिकोणले कम बोसो भएको सेतो मासु हितकर हुन्छ । मानिसमा लाग्ने ७० प्रतिशत रोग पशुपक्षीबाट सर्ने हुँदा विशेष ध्यान पुर्‍याउनु पर्छ । रोगी पशुपक्षीको मासुबाट मानिसमा एन्थ्राक्स, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस, लिस्टेरिओसिस, ट्राइकेनेलोसिस, टेनियासिस लगायत अन्त्य थुप्रै रोग लाग्न सक्छ । 

त्यसैले, सम्भव भएसम्म कुनै पनि पशुपक्षी वध गर्नु पहिला दक्ष पशुचिकित्सकबाट परीक्षण गराउनु पर्दछ । दसैँको समयमा सरकारले देशका मुख्य  बजारमा  पशुपक्षीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको हुन्छ, जसअनुसार स्वास्थ्य खसी, बोकाको सिङमा हरियो रङ र अस्वस्थ खसी, बोकामा रातो रङ लगाउने गरिन्छ । त्यसैले खसीबोका किन्दा सिङमा हरियो लगाएको खसीबोका मात्रै किन्नुपर्छ । 

यो बाहेक उपभोक्ता स्वयम्ले पनि स्वास्थ्य खसी, बोकाका लक्षण थाहा पाइराख्नु पर्दछ । हेर्दा फुर्तिलो, चलाख र चर्ने वा घाँस दिदा रुचिका साथ खाने पशु छान्न्नु पर्छ । 

नाक र मुखबाट सिंगान र र्‍याल निस्केको, पेट फुलेको, छेरेको वा पुच्छर वरिपरि धेरै गोबर टाँसिएको, अत्यधिक दुब्लो, शरीरमा गिर्खागुर्खी भएको, किर्ना, उपियाको सङ्क्रमण भएको पशुपक्षी किन्नु हुँदैन । 

पशुपक्षी किनेको लामो समय यात्रा गर्नुपर्ने भएमा ल्याएको केही समयपछि मात्र घाँस, दाना पानी दिनुपर्छ । थोरै ठाउँमा धेरै पशुपक्षी, साँघुरो  ठाउँमा कोचेर यात्रा गराउनु हुँदैन ।

पशुपक्षीलाई वध गर्दा ध्यान दिनुपर्ने पक्ष 

 किनेर ल्याउने बित्तिकै तुरुन्तै पशुपक्षी वध गर्नु हुँदैन । वध गर्नु पहिले केही घण्टा पशुपक्षीलाई भोकै राख्नु स्वास्थ्यको हिसाबले उपयुक्त हुन्छ । पशुपक्षी वध गर्ने स्थल, औजार र पानी सफा र स्वस्थ हुनु अति आवश्यक हुन्छ । 

यदि फोहर पानी र वातावरणमा पशुपक्षी वध गरिएमा त्यस्तो मासुमा साल्मोनेला, सिजेला, इ कोलि, प्रोटिअस, स्टाफाइलोकोकस र ब्यासिलस जस्ता जीवाणुको सङ्क्रमण हुन सक्छ । यस्ता जीवाणुले मासुमा विषाक्त सिर्जना गर्छ । र, यस्तो मासु सेवन गर्दा झाडापखाला लाग्ने वा खाद्य विषाक्त भई ज्यानै जान सक्छ । 

मासु राम्ररी पकाउँदा जीवाणुु, विषाणु र ढुसी नष्ट हुने भएता पनि तिनबाट उत्पादित विषाक्त र स्पोरहरु नष्ट हुँदैनन् । त्यसैले पशुपक्षी वध गर्ने स्थान, पानी र औजारको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । 

त्यसै गरी पशुपक्षी वध गर्दा पशुपक्षीको रगत र लादी मासुको सम्पर्कमा आउन दिनु हुँदैन । नेपाली समाजमा पशुपक्षीको वध गरेपछि रगतको टीका लगाउने र रगतलाई काँचै वा पकाएर खाने चलन छ, जुन स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिँदैन । रगतमा जीवाणुहरूको सङ्क्रमण अत्यधिक मात्रामा एकदमै छिटो हुने हुँदा रगत पिउनु हुँदैन ।

मासु बिग्रन नदिन के गर्ने  ?

सफा र सुरक्षित तरिकाले वध गरेता पनि मासुको भण्डारण उपयुक्त  नभएमा  मासु बिग्रन सक्छ । त्यस्तो मासु सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्छ । मासु उच्च प्रोटिन र अन्य पौष्टिक तत्त्वले भरिपूर्ण हुने हुँदा जीवाणु, विषाणु र ढुसी छिट्टै विकसित भई मासु कुहिने, गनाउने र खान अस्वस्थ हुन्छ । त्यसैले मासु काटेपछि जतिसक्दो चाँडो उपयुक्त तरिकाले भण्डारण गर्नुपर्छ । 

मासु भण्डारण गर्दा शून्य डिग्री वा त्योभन्दा कम अर्थात् डिप फ्रिजमा गर्नुपर्छ । त्यसो गर्दा मासुजन्य तन्तुमा हुनसक्ने सबै खाले गतिविधि निष्क्रिय भई जीवाणु र ढुसीको सङ्क्रमण हुन पाउँदैन । चिस्याएर राखेको मासु ताजा भन्दा केही कम स्वादिलो भए पनि स्वस्थ हुन्छ । 

उपयुक्त तरिकाले भण्डारण गरिएमा राँगाको मासु १२ महिना, खसीको ९ महिना, बँदेलको  ६ महिना र कुखुराको ७ महिनासम्म सुरक्षित राख्न सकिन्छ । यो बाहेक मासुलाई घाम, आगोमा सुकाएर पानीको मात्र घटाइ सुकुटीको रूपमा पनि भण्डारण गर्न सकिन्छ । छोटो समयको लागि नुन नराखीकन, मरमसालाको उचित प्रयोग गरेर पनि मासु सुरक्षित राख्न सकिन्छ ।

बिग्रेको मासु कसरी चिन्ने  ?

उपयुक्त तरिकाले वध र भण्डारण नगरिएको मासु छिटो बिग्रन्छ । जीवाणु र ढुसीको सङ्क्रमण भएमा मासुको सतह चिप्लो चिप्लो हुने, ग्यास उत्पादन  हुने, गन्ध फरक हुने र बोसो पग्लने हुन्छ । 

चारैतिरबाट बन्द गरेर भण्डारण गरिएको मासुमा अक्सिजन नहुने हुँदा, अक्सिजन बिना बाँच्ने जीवाणुहरु विकसित भई मासु कुहिएर दुर्गन्धित हुने, ग्यास उत्पादन हुने र अमिलो हुन सक्छ । पकाएको मासु लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन । त्यसैले एकै पटक धेरै मासु पकाउनु राम्रो होइन ।

लेखक पशु सेवा विभागमा पशु चिकित्सकको रूपमा कार्यरत छन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।