बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बज्न छोड्यो ‘मालश्री’, गन्धर्व भन्छन्– आत्मसम्मान नै भएन

सोमबार, १७ असोज २०७९, ०९ : ४४
सोमबार, १७ असोज २०७९

हा.... जयदेवी भैरवी पाउमा तिम्रो जन्मभूमि ....

माता र पिता देउता तिम्रो जयदेवी भैरवी ......

चन्द्र र सूर्य ज्योति फिजाउँदै हजुुरको आँगनमै उदाउँदै आशिष् लागोस्.... ।

दसैँको घटनस्थापना सुरु भएसँगै गन्धर्वहरु यही दुुर्गा गान (मालश्री) गाउँदै सबैका घर आँगनमा पुग्थे । गन्धर्वले मलश्री गाउन थालेपछि दसैँ भित्रिएको आभाष दिलाउँथ्यो ।

पछिल्लो समयमा मालश्रीसहितका लोक संस्कृति हराउँदै गएको छ । लोक कला, संस्कृतिको संरक्षक भनेर चिनिने गन्धर्व जातिका पुुरानो पुस्ता घट्दै जानुु, उनीहरुको गाइने पेसा र सीपले सामाजिक सम्मान पाउन नसक्नुु र सामाजिक सम्मानकै अभावमा नयाँ पुस्ताले परम्परालाई अनुुशरण गर्न नचाहेपछि मालश्री अर्थात दुुर्गादेवी गान हराउँदै गएको छ ।

बुढापाकाहरु अझै मालश्री अर्थात देवी गान कतैकतै सुनाउँदै हिँडे पनि नयाँ पुुस्ता र समाजले यसको महत्व बुझ्न नसक्दा हिन्दुुहरुको महान पर्व दसैँमा विशेष मानिने मालश्री संस्कृति लोप भएको हो ।

तुुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरका गणेश गन्धर्वले गन्धर्व जातिलाई समाजले मागीखाने जातका रुपमा हेर्दा मालश्री संस्कृति लोप भएको बताउँछन् ।

उनले भने, ‘मालश्री संस्कृतिले दसैँको छुट्टै महत्व राख्छ । तर दसैँका बेला मालश्री गाउँदै जादाँ गन्धर्वहरु दसैँमा पनि माग्न आए भन्ने बुझाइ हाम्रो समाजमा छ । जसका कारण अहिले गन्धर्वहरुले मालश्री गाउन छाडे ।’

मौलिक लोक संस्कृतिको धनी भएर पनि गन्धर्वले सामाजिक अपमान सहनु परेका कारण जातीय पेसा र सिपबाट विस्थापित हुँदै जानु परेको उनको बुझाइ छ ।

‘सारङ्गीको मीठो धुनभित्र पीडा’

‘दसैँमा देवीगान मात्रै होइन, अरु बेला विरह, गाउँगाउँको दुुःखसुखका कथा बोकेर गाउँघर चाहर्दै सारङ्गीको धुनमा गीत गाउँदै हिँड्ने गन्धर्व अचेल आफ्नो पेसाको महत्त्व घटेको बताउँछन् । ‘हामीले जानेको सिप यही नै थियो । बाउ बाजेका पालादेखि यही पेसा अपनाउँदै आएका थियौं,’ घोराही उपमहानगरपालिका–११, गन्धर्व बस्तीका डाइभर गन्धर्वले भने, ‘अचेल हाम्रो पेसाको महत्त्व समाजले बुझ्दैन, अपमानित हुनुपर्छ । त्यसैले नयाँ पुुस्ताले सारङ्गी समाउनै मान्दैनन्, बरु मजदुरी गर्न रुचाउँछन् ।’

यस्तो अवस्था आउनुुमा राज्य नै जिम्मेवार रहेको उनले बताए । गन्धर्वहरुको कला, गला र सिप संरक्षणमा राज्यले गरेको लगानी ठूला सहर र होटेलहरुमा हुने कार्यक्रममै सीमित हुने गरेको उनको भनाइ छ । राज्यले कला, गला र संस्कृति संरक्षणका लागि गरेको लगानी वास्तविक गन्धर्वसम्म पुुग्न नसक्दा यस्तो अवस्था आएको उनले बताए ।

‘सिपले अरुलाई सम्मान दिन्छ, हामीलाई अपमान किन ?’

विभिन्न सिपमुलक कामका लागि राज्यले ठुलो लगानी गरे पनि गन्धर्वले सारङ्गीको धुनमा गाउने पेसालाई धेरैले ‘मगन्ते’ भनेर अपमान गर्ने गरेको सोही ठाउँका दिलिप गन्धर्व बताउँछन् ।

रातोपाटीसँग उनले भने, ‘अरुका सिपले सामाजिक सम्मान पाउँदा गन्धर्व जातिको कला र गलाको सिपले सामाजिक अपमान भोग्नु परेको छ, त्यसैले हाम्रो नयाँ पुस्ताले यो पेसामा पटक्कै रुची राख्दैन ।’

जो कोहीले आत्मसम्मान चाहने प्रस्ट पार्दै उनले अगाडि भने, ‘तर गन्धर्वले सारङ्गी रेटेर गाउँगाउँ हिँड्दा अपमानमात्र पाउँछन्, त्यसैले परम्परागत संस्कृति हराउँदै गएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप